+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कथा : जन्मजन्मान्तर

दुर्भाग्य, दैत्य सेना देवताहरुबाट पराजित भयो । शिवपुत्र कार्तिकेयको हातबाट तारकासुरको पनि अन्त्य भयो । ठूलो संख्यामा दानव सेनाको हताहत भयो । युद्धमा गएपछि तिमी पनि फर्केर आएनौं…।

दीपक पराजुली दीपक पराजुली
२०७८ फागुन २१ गते ७:४२

सृष्टि र संहार त लय मात्र हुन् । जीव साधन मात्र हो । जन्म र मरण घटना मात्र हुन् । तर जीवन सनातन छ । यो स्थानमा तपाईंले आदम र इभलाई वा मनु र सतरुपालाई पनि उभ्याउन सक्नुहुन्थ्यो । वा तपाईंले अरु धेरै नाम लिन सक्नुहुन्थ्यो । र, भन्नैपर्छ नाम त निमित्त मात्र हुन् । जीवनलाई जीवन रहन दिनुहोस् । सट्टामा कुनै सर्र्वनाम चाहिंदैन । जगतलाई जगत नै बुझ्नुहोस् । अनुवादमा कुनै मञ्च चाहिंदैन । जस्तो कहिलेकाहीं कथा भन्नलाई कुनै प्रसंग चाहिंदैन । परिवेश चाहिंदैन । ती सारा नक्कलझक्कल मात्र हुन् । भन्नेहरुलार्ई वाणी दिनुपर्छ । सुन्ने र बुझ्नेहरुलाई सारा संसार ।

र, अब सुन्नुहोस् यी युगलका बीचमा भएको संवाद विस्तारमा

समिधा

सत्य युगदेखिको हाम्रो जीवनकथा मलाई याद छ । उपासुर, के तिमी सुन्न चाहन्छौं ?

उपासुर

अवश्य समिधा ! भन, म सुन्न चाहन्छु ।

समिधा

सुन, सत्ययुगमा हामी दानवजातिका थियौं…। त्यसबेला सारा विश्व ब्रह्माण्डभरि देवताहरुको एकलौटी आधिपत्य थियो । देवताहरुले हाम्रो दानव समुदायलाई ब्रह्माण्डीय सत्ताबाट वञ्चित गराएका थिए । हामी दानवहरु देवताहरुबाट शोषित र उत्पीडित थियौं । सारा दैत्य समाज देवताहरुको उत्पीडनबाट मुक्ति चाहन्थ्यो । ब्रह्माण्डीय सत्तामा दैत्यहरुको पनि सम्मानजनक अधिकार स्थापित गर्न चाहन्थ्यो ।

यसका लागि गुरु शुक्राचार्यले तारकासुरको नेतृत्वमा दैत्यसेना खडा गरेका थिए । जो देवताहरुको दमनको विरुद्धमा लड्न सकोस् । उनीहरुलाई पराजित गरेर तीन लोक र चौध भुवनमा आफ्नो शासन स्थापित गर्न सकोस् । ब्रह्माजीबाट वरदान पाएर तारकासुर पनि निकै हौसिएको थियो । देउताहरुलाई मत्र्यलोकको खस्रो धुलो चटाएर आफु स्वर्गको नरम गद्दीमा आसन जमाउने सपना मात्र देखेको थिएन, विपनामै त्यो सम्भव हुने कुरामा ऊ ढुक्क थियो ।

त्यो दिन पनि आयो । जुन दिन देवासुर संग्रामको पनि शंखघोष भयो । तिमी दैत्य सेनाको एक सिपाही थियौं । युद्धमा जानुअघि तिमीले त एउटा कसम नै खाएका थियौ ।

उपासुर

कस्तो कसम खाएको रहेछु, मैले.. ?

