+
+

एनएनआईपीए अवार्ड : विराज र अरुणा सर्वोत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते १८:३४

१७ फागुन, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान विराज महर्जन र राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा एनएनआईपीए सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले आयोजना गरेको १६औं संस्करणको एनएनआइपीए स्पोर्टस अवार्डमा विराज पुरुषतर्फ र अरुणा महिलातर्फ सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । दुवैले नगद १/१ लाख रुपैयाँ प्राप्त गरे ।

एनएनआईपीएले हरेक वर्ष आयोजना गर्दै आएको अवार्डमा विभिन्न २७ खेलका उत्कृष्ट खेलाडीलाई पुरस्कार प्रदान गरिँदै आएको छ । त्यही उत्कृष्ट मध्येबाट महिला र पुरुषतर्फ १/१ जनालाई सर्वोत्कृष्ट अवार्ड दिइएको हो ।

विराजले गत वर्ष घरेलु मैदानमा भएको थ्री नेसन्स कप फुटबलको उपाधि जित्दै अन्तर्राष्ट्रिय पुटबलबाट सन्न्यास लिएका थिए । अरुणाको कप्तानीमा नेपालको महिला भलिबल टोलीले लगातार दोस्रो पटक एसियन सेन्ट्रल जोन भलिबलको उपाधि जितेको थियो ।

यसैगरी विश्व जुनियर वरीयतामा शीर्षस्थानमा रहेका युवा ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल र उसुकी निमा घर्तीमगर उदयमान खेलाडी घोषित भए । दुवै जनाले ५०/५० हजार प्राप्त गरे । ट्रायथलनका हिमाल टमाटा र तेक्वान्दोकी पार्वती गुरुङ प्रतिभाशाली खेलाडीबाट सम्मानित हुँदै नगद ५०/५० हजार प्राप्त गरे ।

नेपाल ओलम्पिक कमिटी (एनओसी) का आबद्ध २७ खेलका उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो । कोभिड-१९ का कारण २०७७ सालमा खेलकुद प्रतियोगितामा असर परेकाले सम्बन्धित संघले गरेको सिफारिसको आधारमा उत्कृष्ट खेलाडीहरूलाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा आर्चरीका ज्ञानु अवाले, एथलेटिक्सका किरण सिंह बोगटी, बास्केटबलकी सदिना श्रेष्ठ, बक्सिङकी सुष्मा तामाङ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फकी कस्मिरा शाह, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्यास्टिकका रोहन बुढाथोकी, करातेका विप्लव श्रेष्ठ, र्‍याफ्टिङ एन्ड क्यानोनिङका सुमन तामाङ छन् ।

त्यस्तै, जुडोकी सुमित्रा राई, स्किका सफल राम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङकी कृष्णा थापा, कबड्डीका नागेश्वर थारु, टेबलटेनिसका स्यान्टु श्रेष्ठ, लनटेनिसकी अभिलाषा विष्ट, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र रेस्लिङका सुरेश चुनारा उत्कृष्ट छन् । उत्कृष्ट खेलाडी जनही १० हजार प्राप्त गरे ।

पारा ओलम्पिकमा प्रतिस्पर्धा गरेकी पलेशा गोबर्दधनले उत्कृष्ट पारा खेलाडीबाट सम्मानित भइन् । उनले नगद १० हजार प्राप्त गरिन् । एथलेटिक्स प्रशिक्षक पुष्पराज ओझालाई गजराज आदर्श खेल व्यक्तित्वबाट नगद ३५ हजारसहित सम्मान गरिएको थियो । यस्तै, कान्तिपुर दैनिकका खेलकुद पत्रकार हिमेश रत्न बर्जाचार्यलाई एनएनआईपीए खेल पत्रकारिता पुरस्कारसहित नगद २५ हजारबाट सम्मानित गरियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?