+
+

महानगरले रातारात बनायो वसन्तपुर डबलीमा कंक्रिट संरचना

सुदर्शन अर्याल सुदर्शन अर्याल
२०७८ फागुन २९ गते १८:४४

२९ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले वसन्तपुर डबलीमा मापदण्ड विपरीतका ८ वटा संरचना निर्माण गरेको छ । महानगरको भौतिक पूर्वाधार विभागले डबलीमा क्षति पुग्ने गरी कंक्रिट प्रयोग गरेर आठ वटा झण्डा राख्ने आधार निर्माण गरेको हो ।

विभागले महानगर क्षेत्रभित्र ७० लाख रुपैयाँ खर्च गरेर १२ वटा झण्डा राख्ने निर्णय गरेको छ, जसअनुसार वसन्तपुरको एकै ठाउँमा ८ वटा झण्डा राख्न डबलीलाई असर पर्ने गरी कंक्रिट संरचना बनाएको छ ।

वसन्तपुरमा नयाँ संरचना बनाएकोप्रति पुरातत्व विभागले पनि ध्यानाकर्षण भएको जनाएको छ । विभागका पुरातत्व अधिकृत देवेन्द्र भट्टराईले महानगरपालिका कार्यालयलाई लेखेको पत्रमा सम्पदा क्षेत्रमा नयाँ संरचना बनाएर विश्वसम्पदा क्षेत्रको संवेदनशीलता नबुझेको भन्दै विभागको विशेष ध्यानाकर्षण भएको जनाएका छन् । पटकपटक काठमाडौंका विश्वसम्पदा खतराको सूचीमा राख्न प्रस्ताव भइरहेकोतिर सचेत गराउँदै विभागले सो संरचनाको निर्माण रोकेर विभागसँग समन्वय गर्न आग्रह गरेका छन् ।

सम्पदा क्षेत्रका अभियन्ता र स्थानीयले पनि छापामार शैलीमा मापदण्ड विपरीत संरचना बनाएको भन्दै पुरातत्व विभाग लगायत सरोकारवाला निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

हरियो जालीले छेकेर मध्यरातमा डबली मास्नेगरी संरचना बनाइएको उनीहरुको आरोप छ । स्थानीयले देख्छन् भनेर हरियो जालीले छेकेर रातारात संरचना बनाइएको सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठ बताउँछन् ।

नेपालको झण्डा राख्नुमा आफूहरुको आपत्ति नभएपनि डबली मास्ने, मापदण्ड विपरीत कंक्रिटको थप संरचना बनाउँदा विश्वसम्पदा क्षेत्रको अस्तित्व संकटमा पर्ने जोखिम बढेको उनले बताए । झण्डा नै राख्ने हो भने स्थानीयसँग समन्वय गरेर सम्पदा क्षेत्रमा प्रवेश गर्ने द्वारमा राख्न सकिने उनको सुझाव छ ।

महानगरपालिकाले भने आफूहरुले मापदण्ड विपरीत काम नगरेको दाबी गरेको छ । महानगरपालिकाको भौतिक पूर्वाधार विभागका प्रमुख रामबहादुर थापाले विरोधका लागि विरोध गरिएको भन्दै आफूहरुले गरेको काम मापदण्ड विपरीत नरहेको दाबी गरे ।

‘१२ वटामध्ये वसन्तपुरमा ८ वटा झण्डा राख्नको लागि संरचना बनाइएको हो’ थापाले अनलाइनखबरसँग भने ‘स्थानीयको यसमा कुनै विरोध छैन, बाहिरबाट आएका अभियन्ताहरुले विरोध गरेका हुन् ।’

स्वयम्भु र रत्नपार्कमा झण्डा राखिसकेको नगरपालिकाले शंखपार्क र तीनकुनेमा पनि झण्डा राख्ने तयारी गरेको छ । यसरी झण्डा राख्दा सम्पदामा कुनै क्षति नपुग्ने बरु राष्ट्रिय झण्डाको सम्मान बढ्ने थापाको दाबी छ ।

लेखकको बारेमा
सुदर्शन अर्याल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?