+
+

माओवादी नवधनाढ्यहरूलाई हल्लाउने १६ मिनेट

तर, मूल जिम्मेवारी भने माओवादी आन्दोलनसँग जोडिएका सबै नेतृत्वहरूको हो । टुटेर-फुटेर, सप्रिएर-बिग्रिएर जहाँ पुगे पनि उनीहरू यो दायित्वबाट भाग्न सक्दैनन् । अझ उनीहरूले हजारौं योद्धालाई नारकीय जीवनमा धकेलेर विलासी जीवन जिउने हक राख्दै राख्दैनन् ।

सुदर्शन खतिवडा सुदर्शन खतिवडा
२०७८ चैत १ गते २२:३३

गायक प्रकाश सपूतको नयाँ गीतिकथा ‘पिर’ यतिबेला चर्चामा छ । तीन दिनमै यसलाई ६२ लाखभन्दा बढी हेरिएको छ । १६ मिनेट लामो गीतिकथाका शब्दहरू त शक्तिशाली छँदैछन् नै, यसमा समेटिएको कथा र दृश्यले संवेदना भएको हरेक मानिसलाई एकपटक राम्रैसँग हल्लाउँछ । परिमाणतः यसको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा मत व्यक्त भइरहेको छ ।

गीतिकथाका शब्दमा कहींकतै आपत्ति प्रकट गर्नुपर्ने र अहमति राख्नुपर्ने कुरा छैन । जहाँसम्म भिडियोको कुरा छ, त्यहाँ पक्ष र विपक्षमा मत राख्न सक्ने ठाउँहरू छन् । सुरुवातमा माओवादी आन्दोलनका उपलब्धिलाई स्वीकार्दै स्थापित गर्न खोजिएको छ । सिंगो गीतिकथा नै ‘व्यवस्था परिवर्तनका लागि ज्यानकै बाजी थापेर लड्नेहरूमा समर्पित’ गरिएको छ ।

गीतमा पूर्वलडाकुका दुःख र पीडा देखाइएको छ । उनीहरू दुःखमा पनि मार्क्सलाई पढ्न भुल्दैनन् । जीवनसाथी र सन्तान छाडेर विदेशिनुपर्दा पनि झोलामा प्रगतिशील पुस्तक बोक्न बिर्संदैनन् । यो गीतिकथामा देखाइएको मात्रै दृश्य होइन, जीवनव्यवहारमै भइरहेको अभ्यास हो । उनीहरू धोका र अपमान हुँदा पनि पुस्तक पढ्न छाड्दैन । उनीहरूमा आन्दोलनप्रतिको आस्था विश्वास मरेको देखिंदैन ।

ठूला राजनीतिक परिवर्तनको सपना देखाउने जनयुद्धबाट केही महत्वपूर्ण राजनीतिक उपलब्धि भएको कुरालाई गीतिकथामा स्वीकारिएको छ । तर, व्यवस्था बदलिए पनि आम मानिसको अवस्था बदल्ने कार्यभारबाट माओवादी बरालियो । सीमित मानिसहरूको वर्गउत्थान भयो । हिजो युद्धमा दुःख गर्ने आधारभूत तहका मानिसहरूको जीवन अस्तव्यस्त बनाइदियो । यसक्रममा माओवादी नेतृत्वको वर्गउत्थान र नैतिक स्खलनको आसपास सपूतले कथावस्तु बुनेका छन् ।

र, यो १६ मिनेट लामो गीतिकथाले त्यही वर्गउत्थान भएका नबधनाढ्यहरू र तिनीहरूबाट केही पाउने आशामा बाँचेको एउटा पंक्तिलाई बेस्करी हल्लाइदिएको छ । पार्टी नेतृत्वले गर्ने हरेक गल्तीमा रफु भरेर जीवन चलाउने यस्ता आशे अर्थात् आशा गरेर बाँच्ने पंक्ति माथिदेखि तलसम्म बनेको छ । आलोचनात्मक चेत गुमाएको त्यही तर लागेको पंक्तिलाई ‘पिर’ले अत्यधिक पिर पारेको देखिन्छ ।

‘पिर’ : अन्यायको प्रमाण

पिर पक्कै पनि आशावदिताले भरिएको गीत होइन । यो कुरा निर्देशक सपूत स्वयंले स्वीकारिसकेका छन् । यसले अभाव र अन्यायका विरूद्ध विद्रोहको अपील गर्दैन । यसले सुन्दर भविष्यको परिकल्पना पनि गर्दैन । बरू यसले हामीलाई निराशावादको खाडलतिर तान्छ । निराशाको कालो कस्तो हुन्छ त्यो देखाउँदैन मात्र, अनुभव पनि गराउँछ । दर्शकहरूको मनभित्र निराशा छिराएर उनीहरूलाई समाजमा भएको असमानता र अन्यायको प्रत्यक्ष अनुभूत गराउनुमा ‘पिर’ जस्ता सिर्जनाको शक्ति अन्तरनिहित रहेको हुन्छ ।