समिधा

युद्धमा विजयी भएर आएपछि मात्र मलाई विवाह गर्ने भनी कसम खाएका थियौ तिमीले । अझ तिमीले यो पनि भनेका थियौ कि देवासुर संग्राममा हाम्रो जित निश्चित छ । युद्ध जितेपछि हामी दानवहरुको तीनै लोकमा राज हुनेछ । इन्द्रले भोगचलन गरेको स्वर्ग हाम्रो हुनेछ । स्वर्गका सबै सुखसुविधा हाम्रो हुनेछन् । त्यसपछि हामी विवाह गर्ने छौं र त्यही स्वर्गमा अनन्त कालसम्म अनन्त सुखभोग गरेर बस्ने छौं । यस्तै यस्तै सुनौला सपना पनि देखाएका थियौ तिमीले । ती मन हर्ने सपना कहिले पूरा होला भन्दै म दिन गनेर बसिरहेकी थिएँ । तर …

उपासुर

तर के मैले आफ्नो कसम पूरा गर्न सकें त… ? मैले तिमीलाई देखाएका ती सपनाहरु पूरा भए त..?

समिधा

दुर्भाग्य, दैत्य सेना देवताहरुबाट पराजित भयो । शिवपुत्र कार्तिकेयको हातबाट तारकासुरको पनि अन्त्य भयो । ठूलो संख्यामा दानव सेनाको हताहत भयो । युद्धमा गएपछि तिमी पनि फर्केर आएनौं…। अरु धेरै दैत्यसेनाहरु जस्तै तिमीले पनि वीरगति प्राप्त गर्‍यौं । तिमीले खाएको कसम र देखाएका सपना यत्तिकै अधुरा रहे । म एक्लो भएँ…।

उपासुर

ओहो, कस्तो दुःखान्त.. मलाई माफ गर ल, मैले तिम्रो… (बीचैमा)

समिधा

अँह.. अहिले होइन उपासुर… तिमीलाई अझ धेरै कुरा बताउनु छ, मैले…

उपासुर

भन न त, समिधा .. म तिम्रो सबै कुरा सुन्न चाहन्छु…

समिधा

त्यसपछि हामीले त्रेता युगमा पनि जन्म लिएका थियौं…। त्रेता युगमा हामी दुवैको जन्म वानर जातिमा भएको थियो । वानर जाति भनेर हामी कुनै जंगली बाँदर जनावर थिएनौं । जस्तो अचेलका मानिसहरुलाई भ्रम छ । न हाम्रो मुख बाँदरको जस्तो थियो न त हाम्रो पुच्छर नै थियो । यो त कलियुगका तथाकथित पण्डितहरुको दुर्नियत र वैचारिक दरिद्रता मात्र हो ।

हामी मान्छे नै थियौं । बस्, हाम्रो समुदायको नाम मात्र थियो, वानर..। त्यो बेला अयोध्याका राजा दशरथपुत्र राम वनवासमा हुँदा उनकी पत्नी सीतालाई लंकाका राजा रावणले हरेर लगेका थिए । आफ्नी प्राणप्यारी सीताको वियोगमा राम आगोभन्दा बढ्ता जलिरहेका थिए । सीतालाई त्यहाँबाट फर्काएर कसरी ल्याउने भन्ने उपायको खोजीमा उनी लागिरहेका थिए । तर तत्काल कुनै त्यस्तो उपाय सुझिरहेको थिएन ।

कालान्तरमा सीतालाई लंकाबाट छुटाइ ल्याउन युद्ध नै एक मात्र विकल्प देखियो । या त आफैं मर, या त रावणलाई मारेर सीतालाई फर्काएर ल्याऊ ।

सर्वशक्तिमान रावणलाई युद्धमा जितेर ल्याउनु मुस्किल मात्र होइन असम्भवजस्तै थियो । उनले पराक्रमी वानरहरुको साथ पाए । यसबाट रामलाई ठूलो हौसला मिल्यो र उनी युद्ध गर्न तयार भए ।

