+
+

हामीमाथि अझै लाञ्छना लाग्छ, तर बोल्न नछोडौं

आफूमाथि भएको शोषणबारे बोल्दा सबैभन्दा पहिले हाम्रो ‘चरित्र’माथि प्रश्न बर्सिन सक्छन्, अनेकन् लाञ्छनाले झन् कमजोर बनाउन सक्छ । तर यसपालि नबोली भएको छैन ।

बिनु सुवेदी बिनु सुवेदी
२०७८ फागुन २४ गते ९:२४

हरेक साँझ प्रौढ शिक्षा पढाएर फर्किएपछि मेरी आमा लालटिनको धीमा उज्यालोमा केही न केही लेख्थिन् । आमाले लेखेका कुरा भोलि उठेर पढ्छु भनेर गम्दागम्दै आमाकै खोकिलामा भुसुक्कै निदाउँथें म । तर भोलिपल्ट आमाको कापी मैले भेट्दिनथें । उनको मनमा केही न केही पीडा छ भन्ने जानेरै हो, संभवतः मैले आमालाई के लेख्नुभयो भनेर उतिखेर कहिल्यै सोधिनँ ।

एकदिन कापीका सिधा रेखामुनि जसै आमाका बाङ्गाटिंगा अक्षर देखें, म रोएँ । स्कुलमा गृहकार्य नगर्दा सरले पिटेर, घरमा भनेको नमान्दा दाइले पिटेर, खेल्दाखेल्दै कुरा नमिल्दा साथीले पिटेर बाहेक मैले सम्झेसम्म केही पढेर रोएको त्यो नै पहिलो घटना थियो ।

‘एक हलको गोरु दुइटा पो हुन्छन्, तीनवटा त हुँदैनन्’ आमाको त्यस डायरीबाट मैले आजसम्म नबिर्सेको वाक्य भने यति मात्रै हो । आमाले यो किन लेखिन् ? आजसम्म मलाई भनेकी छैनन् । आज पनि मेरी आमा बाँचेको दुनियाँको सिद्धान्तले भन्छ- ‘मनको बह कसैलाई नकह ।’

भर्खरै पाँच कक्षाको परीक्षा सकेर बसेकी म १० वर्षकी बच्चीलाई आमाको अक्षरले बोलेको पीडा सम्भवतः त्यसअघि खाएका पिटाइहभन्दा गहिरो गरी दुख्यो ।

एकदिन बारीमा आलु खन्दाखन्दै मैले आमालाई डायरीबारे सोधें पनि । हामी आमाछोरीका बीचमा भएको त्यो गन्थनमन्थनको सार थियो, आफ्नो पीडा कसैलाई भन्न हुन्न । ‘जोरीपारी हाँस्छन् छोरी !’ आमाले बारम्बार भनिन् ।

आज मलाई लागेको छ, सहनशील हुनु समस्याको समाधान निकाल्नु होइन, समस्याबाट भाग्नुमात्रै हो । समस्या फेरि भेटिन्छ, फेरि लखेट्छ ।

*** ***

मान्छेका दुःख देखेर हाँस्ने ‘जोरीपारी’ म आफैंले निकै पछि भोगें तर सिक्नचाहिं आफ्नो पीडा कसैलाई भन्न हुन्न भन्ने त्यतिखेरै सिकें जतिखेर म १० वर्षकी थिएँ । त्यसपछि उमेर बढ्दै जाँदा आमाको काखमा सुत्ने दिनहरू सकिदै गए । आमाले लेख्ने डायरी पल्टाउने चाहना हराउँदै गए । तर जति दुःख भए पनि, जति यातना सहनुपरे पनि चुपचाप बस्नुपर्छ भन्ने आमाको भनाइ ‘दिव्योपदेश’ सरह नै भयो । अनि म टाउको माथि पीडाको पहाडै खसे पनि बरु थेग्न तयार भएँ, बोल्न तयार भइनँ ।

चित्त नबुझेका विषयमा बोल्न मन हुँदा बरु ऐना हेरेर आफैंसित कुरा गर्न थालें तर मान्छे, छरछिमेकी, आफन्त र मान्यजनलाई कहिल्यै चिढ्याइनँ ।

