+
+
Shares
पुस्तकांश :

जंगबहादुर राणाको रहस्यमय मृत्युको अन्तरकुन्तर

जीवन आले मगर जीवन आले मगर
२०७८ फागुन १६ गते १४:४८

‘म मर्न गइरहेको छैन, म मुर्दा अवस्थामा परिणत भएँ भने जंगबहादुरको पनि प्राण अन्त्य हुनेछ ।’-प्रथम शहीद लखन थापा मगर

नेपालको इतिहासमा जहानियाँ राणाशासनको विरुद्धमा जनस्तरबाट सबैभन्दा पहिलो पटक सशस्त्र विद्रोह गरेकोले लखन थापा मगर, जयसिंह चुमी राना मगर, विराज थापा मगर, जुठ्या थापा मगर, जीतमान गुरुङ, अछामी मगर र अजपसिंह थापा मगरलाई राणा शासनका प्रवर्तक जंगबहादुर राणाको आदेशमा वि.सं. १९३३ पुस ७ गते गोरखाको बुंकोट काहुले भङ्गारमा झुण्ड्याएर मारिएको थियो । त्यतिबेला सबैभन्दा पहिले बलिदानी दिने विद्रोही नेता लखन थापा मगर नेपालको प्रथम शहीद हुन् ।

जतिबेला लखन थापा मगर र उनका अन्य ६ जना सहयोद्धाहरूलाई राणा सरकारको आदेशमा झुण्ड्याउने तयारी भइरहेको थियो, त्यतिबेला नै लखन थापामगरले माथिको भनाइ व्यक्त गरेका थिए । उनको यो भनाइको तात्पर्य थियो, राष्ट्र र जनताको हितमा बलिदान दिनेहरूको भौतिक शरीर मरेर गए पनि उनीहरूले नेपाली समाजमा सञ्चार र प्रवाह गरेका प्रजातान्त्रिक विचारको डोब कहिल्यै मेट्न सकिंदैन । त्यसैले जनस्तरबाट उठेको पहिलो विद्रोहको क्रममा विकसित नेपाली जनताको विद्रोही चेतनाको कारणले प्रजातान्त्रिक आन्दोलनले निरन्तरता पायो । छिट्टै निरङ्कुश राणाशासनको अन्त्य गरिछाड्ने लखन थापा मगरको विश्वासको व्यावहारिक रूपान्तरण भयो ।

यसरी नेपाली समाजमा प्रजातान्त्रिक आन्दोलनको चेतना प्रवाह भइसकेको र त्यसले निरङ्कुश सत्ता र राणा सरकारको अन्त्यको लागि निरन्तर रूपमा धावा बोलिरहनेतर्फ संकेत गर्दै उनले त्यतिबेला उक्त विचार व्यक्त गरेका थिए ।

१०४ वर्षसम्म कायम रहेको जहानियाँ राणा शासनको स्थापना गर्ने जंगबहादुर राणाले ३० वर्षसम्म नेपालको प्रधानमन्त्री रही शासन गरेका थिए । उनको मृत्यु वि.सं. १९३३ फागुन १३ गते बाराको पत्थरघट्टामा भएको थियो । उनको मृत्युको विषयलाई गोप्य राखेर वास्तविकता लुकाउन खोजे पनि इतिहासका जानकार व्यक्तिहरू यस घटनालाई स्वाभाविक मृत्युको रूपमा स्वीकार गर्न तयार देखिंदैनन् । ज्वरो आएर, मुटुमा बोसो लागेर, झाडापखाला लागेर वा बाघको आक्रमणबाट उनको मृत्यु भएको भन्ने भनाइमा देशी–विदेशी इतिहासकारहरूले शंका व्यक्त गरेका छन् ।

जंगबहादुर राणाका साहिंलो छोरा पद्मजङ्ग राणाले आफ्नो पुस्तक ‘लाइफ अफ महाराजा सर जंगबहादुर’ मा जंगबहादुरको मृत्यु झाडापखाला र ज्वरोको कारणले भएको बताएका छन् । त्यसैगरी मुटुमा बोसो लागेको कारणले जंगबहादुरलाई अकस्मात् आँखा नदेख्ने र दिसा लाग्ने समस्या देखिएको र सोही कारणले उनको मृत्यु भएको भन्ने इतिहासकार पुरुषोत्तम शमशेर जबराले उल्लेख गरेका छन् ।

अर्कोतर्फ जंगबहादुरलाई लिंडे बाघले मारेको भन्ने जनश्रुति समेत नेपाली समाजमा रहेको छ । त्यसैगरी जार काट्न जंगबहादुरबाट अनुमति लिएका एक जना मगर युवक (जसको श्रीमती जंगबहादुरले लगेका थिए) को खुकुरी प्रहारबाट जंगबहादुरको हत्या भएको समेत विश्वास गरिन्छ ।