अमेरिकी लेखक तथा पत्रकार एलिजाबेथ गिल्बर्टको बुझाइमा धुम्रपानले फोक्सो बिगारेजस्तै कुण्ठाले पनि मन/मस्तिष्कलाई असर पुर्‍याउँछ, एक सर्को पनि हानिकारक हुनसक्छ । नेल्सन मण्डेलाको भनाइमा कुण्ठा भनेको आफूले विष पिएर आफ्ना दुश्मनहरू मर्छन् भन्नुजस्तै हो । तर, कुण्ठा कसैले चाहेर जन्मिंदैन र सबै मण्डेला र बुद्ध बन्न सक्दैनन् । हामीले गर्ने आम मानिसको कुरा हो । कुण्ठा मनमा गढेर बसुञ्जेल मानिसको क्रोध नहराउने कुरा गौतम बुद्धले पनि उल्लेख गरेका छन् ।

यहाँनिर हिटलरको आउसवीचमा बन्दी बनाइएका अष्ट्रियाका दार्शनिक जिन अमेरीको भनाइ स्मरणीय छ । आउसवीचमा बन्दी बनाउँदा पाएको अपमान र दमनका कारण उनी जीवनभर डिप्रेसनको सिकार थिए । उनी आफूलाई सगर्व ‘कुण्ठा बोकेको पात्र’ वा ‘फिगर अफ रिसेन्टमन्ट’को रूपमा प्रस्तुत गर्थे । उनले डिप्रेसनको औषधि लिन सधैं अस्वीकार गरे । दर्शनका दर्जनौं प्रसिद्ध कृतिका रचनाकार अमेरीले अन्त्यमा आत्महत्या गरे । तर, उनले ‘एट दि माइन्डस् लिमिट’ लगायतका पुस्तकमा एउटै कुरा दोहोर्‍याइरहे। त्यो के भने ‘मेरो डिप्रेसन र कुण्ठा म माथि भएको अन्यायको प्रमाण हो । म यो प्रमाण मेट्न चाहन्नँ । म यसको उपचार चाहन्नँ ।’

माओवादी एलिटले झूटा सपना देखाएर योद्धाहरूलाई खुला जेलजस्तो शिविरभित्र थुने । त्यहाँ शरीर मात्रै नभएर योद्धाहरूको सपना पनि बन्धक बनाए । त्यहाँ उनीहरूले योद्धाहरूलाई सरकारले दिएको रासनपानी र रकम पनि खोसे । औंलामा गन्न सकिने नेतालाई मोटो बनाएर रित्तोहात घर फर्किन पर्दा योद्धाहरूको मनमा असन्तोषको कस्तो हुरी चल्यो होला ? ’पिर’ यही अत्याचारको प्रमाण हो ।

नेतृत्व निरन्तर गलत दिशामा रूपान्तरण भए तर योद्धाहरूलाई क्रान्ति र विद्रोहको झूटो सपना देखाइरहे । जनताले दिएको संविधान निर्माणको मतादेश कुल्चिएर ७ दिने असफल जनविद्रोहमा परिचालित योद्धाहरू काठमाडौंबाट घर फर्कंदा योद्धाहरूको मस्तिष्कमा के चलिरहेको थियो होला ? यो पृष्ठभूमिमा ‘पिर’मा प्रस्तुत गरिएको पिर, कुण्ठा, पीडा र चीत्कार माओवादी आन्दोलनभित्रका नवधनाढ्य वर्गले जनयुद्धका योद्धाहरूमाथि गरेको अन्यायको प्रमाण हो ।

माओवादी एलिटले आफू सत्तामा पुगेपछि ती योद्धाहरूलाई रुवाउँदै घर खेदेको र त्यसपछि खाडी मुलुकमा भासिन बाध्य बनाएको यथार्थको प्रमाण हो । हिजोका हरेक पूर्व माओवादी लडाकुको अनुहारमा रहेको निराशा उनीहरूमाथि माओवादी एलिटले क्रान्तिका नाममा गरेको शोषण, दोहन र धोकाको प्रमाण हो ।

