+
+
जनयुद्धका बेला माओवादीको रेडियोमा काम गरेकी सविता :

‘परिवर्तनका लागि प्राणको परवाह गरेनौं, तर हाम्रा सपनाको हत्या गरियो’

अंगद सिंह अंगद सिंह
२०७८ चैत ३ गते १२:४५
सविता बानियाँ

३ चैत, काठमाडौं । रेडियो भन्दा सबैको दिमागमा आउने तस्वीर हो, एउटा बाकसभित्र बज्ने आवाज । सुविधा सम्पन्न भवनमा रेडियो सञ्चालन हुन्छ । जसका लागि आवश्यक पर्ने उपकरण (ट्रान्समिटर, टावर आदि)लाई एक निश्चित स्थानमा सुरक्षित तरिकाले राखिन्छ ।

रेडियोमा काम गर्न आउने निश्चित समय हुन्छ, र हरेक दिन आफ्नो काम सकिएपछि त्यहाँ काम गर्नेहरु घर फर्किन्छन् ।

तर म्याग्दी बेनीकी सविता बानियाँ (शृंखला)ले भने त्यस्तो अनुभव गर्न पाइनन् । आफ्नो सपना पूरा गर्न उनले सात वर्ष (२०६०-२०६७) रेडियोमा काम गरिन् । सुरु सुरुमा त रेडियो पनि कहिले रोल्पा, रुकुमको जंगल त, कहिले सल्यान, दाङको जंगलबाट प्रशारण गर्नुपर्थ्यो ।

जनयुद्धको बेला उनले तत्कालीन विद्रोही नेकपा माओवादीले सञ्चालन गरेको रेडियोमा काम गरेकी थिइन् । माओवादीले विद्रोहलाई पक्षपोषण गर्न सञ्चालनमा ल्याएको ‘डोको रेडियो’मा सविताले समाचार र कार्यक्रम मात्र प्रस्तुत गरिनन्, सरकारी सुरक्षा फौजबाट बच्न उनले रेडियोका उपकरण बोकेर पहाडका टाकुरा-चुलीको दूरी नापिन् । कैयौंपटक डोकोमा रेडियो सञ्चालन गर्न आवश्यक साधन बोकेर पनि उनी हिंडेकी छन् ।

जनयुद्धका आधार इलाका रोल्पा-रुकुममा रेडियोमा बोल्दै माओवादीलाई राज्य पक्षबाट बचाउने मात्रै होइन, उनीहरुलाई निरन्तर युद्धका लागि हौसला र उत्प्रेरित गरिरहिन् । सविताले तत्कालीन माओवादीले स्थापना गरेका रेडियो जनगणतन्त्र र रेडियो पश्चिमाञ्चलमा गरी सात वर्ष काम गरिन् । जनयुद्धमा सहभागी हुनलाई प्रेरित गर्न उनले ‘क्रान्ति सन्देश’ नामक गीतिसंग्रह पनि सञ्चालन गर्थिन् ।

कतिपय अवस्थामा त बज्दै गरेको रेडियो पनि लुकाउनुपर्ने अवस्था आउँथ्यो । टावर राख्न अग्ला र सर्लक्क परेका रुख खोज्नुपर्थ्यो । सेनाको हेलिकप्टर घुम्दा रेडियो बज्दाबज्दै टावर निकालेर भाग्नुपर्ने अवस्था आउँथ्यो ।

सविता रोल्पा-रुकुमका पहाडका हरेक चुचुरासँग साक्षात्कार छिन् । ‘रेडियोमा काम गर्नका लागि केसम्म गरिएन । ज्यानको बाजी थापेर भोकैप्यासै वर्षौं काम गरियो,’ उनी भन्छिन् ।

सेनाले देखेर आक्रमण गर्छ कि भन्ने डरले उनीहरु लुक्दै भाग्दै काम गर्नुपर्थ्यो । उनी अगाडि भन्छिन्, ‘रेडियो कहाँ छ भनेर जनता र दुश्मन (राज्य पक्ष) कसैलाई पत्ता हुन दिइँदैनथ्यो । कसैले शंका गरिहाले ठाउँ र पहाड मात्रै होइन जिल्ला नै परिवर्तन गर्नुपर्थ्यो ।’

ज्यानको भन्दा उनलाई रेडियोको बढी माया थियो । यही कारण उनी भोकैप्यासै रेडियोमा काम गर्न जंगल पसेकी थिइन् ।

बिहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि १० बजेसम्म रेडियो बज्थ्यो । ब्रेकको समयमा के गर्ने कसो गर्ने भन्नेबारे समूहमा छलफल हुन्थ्यो ।

अग्ला डाँडा र चुचुराका खोंचमा रहेर जंगलभित्रबाट युद्धका सूचना र माओवादीका सपना देखाउँथिन् उनी । रेडियो बज्दा कतिबेला आकाशबाट बम खस्थ्यो थाहा हुँदैनथ्यो । रेडियो बचाउन निकै भागदौड गर्नुपर्ने अवस्था थियो ।

