+
+

क्रिकेटले दिएको खुसी

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ फागुन २९ गते १८:०२

२९ फागुन, काठमाडौं । रुपन्देहीकी गीता पौडेलले क्रिकेट खेल्न थालेको १५ वर्ष भयो । नेपालले विश्वकै पहिलो नेत्रहीन महिला राष्ट्रिय टोली बनाउँदा उनी सदस्य थिइन् । त्यसयता निरन्तर सक्रिय उनले डेढ दशकको करिअरमा राष्ट्रिय स्तरदेखि दुईवटा अन्तर्राष्ट्रिय सिरिजसमेत खेलिसकेकी छन् ।

सुर्खेतकी दुर्गा आचार्यले पनि विद्यालयस्तरदेखि नै नेत्रहीन क्रिकेट सुरुवात गरेकी हुन् । स्थानीयदेखि प्रदेश छनोट पार गरी काठमाडौं आएर खेल्न थालेको पनि ४-५ वर्ष हुन लाग्यो । टेबलटेनिससमेत खेल्ने दुर्गालाई खेलकुदबाट सन्तुष्टि छ ।

पहिलो पुस्ताकी गीता र दोस्रो पुस्ताकी दुर्गा फरक क्षमता भएका खेलाडीको प्रतिनिधि पात्र हुन्, जसले अवसर पाए गर्नसक्छन् भन्ने प्रमाणित गरेका छन् ।

‘खेलकुदमा लागेपछि फिजिकल फिटनेस त हुने नै भयो । सामाजिक रुपमा सबैसँग घुलमिल हुने अवसर पाएका छौं,’ गीता भन्छिन्, ‘फरक क्षमता भएकालाई हेरिने नजर पनि बदलिएको छ । यिनीहरुले पनि खेल्न सक्ने रहेछन्, केही गर्न सक्ने रहेछन् भनेर सन्देश गएको छ । समाजमा पहिचान मिलेको छ ।’

गीताले नेपालको नेत्रहीन महिला टोलीबाट सन् २०१४ मा बेलायतविरुद्ध र सन् २०१९ मा पाकिस्तानविरुद्ध शृंखला खेलेकी छन् । पाकिस्तानविरुद्ध उसकै भूमिमा पाँच खेलको श्रृंखला जितेर आएपछि गीताले बिहीबार पहिलो पटक खेलेकी हुन् ।

अस्ट्रेलियाली दूताबासको आर्थिक सहयोग र नेत्रहीन क्रिकेट संघ (क्याब) नेपालको आयोजनामा भएको एकदिने प्रतियोगितामा दुई टिमले प्रतिस्पर्धा गरेका थिए । महिला र पुरुष मिसाएर टिम खेलाइएको थियो । लामो समयपछि खेल्दा सन्तुलन मिलाउन कठिन भएपनि खेल भएकोमा क्रिकेटरहरु खुसी देखिए ।

गीता पौडेल र दुर्गा आचार्य ।

क्याबका अध्यक्ष पवन घिमिरे भन्छन्, ‘खेलाडीले सामान्य रुपमा बाँच्न सिके । हामी पनि गर्न सक्छौं भन्ने आत्मविश्वास बढाए । अन्तर्राष्ट्रिय स्तरमा पुगेर साथीहरु बनाए । खेलाडीको क्षमताको प्रशंसा गरिरहँदा हामीले गरेको काममा गर्व लाग्छ ।’

नेपालले विश्वकपसम्म पुगेपछि फरक क्षमता भएका नयाँ पुस्ताले क्रिकेट खेललाई रोज्न थालेका छन् । लोकपि्रयता बढ्न थालेकोमा संस्थापकहरु खुसी देखिन्छन् ।

सुर्खेतकी दुर्गा आचार्य पनि नेपालको सफलता देखेर भविष्य खोज्न क्रिकेटमा आएकी हुन् । ‘स्कुलबाटै खेल्न सुरु गरे पनि नियमित खेलेको ५ वर्षजति भयो,’ दुर्गाले अनलाइनखबरसँग भनिन्, ‘खेलकुदले अनुशासन र सामूहिक भावना सिकाउने रहेछ । शारीरिक र मानसिक रुपमा पनि स्वस्थ बनाउने रहेछ ।’