योद्धाहरुको मलिन अनुहारले समेत माओवादीको नवधनाढ्य वर्गका मनमा आतङ्क सिर्जना गर्छ । किनकि योद्धाका ती मलिन अनुहार माओवादी एलिटका सदस्यहरूका खाइलाग्दा अनुहारका रहस्य हुन् भन्ने कुराको प्रमाण हो । माओवादीका नव धनाढ्यहरू त्यो प्रमाणलाई मेट्न चाहन्छन् । त्यसैले उनीहरू आज एउटा गीतको विरुद्ध वक्तव्यबाजी गरिरहेका छन् ।

त्यसो त, नेपालमा पार्टी सदस्यता र राजनीतिक आस्था विवेक बन्धक बनाइदिने वस्तु जस्तो बनेको छ । अप्रत्यक्ष भेटघाटमा धेरै नेता कार्यकर्ताहरू मनको वह पोख्छन् । तर सार्वजनिकरूपमा विरोध गरिरहनुपर्ने बाध्यता छ । मनमा पिर छ तर पिर पोख्न पनि ठाउँ पनि छैन, पिर पोख्न पाउनु पनि छैन । यो पृष्ठभूमिमा ‘पिर’ले माओवादी आन्दोलनसँग जोडिएका सबैलाई पिर थपेको छैन । बरु, उनीहरूलाई वर्षौंदेखि बोक्दै आएको पिरको गह्रुङ्गो भारी बिसाएझैं हल्का भएको छ ।

यही पिरमाथि पिरको अवस्थामा रहेका पात्रहरूको कथा उल्लेख गरेको प्रकाश सपूत स्वयंले भनिसकेका छन् । ‘पिरबाट मैले युद्धकै जग/ बलमा व्यवस्था परिवर्तन भएको तर अवस्था परिवर्तन नभएको भन्न मात्रै खोजेको हो’ सपूतले भनेका छन्, ‘समानताको लागि एकसाथ लडेका कमरेडहरु बीचमा बढ्दै गएको असमान दूरी देखाउन खोजेको हो । एक आमनागरिकले राज्यसँग गरेको अपेक्षा र पाएको उपेक्षालाई चित्रण गर्ने कोसिस गरेको हो ।’

पिरका ‘ट्रयाजिक आइरनी’

प्रकाश सपूतको ‘पिर’मा धेरै ‘ट्रयाजिक आइरनी’ वा दुःखद् विडम्बनाहरू चित्रण गरिएका छन् । माओवादी युद्धमा सहभागी योद्धाका जीवनका दुःखद् विडम्बनाह‍रूको प्रतिबिम्बन गीतको पोस्टरबाटै सुरू हुन्छ । माओवादी युद्धपछिको ‘पोस्ट-हिरोइक’ युगको प्रतिनिधिमूलक भाव ‘पिर’ शीर्षकको गीतको पृष्ठभूमिमा भने युद्धकालीन ‘हिरोइक युग’को झझल्को दिने कम्ब्याट ड्रेसमा बन्दूक बोकेका र निधारमा रातो फेटा बेरेका पात्रहरूको तस्विर छ । गीतको पोस्टरले माओवादी युद्धकै केन्द्रीय विरोधाभासलाई बोलेको छ ।

माओवादी युद्धको केन्द्रीय विरोधाभासलाई ‘फोकल्डियन प्याराडक्स’ भन्न पनि सकिन्छ । समानताको नारा दिएर बनाएको माओवादी सङ्गठनभित्र सभ्य समाजमा हट्दै गएको कैयौं असमानता पुनःउत्पादन मात्रै भइरहेका छैनन्, थप चर्काइएको छ । माओवादी आन्दोलनसँग जोडिएका सम्भ्रान्तगणले त्यो असमानताको सिर्जना पुँजीवादी बजारमा जस्तो श्रम र पसिनाको शोषणबाट मात्रै होइन, दासयुग र सामन्ती युगमा जस्तो युवाहरूको भाग्य र भविष्यको दोहन मार्फत गरिरहेका छन् ।

आलोचनात्मक चेतको जगमा सुरू भएको माओवादी आन्दोलनको मूलधारमा आज नेपाली समाजको औसतभन्दा पनि तल्लोस्तरको आलोचनात्मक चेत छ । यसलाई आरोप वा पूर्वाग्रह भन्न सकिएला तर, एउटा कलाकारको गीतविरुद्ध उनीहरूले गरेका बहुलठ्ठीपूर्ण टिप्पणी र गीतलाई युट्युबबाट हटाउन दिएको धम्कीबाट यो ‘आरोप’ प्रस्ट हुन्छ ।