इतिहासकार एवम् अन्वेषक जनकलाल शर्माका अनुसार जंगबहादुरको हत्यालाई गोप्य राख्न लासलाई कपडाले छोपेर राखी सती जाने उनका रानीहरूलाई समेत शव हेर्न नदिई शव राखिएको बाकस नखोलिकनै दाहसंस्कार गरिएको थियो ।

इतिहासकार एवम् अन्वेषक जनकलाल शर्माका अनुसार जंगबहादुरको हत्यालाई गोप्य राख्न लासलाई कपडाले छोपेर राखी सती जाने उनका रानीहरूलाई समेत शव हेर्न नदिई शव राखिएको बाकस नखोलिकनै दाहसंस्कार गरिएको थियो ।

जंगबहादुर राणाको मुटु वरिपरि बोसो जम्न लागेको भनी डाक्टर फेररले बताएको भनी उल्लिखित भनाइ सत्य नभएको इतिहासकार प्रा.डा. त्रिरत्न मानन्धरको भनाइ रहेको छ । किनकि त्यतिबेला विदेशबाट समेत चिकित्सक झिकाएर उपचार गराउन सक्ने जंगबहादुरले कुनै औषधि उपचार नगराएको र डा.फेररले पनि आफ्नो जीवनीसम्बन्धी पुस्तकमा उक्त कुरा उल्लेख नगरेकोले जंगबहादुरको मुटुमा बोसो लागेको भन्ने विषयलाई सत्य मान्न सकिंदैन भन्ने प्रा.डा. मानन्धरको मत रहेको छ । लिंडे बाघको अर्थ पुच्छर नभएको वा ठूटो बाघ भन्ने हुन्छ । तर नेपालको जंगलमा त्यस्तो बाघ हालसम्म फेला परेको छैन । त्यसैले उनलाई बाघले मारेको भन्ने तर्क पनि तथ्ययुक्त देखिंदैन ।

जंगबहादुर राणाको जीवनकालको अन्तिम समयतिर लखन थापामगरको नेतृत्वमा भएको विद्रोह मुख्यगरी राणाशासन र जंगबहादुरको सरकारविरुद्ध केन्द्रित थियो । लखन थापामगरले जंगबहादुरलाई हत्या गरी पदच्यूत गर्ने र नेपालमा सुनौलो (प्रजातान्त्रिक) व्यवस्था ल्याउने योजना बनाएका थिए । इ.सं. १८७६ फेबु्रअरीमा जंगबहादुर राणा कैलालीको वनवासामा सिकार खेल्न गएका थिए । उक्त सिकार सकेर काठमाडौं फर्कंदा चन्द्रागिरिको देउरालीको आसपासमा धराप थापी आक्रमण गर्ने लखन थापाले योजना बनाएका थिए । सो योजनाबारे सुराकीमार्फत् गोप्य सूचना प्राप्त भएपश्चात् बलियो सुरक्षा व्यवस्था मिलाएर जंगबहादुर काठमाडौं फर्किएका थिए ।

जंगबहादुरले लखन थापामगरको जनविद्रोहको सम्पूर्ण योजना थाहा पाएपश्चात आफ्नो शासन सत्तामा चुनौती आएको महसुस गरी उक्त विद्रोहलाई दबाउन देवीदत्त पल्टनको तीन कम्पनी सेना गोरखा पठाएका थिए । त्यस घटनाक्रमले पनि लखन थापा मगरको विद्रोही अभियानको क्रममा जंगबहादुर राणाको भौतिक जीवनको समाप्त गर्ने उद्देश्य राखिएको छर्लङ्ग हुन्छ ।

केही लेखक तथा खोजकर्ताहरूले जंगबहादुरको स्वाभाविक मृत्यु भएको नभई हत्या भएको र त्यसमा लखन थापामगरको विद्रोहको प्रत्यक्ष हात रहेको उल्लेख गरेका छन् । पत्रकार एवम् खोजकर्ता लोकनेश ढेंगा मगरका अनुसार, घोडा चढेर सिकार यात्रामा गएका जंगबहादुरलाई धादिङको बेनीघाटमा लुकेर बसेका लखन थापामगरको विद्रोहमा सक्रिय एकजना व्यक्तिले खुकुरी प्रहार गरी घायल बनाए थिए । त्यसपश्चात् जंगबहादुर भुइँमा ढलेका थिए । त्यहाँ रहेका सैनिकहरूलाई धीरशमशेरले केही धन दिएर रगतले सहीछाप गर्न लगाई हत्याको रहस्य उजागर नगर्ने शपथ गराई घायल भई बेहोश भएको जंगबहादुरलाई पत्थरघट्टा पुर्‍याएका थिए । उनको त्यहीं मृत्यु भएको प्रचार गरियो । वास्तवमा गोरखा विद्रोहको दौरानमा गोरखाको दक्षिणी भू–भागसँग जोडिएको बेनीघाटमा जंगबहादुर राणालाई हमला गरेर मार्नुमा लखन थापामगरको विद्रोहको प्रभाव थियो ।