क्रिकेटमा लागेपछि पहिचान र सम्मान दुवै पाएकोमा उनी खुसी छन् । ‘म यो खेलमा नलागेको भए कसैले चिन्दैनथे । तपाईंको र मेरो पनि भेट हुँदैनथ्यो । खेलाडी बनेपछि समाज र साथी सर्कलमा पहिचान पाएको छु,’ भन्छिन्, ‘आँखा नदेख्नेले पनि क्रिकेट खेल्ने रहेछन् भनेर थाहा पाउँदा सबैले सकारात्मक रुपमा लिन्छन् ।’

पुरुष टोलीबाट विश्वकप खेलिसकेका नेपालगञ्जका भरत चौलागाईं पनि नेत्रहीन क्रिकेटले जीवनप्रतिको धारणा परिवर्तन भएको बताउँछन् । ‘हामीले शारीरिक रुपमा तन्दुरुस्त हुने मात्र होइन, अनुशासनमा हुन र एकजुट भएर काम गर्न सिकेका छौं । जीवनको दृष्टिकोण नै परिवर्तन भएको छ,’ त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रमा स्नातकोत्तर तेस्रो सेमेस्टरमा अध्ययनरत भरतले भने ।

यसरी खेलिन्छ नेत्रहीन क्रिकेट

नेत्रहीन क्रिकेटमा सामान्यतः क्रिकेटकै आधारभूत नियममा आधारित रहेर खेलिन्छ । साधारण क्रिकेट जस्तै नेत्रहीन क्रिकेटमा पनि बल र ब्याटकै प्रयोग हुन्छ । नेत्रहीन क्रिकेट कसरी खेलिन्छ होला भनेर धेरैलाई कौतुहलता होला । खेल्ने तरिका सामान्य क्रिकेट जस्तै भएपनि यसमा प्रयोग हुने बल, बलिङ गर्ने तरिका अनि रन लिने तरिका भने केही भिन्न हुन्छ ।

यसमा पनि खेलाडीले चौका-छक्का प्रहार गर्छन् । बोल्ड गर्छन् । क्याच लिन्छन् । रनआउट गर्छन् । बलभित्र बज्ने वस्तु राखिएको हुन्छ । मैदानमा बल गुड्दा आवाज आउँछ र त्यसैबाट खेलाडीहरुले बल कता जाँदैछ भनेर मेसो पाउँछन् ।

नेत्रहीनले खेल्ने बलमा कडा खालको प्लास्टिकभित्र साइकल चेनको टुक्राहरु राखेर बनाइएको हुन्छ । यस्ता बलहरु भारत र पाकिस्तानमा मात्र बन्छन् र नेपालमा त्यतैबाट ल्याइन्छ ।

नेत्रहीन क्रिकेटमा तीन क्याटेगोरीका खेलाडी हुन्छन्, ‘बी’ वान, ‘बी’ टु र ‘बी’ थ्री । बी वान क्याटेगोरीका खेलाडी पुरै नदेख्ने हुन्छन् । बी टु क्याटेगोरीका खेलाडीले ५ मिटरसम्म र बी थ्री क्याटेगोरीका खेलाडीले ५ देखि १० मिटरसम्म देख्छन् । एउटा टिममा ‘बी’ वान र ‘बी’ थ्री बाट समान ४ र ‘बी’ टु बाट ३ जना खेलाडी हुन्छन् ।

बी वान क्याटेगोरीका खेलाडीले ब्याटिङ गर्दा आफैं रन लिन नसक्ने भएकाले अन्य दुई क्याटेगोरीबाट रनरको रुपमा खेलाडी प्रयोग गर्न पाउँछन् । यस्तै बी टु ले पनि आवश्यक परेमा बी थ्री क्याटेगोरीका खेलाडी रनरको रुपमा राख्न पाउँछन् ।