राम–रावण युद्ध भयो । वानरहरुको उच्चतम समर्पण, पराक्रम र वलिदानले युद्धमा रामलाई विजयी गरायो । रामले सीता पाए । सीताले राम पाइन् । उनीहरुको मिलनको उत्सव भयो ।

तर हाम्रो कथा भने उस्तै रह्यो । त्यतिखेर पनि तिमीले त्यही भनेका थियौ कि युद्ध जितेर आएपछि मात्रै धुमधामले विवाह गरौंला । त्यो रावणले राज गरेको लंका सुनैसुनले बनेको छ । त्यसलाई मारेर पराजित गरेपछि त्यो लंका हाम्रो हुनेछ । मन लागे लंकामै गएर सुनको घरमा बसौंला । नभए त्यहाँबाट सुन ल्याएर आफ्नै देशमा सुनको घर बनाउँला । सुनैको लुगा र सुनैको गहनाले पुरिएर बसौंला । यस्तै यस्तै सुनौलो सपना देखाएर तिमी युद्धमा गएका थियो । तर रामका पक्षमा लड्दालड्दै तिमीले त्रेतायुगमा पनि वीरगति प्राप्त गर्‍यौं । तिम्रा ती सपना कहिल्यै पूरा नहुने गरी लंकाकै सुनको ह्रासमा पुरिए । अनि म फेरि एक्लो भएँ…

उपासुर

यो कुरा सुनेर मलाई एकदम दुःख लाग्यो, समिधा…। मैले त तिमीलाई कहिल्यै पूरा नहुने सपना मात्र देखाइरहें । देखाइरहें । तिमीलाई सदैव पीडा मात्र दिइरहें…।

समिधा

तिमीलाई दुःख लाग्छ भने बाँकी जन्मका कुरा गरेर म तिमीलाई थप दुःखी बनाउन चाहन्नँ…।

उपासुर

हैन, हैन, त्यसो हैन.., तिमी भन्दै जाऊ हाम्रो जन्मजन्मान्तरको कथा, आज म दुख्न चाहन्छु…। म हाम्रो पूर्वजन्मका व्यथाहरु सुन्न चाहन्छु…। तिमी भन्दै जाऊ… बाँकी अरु जीवनहरुमा के के भयो…? मलाई जान्न इच्छा छ । मलाई आज मनभरि दुख्न इच्छा छ ।

समिधा

उपासुरले थाहा नपाइकनै उसको दुवै आँखाबाट नदीका धारा छुटेको थियो । त्यसपछि उपासुरले वरपर लयबद्ध आवाज गुञ्जिएको सुन्यो । शुरुमा अत्यन्त झिनो मात्रामा सुनेको आवाज पछि विस्तारै विस्तारै बढ्दै गयो । पछि उसले त्यो आवाज प्रष्टसँग सुन्यो । यसपटक उसले आवाज मात्र सुनेन

द्वापर युगमा हामी एकादेशको राजारानी थियौं । सुखको कुरा भन्नुपर्छ । युगौंयुगपछि हाम्रो मिलन भएको थियो, राजारानीको रुपमा । न्यायप्रेमी, वीरप्रतापी एवं प्रजावत्सल राजाको रुपमा तिम्रो ख्याति देश देशान्तर फैलिएको थियो । तिम्रो कुशल शासनमा प्रजाहरुले सुख, शान्ति र अमन चैनको अनुभव गरेका थिए । हाम्रो राज्यमा कोही दुःखी थिएन । प्रजाहरुको सुख नै हाम्रो लागि परमसुख थियो । तर यो सुख पनि धेरै टिक्न पाएन ।

