+
+

सेवा क्षेत्र : देशले जति कमायो, त्यो भन्दा धेरै गुमायो

भ्रमणबाट प्राप्त हुने आय भन्दा नेपालको व्यय धेरै देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ भ्रमण आयको रुपमा नेपालले आम्दानी गरेको थियो । तर गत वर्ष ७ अर्ब ८४ करोड रुपैयाँ व्ययको रुपमा रकम बाहिरियो ।

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत २ गते २०:२४

२ चैत, काठमाडौं । कोरोनाका कारण २ वर्षसम्म उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेश जान पाएनन् । कोरोना सहजै भएसँगै अहिले उनीहरु धमाधम विदेश जान थाले । अष्ट्रेलिया, जापान, क्यानडा, अमेरिकालगायतका देशमा पढ्न जानका लागि दैनिक सयौंले अनुमति लिने गरेका छन् ।

विदेश अध्ययन जानका लागि सरकारबाट ‘नो अब्जेक्सन लेटर’ एनओसी लिनै पर्ने व्यवस्था छ । शिक्षा मन्त्रालयको वैदेशिक शिक्षा अनुमति शाखाका अनुसार अहिले एक दिनमै १२ सय जनासम्मले एनओसी लिने गरेका छन् । शाखा प्रमुख हरिप्रसाद निरौलाका अनुसार अष्ट्रेलिया, जापान, बेलायत, क्यानडा, भारतलगायतका देशमा पढ्न जाने विद्यार्थीको संख्या अत्यधिक देखिएको छ । ‘पछिल्लो साता चाप अस्वाभाविक रुपमा बढेको छ’, उनले भने, ‘हामीले सबैलाई सेवा दिनै समस्या भइरहेको छ ।’

कोरोना कहरका बेला धेरै देशमा आवगमन बन्द थिए । विद्यार्थीले चाहेर पनि वैदेशिक अध्ययनका लागि बाहिर जान पाएका थिएनन् । कोरोना त्रास सहज भएसँगै धेरै विद्यार्थी बाहिरिए । विद्यार्थी बाहिर जाँदा त्यसको असर भने देशको अर्थतन्त्रमा परेको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीका कारण पनि विदेशी मुद्राको सञ्चितिमा चाप परेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार उच्च शिक्षाका लागि वर्षेनी अर्बौ रुपैयाँ विदेशिने गरेको छ । नेपालीहरु विदेश घुम्न जाँदासमेत ठूलो रकम बाहिरिन्छ । जसको असर नेपालको ब्यालेन्स अफ पेमेन्टमा पर्छ । तर नेपाल घुम्न आउने पर्यटकको संख्या पनि ठूलै हुने भएकाले भ्रमणको घाटा शिक्षा क्षेत्रको जस्तो छैन ।

चालु आर्थिक वर्षको सात महिनामा सेवा आय ५५ अर्ब ५९ करोड रुपैयाँले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ३५ अर्ब ३७ करोड रुपैयाँले घाटामा थियो । पर्यटक नेपाल आउँदा विदेशी रकम भित्रिन्छ । यसले सेवा क्षेत्रको आयलाई सकारात्मक बनाउँछ । पछिल्लो समय पर्यटक पनि आएका छन् । तर उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम बढ्दै जाँदा सेवा क्षेत्रको घाटा उच्च देखिएको हो ।

राष्ट्र बैंकका अनुसार सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय १९२.० प्रतिशतले बढेर ११ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ३ अर्ब ८९ करोड रुपैयाँ थियो । कोरोनाका बेला ठप्प रहेको पर्यटक आवागमन कोरोना सकिएपछि सुधार देखिएको छ । यसले भ्रमण आयमा सुधार देखिए पनि कोरोना भन्दा अगाडिको अवस्थामा भने अझै पुग्न नसकेको राष्ट्र बैंकले जनाएको छ ।

सात महिनाका अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ९१.६ प्रतिशतले अर्थात ३६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय १८ अर्ब ९५ करोड रहेकोमा शिक्षातर्फको व्यय ५ अर्ब ६७ करोड रुपैयाँ थियो ।

७ महिनामा शिक्षाका लागि मात्रै २२ अर्ब

आर्थिक वर्ष २०७६/७७ मा विदेशमा अध्ययन गर्न जाने नेपालीमार्फत २५ अर्ब ८१ करोड रुपैयाँ नेपालबाट बाहिरिएको थियो । गत आर्थिक वर्ष २०७७/७८ मा पनि २४ अर्ब ९६ करोड रुपैयाँ नेपाली विद्यार्थीमार्फत बाहिरियो ।

गत वर्षको एक वर्षभरीमा बाहिरिएको रकमकै हाराहारीमा चालु आर्थिक वर्षको ७ महिनामा नै नेपाली विद्यार्थीमार्फत रकम बाहिरिएको छ । राष्ट्र बैंकका अनुसार ७ महिनामा २२ अर्ब ६० करोड रुपैयाँ विद्यार्थीसँगै विदेशिएको छ । अहिले मुलुकको व्यालेन्स अफ पेमेन्ट इतिहासकै बढी घाटामा छ । चालु आर्थिक वर्षको ७ महिनामा शोधनान्तर स्थिति २४७ अर्ब ३ करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो ।

