+
+
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विशेष :

महिला फुटबललाई चिनाउने एन्जिलाको रहर

कन्यामदेखि कराँचीसम्म

नमिता दाहाल नमिता दाहाल
२०७८ फागुन २४ गते ९:५४

२४ फागुन, काठमाडौं । ‘राष्ट्रिय फुटबल टोलीभन्दा धेरैले पुरुष टोलीलाई सम्झन्छन् । त्यही सोचलाई परिवर्तन गर्ने रहर छ,’ ८ वर्षदेखि राष्ट्रिय टोलीको गोलपोष्ट सम्हालेकी एन्जिला तुम्बाप्पो सुब्बाले खेलकुद क्षेत्रको लैङ्गिक विभेदबारे सटिक टिप्पणी गरिन् ।

पुरुष फुटबलले प्राथमिकता पाउने अन्तर्राष्ट्रिय परम्परा नेपालले पनि अनुसरण गरिरहेकै छ ।

अवसर र सुविधामा ‘विभेद’ नगर्ने हो भने नेपालले पुरुषको तुलनामा महिला फुटबलमा धेरै सफलता हासिल गर्नसक्छ भन्ने तथ्यबारे अखिल नेपाल फुटबल संघ (एन्फा) बेखबर छैन । फिफा वरीयतामै महिला टोली पुरुषको तुलनामा धेरै माथि छ, तर नेपालमा महिला फुटबल गतिविधि नगण्य मात्र हुन्छ । घरेलु प्रतियोगितामा सीमितता छ, अन्तर्राष्ट्रिय सहभागिता विरलै हुन्छ ।

‘हाम्रो प्रतियोगिता किन कम भनेर प्रश्न गर्‍यो भने वजेट नै छैन भन्नुहुन्छ । सरकारले नै महिलाका लागि पुग्ने खर्च गर्दैन भन्दा नरमाइलो लाग्छ,’ एन्जिला भन्छिन् ।

करिव चार वर्षअघि एन्फा अध्यक्ष निर्वाचित भएपछि कर्मा छिरिङ शेर्पाले महिला फुटबल विकासमा विशेष योजना बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए । तर रौतहटमा महिला एकेडेमी स्थापना गर्ने योजना समेत अझै कार्यान्वयन भएको छैन । राष्ट्रिय महिला लिगको समयअवधि बढाउने र नियमित आयोजना गर्ने प्रतिवद्धता पूरा भएका छैनन् । स्तरीय विदेशी प्रशिक्षक नियुक्त गर्ने र अन्तर्राष्ट्रिय एक्स्पोजर वृद्धि गर्ने कुरा पनि योजनामै सीमित भएको छ ।

‘दशरथ रंगशालामा नेपालको खेल हुँदैछ भन्दा आमरुपमा सबैले पुरुष टोलीको खेल बुझ्छन् । हामी खेल्दैछौं भने थप परिचय चाहिन्छ,’ एन्जिला भन्छिन् ।

जबकी महिला फुटबलरहरूको संघर्ष कथा पुरुष टिमको कुनै सदस्यको भन्दा बढी होला, कम छैन । २४ वर्षकी एन्जिला स्वयंमलाई कन्यामदेखि काठमाडौं आएर राष्ट्रिय टोलीको एक नम्बर गोलरक्षक बन्न कहाँ सजिलो थियो र ? तर व्यवसायिक फुटबल यात्राका दौरान कराँची पुगेर आफूलाई प्रमाणित गरिसकेकी छन् ।

एन्जिला पाँचथरमा जन्मिएकी हुन् । उनी सानै छँदा बुबाले छाडेर गएपछि पारिवारिक समस्याबाट गुज्रिएकी आमाले दोस्रो बिहे गरिन्, जहाँ एन्जिलाका दाजु-बहिनीले नयाँ परिवार पाए । नयाँ बासस्थान भयो-तीनघरे । घरछेउमै फुटबल मैदान थियो । अर्की आमापट्टिका दाइदिदी फुटबल खेल्थे, उनलाई पनि लैजान्थे ।