बी वान क्याटेगोरीका खेलाडीले बनाएको रन समेत दोब्बर गणना हुन्छ । उनीहरुले एक रन प्रहार गर्दा बोनस स्वरुप एक रन पाउँछन् । यस्तै चौका हान्दा ८ रन र छक्का हान्दा १२ रन पाउँछन् ।

बी वान क्याटेगोरीको लागि बलको आवाज नै खेल्नको लागि एक मात्र माध्यम हुन्छ । ब्याटिङ गर्न बस्दा विपक्षीले बलिङ गरेको बल कता आउँदैछ भनेर बलको आवाज सुनेर ब्याट चलाउँछन् । फिल्डिङ गर्ने खेलाडीले पनि आवाजबाटै बल कता जाँदैछ भनेर थाहा पाउनेछन् ।

बलिङ गर्दा भने सोधेर बलिङ गर्छन् । विकेट किपर रेडी ? फिल्डर रेडी ? ब्याट्सम्यान रेडी ? भनेर सोधेपछि मात्रै बलिङ गर्नुपर्छ ।

बलरले बलिङ गर्दा स्टम्प छेउको लाइन कटाएर पहिलो बाउन्स गर्नुपर्छ । त्यसभन्दा अगाडि बल बाउन्स भएमा ‘नो बल’ हुनेछ । यस्तै पीचको बीच भागमा एउटा सेतो लाइन कोरिएको हुन्छ । त्यो लाइनभन्दा पर बाउन्स भएमा पनि ‘नो बल’ हुन्छ । यस्तै लाइनभन्दा वरै बल बाउन्स भएर धिधै ब्याट्सम्यानसम्म पुगेमा पनि ‘नो बल’ हुनेछ ।
बक्समा राख्ने

विश्वकप आयोजना गर्ने लक्ष्य छ : पवन घिमिरे 

अध्यक्ष, नेत्रहीन क्रिकेट संघ

२०६३ सालमा हामीले क्रिकेट खेल्न सुरु गर्दा दृष्टिविहीनहरु आफैंमा पनि खेल्न सक्छौं भन्ने आत्मविश्वास थिएन । आँखै छैन के खेल्न सक्नु ! भन्नेजस्तो सोच थियो । खेलकुदमा धेरैको सोच नै थिएन । नेत्रहीन दौडहरु हुन्थे । तर, यस्तो फिल्ड गतिविधिहरु हुँदैनथ्यो । टिममा खल्ने गेम थिएन ।

क्रिकेट त झन् बलले खेल्नुपर्ने, ब्याट समातेर खेल्नुपर्ने । यसले लाग्यो भने खुट्टा भाँचिन्छ, चोट लाग्छ भनेर सोचिन्थ्यो । तर विस्तारै हामीले मिहिनेत गरे त्यो सोचाइलाई परिवर्तन गर्न प्रयास गर्यौं । त्यसपछि दृष्टिविहीन भएका भाइबहिनीहरुलाई क्रिकेटमा समावेश गर्यौं ।

सुरुमा हामीसँग साधन स्रोत थिएन तर हामी आफैंले व्यक्तिगत रुपमै खर्च गरेर खेलाडीलाई प्रोत्साहित गर्न थाल्यौं एक दिन भएपनि घरबाट निस्केर खाजा खान पाइन्छ, खेल्न पाइन्छ, साथीहरुसँग भेट्न पाइन्छ भन्ने सोच विकास हुन थाल्यो । त्यही सोचले नशा बस्यो र यसरी क्रिकेटलाई विस्तारै विकास गर्न सक्यौं ।

हिजोको अवस्थामा साधन स्रोत केही नहुँदा हामीलाई निकै गाह्रो थियो । सुरुमा पाकिस्तानले ४ वटा ब्याट र २० बल छोडेर गएको थियो । त्यसपछि आजको दिनसम्म आउँदा आर्थिक चुनौती, सामाजिक चुनौतीको सामना गरिरहेका छौं । सुरुमा खेल्न पनि नमान्ने । स्कुलहरु पढाउन नमान्ने । उचित मैदान थिएन । व्यवस्थापन थिएन । धेरै कुराहरुको अभाव थियो । अहिले भने राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट पनि धेर-थोर सहयोग जुटाउन सकेका छौं र स्थिति केही सुधार भएको छ । भृकुटीमण्डपको सानो मैदानदेखि अन्तर्राष्ट्रिय स्तरमा विश्वकपसम्म पुग्दा हामीमा धेरै परिवर्तन आएको छ ।

