+
+

अर्थतन्त्रको चुनौती समाधान गर्न आयातमा मार्जिन : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते ११:१८

२९ फागुन, काठमाडौं । अर्थमन्त्री जनार्दशन शर्मा प्रभाकरले अर्थतन्त्रमा देखिएको चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् । आइतबार भन्सार विभाग, त्रिपुरेश्वरमा आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले आयातमा गरिएको कडाईले भन्सार राजस्व असुली प्रभावित भएपनि मेहिनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।

‘देशको अर्थतन्त्र यतिबेला चुनौतिपूर्ण अवस्थामा छ, यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं’ उनले भने, ‘यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर, यो सधैंका लागि राखिएको होइन ।’ स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्ने उनको भनाइ छ ।

उनले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सृजित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठि प्रभावकारी हुने विश्वास लिएको बताए । वस्तु आयातमा गरिएको वर्गीकरण सम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठिका माध्यमबाटै समाधानको सुत्र पहिल्याउन पनि उनले निर्देशन दिए ।

उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङ सम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने समेत जानकारी गराए । व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडी बढ्न उनले कर्मचारीलाई निर्देशन दिए ।

माघ मसान्तसम्मको लक्ष्य भन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुसी व्यक्त गरे । भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म तीन खर्ब ५ अर्ब राजस्व संकलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाइका बाबजुत तीन खर्ब ८ अर्ब राजस्व संकलन भएको जानकारी गराए । यो गत वर्ष सोही समयको तुलनामा २९ प्रतिशत राजस्व संकलन बढी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?