+
+
Shares
महिला दिवस :

शुभकामना दिए तर हालखबर सोधेनन्

विमला ढकाल विमला ढकाल
२०७८ फागुन २४ गते १६:१५

८ मार्च अर्थात् अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस। ‘दिवसको शुभकामना छ’ भनेर बिहानै केहीले फोन गरे। तर, ती फोन गर्नेहरूले तिम्रो वरिपरि महिला हिंसा छ कि छैन ? विभेदको सिकारमा परेका कोही छन् कि ? भनेर सोधेनन् । तिम्रो आफ्नै संघर्ष कस्तो छ ? भनेर पनि सोधेनन्।

सायद मलाई नारी दिवसको शुभकामना दिनेहरू मेरा सहपाठी, साथीसंगी र आफन्त नभएर होला। मलाई नारी दिवसको शुभकामना दिनेहरू अधिकारकर्मी भन्नेहरू र विद्यार्थी नेताहरू हुन्।

एक विद्यार्थी नेताले नारी दिवसको अवसरमा पार्टी निकट विद्यार्थी संगठनले गर्ने कार्यक्रममा सहभागिताको निम्तो दिए। निम्तो दिनेलाई सोधें- ‘किन आउने म ? के हुन्छ त्यहाँ आएर ?’

उनको जवाफ आयो- ‘नारी दिवसमा किन आउने भनेर सोध्ने ? यस्तो भन्न हुँदैन। यो त हाम्रो दिवस हो। हामीले विभेद विरुद्ध आवाज उठाउने। पुरुष सँगसँगै अगाडि बढ्नका लागि अधिकार खोज्ने। कार्यक्रममा आएर ठूला मान्छेको कुरा सुन्ने र त्यस अनुसार विभेद विरुद्ध बोल्ने।’

नेतृ दिदीले ठूला मान्छेको कुरा सुन्न निम्ता गरिरहँदा मैले ती ठूला मान्छे को होलान् ? भनेर सोधिनँ। किनभने, ठूला भनिएमा शिक्षित र धनी वर्गमै महिला हिंसा ज्यादा देखेकी छु। गाउँघरमा गरिब परिवारमा महिलाहरू घरको काम गर्ने र पुरुषहरू घर बाहिरको काम गर्ने गर्दछन्। त्यस्तोमा पुरुषहरूले घरको काम गर्ने भनेर हेपेर बोलेको देखेकी छु। मादक पदार्थ सेवन गरेर श्रीमती कुटपिट गरेको देखे, सुनेकी छु। तर, योभन्दा चर्को विभेद धनी वर्गमा ज्यादा देखेकी छु।

रमिला (नाम परिवर्तन) धनीमानीकै छोरी हुन्। बोर्डिङ स्कुल पढेकी, एसएलसी प्रथम श्रेणीमा पास गरेकी। मानविकी संकायमा १२ सम्मको पढाइ सिध्याएपछि उनी सरकारी स्कूलमा निजी शिक्षकको रूपमा शिक्षण गर्न थालिन्। स्कुलमा ३ वर्षसम्म शिक्षण गरिन्। शिक्षण गर्दागर्दै उनको मागी बिहे भयो। बिहेपछि काठमाडौंस्थित श्रीमानको घर गइन्। शिक्षण पेशा छोडिन्।

बिहे अघि ‘केही काम नगरी बस्दिन, समाज के हो ? बुझ्नलाई पनि घर बाहिरको काम गर्नुपर्छ’ भन्ने दिदी अहिले त्यस्तो कुरै गर्दिनन्। हामीलाई समाज भनेको के हो ? भन्ने नबुझ्दै समाज यस्तो, उस्तो भनेर बुझाउन खोज्ने दिदी अहिले भान्सा सिकाउने भएकी छन्।

नेपाल आफैं आत्मनिर्भर हुन सके, महिलाहरू उत्पादन र रोजगारमा जोडिए हिंसा कम हुने होइन र ? आर्थिक रूपमा सबल महिला हिंसामा परेको सुनिएको छैन भने यो नै हिंसा अन्त्यको उपाय होइन र ?

केही समय अघि भेटेकी थिएँ। भन्दै थिइन्- ‘बिहे गर्दा ख्याल गर्नुपर्ने रहेछ बहिनी। मलाई कुनै कुराको दुःख छैन तर, मेरो कमाइ होइन। यस्तै प्रसंग जोडेर कहिलेकाहीं प्याच्च घरकाले भन्दा चित्त दुख्छ, सहन्छु। बिहे गरेर आएपछि काम गर्छु नभनेकी होइन। तिमीलाई केको दुःख छ र कमाउनु पर्‍यो पर्दैन भने। तीनजना बच्चाहरू जन्मिए। तिनलाई हुर्काउँदा हुकाउँदै जोश जाँगरको जीवन गैसकेछ। एक छोरा र एक छोरी विदेश जाने तरखरमा छन्। सासूससुरा बुढा भए। अब सासूससुराको स्याहार गर्ने बस्ने। घरव्यवहारको कुरा यस्तै हो। हिंड घर जाऊँ। म मिठो मम बनाएर खुवाउँछु।’

