+
+

समयमा विद्यालय नआएको भन्दै विद्यार्थीले थुने प्रधानाध्‍यापक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:००

१६ फागुन, जनकपुरधाम । सिरहाको एक विद्यालयमा विद्यार्थीले ढिलो आएको भन्दै प्रधानाध्यापकलाई एक घण्टा थुनेका छन् ।

कल्याणपुर नगरपालिका वडा-५ भोक्राहास्थित आधारभूत विद्यालयका प्रधानाध्‍यापक राजकुमार साहलाई विद्यार्थीले उनकै कार्यकक्षमा एक घण्टा थुनेका हुन् ।

प्रधानाध्‍यापक र शिक्षकलाई समयमा आउनुपर्ने, नियमित पठनपाठन हुनुपर्नेसहितका माग राख्दै यो विद्यालयका विद्यार्थीहरु आइतबारदेखि आन्दोलनमा उत्रिएका छन् ।

प्रधानाध्‍यापकलाई थुन्ने क्रममा विद्यार्थीले प्रधानाध्‍यापकसहित वडाअध्यक्षविरुद्ध नाराबाजी गर्दै बिभिन्न नारा लेखिएको प्लेकार्डसमेत प्रदर्शन गरेका छन् ।

पहिलो दिन विद्यालयमा तालाबन्दी गरेका विद्यार्थीहरुले माग पूरा गर्नेतर्फ ध्यान नदिएका कारण प्रधानाध्‍यापकलाई थुन्नुपरेको कक्षा ९ मा अध्ययनरत विद्यार्थी विकास कुमार साहले बताए ।

‘शिक्षकहरु आउँदै, आउँदैनन्, आएपनि एक घण्टा पनि विद्यालयमा बस्दैनन्’ विद्यार्थी साहले भने, ‘अहिलेसम्म विज्ञान बिषयको एक पाठ पनि पढाइ भएको छैन् । अंग्रेजी, गणित र नेपाली विषयको पाठ आधा पनि सकिएको छैन ।’

विद्यालयमा लामो समयदेखि प्रधानाध्‍यापक र शिक्षकहरुले मनोमानी गरिरहेको बताउँदै विद्यार्थीहरुले अरु विद्यालयमा जान ट्रान्सफर सर्टिफिकेट माग्दा पनि दिन नचाहेको बताएका छन् ।

कक्षा ९ सम्म सञ्चालन हुने विद्यालयमा ३ जना स्थायी, ३ जना करारका र ४ जना बालविकासका शिक्षक छन् । लामो समयदेखि तलव नदिँदा करारका शिक्षक विद्यालय आउनै छाडेको र स्थायी शिक्षकहरु विद्यालय आए पनि केही बेरमै जाने गरेको विद्यार्थीहरुले गुनासो गरे ।

यसबारेमा वडा अध्यक्षसमेतलाई जानकारी गराउँदा पनि कुनै चासो नदेखाएपछि आफूहरु आन्दोलनमा उत्रिनुपरेको उनीहरुको भनाइ छ । ‘यसरी त हाम्रो भविष्य बिग्रिन्छ’ विद्यार्थी साहले भने, ‘नपढाउने हो भने हामीलाई ट्रान्सफर सर्टिफिकेट दिँदा हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?