त्यसबेला हस्तिनापुर राजखलकका दाजुभाइहरुमा ठूलो झगडा भयो । एकातिर कौरव, जो राजा धृतराष्ट्रका आफ्नै छोराहरु थिए भने अर्कोतर्फ पाण्डव, जो उनका भाइ पाण्डुका छोराहरु थिए । राज्यसत्ताको विषयलाई लिएर भएको उनीहरुको विवाद आजभन्दा भोलि, भोलिभन्दा पर्सि चर्कंदै गयो । शान्ति र मेलमिलापका सारा प्रयासहरु असफल भए । युद्धलाई नै समस्याको अन्तिम समाधान ठानियो । अन्ततः कुरुक्षेत्रमा कौरव र पाण्डव, यी दुई भाइखलकका बीचमा युद्ध हुने निश्चितै भयो ।

तर यो युद्ध यी दुई भाइखलकका बीचमा मात्र सीमित रहेन । उनीहरु युद्धलाई जतिसक्दो आफ्नो पक्षमा पार्न चाहन्थे । त्यसका लागि उनीहरुले संसारभरिका राजाहरुलाई आफ्नो पक्षबाट युद्धमा सरिक हुन निम्तो बाँडे । निम्तो पाएर आएका राजाहरु यिनै भाइ खलकमध्ये एकको पक्ष लिएर रणभूमिमा उत्रिने भए । अरु राजाहरुलाई जस्तै तिमीलाई पनि युद्धको सहभागी हुन पाण्डव र कौरव दुवै पक्षबाट निमन्त्रणा आएको थियो । तर तिमीले अघि नै शकुनीलाई वचन दिइसकेका थियौ । त्यसो हुनाले तिमीले त्यो युद्धमा कौरवको पक्षमा पाण्डवहरुका विरुद्ध लड्ने भयौ ।

मैले तिमीलाई त्यो लडाइँमा नजानको लागि कति बिन्ती गरें । शासनको बागडोर कसले हत्याउने भन्ने खेल थियो । वास्तवमा त्यो उनीहरुको पारिवारिक झगडा हो । त्यसमा हामी तटस्थ रहनु नै उचित हुन्छ । तिनीहरुका भाइखलकले गुहु खाए भन्दैमा हामी किन उनीहरुको लहैलहैमा लागेर रछ्यानमा मुन्टो जोत्दै जाने ? आदि इत्यादि कुराहरु भन्दै अनेक तरहले तिमीलाई सम्झाउने प्रयास गरेको थिएँ ।

तर… ‘क्षेत्री भएर जन्मेपछि क्षात्रधर्मबाट विचलित हुनु हुँदैन । युद्धलाई सहर्ष स्वीकार गर्नु, युद्धमा वीरता प्रदर्शन गर्नु र मर्न परे बरु मर्नु तर रणभूमिबाट पिठ्यूँ फर्काएर नभाग्नु नै क्षात्रधर्म हो । यदि म युद्धमा गइनँ भने, म धर्मच्यूत हुनेछु । त्यति मात्र होइन सारा संसारमा मेरो बेइज्जत हुनेछ । साराले मलाई युद्धदेखि भाग्ने कायर र नामर्द भन्दै धिक्कार्नेछन् । थुक्नेछन् । हाम्रा राजा त कायर रैछन् भनेर जनताले मलाई विश्वास गर्न छाड्नेछन् । राजाको हुकुम पनि कसैले मान्ने छैनन् । हाम्रो राज्यमा दण्डको भय समाप्त हुनेछ । त्यसले राज्यमा न्याय होइन अन्याय बढ्ने छ । यदि त्यस्तो हुन गयो भने ढिलोचाँडो म त मरेतुल्य हुने नै छु र मेरो राज्यको पनि पतन हुनेछ ।’ यस्तै यस्तै कुरा गरेर तिमीले युद्धमा जानैपर्ने ढिपी कस्यौ ।

तिम्रो चट्टानी अडान टसको मस भएन । तिमीलाई युद्धमा जान रोक्ने मेरा सारा प्रयत्नहरु हावामा बिलाएर गए । तिमी कुरुक्षेत्रको युद्धमा गयौ । आखिर त्यही भयो, जे नहुनु थियो । तिमी कुरुक्षेत्रबाट फर्केर आएनौ…। मैले फेरि तिमीलाई गुमाएँ ।

