+
+

एमालेको मञ्चमा निजी क्षेत्रको गुनासो- अर्थतन्त्रमा चौतर्फी समस्या

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २९ गते २१:१८

२९ फागुन, काठमाडौं । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा पुगेको बताएका छन् । नेकपा एमालेको उद्योग, वाणिज्य तथा आपूर्ति विभागले अर्थतन्त्रको अवस्थाबारे गरेको छलफलमा बोल्दै निजी क्षेत्रका तीन वटै महासंघले यस्तो धारणा राखेका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरुले तरलता अभाव, उच्च बैंक ब्याजदर, आयातमा कडाइ जस्ता करणले अर्थतन्त्रमा ठूलो संकुचन देखा परेको धारणा राखेका हुन् ।

कार्यक्रम नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश क्षेष्ठले मुलुकमा उद्योगीका लागि वातावरण नै नभएको बताए । ‘बैंक ब्याजदर उच्च हुँदा उद्योग गर्ने भन्दा पनि निक्षेप राखेर खाने दिन  सिर्जना भएको छ । विदेशी विनिमय सञ्चिति खुम्चिएको छ, शोधानान्तर घाटा ओरोलो लागेको, बैंकहरुसँग लगानी योग्य रकम अभाव हुनु जस्ता जटिल समस्यामा मुलुक परेको छ,’ उपाध्यक्ष  श्रेष्ठले भने ।

उद्योगधन्दा चल्ने कर कानुन उद्योगी मैत्री नभएको भन्दै उनले उत्पादन बढाउने र निर्यात बढ्ने गरी नीति निर्माण नभएको श्रेष्ठको भनाइ थियो । नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले अहिलेको अवस्थामा उद्योगी व्यवसायीको मनोबल एकदमै ओरोलो लागेको बताए ।

आयात कडाइ भइरहेको, बैंकहरुसंग पैसा नभएको र ब्याजदर उच्च भएका कारण अर्थतन्त्र संकुचनतर्फ अघि बढेको अग्रवालले बताए । पुँजीगत खर्च उल्लेख्य रुपमा नभएको र उद्योग स्थापना गर्ने वातावरण पनि नभएको अग्रवालले गुनासो गरे ।

अर्थतन्त्रको सामस्या हटाउन तत्कालीन र दीर्घकालिन रणनीति बनाएर अघि बढ्न सबैले काम गर्नु पर्ने अग्रवालको सुझाव थियो । ‘अर्थतन्त्रको सुधारका लागि रेमिट्यान्स प्रोत्साहन गर्नुपर्छ, हेजिङ र टीडिएसको समस्या हटाएर भारतबाट ऋण लिने व्यवस्था मिलाउनु पर्छ,’ अध्यक्ष अग्रवालले भने, ‘सेयर बजार र अपार्टमेन्टमा विदेशी लगानी खोल्नु पर्छ ।’

दीर्घकालीन रुपमा स्वदेशमा लगानी भित्र्याउन शिक्षा र स्वास्थ्यमा लगानी भित्र्याउने वातावरण सृजना गर्नुपर्ने उनको सुझाव छ । नेपाल चेम्बर अफ कर्मसमा अध्यक्ष राजेन्द्र मल्लले राष्ट्र बैंकका कारण अर्थतन्त्रमा जटिलता थपिएको बताए ।

कोरोना महामारीबाट उठ्नै लागेको उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको उनले बताए । ‘पुँजीगत खर्च कमजोर हुनु, उच्च ब्याजदर, तरलता अभाव, आयातमा नगद मार्जिन जस्ता नीतिले उद्योगी व्यवसायी हतोत्साही भएका छन,’ अध्यक्ष मल्लले भने, ‘धेरै कुरा राष्ट्र बैंकका कारण बिग्रीएको छ । एमाले सरकारको नियुक्त गरेको गर्भनरलाई बोलाएर एक पटक सम्झाइदिनु होला ।’

बैंक तथा वित्तीय क्षेत्र परिसंघका अध्यक्ष पवन गोल्यानले कृषिमा सरकारी अनुदान नीति राम्रो नभएको बताए । किसानको अवस्था के छ भनेर राजनीतिक नेतृतवले स्थलगत निरीक्षण गर्न उनले सुझाव दिए ।

एमाले अध्यक्ष ओलीलाई गाउँ-गाउँ पुगेर किसानको अवस्थाबारे हेर्न र बुझ्न गोल्यानले आग्रह गरे । कृषि वस्तुको आयात घटाउन जोड दिंदै उनले औद्योगिक कच्चा पदार्थ र मेसनरीबाहेकमा आायत प्रतिस्थापन कर १५ प्रतिशत पुर्‍याउन आग्रह गरे ।

गतवर्ष भन्दा धेरै आयात आधा वर्षमै भएको भन्दै उनले कुल आयातमा बैंकको लगानी ६० देखि ८० प्रतिशत भएको बताए । ‘ठूलो लगानी आयातमै भएको छ । यस्तो अवस्थामा कसरी बैंकमा पैसा हुन्छ ? उद्योग नेताले यो कुरा बुझ्नु पर्छ,’ गोल्यानले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?