देशको आय तीन वटा (चालु, पूँजी र वित्तीय) खातामा हुन्छन् । चालु खाताभित्र पनि वस्तु व्यापार खाता, सेवा खाता, आम्दानी खाता, ट्रान्सफर खाता हुन्छन् । वस्तु व्यापार खातामा आयात र निर्यात पर्छन भने आम्दानी खाताभित्र विदेशबाट आउने ब्याज आम्दानी पर्छन् । ट्रान्सफर खाता अन्तर्गत भने रेमिट्यान्स आप्रवाहलाई राखिएको छ । पछिल्लो समय बढ्दो आयत र घट्दो रेमिट्यान्सले व्यालेन्स अफ पेमेन्टलाई निकै ठूलो असर गरेको छ ।

सेवा खाता भित्रको सेवा आयको श्रोत भनेको पर्यटन आय हो । विदेशी मिसनले नेपालमा गर्ने खर्च गर्दा वा नेपालका दूरसञ्चार कम्पनीले पनि विदेशमा सेवा दिए वापत कमाउने कमिसन यो शीर्षकमा पर्छन । शिक्षा क्षेत्रबाट बाहिरिने रकमलाई ठूलो रुपमा भने लिन नहुने राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट बताउँछन् । अहिले शिक्षाका लागि बाहिरिएको रकमले भोलि ठूलो रेमिट्यान्स भित्र्याउन भुमिका खेल्ने उनको भनाइ छ ।

‘शिक्षा क्षेत्रका लागि जाने रकम नगन्य खर्च हो, भोलि विदेशमा काम गरेर पैसा पठाउनुहुन्छ । विदेशमा कमाएको पैसा नेपालमा लगानी गर्ने वातावरण बन्छ’, उनले भने, ‘अध्ययन गर्नका लागि गएको रकम भएकाले नेपाली विद्यार्थीहरु केही सिक्नु हुन्छ, बनेर आउनु हुन्छ यसर्थ यलाई ठूलो रुपमा लिनु हुँदैन ।’

पर्यटक नआउँदा भ्रमण आयमा गिरावट

नेपालको आम्दानीका श्रोत मध्ये पर्यटन क्षेत्र पनि एक हो । तर पछिल्लो समय पर्यटन क्षेत्रबाट हुने आम्दानी भन्दा खर्च धेरै हुने गरेको देखिन्छ । आर्थिक वर्ष २०७६/७७ मा पर्यटकबाट प्राप्त हुने भ्रमण आय ६० अर्ब ८८ करोड रुपैयाँ थियो । त्यस वर्ष नेपालबाट भ्रमणका लागि हुने खर्च जम्मा २७ अर्ब ३२ करोड रुपैयाँ मात्रै थियो । अर्थात भ्रमण व्यय भन्दा आय धेरै राम्रो अवस्थामा थियो ।

गत वर्षदेखि भने अवस्था बदलिएको छ । भ्रमणबाट प्राप्त हुने आय भन्दा नेपालको व्यय धेरै देखिएको छ । राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०७७/७८ मा ७ अर्ब २७ करोड रुपैयाँ रुपैयाँ भ्रमण आयको रुपमा नेपालले आम्दानी गरेको थियो । तर गत वर्ष ७ अर्ब ८४ करोड रुपैयाँ व्ययको रुपमा रकम बाहिरियो ।

भ्रमण आयमार्फत चालु आर्थिक वर्षको ७ महिनामा गत वर्षभरीमा कमाएको भन्दा धेरै ११ अर्ब ३५ मुलुकको आम्दानी देखिएको छ । तर सोही अवधिको भ्रमण व्यय १३ अर्ब ७० करोड रुपैयाँ देखिएको छ । माघ महिनासम्म भ्रमण आय २ अर्ब ३५ करोड रुपैयाँले घाटामा देखिएको छ । गत वर्ष कोरोना त्रासका कारण भ्रमण आय र व्यय दुवैको अवस्था निकै नराम्रो थियो । चालु आर्थिक वर्षम कोरोनाको त्रास कम भएपछि नेपालीहरु विभिन्न मुलुकहरुमा जाने क्रम बढेको छ । थोरबहुत पर्यटक आएका कारण भ्रमण आय गत वर्षको भन्दा धेरै देखिएको छ ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेपालका पर्यटकीय क्षेत्रका बारेमा ‘मार्केटिङ’ नपुगेको बताउँछन् । नेपालमा घुम्ने ठाउँ धेरै राम्रा राम्रा भए पनि अन्तर्राष्ट्रिय स्तरमा यसबारे बुझाउन नसक्दा भ्रमण आय बढ्न नसकेको उनको ठम्याइ छ । उसो त पछिल्लो समयमा धेरै नेपाली विदेश घुम्न जाने गरेका छन् । सुविधा सम्पन्न देशका नागरिकको जस्तै बाहिर घुम्न जाने प्रचलन बढ्दो छ । जसले भ्रमण व्यय बढाएको छ ।