लखन थापालाई झुण्ड्याएर मार्न आदेश दिइसकेपश्चात् जंगबहादुर राणाको एकजना रानीले लखन थापालाई मारेमा जंगबहादुरको गाथमा राम्रो नहुने सपना देखेको बताएकी थिइन् । संभवतः लखन थापाले धेरै मानिसलाई प्रजातान्त्रिक चेतना प्रदान गर्नुका साथै सैनिक तालिमद्वारा प्रशिक्षित गराएको र विद्रोहमा ठूलो जनसमर्थन प्राप्त गरेको तथ्यबाट रानी त्रसित भएकी थिइन् ।

नेपाली जनमानसमा फैलिएको प्रजातान्त्रिक चेतनाको कारणले गर्दा लखन थापामगरको भौतिक शरीर नरहे पनि राणा विरोधी विद्रोही अभियान रोकिने अवस्थामा थिएन । लखनले प्रशिक्षित गरेका विद्रोहीहरूले जुनसुकै बेला जंगबहादुर राणाको हत्या गर्न सक्ने त्रास रानीको मनमा जन्मिएको थियो । त्यसैले जंगबहादुरको जीउज्यान असुरक्षित हुने देखेर चिन्तित भई रानीको अन्तर मनमा त्यो विषयले गहिरो प्रभाव पारेकोले त्यस्तो सपना देखेको हुनुपर्दछ ।

जंगबहादुरले लखन थापाको हत्या गरे पनि नेपाली जनतामा राणाशासनप्रतिको रोष र असन्तोष कायमै रहेको थियो । त्यसैले लखन थापालाई फाँसी दिइएको छोटो समयमा नै राणा सरकार विरुद्ध सुकदेव गुरुङ र सुपति गुरुङले ‘नौ सरकार बौद्ध बादशाह’ को नामबाट विद्रोह अघि बढाएका थिए ।

नेपाली समाजमा जंगबहादुरको हत्या ‘लिंडे बाघ’ र ‘जार काट्ने मगर युवक’ को हातबाट भएको भन्ने जनश्रुति रहेको पाइन्छ । अलिखित इतिहासको रूपमा अघिल्लो पुस्ताबाट नयाँ पुस्तामा उक्त जानकारी हस्तान्तरण हुँदै आएको छ । मगरलाई अपमानजनक रूपमा सम्बोधन गर्दा ‘लिंडे’ भन्ने चलन रहेको छ । त्यसैले लिंडे बाघले मारेको भन्ने भनाइले कुनै साहसी मगर युवकको आक्रमणबाट जंगबहादुरको हत्या भएको सङ्केत गर्दछ ।

अर्कोतर्फ विद्रोहीको हातबाट हत्या भएको भन्नु लज्जास्पद हुने भएकाले आफ्नो श्रीमती जंगबहादुरले जबर्जस्ती लगेको मगर युवकले खुकुरी प्रहार गरेको कारणले घाइते भई जंगबहादुरको मृत्यु भएको प्रचार गरिएको अनुमान गर्न सकिन्छ । जंगबहादुर जस्ता शक्तिशाली र निरङ्कुश व्यक्तिको हत्या विद्रोहीको हातबाट भएको तथ्य बाहिर ल्याउनु भनेको उनका उत्तराधिकारी राणाहरूको लागि लज्जाको विषय थियो । त्यसैले हत्या भएको वास्तविकतालाई ढाकछोप गर्नको लागि तत्कालीन सरकार र राणासरकारका पक्षधरहरूबाट विभिन्न झुटा प्रचार गरिएको थियो ।

जंगबहादुरको हत्या विद्रोहीले आक्रमण गरेको कारणले भएको भन्ने यथार्थ विषय समेत भित्रभित्रै नेपाली समाजमा प्रवाहित र सञ्चार भयो । तर उक्त वास्तविकता तत्कालीन प्रतिकूल परिस्थितिमा कोही कसैले लेख्न सक्ने अवस्था थिएन । फलस्वरूप हत्या भएको भन्ने जानकारी नेपाली समाजमा मौखिक रूपमा हस्तान्तरण हुँदै जनश्रुतिको रूपमा रह्यो । यसले गर्दा नेपाली समाजमा उनको हत्याको सम्बन्धमा विभिन्न धारणा बने । त्यसैले उनको मृत्युको विषय थप रहस्यात्मक बन्दै गयो ।