परिस्थितिले मलाई ज्ञानी त बनायो, हक्की बनाउन सकेन । सुन्दर भविष्यको उडान भर्न पखेटा हाल्दै गर्दा समयको वेगले यसरी हुत्यायो कि म १३ वर्ष नपुग्दै घर छोडेर हिंड्नुपर्‍यो । आमाबुवाको छत्रछायाँबाट टाढा रहनुपर्‍यो । कहिले पढ्न, कहिले जागिर खान चितवन र काठमाडौंका सडक नाप्दै गर्दा मलाई सबैभन्दा धेरै केही कुराले पोल्यो भने यही कुराले पोल्यो कि पीडा देखाउँदा जोरीपारी हाँस्छन् । आफूमाथि भइरहेको गलत व्यवहारबारे आवाज उठाउँदा दबाउन खोज्नेहरुको जुलुसै लाग्छ । हामीले सहनशील बन्नुपर्छ भन्ने सामाजिक मान्यताले बनाएको मानक भत्काउन मलाई न हिजो सहज थियो, न आज ।

खान लगाउनकै लागि संघर्ष गर्नुपरेन, आफ्नो ठाउँमा छ तर हुर्किंदै गरेका छोरीको संघर्ष हातमुख जोड्नुभन्दा निकै परको हुँदो रहेछ । आफ्ना भनिनेहरूबाटै भएका शारीरिक तथा मानसिक शोषणविरुद्ध आवाज उठाउनै नसक्नुको परिणाम छोरीले मात्रै भोग्नुपर्छ । हामीले मात्रै भोग्नुपर्छ, मैले पनि भोगें ।

आज मलाई लागेको छ, सहनशील हुनु समस्याको समाधान निकाल्नु होइन, समस्याबाट भाग्नुमात्रै हो । समस्या फेरि भेटिन्छ, फेरि लखेट्छ ।

त्यसको पछिल्लो उदाहरण हाम्रा अघिल्तिर छर्लङ्गै छ- १६ वर्षकी किशोरी गायिकामाथि भएको बलात्कारको घटना । उनले बाँचेको परिवेश पनि मैले हुर्किएको समाजभन्दा बिल्कुल फरक थिएन, छैन । त्यसैले आफूमाथि अत्याचार भइरहेको छ भन्ने जान्दाजान्दै उनी बोलिनन् । बरु गीत गाउनै छोडिदिन्छु भनेर काठमाडौं छोडिन् । घरमा गएर बसिन् । हाँस्न बिर्सिइन् । कला क्षेत्रमा बन्दै गरेको करियरको माया मारिन् । घरमा अभिभावकलाई आफूमाथि भएको बलात्कारबारे नबताएकी पनि होइनन् तर उनलाई चुपचाप बस्न भनियो ।

बोले आफ्नै ‘इज्जत’ जान्छ भन्ने डरले झण्डै झण्डै उनलाई नै सकेन । महिलाका हकमा त ‘मर्नभन्दा बौलाउन निको’ भन्ने पुरानो उक्तिले काम गर्दाे रहेनछ । यस्तो यातना पाएर बौलाउन भन्दा बरु मर्नै निको भन्ने बाटो पो सजिलो हो कि भन्ठानिंदो रहेछ । जुन सोच १६ वर्षकी यी गायिकामा पनि आएको थियो, ममा पनि नआएको होइन ।

म फेरि मेरै कुरातिर फर्किन्छु । कहिले सहयोगीका नाममा, कहिले अग्रजका नाममा शोषण गर्न खोज्नेहरूका बारेमा मैले यसअघि नै लेखिसकेको छु । त्यस लेखले कतिलाई ऊर्जा पनि दियो, बोल्नुपर्छ भन्ने पनि बनायो । म आफैंले जोरीपारी हाँस्छन् भन्ने डरमा साधेको मौनता तोड्न पाएकोमा आफैंलाई धाप मारें पनि । तर दिदीबहिनीहरू, हामीले बुझ्नै पर्छ शोषणका विरुद्धमा बोल्दै गर्दा समाज सधैंभरि, उस्तैगरी हाम्रो साथमा रहन्न । मेरो साथमा पनि रहेन ।