गीतको प्रतिक्रिया होइन, समग्र गीतमा देखाइएको सबभन्दा मुख्य वियोगपूर्ण बिडम्बना (ट्रयाजिक आइरनी) के हो भने देश र जनताको पीडा कम गर्छु भनेर स्कुल कलेज छाडेर माओवादी पार्टीमा सामेल भएका युवाहरूलाई सत्ताको भर्‍याङ बनाइयो । सत्तामा पुगिसकेपछि माओवादी नेतृत्वले उनीहरूलाई ‘आममान्छे’ भन्दा पनि पीडित पात्रमा परिणत गरिदियो । हिजो वीरता ती युवाको पहिचान थियो भने आज ‘पिर’ उनीहरूको पहिचान भएको छ ।
गीतको पोस्टरको ताराको चिन्हलाई भित्र पारेको ‘पिर’ शीर्षक झट्ट हेर्दा ‘विर’ जस्तो देखिन्छ । नेपाली युवाहरुलाई ‘वीरता’ वा एजेन्सीको भ्रम दिएर सारतः ‘पीडित’ पात्रमा परिणत गर्नु प्रकाश सपूतको गीत र माओवादी एलिटका रणनीति र कार्यनीतिहरूको केन्द्रीय ‘ट्रयाजिक आइरनी’ बनेको छ ।

यो केन्द्रीय ट्रयाजिक आइरनी वरिपरि अरू पनि ट्र्याजिक आइरनी पनि बुनिएका छन् । त्यस्ता आइरनी मासु पसलको नामबाट सुरू हुन्छ । गीतको केन्द्रीय पात्रले आफ्नो मासुपसलको नाम ‘परिवर्तन मासु पसल’ राखेको छ । जसको जीवनमा आफैंले लडेको राजनीतिक परिवर्तनले कुनै परिवर्तन ल्याएन, पिरमाथि पिर थपिदियो, त्यही परिवर्तनलाई सम्झाउने गरी उनले आफ्नो मासु पसलको नाम राखेका छन् । त्यसबाट केन्द्रीय पात्र कसरी परिवर्तनको नेतृत्वले आफूलाई नयाँ युगको ‘डिस्पोजेबल’ वा उपयोग गरिसकेर काम नलाग्ने भए पछि मिल्काइने त्याज्य वस्तुमा परिणत गरिसक्दा पनि त्यो परिवर्तनप्रति गर्व गर्छ भन्ने नै देखाउँछ ।

पार्टीकै नेताले अर्थमन्त्रालय नेतृत्व गरिरहेका छन् । देशमा आर्थिक मन्दीजस्तो छ । व्यापार पटक्कै छैन । व्यापारले पनि उनलाई युद्धले जस्तै निराशा दिन्छ । दिनभरि कामबाट घर फर्कंदा युद्धका बीच बिहे गरेकी जीवनसँगिनीले सोध्छिन्, ‘परिवर्तनबाट के पाइयो ?’ उनी सहजै जवाफ दिन्छन्, ‘गणतन्त्र ।’

यहाँ फेरि गीतको र माओवादी जनयुद्धको पनि केन्द्रीय आइरनी जोडिन आइपुग्छ । त्यो के भने रूपमा यति ठूलो परिवर्तन हुँदा पनि सारमा परिवर्तनका लागि लड्ने भुइँतहका मान्छेको जीवन झनै कष्टकर बन्छ । आम मान्छेको अवस्था झनै जर्जर बन्छ ।

यति धेरै धोका र विश्वासघात हुँदा र घाइते शरीर घिसार्दै बेसहारा भएर सङ्घर्ष गरिरहँदा पनि ती पात्रको पार्टीप्रतिको विश्वास भने मरेको छैन । माओवादी नेतृत्वले आफूलाई गणतन्त्रका परित्यक्त वा ‘डिस्पोजेबल’मा परिणत गर्दा पनि ती पात्र दल परिवर्तन गर्दैनन् । बरू कम्यनिस्ट साहित्य झोलामा हालेर रोजीरोटीको खोजीमा भौँतारिन्छन् ।

मूल पात्रकि जीवन सँगिनी खाडी उड्नुअघि विमानस्थलमा नाबालिका छोरीले देखाएको कारुणिक दृश्य गीतको कल्पना मात्रै होइन, हामी बाँचेको समयको बिडम्बनापूर्ण यथार्थ हो । उनी विदेशमा बन्धक बनाइन्छिन् । उनी देश फर्कन चाहन्छिन् तर उनलाई सहयोग गर्ने कोही हुँदैन । जुन नेतालाई जोगाउन छातीमा गोली थापिएको थियो, त्यही नेताले पनि बेवास्ता गरिदिन्छन् ।

