+
+

एपीएफले जित्यो ललितपुर मेयर कपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १६:१३

१६ फागुन, काठमाडौं । विभागीय टोली एपीएफले लगातार दोस्रो पटक ललितपुर मेयर वुमन्स कप क्रिकेटको उपाधि जितेको छ ।

सोमबार भएको फाइनलमा सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै एपीएफले अपराजित रहेर उपाधि रक्षा गरेको हो । गत संस्करणमा पनि एपीएफले सुदूरपश्चिसलाई नै हराएर उपाधि जितेको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनलमा सुदूरपश्चिमले दिएको १ सय १३ रनको लक्ष्य एपीएफले १५.५ ओभर खेल्दै २ विकेट गुमाउँदै भेट्टायो ।

एपीएफका लागि ओपनर ज्योति पाण्डेले ४४ बल खेल्दै ५ चौका मद्दतमा सर्वाधिक ४३ रन बनाइन् । यस्तै इन्दु वर्माले २९, कप्तान सीता राना मगरले १९, राजमती ऐरीले अविजित ५ रन बनाइन् ।

सुदूरपश्चिमका लागि सम्झना खड्का र लक्ष्मी साउदले १/१ विकेट लिए ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय १३ रन बनाएको हो । सुदूरपश्चिमका लागि ओपनर विन्दु रावलले ३६ बल खेल्दै ५ चौकासहित सर्वाधिक ३७ रन बनाइन् । डली भट्टले २५ बल खेल्दै ४ चौका र १ छक्का मद्दतमा ३६ रन बनाइन् ।

पहिलो विकेटको लागि ओपनर रेवती धामी र विन्दु रावलले ११ ओभरमा ४८ रनको साझेदारी गरेका थिए । ३१ बल खेलेकी धामी १० रन बनाएर आउट भइन् ।

कविता कुँवरले २५ बल खेल्दै अविजित २४ रन जोडिन् । एपीएफका लागि सुष्मा श्रेष्ठले ४ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?