+
+

सगरमाथा आरोहण गर्न लागेकी दीयालाई फिल्म ‘मन्त्र’ टिमले गर्‍यो बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २४ गते १२:४७

२४ फागुन, काठमाडौं । सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई फिल्म ‘मन्त्र’ टिमले राष्ट्रिय झण्डा र पोस्टरसहित बिदाइ गरेको छ ।

मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मकी प्रमुख अभिनेत्री समेत रहेकी दीयालाई निर्देशक, निर्माता र अन्य कलाकारले बिदाइ गरे । उनी बुधबार आरोहणका लागि सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्दैछिन् ।

अभिनेता सौगात मल्ल र निर्देशक खिलबहादुर गुरुङसहितको फिल्म युनिटले दीयालाई सगुनस्वरुप दही चखाएर शुभकामना समेत दियो । मौसमले साथ दिए अप्रिल ६ मा दीया सगरमाथा चुचुरोमा पुग्नेछिन् ।

झण्डै तीन महिनाको आरोहण कार्य सकेर उनी मे अन्तिमतिर फर्कने कार्यक्रम छ । आरोहणमा उनलाई विश्व कीर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन् । एलिट एक्सिपिडिसन आरोहण दलमार्फत दीयाले हिमाल चढ्न लागेकी हुन् ।

अर्जेन्टिनाको ६ हजार ९६१ मिटर अग्लो माउन्ट ओकुनकागवा चढेर आरोहण यात्रा थालेकी दीयाले यसअघि ८ हजार १६३ मिटर अग्लो हिमाल मनास्लु पनि चढेकी छन् ।

आफ्नै ४२ लाख रुपैयाँ खर्चमा सगरमाथा आरोहण गर्न लागेकी दीयाले तीनवटा च्यारिटीको लागि हिमाल चढ्न लागेकी हुन् । जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) टुगेदर), उनी कार्यरत कोलचेस्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फस्र्ट रहेका छन् ।

‘कोभिड संकटको बेला मेरा नर्स साथीहरुको मानसिक स्वास्थ्यमा असर परेको देखें । मेरो व्यक्तिगत इच्छा मात्र नभएर सहकर्मीलाई सघाउने उद्देश्यले पनि हिमाल चढ्न लागेकी हुँ,’ अनलाइनखबरको जिज्ञासामा दीयाले भनिन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा फिल्म सुटिङ गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

आरोहणमा आफूलाई सघाउन लागेका कीर्तिमानी आरोही निर्मल पूर्जाको नेटफ्ल्क्सि फिल्म ‘नथिङ इज इम्पोसिबल’ हेरेपछि हिमाल चढ्न झनै ऊर्जा थपिएको उनले बताइन् ।

फिल्म ‘मन्त्र’मा दीयासँगै अनस्क्रिन रोमान्स गरेका अभिनेता सौगात मल्लले आफूले कहिल्यै नसोचेको सगरमाथा आरोहणबारे दीयाको योजनाले आफूलाई समेत ऊर्जा थपेको बताए । ‘हिमाली क्षेत्र मलाई मनपर्छ । मलाई पनि घुम्न जान मन लागेको छ,’ सौगातले भने ।

अभिनेता बुद्धि तामाङ, अभिनेत्री नमिता तामाङसहित फिल्मका अन्य कलाकारले दीयालाई खादा ओढाउँदै सगरमाथा सफल आरोहणका लागि शुभकामना दिए ।

‘वीर विक्रम’बाट अभिनय यात्रा सुरु गरेकी दीयाले ह्याप्पी डेज, मिस्टर झोले र दयारानीमा अभिनय गरेकी छिन् ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?