यहाँसम्म आइपुग्दा प्रकाश सपूतले दर्शकलाई यसरी भत्काइदिन्छन् कि उसलाई फेरि आफूलाई सम्हाल्न गाह्रो हुन्छ । देश फर्कने चाहना र चीत्कारसहितको महिला पात्रको फेसबुक भिडियोले माओवादी युद्धमा सहभागीलाई मात्र होइन, आम नेपालीको कमलो मुटु र कमलो छातीमा भक्कानो छुटाइदिन्छ । शेक्सपियरका ट्रायजेडी र ग्रिक साहित्यका ट्रयाजेडीमा भन्दा कम दर्दनाक छैन प्रकाश सपूतले ‘पिर’मा प्रस्तुत गरेका ट्रयाजिक आइरनीका दृश्य । यद्यपि, यो काल्पनिक होइन, आम नेपालीको जीवनशैली हो ।

धोकाको अप्रत्याशित भूमि र ‘देहव्यापार’
मानिसहरू बीचको सम्बन्धमा धोका अप्रत्यासित रूपमा आइपुग्छ । धोकापछि मान्छेहरूका सम्बन्ध उही रूपमा रहँदैनन् । धोकाले मान्छेलाई सम्बन्धको एउटा त्यस्तो अप्रत्याशित भूमिमा लैजान्छ जहाँ उनीहरू अरू र आफैंलाई चिन्न नसक्ने बन्न पुग्छन् । धोका दिने मात्र होइन, धोका पाउने पनि उक्त धोकाको मतियार हुन्छ । धोका पाउने पनि धोका दिनेको किन मतियार हुन्छ भने धोका आपसी विश्वासमा खडा भएको हुन्छ ।

धोकातर्फ लैजाने आपसी विश्वासमा जान-अनजानमा बाँधिनु धोका पाउनेको गल्ती हुन्छ, धोकापछि उक्त आपसी विश्वासलाई फर्किएर हेर्दा । जब विश्वासका सम्बन्धहरू धोकामा परिणत हुन्छन्, तब धोका पाउने पीडित क्षणभरमा नै धोका दिने पीडक बन्न सक्छ । कार्ल मार्क्सले पुँजीवादको सन्दर्भमा उल्लेख गरेको यो उक्ति धोकाको हकमा पनि उत्तिकै लागू हुन्छ- ‘मानवीय सम्बन्धहरूमा धोकाले प्रवेश गरेको घडीदेखि त्यतिबेलासम्म जे जति ठोस थिए ती वायुमा परिणत हुन्छन्, र जे जति चिज पवित्र थिए ती सबै अपवित्र बन्दछन् ।’ धोकाले सबै पुराना बाचा, कसम र प्रतिबद्धताहरु आफ्नो बलिबेदीमा चढाइयून् भन्ने चाहन्छ । प्रकाश सपुतको ‘पिर’मा पनि केही हदसम्म त्यस्तै भएको छ ।

प्रकाश सपूतको पिरका पात्रहरूलाई उनीहरूले बाबुआमा समान मानेका माओवादी नेताहरूले धोका दिन्छन् । शिविरमा राखेर लुट्छन् र बाहिर निकालेर समाजमा स्थापित गराउन कुनै भूमिका खेल्दैनन् । शिक्षा र सीप नभएका योद्धालाई अलपत्र छाडिदिन्छन् । आफू युद्धमा लाग्दा वैदेशिक रोजगारमा लागेका साथीहरूले घरघडेरी जोडेका छन्, सन्तानलाई राम्रो स्कुलमा पढाएका छन्, बैंकमा बचत गरेका छन् । तर आफ्नो जीवन हरिबिजोग छ ।

माओवादी योद्धाका लागि रगतको नाता भन्दा वर्गीय नाता ठूलो थियो । आफ्नो परिवार होइन कि पार्टी वास्तविक परिवार थियो । तर नेताहरूले आफ्ना छोराछोरी र आफन्त च्यापिदिन्छन् । योद्धाहरूलाई जतै पछि पारिदिन्छन् । यस्तो अवस्थामा उनीहरूको मनोविज्ञान कस्तो होला ?

एक वाक्यमा भन्दा माओवादी नेताले तिनका कार्यकर्तालाई पहिले झूटो वाचा गर्छन् र पछि धोका दिन्छन् । धोका पाएका योद्धाहरूलाई समेत त्यो धोकाले नराम्ररी भत्काइदिन्छ । त्यसपछि उनीहरूका लागि पवित्र भन्ने केही बाँकी हुँदैन ।

