+
+

बागमती प्रदेश खेलकुद प्रतियोगिता सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २८ गते २१:१८

२८ फागुन, हेटौंडा । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशको आयोजनामा प्रथम खेलकुद प्रतियोगिता हेटौंडामा सुरु भएको छ ।

बागमतीका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले ओलम्पिक टर्च बालेर ओलम्पियन धावक बैकुण्ठ मानन्धर हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरे

उनले सात प्रदेशमध्ये खेलकुद कार्यक्रम सञ्चालन गर्ने पहिलो भएकोमा बागमती सरकारले गौरबको अनुभूति गरेको बताए । उनले आफू नेतृत्वको सरकार गठन भएपछि मन्त्रालय फुटाएर फजुल खर्च गर्‍यो भन्नेका लागि अहिलेको प्रतियोगिता उदाहरण भएको जिकिर गरे । उनले भने ‘एउटै मन्त्रालयमा रहेर भएको बजेट मात्र पाकेटमा राख्ने पल्केकालाई मन्त्रालय फुटेपछिको काम उदाहरण हो ।’

हेटौंडाको क्याम्पाचौरमा भएको उद्घाटन कार्यक्रममा नेपाल आर्मी, नेपाल प्रहरीको व्याण्ड सहितको प्रस्तुति, विद्यार्थीको ड्रिल प्रदर्शन, अतिसबाजी, मार्सल आट्र्स डेमो, तामाङ, नेवाः, थारु समुदायको झाँकी तथा खैजेडी र पञ्चेबाजाको साँस्कृतिक कार्यक्रम प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा हेटौंडामा मिनी रंगशाला निर्माणमा योगदान गरेको भनी पूर्व राष्ट्रिय बक्सिङ खेलाडी तथा पिप्ले युवा क्बलका अध्यक्ष सुशील घिमिरेलाई सम्मान गरिएको थियो ।

साथै राष्ट्रिय स्तरका कलाकार र हेटौंडाका कलाकारहरुले आफ्नो गायन तथा नृत्य प्रदर्शन गरेका थिए । प्रतियोगिता अन्तर्गत मकवानपुरमा आइतबार पुरुषतर्फको फुटबल हुनेछ । पहिलो खेल समूह (ख) का चितवन र ललितपुरबीच हुने परिषदले जनाएको छ । खेल नकआउट स्वरुपमा हुनेछ ।

प्रतियोगितामा ८ वटा खेल हुनेछ । मकवानपुरमा आइतबारबाट पुरुष फुटबल, व्याडमिन्टन तथा चैत ५ गते तेक्वान्दो प्रतियोगिता सुरु हुनेछ । त्यस्तै, चितवनमा ३० गतेदेखि भलिबल र क्रिकेट खेल खेलाइने परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।

त्यस्तै, सिन्धुपाल्चोकमा चैत ७ गते कराँते सुरु हुनेछ भने काठमाडौंमा चैत ६ गतेदेखि एथलेटिक्स प्रतियोगिता हुने परिषदले जनाएको छ । त्यस्तै, काभ्रेमा भने चैत ७ गतेदेखि महिला फुटबल र ९ गतेदेखि बक्सिङ खेल प्रतियोगिता हुने सदस्य सचिव भण्डारीले बताए ।

प्रतियोगिताको लागि आठ करोड ४ लाख रुपैयाँ खर्च हुने अनुमान प्रदेश सरकारको छ । यो प्रतियोगितामा विभिन्न खेलका गरी दुई हजार भन्दाबढी खेलाडीले सहभागिता जनाउने छन् । खेलको समापन १२ चैतमा काभ्रेको धुलिखेलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?