हामी गर्न सक्छौं भन्ने भावना विकास भएको छ । किनकी हामीले दक्षिण अपि|mका, न्युजिल्याण्ड, अष्ट्रेलियाजस्ता देशलाई हराइसकेका छौं । महिला टिमले पाकिस्तान र बेलायत जस्तो टिमलाई हराइसकको छ । नेपालबाट सुरु गरेको महिला दृष्टिविहीन क्रिकेट आज विश्वकपको ५ वटा देशमा पुगेको छ ।

विश्वकप आयोजना गर्ने सोचसम्म पुगिसकेका छौं । हाम्रो देश सानो । साधन स्रोत सीमित थियो । तर हामीले सोच ठूलो बनायौं । हामीले गरेको काम अन्य देशमा पनि चर्चा भयो । हामीलाई गर्व पनि लाग्छ । सीमित साधन स्रोतका बाबजुत पनि अन्तर्राष्ट्रिय स्तरमा पुग्यौं । अन्तर्राष्ट्रिय मान्यता पनि पाएका छौं । विश्व नेत्रहीन क्रिकेट परिषदको सदस्य भएर म आफैं दुई पटक उपाध्यक्ष, दुई पटक एसिया क्षेत्रीय निर्देशक र दुई पटक कोषाध्यक्ष भएर काम गरिसकेको छु । क्रिकेटमा केही उपलब्धि हासिल गरेको जस्तो लाग्छ ।

अहिले मिडियाको साथीहरुले पनि फोटो समाचार छाप्दिनुहुन्छ । अनि समाजमा पनि तपाईंहरु क्रिकेट खेल्ने बहिनीहरु होइन ? मैले टिभीमा हेरेको थिएँ भन्नुहुन्छ । हामीलाई खेलाडीकै रुपमा हेर्न थालेका छन् । नकरात्मक सोच्ने समाजले आज सकारात्मक सोच्देको छ र बहिनीहरुको क्षमताको प्रशंसा गरिरहँदा हामीले गरेको काममा गर्व लाग्छ ।

खेलाडीहरुले सामान्य रुपमा बाँच्न सिकेका छन् । हामी पनि गर्न सक्छौं भन्ने भएको छ । आत्मविश्वास बढ्यो । अन्तर्राष्ट्रिय स्तरमा पुगेर साथीहरु बनाए । अहिले पनि उनीहरुबीच कुराकानी भइरहन्छ । भातृत्वको भावना बढेको छ ।
आज उहाँहरु क्रिकेटको समाचार आउँदा ध्यानपूर्वक सुन्नुहुन्छ । ईपीएलदेखि नेपाली राष्ट्रिय टोलीले खेलेको अन्तर्राष्ट्रिय खेलको अपडेट लिनुहुन्छ । अपनत्व बढेको छ ।

तर, अझै गर्नुपर्ने धेरै कुराहरु छन् । अबको योजना भनेको यतिले मात्र भएन ग्रासरुट लेभलबाटै विकास गर्नुपर्ने छ । हामी ६ प्रदेश पुगिसकेका छौं । अब ७ वटै प्रदेशमा पुग्ने अनि यसअघि हामीसँग आबद्ध भइसकेका जिल्लामा गएर तालिम गराउने योजना छ ।

त्यसपछि राम्रो खेलाडी उत्पादन गर्दै विश्वकपमा आफ्नो प्रदर्शन सुधार गर्ने र नेपालमै विश्वकप आयोजना लक्ष्य छ । हामी छिट्टै महिलाहरुको अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा गर्ने सोच बनाएर अघि बढिरहेका छौं ।

सबै तस्वीर  : विकास श्रेष्ठ

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?