+
+

संखुवासभाको उत्तरी क्षेत्रमा खाद्यान्न अभाव

हरि अधिकारी हरि अधिकारी
२०७८ फागुन २३ गते १८:४१
संखुवासभाको किमाथांका गाउँ

२३ फागुन, विराटनगर । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा खाद्यान्न अभाव भएको छ । निरन्तर परेको हिउँ नपग्लिएका कारण भोटखोला गाउँपालिकाको माथिल्लो क्षेत्र किमाथांका, थुदाम, रिदाक र छुमसुर जाने बाटो अवरुद्ध छ । र खाद्यान्न ढुवानी हुन सकेको छैन ।

चीनतर्फको नाका बन्द रहेको र नेपालतर्फको बाटो हिउँले ढाकेर अवरुद्ध भएका कारण २२१ घरमा खाद्यान्नको समस्या हुने अवस्था आएको भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष तेन्छेवी शेर्पाले बताए । सरकारले ती गाउँमा प्रतिपरिवार ४० किलो चामल र ३ किलो दाल छुट्याएपनि ढुवानी हुन नसकेको उनले बताए ।

‘हटिया (पालिकाको सदरमुकाम) पुग्ने दुईवटै बाटो बन्द छ,’ उनले भने, ‘खाद्यान्न गाउँमा पु¥याउने अवस्था छैन ।’ सरकारले दिने भनेको खाद्यान्न पनि च्याम्ताङसम्म मात्रै पुगेको छ ।

च्याम्ताङबाट बोकेर लैजान नसकिने भएकाले गाउँसम्म ढुवानीका लागि हेलिकप्टर आवश्यक पर्ने वडाध्यक्ष शेर्पाले बताए । ‘बोकेर लैजानुपर्दा जेठमा मात्रै पु¥याउन सकिन्छ,’ उनले भने, ‘सरकारले हेलिकप्टरमार्फत नल्याइदिए खोले खाएर गुजारा गर्नुपर्छ ।’

किमाथाङ्का क्षेत्रका वासिन्दालाई यसअघि चीन सरकारले दुई पटक खाद्यान्न सहयोग गरेको थियो । तर पछिल्लो समय भने सहयोग आएको छैन । ‘दुई पटक वडा स्तरबाट निर्णय गरेर सहयोग माग्दा चीनले प्रति परिवार १२० किलो चामल, दुई बोरा पिठो, दाल, चिनी तेल, नुन र दूध पाउडर दिएको थियो,’ वडाध्यक्ष शेर्पाले भने, ‘यो पटक चीनले वडाको पत्रले मानेन, पालिकाको पत्र पठाउन भन्यो, पालिकाले पत्र पठाइदिएन ।’

नेताहरु किमाथाङ्का आउँदा हेलिकप्टर लिएर आउने तर खाद्यान्न संकट पर्दा हेलिकप्टर नपठाएको वडाध्यक्ष शेर्पाले बताए । खाद्यान्न समस्या भएका यी गाउँदेखि २० मिटरको दूरीमा चीनको चाङ्गा बजार पर्छ । तर कोरोना महामारीका कारण दुई वर्षदेखि नाका बन्द छ ।

भोटखोला गाउँपालिका अध्यक्ष तेम्बा भोटेका अनुसार ती गाउँसम्म सडक पुगेको छैन । खच्चड हिँड्ने बाटो हिउँले ढाकेको छ । ‘हुने खाने परिवारले केही दिनलाई जोगाएर राखेका होलान्,’ उनले भने, ‘धेरै गाउँलेको आन्तरिक उत्पादनले चार महिना मात्रै पुग्छ ।’

संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले किमाथांका र वरपरका गाउँका २२१ परिवारका लागि प्रतिपरिवार ४० किलो चामल र ३ किलो दाल पठाइएको बताए । च्याम्ताङसम्म पुगेको खाद्यान्न छिटै सम्बन्धित गाउँहरुमा पठाइने उनले प्रतिक्रिया दिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?