+
+

चार क्लबले भने : एनएसएलबारे विवाद छिटो समाधान गर

शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न विवाद चाँडै समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई आग्रह गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते १९:२५

२९ फागुन, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग खेल्ने चार क्लबले नेपाल सुपर लिग (एनएसएल) का कारण उत्पन्न विवाद चाँडै समाधान गर्न अखिल नेपाल फुटबल संघ एन्फालाई आग्रह गरेका छन् ।

न्यूरोड टिम (एनआरटी), मनाङ मर्स्याङ्दी क्लब, थ्रीस्टार क्लब र संकटा क्लबले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दै एनएसएलको विषयमा देखिएको विवाद समाधान गर्न माग गरेका हुन् । ए डिभिजन क्लबमा आवद्ध खेलाडीलाई एनएसएलको अक्सनमा राखिएको प्रति क्लबहरुले असन्तुष्टि जनाएका थिए ।

यस विषयमा यसअघि ८ ए डिभिजन क्लबले संयुक्त रुपमा एन्फालाई पत्र पठाएका थिए । तर आइतबार भने चार क्लबले मात्र एनसएसएलको विषयलाई लिएर पत्रकार सम्मेलन गरे । यसअघि अक्सन रोक्न माग गर्दै एन्फालाई पत्र लेख्ने बेलामा एकसाथ रहेका फ्रेण्ड्स क्लब, जाउलाखेल युथ क्लब, सातदोबाटो क्लब र लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लब भने उपस्थित भएन ।

एनआरटी, मनाङ मर्स्याङ्दी, थ्रीस्टार र संकटाका प्रतिनिधिले लामो समयदेखि फुटबलको विकासमा लागिरहेको क्लबको अस्तित्व नै संकटमा पार्ने षड्यन्त्र भएको बताए ।

उनीहरुले मंगलबार हुने एन्फाको कार्यसमिति बैठकमा विवादको विषयमा छलफल गर्न माग समेत गरेका छन् । ‘यस विषयमा एन्फाले यथाशीघ्र उचित ढंगले सम्बोधन गरोस् । आपसी छलफलबाट निष्कर्ष निस्कन सक्छ भन्ने विश्वास छ’ असन्तुष्ट क्लबमध्ये थ्रीस्टारका महासचिव सञ्जीव शिल्पकारले भने ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टले चैत अन्तिमदेखि दोस्रो संस्करणको नेपाल सुपर लिग प्रतियोगिता आयोजना गर्दैछ । एनएसएलको फ्रेन्चाइज क्लबमा ए डिभिजन क्लबकै खेलाडी सहभागी हुने भएकाले ए डिभिजन क्लबहरुले असन्तुष्टि जनाएका हुन् । आफूहरुसँग सम्झौता अवधि बाँकी रहेका खेलाडीलाई आफूहरुसँग समन्वय नगरी एनएसएलमा सहभागी गराउनु उचित नहुने उनीहरुको भनाइ छ ।

तर एनएसएलका लागि २० फागुनमै खेलाडीको बोलकबोल (अक्सन) भइसकेको छ । अक्सन अघिसम्म ८ क्लबले विरोध जनाउँदै आएपनि अहिले त्यो संख्या घटेर ४ मा पुगेको छ ।

यी चार क्लबहरुले आफूहरुले पनि खेलाडीको राम्रो चाहेको भन्दै विवाद समाधान गरेर अघि बढ्नुपर्ने बताएका छन् । ‘केही तत्वहरुले हामीलाई नै फुटबल विरोधी भनेको पनि सुनियो । एनएसएलमा संलग्न कर्पोरेट हाउसहरुलाई पनि भ्रममा पार्ने कामहरु रहेको छ । उनीहरुलाई पनि प्रष्ट पार्नुपर्छ । हामी सबै विषय वार्ताबाटै समाधान होस् भन्ने चाहन्छौँ’ थ्रीस्टारका महासचिव शिल्पकारले भने ।

एनएसएललाई एएफसी र फिफाबाट मान्यता दिलाउन एन्फाले पहल गर्ने भनी एन्फा र एनएसएल सञ्चालकबीच भएको सम्झौतामा पनि ए डिभिजन क्लबले आपत्ति जनाएका छन् ।

एनआरटीका अध्यक्ष सुन्दरनरसिंह जोशीले खेलाडीहरुलाई २०८० सालसम्म सम्झौता गरिसकेको भन्दै आफ्ना खेलाडी अर्को लिगमा खेलाउँदा पनि ए डिभिजन क्लबहरुलाई बेवास्ता गरिएको बताए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?