
१७ फागुन, पर्वत । कुश्मा नगरपालिकाले नसर्ने रोगको पहिचानका लागि रक्त परीक्षण कार्यक्रम सुरु गरेको छ । नागरिकको स्वास्थ्य सुरक्षाका लागि कुश्मा नगरपालिकाको अभियान अन्तर्गत कुश्मा नगरपालिकाका १४ वटै वडामा रहेका नागरिकको नसर्ने रोग पहिचान शिविर सुरु भएको हो । अभियानको सुरुवात कुश्मा नगरपालिका-९ कटुवाचौपारीबाट सुरु भएको छ ।
सोमवार कटुवाचौपारीमा आयोजित शिविरमा ३०० जनाको रक्त परीक्षण गरिएको छ । अधिकांशमा मधुमेह, उच्च रक्तचाप, तथा बाथ रोगजस्ता नसर्ने रोग देखिएको परीक्षणबाट पुष्टि भएको छ । सो परीक्षणमा ३९ जनामा उच्च रक्तचाप, २२ जनामा मधुमेहको उच्च जोखिम रहेको पाइएको छ भने अन्यमा सामान्य अवस्था रहेको पाइएको स्वास्थ्य सहसंयोजक यामप्रसाद शर्माले जानकारी दिए ।
ज्येष्ठ नागरिकमा नसर्ने रोग लाग्ने र समयमै परीक्षण गरी थप उपचार गर्न सहज होस् भनेर कुश्मा नगरपालिकाले यो कार्यक्रम सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले जानकारी दिए । रोगले थलिएपछि बल्ल उपचारका लागि जाने धारणा समाजमा रहेको अवस्थामा यो अभियानले बेलैमा रोगको पहिचान र निदान हुने भएकाले कुश्मा नगरपालिकाले अभियान सुरु गरेको गुरुङले बताए ।
नसर्ने रोगको पहिचान शिविर नगरपालिकाका सबै वडामा सञ्चालन हुने नगरप्रमुख रामचन्द्र जोशीले बताए । कुश्मा बजारदेखि दुरदराजसम्म पुगेर स्वास्थ्यकर्मीले शिविर सञ्चालन गरी बिरामीको पहिचान र उपचार गर्ने जोशीले बताए । नगर उपप्रमुख सीता काफ्ले लामिछानेले विशेष गरी ज्येष्ठ नागरिकलाई नसर्ने रोग लाग्ने भएकाले स्वास्थ्यकर्मीलाई ज्येष्ठ नागरिकको जीवनरक्षाका लागि ध्यान दिएर सेवा दिन अनुरोध गरिएको बताइन् ।
प्रतिक्रिया 4