लखन थापामगरको नेतृत्वमा राणाशासन विरुद्ध जनविद्रोह सञ्चालन भयो । त्यही क्रममा निर्माण गरिएको गोरखा जिल्लाको हालको शहीद लखन गाउँपालिका वडा नं. ७, बुंकोटको काहुले भङ्गारमा निर्मित विद्रोही किल्लाको नजिक रहेको धादिङ जिल्लाको बेनीघाट क्षेत्र त्यतिबेला उक्त विद्रोहको प्रभावित क्षेत्रभित्र पर्दथ्यो ।

त्यसैले प्रथम जनविद्रोहको तथ्य, ऐतिहासिक घटनाक्रम, नेपाली समाजमा अलिखित रूपमा रहेको ऐतिहासिक जानकारी जस्ता विषयवस्तुहरूको विश्लेषण गर्दा लखन थापा मगरको नेतृत्वमा सञ्चालित उक्त प्रथम जनविद्रोहको क्रममा प्रशिक्षित एकजना मगर युवकको आक्रमणबाट जंगबहादुर राणाको हत्या भएको र त्यस तथ्यलाई तोडमोड गरी तत्कालीन समयमा शासक पक्षले काल्पनिक विषय प्रचार गरेको निष्कर्षमा पुग्न सकिन्छ । त्यतिबेला बेनीघाटबाट नजिक रहेको काठमाडौंमा उनको शव नलगी धेरै टाढा रहेको बाराको पत्थरघट्टामा पुर्‍याइएको थियो ।

धादिङको बेनीघाटमा विद्रोहीको आक्रमणबाट मृत्यु भएका जंगबहादुरको हत्याको वास्तविकता गोप्य राख्ने उद्देश्यले उनको शव राजधानी काठमाडौं नलगी बारा पुर्‍याइएको थियो । मृत्यु हुने बेलामा बाराको पत्थरघट्टा लैजाने क्रममा जंगबहादुरले बाटोमा रगत वमन गरेको बताइन्छ । तर रगत वमन गरेको भन्ने विषय पनि हत्या भएको यथार्थतालाई बङ्ग्याउने हेतुले प्रचार गरिएको आशंका गर्न सकिन्छ ।

वास्तविकता के हुन सक्दछ भने लखन थापामगरबाट प्रशिक्षित विद्रोहीको आक्रमणबाट गम्भीर चोट लागेको कारणले जंगबहादुरको शरीरबाट बगेको रगतले बाटो रगताम्य भएको र उक्त यथार्थतालाई ढाकछोप गरी सर्वसाधारण व्यक्तिहरूलाई भ्रमित तुल्याउनको लागि त्यतिबेला रगत बान्ता गरेको भनी झूटो प्रचार गरिएको थियो ।

ऐतिहासिक घटनाक्रम र तथ्यहरूको अध्ययन र विश्लेषण गर्दा लखन थापामगरको हत्या गरे पनि उनीबाट प्रशिक्षित नेपाली जनता प्रजातान्त्रिक शासन प्रणाली स्थापनाका लागि उनले देखाएको विद्रोही बाटोमा निरन्तर अघि बढिनै रहेको बुझ्न सकिन्छ । यसरी विद्रोही अभियान जारी राख्ने क्रममा निरङ्कुश राणाशासनका प्रवर्तक जंगबहादुर राणाको हत्या गर्ने योजना कायमै रह्यो । यसको फलस्वरूप उक्त विद्रोहमा प्रशिक्षित एकजना मगर युवकले गरेको घातक आक्रमणबाट घाइते भई जंगबहादुरको हत्या भएको तथ्य बढी विश्वसनीय देखिन्छ ।

यो विषय नेपाली इतिहासको सच्चाइ पनि हो । जनविद्रोहीबाट निरङ्कुश शासक जंगबहादुर राणाको हत्या भएको तथ्यले जनविरोधी शासकहरूले ढिलोचाँडो जनताको कठघरामा उभिनुपर्ने र उनीहरूको जीवनलीला जुनसुकै समयमा पनि समाप्त हुनसक्ने सन्देश प्राप्त गर्न सकिन्छ ।

(नेपालका प्रथम जनविद्रोही शहीद लखन थापा मगर’ नामक प्रकाशोन्मुख कृतिको केही अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?