+
+

औषधि उत्पादन क्षमता अभिवृद्धि गर्दै एभरेष्ट पेरेन्ट्रल्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १४:२७

काठमाडौं । बाराको छातापिपरामा रहेको एभरेष्ट पेरेन्ट्रल्स प्रालिले एकै ठाउँबाट लार्ज भोल्युम पेरेन्ट्रल्स (एलभीपीएस), स्मल भोल्युम पेरेन्ट्रल्स (एसभीपीएस) तथा आँखा/कानमा प्रयोग हुने ड्रप औषधिहरुको उत्पादन सुरु गरेको छ ।

नेपालकै पहिलो औषधि उद्योगको पहिचान बनाएको एभरेष्ट पेरेन्ट्रल्स प्रालिले एउटै छतमुनिबाट ती औषधिहरुको उत्पादन सुरु गरेको उद्योगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्लान्ट डब्ल्यूएचओ/जीएमपी मापदण्डको पालना गर्दै स्थापना भएको यो उद्योग ८५ हजार वर्ग फिट क्षेत्रफलमा फैलिएको छ । यस उद्योगमा आधुनिक प्रयोगशाला, उच्च प्रविधिको रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर रहेको उद्योगले जनाएको छ ।

यो उद्योगले कोरोना महामारीको पहिलो लहरमा कोरोना भाइरस परीक्षणमा प्रयोग हुने भाइरस ट्रान्सपोर्ट मिडियम (भीटीएम) किट बनाएको थियो । जुन किट सीडीसी गाइडलाइन अनुसार बनेको देशकै पहिलो किट रहेको उद्योगको दाबी छ । जसले कोरोना महामारीको समयमा भीटीएम किटको समस्यालाई टारेको थियो ।

नेपालमै औषधि उत्पादन गरी विदेशी परनिर्भरता घटाउने उदेश्यका साथ रानासरिया ग्रुपले सन् २०१५ मा यो उद्योगको स्थापना गरेको थियो ।

रानासरिया ग्रुपका संस्थापक महेश रानासरियाले सर्वसुलभ रूपमा उच्च गुणस्तरको स्वदेशी औषधि सस्तो मूल्यमा उपलब्ध गराउने सोच अनुसार उद्योग स्थापना गरेका हुन् ।

अत्याधुनिक प्रविधि

यस उद्योगले पहिलो पल्ट नेपालमा यूरो हेडको अत्याधुनिक प्रविधि भित्र्याएको र जसका कारण संक्रमणको खतरा न्यून रहने उमङ्ग रानासरियाको दाबी छ।

‘अत्याधुनिक प्रविधिको उपयोगले उत्पादको मूल्य अलि बढ्दो रहेछ,’ उनले भने, ‘तर हाम्रो लागि यो व्यापार मात्र नभएर जिम्मेवारी र सेवा पनि रहेकोले उच्च गुणस्तरलाई सर्वोपरि राखेर अगाडि बढी रहेका छौं।’

यस उद्योगको ठूलो परिमाण अन्तर्गत यूरो पोर्ट/स्ट्राइल पोर्ट स्लाइन पानी- २ हजार बोतल प्रति घण्टा, यूरो पोर्ट / स्ट्राइल पोर्ट फ्लेक्सी ब्यागको स्लाइन पानी २ हजार ५ सय ब्याग प्रति घण्टा र स्मल भोल्युम अन्तर्गत ग्लास एम्पुल १४ हजार एम्पुल प्रति घण्टा, ग्लास भायल ७ हजार सीसी प्रति घण्टा, इयर ड्रप र आई ड्रप १४ हजार सीसि प्रति घण्टाको उत्पादन क्षमता रहेको उनले बताए ।

उद्योगका सीईओ रानासरिया औषधिको परनिर्भरता न्यून गर्न स्वदेशमै औषधि उत्पादन क्षमता अभिवृद्धि गर्ने तयारीका साथ काम भइरहेको बताउँछन् ।

आफ्नै उद्योगबाट उत्पादित औषधिले नेपाललाई आत्मनिर्भर बनाइ विदेशमा समेत निर्यात गरी राष्ट्रलाई नै गौरवान्वित बनाउने र विदेशी मुद्रा नेपालमा भित्र्याउने लक्ष्य उद्योगको रहेको रानासरिया बताउँछन् । जसबाट आयात घाटालाई पनि केही हदसम्म कम गर्ने उनको विश्वास छ ।

एभरेष्ट पेरेन्टेरल्सले २५० जनालाई प्रत्यक्ष रूपमा रोजगार दिइरहेको र हजारौंलाई अप्रत्यक्ष रूपमा रोजगारको अवसर प्रदान गरेको उनको भनाइ छ । निकट भविष्यमै कर्मचारीको संख्यामा वृद्धि गर्ने तयारी रहेको उनले बताए ।

देशलाई इन्जेक्टेबल उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले कम मूल्यमा उच्च गुणस्तरको इन्जेक्टेबल उत्पादहरु उपलब्ध गराउने उद्देश्यले सन् २०१५ मा उद्योगको स्थापना भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?