उपासुर

ओहो.. मेरो हरेक जन्म त युद्ध लडेरै बितेको रैछ । मैले तिमीलाई कति धेरै दुःख दिएको रहेछु है समिधा ? कत्ति धेरै दुःख दिएको रहेछु मैले तिमीलाई…! म कति युद्ध उन्मादी रहेछु…! लडेरै मरें…। तिमीलाई सधैं एक्लो बनाएँ…। मलाई एकदम ग्लानि भइरहेको छ… के त्यसपछिका अरु जीवनहरुमा पनि यस्तै भयो ?

समिधा

त्यसपछिको जीवन चाहिं अलि फरक छ, उपासुर ! कुरा बुद्धकालीन समयको हो..। त्यतिखेर हाम्रो विवाह भइसकेको थियो । हाम्रो सानो परिवार थियो । हाम्रा दुई सन्तान पनि भइसकेका थिए । र ती सानै थिए । हामी एउटा गाउँमा बस्थ्यौं । खेतीकिसानी गरेर गुजारा चलाउँथ्यौं ।

एक दिन पल्लो गाउँमा महामुनि गौतम बुद्ध आफ्ना दश हजार भिक्षुका साथमा आएका छन् रे भन्ने खबर सुन्नमा आयो । गौतम बुद्धलाई हेर्न र उनको प्रवचन सुन्न हाम्रो गाउँबाट पनि साराका सारा मान्छेहरु उर्लेर गएका थिए ।

बुद्धलाई भेटेर आएका मानिसहरु हजार सूर्य एकैपटक उदाएजस्तो उनको आभायुक्त मुखमण्डलको कुरा गर्थे । उनको मुखारविन्दबाट निस्कने शीतल झरना जस्तो वाणीले कसरी मानवमनको मयल पखालिदिन्थ्यो, उनको केवल एक दृष्टिले पनि कसरी अन्तःकरणको राप–ताप हरिदिन्थ्यो, उनको सम्मोहक व्यक्तित्वको अगाडि मानिसहरु कसरी वसन्तका फूल जस्तै फक्रन थाल्थे । मानिसहरुले यस्तै यस्तै कुरा गर्न थालेका थिए । बुद्धको जहाँ उपस्थिति हुन्छ त्यहाँबाट कोसौं टाढासम्म उनको आभामण्डल विस्तारित हुन्थ्यो र उनको आभामण्डलमा समेटिएका हरेक प्राणी यसै यसै आनन्दमा मग्न हुन्छन् । हो, मानिसहरुले यस्तै कुरा गरेका थिए ।

यसप्रकारका कुरा सुन्ने जोकोही पनि बुद्धलाई भेट्न अति उत्सुक भइहाल्थ्यो । मलाई पनि बुद्धलाई हेर्न र सुन्न जाने तीव्र इच्छा भयो ।

तर समस्या के थियो भने, त्यतिखेर हाम्रा दुई लालाबाला सानै थिए । एक त उनीहरुलाई बोकेर त्यति टाढा जान सम्भव पनि थिएन । अर्को कुरा उनीहरुलाई घरमै छोडेपनि हेरिदिने मान्छे कोही पाइन्थेनन् । त्यसमाथि वस्तुभाउको हेरचाह र खेतीपातीको चटारो । त्यसैले मैले तिमीलाई मात्रै भएपनि एक्लै पठाउने निर्णय गरें । तिमी जाँदा म एक्लै भएपनि घर धान्न सक्थें ।

शुरुमा त तिमी जानै मानेका थिएनौं । मैले धेरै नै कर गरेपछि बल्लबल्ल जान तयार भयौं । जानेबेलामा मैले तिमीलाई– बुद्धलाई राम्रोसँग सुनेर आऊ अनि उनका ती सबै पवित्र वाणीहरु मलाई पनि सुनाऊ– भनेकी थिएँ । तर तिमी गयौ मात्रै फर्केर आएनौ ।