कतिपयले तीन महिनापछि परस्त्रीगमन गर्न जाने गीतिकथाको मूलपात्रप्रति प्रश्न उठाएका छन् । सतहीरूपमा हेर्दा यो सही हो । तर, माओवादी परिवारमा भएको विग्रहले निम्त्याएको दुष्परिणाममध्ये यो पनि एक हो । धोका पाउने मान्छेले अरुलाई धोका दिन्छ । उनीहरूलाई यस्तो अज्ञात अवस्थामा लैजान्छ, जहाँ पुराना सामाजिक सम्बन्धको पवित्रता हराउँछ । उसले बोकेर हिंडेको धोकाका कारण सम्बन्ध पवित्र रहँदैन । के नेतासँगको सम्बन्ध पवित्र रह्यो र ? के लाभका पदमा पुगेका ठूला नेताले घाइते लडाकुलाई चिने र ? धोका दिएनन् र ? यसले पैदा गर्ने निराशामा मानिसले पवित्रताको सम्बन्ध भुलाउँछ ।

प्रकाश सपूतको मूल पात्रले आफ्नी जीवनसंगिनी विदेशिएको तीन महिनामै साथीको उक्साहटमा आएर परस्त्रीगमनको प्रयास गर्नु र वैवाहिक सम्बन्धको पवित्रता तोड्नु त्यही परिवेशको उपज हो । धोकाले विश्वासमाथि दिग्विजय प्राप्त गरेको समयको उपज हो । मनमा स्थापित सबै मूल्य मान्यता भत्किएको परिवेशमा प्रकाश सपूतकै शब्दमा ‘मुन्छे बन्न मुस्किल’ हुन्छ, निकै मुस्किल हुन्छ । ‘पिर’को मूल पात्रलाई पनि त्यही भएको हो ।

समाजशास्त्रीय कोणबाट मूल पात्रको उक्त विचलनको स्रोत अरू कोही नभएर माओवादी नेतृत्व र यही राज्यसत्ता नै हो । माओवादी नेतृत्वले सिर्जना गरेको धोकाको बजारमा कति पारपाचुके भए, कति बहुविवाह भए, त्यसको तुलनामा प्रकाश सपूतको मूल पात्रको गल्ती एउटा क्षम्य गल्ती हो भन्दा अत्युक्ति हुँदैन ।

नेपाली समाजमा सम्बन्धप्रतिको प्रतिबद्धता र विश्वास बचाउन महिला बढी प्रतिवद्ध देखिन्छन् । हाम्रो समाजमा विद्यमान पित्तृसत्तात्मक समाजको विकृतिलाई यहाँ देखाइएको हो । यसमा माओवादीलाई जोड्न आवश्यक छैन ।

सामान्यतः साहित्यमा स्वतन्त्रता अराजकताको तहमा फैलन सक्छ । पञ्चायतकालीन जमिनमा उभिएर पनि बीपी कोइरालाले साहित्यमा अराजकतावादी बाटो रोजे । साहित्य सिर्जनामा गरिने परिकल्पना सत्यको नजिक भने हुनुपर्छ । के देहव्यापार हाम्रो समाजमा कपोलकल्पित कुरा हो ? अपवित्र काम हो ? उत्तर फरक फरक आउन सक्ला तर यथार्थबाट भाग्न कोही सक्दैन । विभिन्न तथ्यांकका अनुसार नेपालमा ५० देखि ७० हजार मानिस देहव्यापारमा संलग्न छन् ।

सिद्धान्ततः भावनाबिनाको शारीरिक संसर्ग वेश्यावृत्ति हो । त्यसो भए समर्पण र नैतिकताबिनाको राजनीति के हो ? नेताहरूको राजनीतिक वेश्यावृत्तिलाई नदेख्ने पार्टीभित्र विभिन्न तहमा रहेका केही स्थायी शासकहरू एउटा योद्धाको वाध्यात्मक देहव्यापारलाई तल्लोस्तरको शब्दचयन गरेर अपमान गरिरहेका छन् । मलाई लाग्छ, नैतिकता र समपर्णको राजनीति त्यागेका नेताहरूले मच्चाइरहेको वेश्यावृत्तिलाई बेवास्ता गर्ने दलभित्रका आशे नेता कार्यकर्तालाई हजारौं नेपाली संलग्न देहव्यापारमाथि प्रश्न गर्ने कुनै अधिकार छैन । मूल धमिल्याएर धारामा पानी धमिलो आयो भनेर रडाको मच्चाउनुको के अर्थ ?