उतिबेलै किन नबोलेको भन्ने प्रश्नहरू युद्धका गोलीजस्तै बर्सिए, महिलाहरु पीडा देखाएर बार्गेनिङ गर्छन् भन्नेहरूले मलाई किन बाँकी छोड्थे र ? समाजसँग जे अपेक्षा थिएन, त्यही भोग्नुपर्‍यो ।

बोलेबापत लाञ्छना सहने सिलसिलाको सुरुवात बोलेपछि नै भयो । एउटा समूहमा मेरो नाम बहिष्कृत जस्तै भयो । जसरी अहिले ती किशोरीको नाम त्यही सूचीमा चढेको छ ।

बलात्कार भएको उजुरी गरेपछि उनको साहसलाई धाप मार्नेहरूभन्दा उनको ‘चरित्र’ माथि औंला उठाउनेहरूको संख्या धेरै भयो । सबैलाई थाहा छ, यो मुलुकमा बलात्कारको आरोप लागेका व्यक्तिको पक्षमा नारा लाग्यो । पीडित सामाजिक सञ्जालमा तिनै नाराहरू सुन्दै गुपचुप रहिन् । भन्नुस् त, अनाहकमा शोषणमा पर्नु अपराध गर्नु हो र ?

होइन भने हामीले बोल्न किन डराउनु ? हो, लोकतन्त्रमा बोलेबापत लाञ्छना पाएर त्यसको मूल्य चुकाउनुपर्ने कोही छन् भने महिला नै छन् । पछिल्ला आन्दोलनहरूले शिक्षा जरुर बढाए, नेताहरूको लोकलाज छोप्न सहभागिताको कुराहरू पनि गरियो । तर चेतना बढ्न किन सकेन ? समाज किन उस्तै निर्मम रह्यो ? जस्तो मेरी आमाले भोगिन्, उस्तै मैले र म पछिका पुस्ताहरुले किन भोग्न परिरहेको छ ?

कारण खोज्दै जाँदा धेरै भेटिएलान्, सबैभन्दा प्रमुख कारण हामीले हाम्रो आवाज बलियो बनाउन नसक्नु नै हो । हामीले बोल्न खोज्दा मुख थुन्न तम्सिने र हामीलाई दुःख पर्दा हुल बाँधेर रमिते बन्ने हाम्रा आफन्तहरु नै हुन्, हाम्रै परिवार हो, हामी स्वयम् हौं । यसको एउटामात्रै ओखतीचाहिं हामीले बोल्नु हो, हामीले प्रश्न गर्नु नै हो ।

*** *** 

अहिले मेरी १० वर्षकी छोरी छिन् । बारम्बार प्रश्न गर्छिन्, बारम्बार जिज्ञासा राख्छिन् । उनको मन दुख्नेगरी मैले नै बोलें भने पनि हजुरले यो गलत भन्नुभयो भन्छिन् । उनका प्रश्नसँग मैले झिंजो मान्दिनँ । उनले आफूलाई चित्त नबुझेको कुराभन्दा मैले स्वीकार्छु या सम्झाउँछु । अहिले जिज्ञासु हुनु त उनको बालसुलभ चरित्र नै हो । तर अहिले समाजको उल्टो गति देखेर मलाई डर लाग्छ, हुर्किंदै जाँदा उनका प्रश्नहरु पनि मर्दै जाने त होइनन् कतै ?

मेरो यो डर संभवतः तपाईंको पनि डर हो । त्यसैले पनि यसपालि हामी बोल्नै पर्नेछ । तर नबोलेर आउँदो पुस्तालाई पीडाको भट्टामा धकेल्नुभन्दा हामी नै जलौं, हामी नै गलौं तर प्रश्न सोध्न नछोडौं, शोषणका विरुद्ध बोल्न नछोडौं ।

लेखकको बारेमा
बिनु सुवेदी

बिनु सुवेदी अनलाइनखबर डटकमका एसोसिएट एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?