+
+

रसिया-युक्रेन युद्धको प्रभाव नेपालको साहसिक पर्यटनमा

मुख्य सिजन मै झट्का

अच्युत पुरी अच्युत पुरी
२०७८ फागुन १६ गते १२:१०

१६ फागुन, काठमाडौं । कोरोना महामारीबाट उठ्दै गरेको नेपालको पर्यटन उद्योगमा रसिया-युक्रेन युद्धको प्रत्यक्ष प्रभाव पर्ने भएको छ । नेपालको साहसिक पर्यटनमा यूरोप र अमेरिकी पर्यटकको भूमिका ठूलो छ । तर, युद्धका कारण रसियन तथा युक्रेन र यसको आसपासको ‘हवाईमार्ग’ प्रयोग गरी यात्रा गर्नुपर्ने मुलुकका नागरिकले तत्कालका लागि यात्राको योजना नबनाउने भएका कारण आगामी पर्वतारोहण सिजनमै पर्यटक आगमन प्रभावित हुने नेपाल पर्यटन बोर्डका निर्देशक मणीराज लामिछाने बताउँछन् । ‘अब रसियन र युक्रेनी नागरिक त तत्कालका लागि भ्रमणमा निस्कने छैनन्,’ उनी भन्छन्, ‘यसबाहेक यी दुई मुलुकको एयरस्पेस प्रयोग गरी यात्रामा निस्कने यात्रुको योजना पनि प्रभावित हुन्छ ।’

आइतबार मात्र जर्मनी र फिनल्याण्डले रुसी विमानलाई उनीहरुको आकासमा उड्न नदिने गरी घोषणा गरेका छन् । नेपालमा जर्मन, पोल्याण्ड तथा रसियन नागरिकहरु समेत साहसिक पर्यटनमा बढी आउने गर्छन् । पर्वतारोहण तथा पदयात्रामा यस्ता पर्यटक बढी आउने गर्छन् । नेपालमा पर्यटकबाट हुने आम्दानीमा साहसिक पर्यटकको भूमिका ठूलो छ । किनकि उनीहरू लामो अवधिको बसाइका लागि आउने गर्छन् ।

ट्रेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार युरोपबाट पूर्वनिर्धारित बुकिङ क्यान्सिल हुन थालेको छ । यो प्रवृत्ति लामो समय रहने चिन्ता व्यवसायीको छ । युद्ध बढ्दै जाँदा मुलुकहरुले बोर्डर बन्द गर्ने भएकाले समेत युरोपको बजार मुख्य सिजनमै प्रभावित हुने सुवेदीले बताए । ‘यो अवस्था नेपाली पर्यटन उद्योगका लागि चिन्ताको विषय हो’ उनले भने ।

नेपाल एसोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट् (नाट्टा)का अध्यक्ष अच्युत गुरागाईं युरोप युद्ध नेपाली पर्यटनका लागि समेत दुर्भाग्य भएको बताउँछन् । ‘हामी कोरोनाबाट उठ्दाउठ्दै अब राम्रा दिन आउँछन् भन्ने अपेक्षामा थियौं,’ उनले भने, ‘यो सपनामा युद्धले पानी छ्यापिदियो ।’ उनका अनुसार यो वर्ष रसिया र युक्रेनबाट मात्र नभई समग्र युरोपबाटै नेपाल आउने पर्यटकको संख्यामा भारी गिरावट आउने निश्चित छ । युद्धका कारण यी मुलुकको अर्थतन्त्रमा समेत मन्दी आउने भएकाले तत्काल अन्तर्राष्ट्रिय पर्यटक बढ्ने सम्भावना कम हुने उनको भनाइ छ ।

कोरोना महामारीकै बीच एक वर्षमा ९९७ जना युक्रेनी नेपाल भ्रमणमा

युरोप महादेशबाट बढी नेपालमा भ्रमणमा आउने मुलुकमध्ये युक्रेन समेत अग्रणी स्थानमा पर्छ ।

सन् २०२१ कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित समय हो । कडा प्रतिवन्ध र क्यारेन्टिन नियमका वावजुत यो वर्ष ९९७ जना युक्रेनी नागरिक नेपाल भ्रमणमा आएको अध्यागमन विभागको तथ्यांक छ । यस वर्ष ५०७ जना पुरुष र ४०९ जना महिलाले नेपाल भ्रमण गरेका थिए । यो संख्या युरोपका अन्य मुलुक स्वीट्रल्याण्ड, स्वीडेन, स्लोभाकिया, स्लोभानिया, पोल्याण्ड, नर्वे, न्युजिल्याण्ड, इटाली, फिनल्याण्ड, चेक रिपब्लिकजस्ता मुलुकबाट आएका पर्यटक संख्या भन्दा बढी हो ।

न् २०२२ को सुरुवातबाट भने युक्रेनमा युद्धको आंशका बढेको थियो । जसको असर आगमनको तथ्यांकमा समेत देखिन्छ । सन् २०२२ को जनवरीमा युक्रेनबाट मात्र ४१ जना नेपाल भ्रमणमा आएका छन् । यो संख्या अबको केही महिना उत्साहजनक रुपमा बढ्ने छैन । जसले समग्रमा नेपालको पर्यटक आगमन नै प्रभावित हुने देखिन्छ ।

रुसबाट एक वर्षमा आए २१ सय पर्यटक आए

युद्धमा होमिएको रुसबाट एक वर्षको अवधिमा २१ सय पर्यटक नेपाल भ्रमणमा आएको तथ्यांक अध्यागमन विभागसँग छ । सन् २०२१ मा यो मुलुकबाट २१०७ जना नागरिक नेपाल भ्रमणमा आएका हुन् ।

सन् २०२१ को जस्तै उत्साह सन् २०२२ को सुरुवातमा रुसी नागरिकमा समेत देखिएको छैन । सन् २०२२ को जनवरीमा रुसबाट मात्र १२१ जना रुसी नागरिक नेपाल भ्रमणमा आएका छन् । तथ्यांकले रुसी नागरिकले समेत यात्राको योजना कम गरिरहेको देखाएको छ । सन् २०२२ को जनवरीमा युरोप महादेशमध्ये बेलायतबाट सबैभन्दा बढी १,८२४ जना आएका थिए । सन् २०२१ मा भने वर्षभर बेलायतबाट कुल ८,६८० जना पर्यटक नेपाल आएका थिए ।

मुख्य स्रोत बजार प्रभावित हुँदा पनि सरोकारवालाई भने छैन चासो

युरोप नेपाली पर्यटनको मुख्य स्रोत बजार हो । यहाँबाट पर्यटक आगमन प्रभावित हुँदा मुलुकको आम्दानीमै ठूलो प्रभाव पर्छ । तर, यसबारे सरोकारवालालाई चिन्ता र चासो भने छैन ।

रुस र युक्रेन युद्धपछि पर्यटक आगमनमा विकल्प खोज्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कुनै छलफल भएको छैन । नेपाली पर्यटनको प्रवर्द्धन गर्ने जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डमा समेत यसबारे अहिलेसम्म कुनै छलफल भएको छैन ।

अर्कोतर्फ निजी क्षेत्रले समेत सरकारलाई झक्झक्याउन कुनै पहल थालिसकेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले यसबारे कुनै छलफल र चासो राख्ने काम नभएको स्वीकार गरे ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?