छोरीलाई खेल्न पठाएर विगार्ने भई भनेर आमालाई कुरा लगाउनेहरू धेरै थिए । तर उनकी आमाले केहिल्यै एन्जिलालाई रोकिनन् । ‘मेरी ममीको साथ र सहयोगले नै म यहाँ छु । उहाँले कसैको कुरा नसुनी मलाई खेल्न प्रेरित गर्नुभयो,’ एन्जिलाले भनिन्, ‘‘मेरो सबै सफलताको पृष्ठभूमि परिवार र ममी हो ।’

यद्यपि सुरुका दिनहरूमा बुट र बल किन्ने पैसा समेत हुँदैनथ्यो । गाउँ हुँदै जिल्लास्तरका प्रतियोगितामा पुगेपछि चाहिँ बुट र बलको अभाव हुन छाडेको उनले सुनाइन् ।

अनि गोलरक्षक बनिन्

गोलरक्षक पोजिसन सुरु गर्दाको क्षण पनि रोचक छ । पान्दाम भन्ने ठाउँमा खेल थियो । टोलीको गोलरक्षक उपस्थित नभएपछि उनलाई जिम्मा दिइयो । त्यसअघि कहिल्यै पोष्टमा नबसेकी उनले त्यो खेलमा उत्कृष्ट कौशल देखाइन् । सायद अघिल्ला गोलरक्षकले भन्दा राम्रो पनि । त्यसपछि उनको भूमिका नियमित हुन थाल्यो– गोलरक्षक । ‘गोलपोष्टमा बसेपछि मलाई बल रोक्ने भन्नेमात्र थाहा थियो । तर खेल राम्रै भएछ सबैले धन्यबाद दिनुभयो,’ उनले सुनाइन् ।

हत्तपति गोलरक्षक बन्न अरु नमान्ने र धेरै अवसर पाइने भएकाले पनि उनी गोलरक्षक बनिन् । २०६८ सालमा छैठौं राष्ट्रिय खेलकुदका लागि पूर्वान्चल छनोटको फाइनलमा ताप्लेजुङलाई हराएपछि क्षेत्रीयस्तरमा एन्जिलाको प्रशंशा चुलियो । राष्ट्रिय टिमको गोलरक्षक बन्दा पनि त्यस्तै संयोग छ । धनगढीमा आयोजित छैठौं राष्ट्रिय खेलकुदमा टिमकी नियमित गोलरक्षक परीक्षाका कारण अनुपस्थित हुँदा एन्जिलाले अवसर पाएकी थिइन् ।

त्यतिबेला देखाएको साहसले राष्ट्रिय टोली र विभागीय टोली एपीएफसम्म अवसरको ढोका खोल्यो । ‘छैठौंमा राम्रो प्रदर्शन गरेपछि घरमा फोन आयो– हामी तपाईंको छोरीलाई पढाइदिन्छौ । खाना बस्न सबै मिल्छ भनेपछि काठमाडौं आउन अनुमति पाएँ,’ १४ वर्षको उमेरदेखि एपीएफका लागि खेल्न थालेकी उनले सुनाइन् । एपीएफमा आवद्ध भएपछि गोलकिपिङबारे धेरै सिकिन् र राष्ट्रिय महिला टोलीको नम्बर वान गोलकिपरका रुपमा स्थापित गरिन् ।

काठमाडौंदेखि कराँचीसम्म

सन् २०२१ मार्च अर्थात एक वर्षअघि नेपालका चार महिला खेलाडीले पाकिस्तानको महिला लिगमा अवसर पाए । एन्जिलाले त मासा युनाइटेडको कप्तानी समेत गरिन् । दुर्भाग्य, नेपाली चेलीहरूले पाएको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता बिचमै रद्ध भयो । एन्जिलाले भनिन्, ‘पाकिस्तानको आमनिर्वाचन नजिकिँदै गर्दा हाम्रो प्रतियोगिता भएको रहेछ । त्यहि चुनावी माहोल र त्यहाँको राजनीति र कोरोनाको कारण देखाएर प्रतियोगिता रद्ध गरियो ।’