कतिपयले परस्त्रीगमन गर्न गएको पूर्वलडाकुले आफ्नो पूर्वसहकर्मी कमरेडलाई अचानक लालसलाम गरेको दृश्यलाई अस्वाभाविक मानेका छन् । माओवादी आन्दोलनमा लागेका भुइँतहका कार्यकर्ताहरू जे गर्थे, मनैदेखि गर्थे । मनैदेखि नलागेको मानिस कसरी युद्धमा बलिदान गर्न तयार हुन्छ ? नेता जोगाउने मूल्यमा आफ्नै छातीमा कसरी गोली थाप्न सक्छ ? उनीहरूको मनमा ‘लालसलाम’ गढेर बसेको छ । आकस्मिकतामा अवचेतन मनले कतिबेला लालसलाम फुस्काउँछ, थाहा हुँदैन । यो मष्तिष्कमा सेट भएको एक प्रकारको स्वचालितता अर्थात ‘अटोमेटिसिटी’ को नतिजा हो ।

परिवार, विवाह र यौनलाई हेर्ने मार्क्सवादी दृष्टिकोण के हो ? जर्मनीका नेतृहरू रोजा लक्जेमबर्ग र क्लारा जेट्किनहरू यौनकर्मीको अधिकारका लागि लडे । रोजा यौनकर्मीहरू बुर्जुवा समाजद्वारा दुईपटक बलिमा चढाइने कुरा गर्थिन्, पहिलोपटक सम्पत्ति सम्बन्धको बलिमा र दोस्रोपटक पूँजीवादी नैतिक पाखण्डको बलिमा । तर, नेपालमा यौनकर्मीलाई सम्बोधन गर्ने माओवादी नेता/कार्यकर्ताहरूको शब्द र अर्थ दुवै आपत्तिजनक छ । उनीहरूले देहव्यापारलाई ‘चरित्रहीन’ र ‘पतित’ पेशाको रूपमा चित्रित गर्न खोजिरहेका छन् ।

माओवादीका कतिपय नेताहरूले प्रकाश सपूतलाई दलित मुक्तिको लागि माओवादीले लडेको नभुल्न आग्रह गरेर असभ्य भाषा प्रयोग गरिरहेका छन् । माओवादी आन्दोलनमा बलिदान गर्नेमध्ये दलित समुदायको हिस्सा कुल जनसंख्याको हिस्साभन्दा बढी थियो । यो जस माओवादीका सीमित नेताले मात्रै लिने हो कि लडाई लड्ने समुदायले पनि ? विकसित देश हुन्थ्यो भने यौनकर्मी र दलित समुदायका पात्रलाई प्रयोग गरिएको शब्दचयनप्रति आम माफी माग्नुपर्थ्यो र सार्वजनिक जीवनबाट हात धुनुपर्थ्यो ।

सरोकारवालाहरूको संवेदनहीनता

माओवादीको आधारभूत पंक्तिभित्र विद्यमान निराशा, पीडा र कुण्ठालाई कसरी सम्बोधन गर्ने ? यसमा सरोकारवालाको आपत्तिजनक बेवास्ता छ । यो सरकारवालाको सूचिको अगाडि प्रचण्डको नाम होला तर माओवादी आन्दोलनसँग जोडिएका सबै नेता र राज्यका सबै अवयवहरू यसमा पर्छन् । सत्तारूढ दल होस् वा प्रमुख प्रतिपक्षी दल, माओवादी आन्दोलनका उपलब्धिलाई काम पर्दा भाँडो, काम नपर्दा ठाँडोको रूपमा व्यवहार गरिरहेका छन् । केपी ओली हुन् वा शेरबहादुर देउवा, माओवादीलाई आफ्नो स्वार्थअनुरूप उपयोग र दुरुपयोग गर्दै आएका छन् । यहाँनेर प्रयोग हुनेको नालायकीपनलाई माफी दिन खोजिएको भने होइन ।

सम्भवतः प्रकाशले यो गीतिकथामा काम गरिरहँदा माओवादी पंक्तिबाट समर्थन पाउने आशा गरेका थिए होलान् । त्यसो हुँदा यसले खुमलटारभन्दा बढी बालुवाटार हल्लाउन सक्थ्यो । तर, माओवादीको एउटा पंक्तिले गीतबारे गलत र प्रत्युत्पादक भाष्य स्थापित गर्ने आलोकाचो काम गरेको छ ।

माओवादी आन्दोलनकारीहरूसँग नेपालका प्रमुख राजनीतिक दलहरू सबैले सहकार्य गरिसकेका छन् । माओवादीसँग सत्ता सहभोग गरिसकेका हरेक दल यदि नैतिक जमिनमा उभिने ल्यागत राक्छन् भने यस्ता समस्यालाई उनीहरूले माओवादीको मात्रै ठेक्का हो भनेर पन्छिन सक्दैनन् ।

आलोचनात्मक चेतको जगमा सुरू भएको माओवादी आन्दोलनको मूलधारमा आज नेपाली समाजको औसतभन्दा पनि तल्लोस्तरको आलोचनात्मक चेत छ । यसलाई आरोप वा पूर्वाग्रह भन्न सकिएला तर, एउटा कलाकारको गीतविरुद्ध उनीहरूले गरेका बहुलठ्ठीपूर्ण टिप्पणी र गीतलाई युट्युबबाट हटाउन दिएको धम्कीबाट यो ‘आरोप’लाई नै बल मिल्छ ।