दिदीको कुरा सुनिरहँदा मनमा केही प्रश्न उब्जिए। धनी परिवारका महिलालाई घरबाट निस्किन दिइन्न किन ? महिलाहरू आफ्ना मनको इच्छा आकांक्षा दबाएर घरभित्र बस्न बाध्य हुन्छन्, किन ? यो विभेद होइन ? ती दिदी जस्ता महिला पात्रहरू शिक्षित र धनी भनिएका परिवारमा कति होलान् ? जो बिहे अघिको जोशिलो जीवनको कुर्वानी दिइरहेका छन्। महिला अधिकारकर्मीहरूको ध्यान यता जानुपर्दैन ?

पढाइ सँगसँगै रोजगारमा जोडिने वा आफैं उद्यमी बन्ने आइडिया अधिकारकर्मी र नेता भनाउँदाहरूले ध्यान दिनुपर्ने विषय होइन ? राजनीति भनेको मुलुक र समाजलाई कता लैजाने भनेर नीति निर्माण गरी कार्यान्वयनमा लैजाने पहल भनी बुझेकी मेरो मन यस्तैमा बेचैन हुन्छ।

नारी दिवसमा औपचारिक कार्यक्रम गर्ने, भाषण सुनाएर पठाएर जिम्मेवारी पूरा हुन्छ ? यत्ति हो त नारी दिवसको उपादेयता ? अनि यही एक दिन दिवसको शुभकामना दिएर विभेद अन्त्य हुन्छ ? विभेद अन्त्यको वातावरण बनाउन वर्षभरि नै ध्यान दिनुपर्दैन ? कति वर्षसम्म ठूला होटलमा कार्यक्रम गरी महिला हिंसाका कुरा गर्दै विदेशी सहायताको रकमले भात खाएर हिंड्ने ? नेपाल आफैं आत्मनिर्भर हुन सके, महिलाहरू उत्पादन र रोजगारमा जोडिए हिंसा कम हुने होइन र ? आर्थिक रूपमा सबल महिला हिंसामा परेको सुनिएको छैन भने यो नै हिंसा अन्त्यको उपाय होइन र ?

कता कता लाग्छ, महिला हिंसा विरुद्धको जति कुरा गरे पनि नरोकिनुको पछाडि राज्य जिम्मेवार छ। राज्यले कानुन बनाएको छ, हिंसा गर्नेहरूलाई समातेर जेल हालेको छ। र, पनि अझै राज्य महिला हिंसाको जिम्मेवार हो भन्ने लाग्छ। राज्य जिम्मेवार होइन भने महिला हिंसा अन्त्यको कुरा गरिरहँदा महिला उद्यमशीलताका लागि कति लगानी गर्‍यो ? र, त्यसको उपलब्धि कस्तो रह्यो। सरकारसँग नै कुनै यकिन तथ्याङ्क छैन।

राज्य महिला हिंसा विरुद्ध छ भने महिला बेचबिखनको घटना किन रोकिंदैन ? हरेक वर्ष भारतीय बजारमा हजारौं नेपाली महिला बेचबिखनमा परेको समाचार किन आउँछ। अपराधीहरू भरसक पक्राउ पर्दैनन् ? पक्राउ परिहाले पनि केही लाख धरौटी तिरेर निस्कन्छन् ? फितलो कानुनी व्यवस्था हुनु र नहुनु भनेको एउटै हो भन्ने पुष्टि यसले पनि गर्दैन र ?

बोक्सीको आरोपमा महिलालाई कुटपिट गरेको घटनाहरू रुढीवादी चिन्तन हो भने तराईमा कम दाइजो ल्याएको भन्दै घरबाट निकाला गरेको घटना के हो ? अझ दाइजोको निहुँमा परिवारै मिलेर हत्या गरेको घटनालाई कहाँ लगेर जोड्ने ? राज्य कहाँ छ ? राज्य भनेको केवल शासकहरू चुन्ने र तिनले राजस्व उठाएर आफैं तलबभत्ता खाने प्रक्रिया मात्रै हो ? होइन भने जनताको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने यस्ता कुसंस्कारहरूको अन्त्य गर्दै महिलाहरूलाई आर्थिक उपार्जनसँग जोड्नेतिर लागौं।

राज्य जनताको चेतना स्तर उठाउने र हरेक नागरिकलाई उत्पादनमा जोड्ने गरी योजना बनाएर अघि बढोस्। हरेक नागरिक चेतनशील र आर्थिक उपार्जनमा जोडिए भने हिंसा कम हुँदै जान्छ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?