जति खेल्न पाइन्, केही सिक्ने र आफूसँग भएको ज्ञान बाँड्ने अवसरका रुपमा सदुपयोग गरिन् । अझ पुरुष प्रधान समाज कस्तोसम्म हुन्छ भनेर देखेर आइन् । ‘विश्वको अन्य स्थानमा पनि महिलालाई पुरुष सरह व्यवहार गरिँदैन । खेलकुदमा पनि विश्वव्यापी रुपमा नै महिलालाई पछाडि पारिएको छ,’ भनले भनिन्, ‘त्यहाँ त केटीहरूलाई छोटो लुगा लगाउन नदिने रहेछन् । उनीहरू (पाकिस्तानी महिला फुटबलरले) त जर्सीभित्र लामो लुगा लगाएर खेल्नुपर्ने रहेछ ।’

वायोपिक र अवार्डमा मनोनित

२४ वर्षको उमेरमा दौडिरहेका एन्जिलाका हालिस गर्न चाहेका लक्ष्यहरू थुप्रै छन्, तर अहिले नै उनले पाएको सफलता कम छैन ।

नेपालमा आजसम्म कुनै पनि खेलाडीको जीवनीमा आधारित चलचित्र (वायोपिक) बनेको छैन । एन्जिलााले त्यसमा इतिहास रच्दैछिन् । उनको जीवनीमा चलचित्र बन्ने घोषणा गरिएको केहि समय भयो । जसमा उनी आफैंले अभिनय गर्नेछिन् । ‘सबै खेलाडीको कहानी संघर्षपूर्ण नै हुन्छ । मेरो कहानी अलि फरक भएको कारण मलाई पात्र रोज्नु भएको होला,’ अभिनयका लागि आत्मविश्वास बढाउँदै गरेकी उनले भनिन्, ‘मेरो जीवनमा म एकपटक फेरि जीउने छु । रियलमा भोगेका दुःख रिलमा उतार्ने प्रयास गर्नेछु ।’

उनको कहानीमा इलामदेखि कराँचीसम्म उनले गरेका हरेक अनुभवको नाटकीय रुपान्तरण हुनेछ । ‘मेरो कहानी धेरैको लागि प्रेरणादायी हुन सक्छ,’ उनले भनिन् ।

यही वर्ष नेपाल खेलकुद पत्रकार मन्चले हरेक वर्ष आयोजना गर्ने स्पोर्टस अवार्डमा एन्जिला यसवर्ष पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेकी छन् । अवार्डको मनोनयनले हौसला दिने मात्र होइन, पहिचान स्थापित गर्न सहयोग पुग्ने उनको आशा छ । एन्जिला भन्छिन्, ‘आफ्नो खेलको उचित मूल्यांकन भएर हजारौं खेलाडीमध्ये उत्कृष्ट पाँचमा पर्न पाउँदा गर्व लागेको छ ।’

गोलरक्षक प्रशिक्षक बन्ने लक्ष्य

एन्जिला खेलाडी जीवनपछि फुटबललाई नै निरन्तरता दिन चाहन्छिन् । गोलकिपर प्रशिक्षक बन्ने लक्ष्य छ । ‘फुटबलबाहेक केहि जानेको छैन । सानैदेखि यसैमा लागियो । करियर नै यहि हो । अर्को विकल्प सोच्नै सक्दिनँ ।’

नेपाल फुटबल संघ (एन्फा)बाट होस् या कुनै अन्य टोलीको गोलरक्षक प्रशिक्षक बनेर नेपाली महिला फुटबलको स्तरोन्नतिमा हातेमालो गर्ने एन्जिलाको इच्छा छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
लेखकको बारेमा
नमिता दाहाल

नमिता दाहाल अनलाइनखबरको खेलकुद संवाददता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?