+
+

शिवरात्रि मेलामा जाँदा के-के कुरामा ख्याल राख्ने ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १९:०९

१६ फागुन, काठमाडौं । मंगलबार पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा शिवरात्रिको विशेष मेला लाग्दैछ । हिन्दूहरुका आराध्यदेव भगवान शिवको विशेष पूजाआजा गरी मनाइने यो पर्वमा निराहार व्रत बसी पूजाआजा गर्ने गर्छन् । मेला भर्न जानेहरुले शिवालय आसपासका क्षेत्रमा घुइँचो लाग्ने गर्छ ।

शिवरात्रिको अवसरमा काठमाडौंको पशुपति क्षेत्रमा ५० लाख भक्तजनले दर्शन गर्ने आँकलन पशुपति क्षेत्र विकास कोषले गरेको छ । शिवरात्रिको लागि ६ वटा एम्बुलेन्स तथा ६० वटा स्वास्थ्य संस्थासहित तीनवटै सुरक्षा निकायले स्वास्थ्य शिविर सञ्चालन गर्दैछन् । त्यस क्रममा हुने भीड व्यवस्थापनको लागि ट्राफिक प्रहरीले काठमाडौंका विभिन्न क्षेत्रमा सवारी आवागमनमा मंगलबारको लागि प्रतिबन्ध लगाएको छ ।

यसरी मेलामा जानुपूर्व शहरी भेगमा ट्राफिक व्यवस्थापनको बारेमा समेत जानकारी लिएर जानु उचित हुन्छ । यस्तो मेलामा अनेकथरी मान्छेको उपस्थिति हुने भएकाले अप्रिय घटना पनि यही भीडमा हुने जोखिम हुन्छ । त्यसैले शिवरात्रिको मेलामा जाँदा केही कुरामा ध्यान दिनु जरुरी हुन्छ ।

मास्कको प्रयोग गर्ने

अहिले कोरोना महामारीको जोखिम कम भएपनि पूर्ण रुपमा अन्त्य भइसकेको छैन । सोमबार मात्रै पनि एकदिनमा १८० जनामा नयाँ संक्रमण देखेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । भीडमा कसैमाथि संक्रमण छ भने त्यसबाट अरुमा पनि सर्न सक्ने भएकाले त्यसमा सचेत भएर मास्कको राम्रोसँग प्रयोग गर्नुपर्छ । अर्कोतर्फ कोरोना मात्रै नभएर पनि भीडमा अन्य संक्रमणबाट बच्न पनि मास्क प्रभावकारी हुन्छ । त्यसैले भीडमा जाने बेला मास्कको प्रयोग गर्न छाड्नु हुँदैन । मास्कलाई राम्रोसँग नाक मुख छोपिने गरी लगाउनुपर्छ ।

पाकेटमारबाट सचेत हुने

जतिधेरै भीडभाड हुन्छ, उति धेरै आपराधिक गतिविधि हुने सम्भावना हुन्छ । चोरी तथा पाकेटमारीको समस्या पनि शिवरात्रिको मेलामा हुन सक्छ । त्यसैले आफूसँग भएका बहुमूल्य सामग्रीहरुलाई घरमै छाडेर जानु उपयुक्त हुन्छ ।

कतिपयले देखासिकीको लागि पनि महँगा गहना लगाएर जाने गरेको देखिन्छ । यस्तोमा पाकेटमारी वा चोरीको जोखिम बढी हुने भएकाले सावधानी अपनाउनुपर्छ । अहिले प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन भुक्तानीको चलन बढ्दो छ । त्यसैले अप्टेरो अवस्थामा अनलाइन भुक्तानीको सहायता लिन सकिने भएकाले मेला भर्न जाँदा थोरै पैसा बोकेर जानुपर्छ ।

महिलामाथिको दुर्व्यहारको जोखिम

भीडभाडमा महिलामाथिको दुर्व्यवहारको जोखिम पनि बढी हुने गर्छ । अव्यवस्थित भीडमा महिलामाथि दुर्व्यवहार हुने जोखिम पनि बढी हुने भएकाले सचेत हुनुपर्छ । सकेसम्म त्यस्तो अव्यवस्थित भीडमा जानुहुँदैन । जानै परेपनि आफ्नो वरपरका मान्छेमाथि निगरानी गरिराख्नुपर्छ ।

रोगी तथा अशक्तलाई हुनसक्ने समस्या

कतिपय स्वास्थ्य समस्या भोगेका एवं अशक्तहरु यस्तो मेला भर्न जाँदा बिरामी पर्ने, बेहोस हुने जस्ता जोखिम बढी हुन्छ । काठमाडौंको पशुपति दर्शन गर्न लाइनमा बस्दा पनि कतिपयले यस्तो समस्या भोगिरहेको देखिन्छ । त्यसैले स्वास्थ्य समस्या भएकाहरुले व्रत बस्ने नाममा लामो समय भोकै लाइनमा बस्नुहुँदैन । व्रत बस्नै परेपनि तागत दिने जुस लगायत पेय पदार्थ पिउन सकिन्छ ।

बालबालिका हराउने जोखिम

धेरै भीडभाड भएको ठाउँमा जाँदा आफूसँगै गएका बालबालिका हराउने समस्या हुन्छ । त्यसैले भीडमा जाँदा यसबारेमा पनि ध्यान दिनु उपयुक्त हुन्छ । सकेसम्म यस्तो भीडभाडमा सकेसम्म बच्चा नलैजाँदा राम्रो हुन्छ । बच्चा लैजानै परेपनि उनीहरुको राम्रो ख्याल गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?