+
+

गाउँगाउँमा पक्की घरको लहर, परम्परागत ढुङ्गे घर पातलिंदै

रासस रासस
२०७८ फागुन १५ गते १७:३७
फाइल तस्वीर

१५ फागुन, गलेश्वर । ग्रामीण क्षेत्रमा यातायातको पहुँच र रेमिट्यान्सबाट प्राप्त आम्दानीका कारण गाउँगाउँमा पक्की घर बनाउने लहर चलेको छ । कङ्क्रिटका पक्की भवन निर्माण हुनेक्रम बढ्दै गएपछि परम्परागत ढुङ्गे घर पातलिंदै जान थालेका छन् भने खरले छाएका घर प्रायः लोप नै भएका छन् ।

डेढदशक अगाडिसम्म म्याग्दीका ग्रामीण क्षेत्रमा ढुङ्गा र खरले छाएर रातोमाटो र सेतो कमेरोलो पोतिएका घर बाक्लै देखिन्थे । पर्यटकीय जिल्ला म्याग्दीमा विदेश र सहर बजारबाट जोहोकोही गाउँमा पुग्दा ती घरले मनै लोभ्याउने गर्थे । रैथाने सीप र स्रोतको प्रयोग गरी परम्परागत रूपबाट निर्माण गरिएका ती घरले धेरैलाई आकर्षित गर्थे ।

उतिबेला गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन । जब सडक विस्तार भएर गाउँमा यातायातका साधन पुग्न थाले तब रड र सिमेन्टको प्रयोग गरी गाउँमा पक्की घर निर्माणको क्रम बढेको यहाँका ज्येष्ठ नागरिकको भनाइ छ ।

सडकको प्रभावले ती पुराना परम्परागत घरमा परेको उनीहरुको बुझाइ छ । परम्परागत घर र ढुङ्गे घर गाउँबाट विस्तारै ओझेलिंदै छन् । अहिले गाउँमा धमाधम सिमेन्ट र कङ्क्रिटका घर ठडिंदै गएका छन् । सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुङ्गाको छानो हटाएर जस्तापाले घर छाउन थालेका छन् । यसले पुराना मौलिक घर विस्तारै विस्थापित हुने अवस्थामा पुर्‍याएको छ ।

म्याग्दीको बेनी नगरपालिका– २ बगरफाँट, मालिका गाउँपालिका–७ बीम, रघुगङ्गा गाउँपालिका–६ पाखापानी लगायतका विभिन्न बस्तीमा पाँच वर्ष अगाडिसम्म गाउँका अधिकांश घर ढुङ्गा र केही खरले छाइएका थिए । तर अहिले ती बस्तीमा पुग्यो भने सिमेन्टेड पक्की घर र विभिन्न रङगका जस्तापाताले छाएर घर रङ्गीचङे्गी देखिन्छन् । कमेरो र रातोमाटोले पोतिएका घर कम पाइन्छ ।

गाउँमा सडक आएपछि गाउँलेले सहरबजारकाले जस्तो सिकेर परम्परागत घरलाई भत्काएर नयाँ स्वरूपमा बनाउन थालेको बगरफाँटका बेदप्रसाद उपाध्यायले बताए । ‘डेढ दशक अगाडिसम्म गाउँमा धेरैजसो घर ढुङ्गा र खरले छाएका थिए, गाडी आउने बाटो पनि थिएन, अहिले ती सबै घर लोप भइसके,’ उनले भने ।

बेनी नगरपालिका-४ सिंगामा पनि  करिब एक दशक अगाडिसम्म ढुङ्गे घरहरु थुप्रै थिए । तर अहिले ढुङ्गाका घरले भएका ठाउँमा ठूलाठूला कङ्क्रिटका घर ठडिएका छन् । सडक सिंगामा नपुग्दा धेरैको घर ढुङ्गाले नै छाएको भएपनि अहिले धेरैजसोले पक्की भवन बनाउन थालेको स्थानीयवासी केशव पौडेलले बताए ।

उनले गाउँमा सडक आएपछि धेरै मानिसले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामान ल्याउन सक्ने भएपछि ठूलाठूला भवन बनाउन थालेको बताए । पौडेलले यहाँका धेरैजसो मानिस विदेश गएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुङ्गाको घर विस्थापित गरी पक्की घर बनाउन थालेको बताए ।

विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको बैंक तथा वित्तीय संस्थाको तथ्याङ्क छ । घर, घडेरी र मोजमस्तीमा नै धेरैजसो पैसा खर्च हुने गरेको पाइएको छ । यहाँका मान्छे सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला-ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको स्थानीयवासीको भनाइ छ ।

दिनदिनै सिमेन्टका घर ठडिरहेका छन्, एक-दुई वर्षमा यहाँ ढुङ्गाका घर पनि देख्न नपाइने स्थानीय बासिन्दाको अनुमान छ । सडक सञ्जालले यो ठाउँ जोडिएपछि पुराना घर विस्थापित भएको स्थानीयवासीले बताए । सहरी तथा भवन निर्माण आयोजना कार्यालय म्याग्दीका अनुसार मानिस सजक र सचेत हुँदै गएको हुँदा नयाँ–नयाँ प्रविधि प्रयोग गरेर घर तथा भवन निर्माण गर्न थालेका छन् । परम्परागत घर भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भन्दै नागरिकले सचेतता अपनाएर पक्की भवन बनाउन थालेको हुनसक्ने उनी बताउँछन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?