तिमी भिक्षु भएर बुद्धसँग संघमा सामेल भएका छौ रे भन्ने कुरापछि मलाई एउटा गाउँलेले सुनायो । मलाई लाग्यो, शायद तिमीले मैले भने जस्तै गरी बुद्धलाई राम्ररी सुनेका रहेछौ…।

उपासुर

उहिल्यै बुद्धको शरणमा लागेको मलाई आजसम्म निर्वाण उपलब्ध भइसक्नुपर्ने होइन र ? म किन यसरी भड्किरहेछु ?

समिधा

त्यतिबेला बुद्धको वचनबाट प्रभावित भएर तिमी भिक्षु त भयौ तर तिम्रो मन भिक्षु भइसकेको थिएन । बाहिरबाट हेर्दा मात्र तिमी भिक्षुको भेषमा थियौ । बुद्धको साथमा रहँदा पनि तिम्रो मन चञ्चल नै थियो । राग, द्वेष र मोहको बन्धनबाट तिम्रो मनले छुटकारा पाएको थिएन । कालान्तरमा बुद्धको महाप्रस्थान भएपछि तिमीले बुद्ध संघ नै छोडेर गएका थियौ । तिमी आजसम्म पनि तिमी एक अतृप्त आत्मा भई भड्किरहेका छौ ।

उपासुर

समिधा, मलाई बाटो देखाऊ ।

समिधा

उपासुर, यो मेरो जन्म मात्र अन्तिम होइन । तिमीसँगको यो भेट पनि अन्तिम हो । म इकाईबाट अनन्त समाहित हुन लागिरहेको छु । जसरी एउटा थोपा सागरमा समाहित हुन्छ । म अनन्तको पनि अनन्त यात्रामा छु । तिमी आफ्नो प्रकाश आफैं बन । तमन्धकारलाई हटाऊ । आफ्नो बाटो आफैं पहिल्याउँदै आऊ । तिमी मलाई अनन्तमा भेट्ने छौ । अलविदा उपासुर !

यति भनेर समिधा विस्तारै हावामा उड्न थाली । उपासुर त्यही उभिएर हेरेको हेर्‍यै भयो । हात उठाएर समिधालाई समात्न खोज्यो । सकेन । समिधा राजहंशझैं आकाशतिर उडिसकेकी थिई ।

माथि माथि उड्दै जाँदा श्वेत वस्त्र लगाएकी समिधाको आकृति सानो सानो हुँदै गयो । उपासुरले असहाय भावमा हेरिरह्यो । मात्र हेरिरह्यो… ।

आकाशमा उडेकी समिधाको त्यो श्वेत आकृति अन्ततः एउटा विन्दुमा परिणत भयो । त्यो श्वेत विन्दु आकाशमा गएर टाँसियो र एउटा चम्किलो तारा बनेर रह्यो ।

हो, साँझ परिसकेको थियो ।

उपासुरले थाहा नपाइकनै उसको दुवै आँखाबाट नदीका धारा छुटेको थियो ।

त्यसपछि उपासुरले वरपर लयबद्ध आवाज गुञ्जिएको सुन्यो । शुरुमा अत्यन्त झिनो मात्रामा सुनेको आवाज पछि विस्तारै विस्तारै बढ्दै गयो । पछि उसले त्यो आवाज प्रष्टसँग सुन्यो । यसपटक उसले आवाज मात्र सुनेन । चारैतिर सिमलका भुवाझैं उडिरहेको शब्द र शब्दबाट बनेको वाक्यलाई पनि देख्यो । त्यो वाक्य त्यही थियो जो उच्चरित भई वरपर गुञ्जिरहेको थियो ।

तत् त्वम् शरणम् गच्छामी… !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?