मनाङ–मुस्ताङ जस्ता जिल्लामा करोडौं पर्यटक आउनु पर्ने भए पनि नेपालका पर्यटकीय क्षेत्रका विषयमा मार्केटिङ हुन नसक्दा पछि परिएको उनले बताए । ‘म भर्खरै मुस्ताङ पुगेर आए १ करोड पर्यटक त्यहाँमात्रै आउने पर्ने हो, तर त्यो छैन’ उनले भने, ‘मुख्य कुरा भनेको हामीले मार्केटिङ नै गर्न सकेनौँ, मार्केटिङ गर्न सक्ने हो भने धेरै पर्यटकहरु आउँछन् ।’

भ्रमण व्ययमा भने घुम्न जाने नेपालीले गर्ने खर्च होस् या वैदेशिक रोजगारीमा जानेले विदेशमा गर्ने खर्च सबै जोडिन्छ । वैदेशिक रोजगारीमा जानेले पनि विदेशी मुद्रा नगदै बोकेर जाने गरेका छन् । भ्रमण व्यय धेरै देखिनुमा यो पनि एउटा प्रमुख कारण रहेको राष्ट्र बैंकका कार्यकारी निर्देशक भट्टले बताए । गत एक वर्षमा १ लाख ७० हजारमात्रै नेपाली वैदेशिक रोजगारीमा गएका थिए ।

‘यो वर्ष त सात महिनामा ३ लाख ५३ हजार मान्छे उडिसके, यसले पनि भ्रमण व्यय धेरै देखाएको छ’, भट्टले भने, ‘विस्तारै पर्यटक आउने क्रम बढ्यो भने भ्रमण आय सुधारिन्छ ।’

शिक्षाका नाममा ‘क्यापिटल फ्लाइट’

पूँजी पलायन (क्यापिटल फ्लाइट) का कारण अहिले सेवा आय घटिरहेको सरकारी निष्कर्ष छ । चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले क्यापिटल फ्लाइट बढिरहेको भन्दै चिन्ता व्यक्त गरेका थिए । डिजिटल मुद्रामा भइरहेको लगानीले पूँजी पलायन भइरहेको उनको भनाइ थियो ।

अर्थविद् शिवराज अधिकारी शिक्षाका नाममा पनि क्यापिटल फ्लाइट भइरहेको बताउँछन् । शिक्षाका नाममा हुने पूँजी पलायनलाई रोक्न सक्ने हो भने सेवा क्षेत्रको आयलाई सकारात्मक असर गर्ने उनले बताए । औपचारिक रुपमा अध्ययनका लागि विदेश जाने नेपाली विद्यार्थीलाई भने रोक्न नहुने उनको भनाइ छ ।

‘हामीसँग कतिपय अध्ययनका लागि आवश्यक श्रोत साधन छैनन्, यसर्थ विदेश पढ्न जानु नराम्रो कुरा होइन’, त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र विभागक प्रमुख अधिकारीले भने, ‘ठिक तरिकाले जानेलाई पठाउनु पर्छ, ठिक तरिकाले नजानेहरुलाई भने कडाइ गर्नुपर्छ ।’

अनावश्यक रुपमा विदेश जाने पैसा भने रोक्नेतर्फ सोच्नु पर्ने उनको भनाइ छ । कतिपय विद्यार्थीका नाममा अर्कै कामका लागि समेत विदेश जाने गरेका छन् ।

विद्यार्थी पढ्नकै लागि गएका छन् कि अर्कै हिसाबले गएका छन्, त्यो हेर्नुपर्ने उनको भनाइ छ । ‘कस्तो प्रयोजनका लागि कता गइरहेको छ भन्ने कुरा पनि हेर्नुपर्छ’, उनले भने, ‘स्वीकृति नलिई जाने पनि छन् । जसका कारण रेमिट्यान्स आउनु पर्ने नआएर उतै बसेको छ, यसलाई रोक्नु पर्छ ।’

कतिपय उच्च सरकारी अधिकृतकै छोराछोरी अध्ययनका लागि विदेश गएको र उनीहरुले विदेश पुगेपछि पनि विभिन्न बहानामा रकम उतै पठाउने गरेको उनले बताए ।

यसले पूँजी पलायन भइरहेको र आउने रेमिट्यान्स पनि उतै रोकिएकाले अर्थतन्त्रलाई समस्यामा परेको भन्दै पढ्ने नाममा क्यापिटल फ्लाइट रोक्नेतर्फ सोच्नु पर्ने उनको भनाइ छ ।

‘विदेश गएपछि पनि नेपालको घरघडेरी बेचेर पठाउने र उता छोराले पेट्रोल पम्पमा लगानी गर्ने गरेको पनि सुनिएका छन्’, उनले भने, ‘कमाएको पैसा रेमिट्यान्सको रुपमा भित्रनु पर्नेमा उल्टै यताबाट क्यापिटल फ्लाइट भइरहेको छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?