तर, मूल जिम्मेवारी भने माओवादी आन्दोलनसँग जोडिएका सबै नेतृत्वहरूको हो । टुटेर-फुटेर, सप्रिएर-बिग्रिएर जहाँ पुगे पनि उनीहरू यो दायित्वबाट भाग्न सक्दैनन् । अझ उनीहरूले हजारौं योद्धाहरूलाई नारकीय जीवनमा धकेलेर विलासी जीवन जिउने हक राख्दै राख्दैनन् । किनकि माओवादीहरू केही वर्ष जेल बसेर, केही मञ्चमा भाषण वा सामान्य संसदीय राजनीति गरेर राजनीतिक लाभको पदमा पुगेका होइनन्, उनीहरू त रगतको खेल खेलेर त्यहाँ पुगेका हुन् । विद्रोहलाई केटाकेटीको खेलजस्तो बनाउनेलाई समयले बेवारिसे बनाइदिनेछ ।

प्रचण्डका सुकिलामुकिला नातिनातिना महंगा विद्यालयमा पढेको खबरले सन्तान पढाउन नसकेका लडाकुलाई कति पोल्दो हो ? वर्षमान पुनले विदेशमा महंगो उपचार गरेको खबर र युद्धमा गोली र छर्रा निलेका तर अहिलेसम्म उपचार नपाएका घाइते योद्धाहरूको दुःखको खबरसँग कसैले तुलना गर्छ भने यसलाई कसैको खराब नियतसँग जोडेर हेर्नु हुँदैन । जनार्दन शर्मा, देवेन्द्र पौडेललगायत सन्तान विदेश पढेको खबरको किन बढी चर्चा र आलोचना हुन्छ ?

कुनै पनि नेताका सन्तानले विशेष लाभ लिइरहेका हुन्छन् भने उनीहरूमाथि हुने अतिरिक्त आलोचनालाई कसरी अस्वाभाविक भन्न सकिन्छ ? माओवादी आन्दोलनमा भएको बलिदानको बलमा पद र प्रतिष्ठामा पुगेका कुनै पनि नेता उक्त आन्दोलनले सिर्जना गरेको दायित्वसँग बेखबर बन्न खोज्छ भने ऊभन्दा अनैतिक मान्छे को हुन सक्ला ?

तर यी सबै वास्तविकतालाई बिर्सिएर माओवादीभित्रको एउटा तर लागेको तहको विरोध बिडम्बनापूर्ण छ । ‘कसैलाई युद्ध फापेको छ’ भनेर केही नेताहरूको वर्गउत्थानप्रति प्रश्न उठाउनु त माओवादी आन्दोलन र ‘सर्वहारा वर्ग’कै पक्षमा बोलिएको होइन र ? छाकटार्न र सन्तान पढाउन मुस्किल भइरहेका योद्धाहरूलाई नेताहरूको यस्तो क्रान्तिकारी वर्गउत्थानले कति पीडा थप्दो हो ? मनभित्र कति आक्रोशको आगो जल्दो हो ?

नेपाली समाजको गर्भमा दन्किइरहेको असन्तुष्टिको आगोले निकास खोजिरहेको बेला प्रकाश सपुतको मष्तिष्कबाट गर्भाधान भएको सिर्जना हो- ‘पिर’ । यसलाई आधारभूमि बनाइदिने माओवादी आन्दोलनबाट विशेष सुविधा लिएर राज्यसत्ता दोहन गर्ने ठाउँसम्म पुगेका हरेक नेतृत्वपंक्ति हो ।

अर्कोकुरा, यस्ता समस्यालाई जमिनमुनि नै दबाएर राखिरहन सम्भव हुँदैन । समस्याबाट भागेर वा पन्छिएर समाधान खोज्न सकिन्न । माओवादीका लागि मात्र होइन, सबै राजनीतिक दल र राज्यका लागि नै यो भाग्न र पन्छिन मिल्ने समस्या होइन । यो राजनीतीकरण गर्ने मुद्दा पनि होइन । यसलाई एक दलले अर्को दललाई सिध्याउने माध्यम बनाउनु भनेको अर्को घृणायोग्य काम हो । किनकि ‘पिर’ले सबै दल र राज्य यन्त्रकै असफलता र नालायकीपनले जन्माएका पात्रहरूको दुःख देखाएको छ । पिरको तिरले तिनैलाई घोचोस्, जसलाई घोच्न आवश्यक छ ।

लेखकको बारेमा
सुदर्शन खतिवडा

खतिवडा अनलाइनखबर डट कमका अपिनियन एडिटर हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?