माओवादीले सञ्चालन गरेको रेडियोलाई राज्य पक्ष जुनसुकै मूल्य चुकाएर भएपनि कब्जा गर्न चाहन्थ्यो । जसकारण रेडियोलाई बचाउन माओवादीलाई चुनौती थियो ।

कतिपय अवस्थामा त बज्दै गरेको रेडियो पनि लुकाउनुपर्ने अवस्था आउँथ्यो । टावर राख्न अग्ला र सर्लक्क परेका रुख खोज्नुपर्थ्यो । सेनाको हेलिकप्टर घुम्दा रेडियो बज्दाबज्दै टावर निकालेर भाग्नुपर्ने अवस्था आउँथ्यो ।

रेडियोमा काम गर्दा राज्य पक्षबाट दिइने दुःख त छँदैथ्यो, प्राकृतिक प्रकोपका कारण आउने दुःख पनि उत्तिकै हुन्थ्यो । रोल्पाको जलजला र दाङको काउलेमा चट्याङ पर्दा उनीहरुको रेडियो नै ध्वस्त भयो ।

रोल्पा, रुकुम माओवादीको आधार किल्ला भएकाले सेनालाई माओवादी र सर्वसाधारण छुट्याउन समस्या हुन्थ्यो । उसले सबैलाई माओवादी सोच्थ्यो । रेडियोले  सेनाको गस्ती आउँदा माओवादीलाई सुरक्षित हुन सूचना दिनुका साथै सर्वसाधारणलाई समेत सुरक्षित स्थानमा जान आग्रह गर्दथ्यो ।

‘सेनाको डरले रेडियोबाट सूचना पाइसकेपछि सर्वसाधारण गाईवस्तुसमेत फुकाएर लुक्थे,’ सविता सुनाउँछिन् ।

सवितासँग भिडन्त स्थलबाट प्रत्यक्ष प्रसारण गरेको अनुभव समेत छ । ‘रुकुमको खारामा राज्य पक्ष र माओवादीबीच भिडन्त हुँदा गोली चलेको, बम पड्केको र मानिसहरु हताहत भएको घटना प्रत्यक्ष बजाएकी छु,’ उनी विगत सम्झिंदै भन्छिन् ।

‘म परिवर्तनका लागि माओवादीमा लागेकी थिएँ, तर अहिले आएर किन लागेछु जस्तो हुन्छ । परिवर्तनका लागि जीउज्यान सुम्पेर लागेकाहरुको सपनामाथि कुठाराघात भएको छ,’ उनी सुनाउँछिन् ।

स्याटलाइट फोनबाट उनी सूचना संकलन गर्ने काम गर्थिन् । उनले थुप्रै पटक माओवादीका शीर्ष नेताहरुसँग प्रत्यक्ष कुरा गरेकी छन् । रेडियोमा काम गर्न उनले १५ दिनको तालिम लिएकी थिइन् । जसमा समाचार कसरी लेख्ने, सूचना कसरी लिने तथा रेडियोसँग सम्बन्धित अन्य विषयबारे तालिम दिइन्थ्यो ।

‘समाजमा हेपिएका, दबिएका सर्वहारा वर्गको खातिर काम गर्ने, परिवर्तन र युद्धको सपना देखाएकाले माओवादी रोजेकी थिएँ,’ सविता सुनाउँछिन् ।

उनी अगाडि भन्छिन्, ‘सामाजिक असमानताले नै मलाई माओवादीप्रति आकर्षण बढेको हो । त्यतिबेला उमेरै त्यस्तो थियो केही नयाँ गरौं भन्ने हुँदो रहेछ, अहिले सम्झिंदा पनि डर लाग्छ ।’

जनयुद्धकालीन रेडियोमा सविता बानियाँ र मौसम रोका ।

रोल्पा, रुकुममा रेडियो कार्यक्रम चलाइरहँदा कार्यक्रममा पात्रको नाम ‘अञ्जना नानी’ थियो । पछि बिस्तारै सर्वसाधारणले उनको स्वर चिन्न थालेका थिए । गाउँघर जाँदा कतिपयले उनलाई रेडियोमा बोल्ने अञ्जना नानी हुन् भन्थे ।

उच्च पहाडमा पानीको निकै समस्या हुन्थ्यो । पानी लिन धेरै टाढा हिंड्नुपर्ने भएकाले प्यास मेटाउन हिउँ खाने र हिउँले नै खाना पकाउने गर्थे उनीहरु ।

रेडियो जनगणतन्त्र नेपालमा काम गरेपछि उनले दुई वर्ष पाल्पाको पश्चिमाञ्चल रेडियोमा काम गरिन् । जसलाई माओवादीले किनेको थियो ।

२०३८ सालमा म्याग्दीको बेनीमा जन्मेकी हुन् सविता । म्याग्दी बहुमुखी क्याम्पसमा प्लस टु  पढ्दा उनी माओवादीप्रति आकर्षित भइन् । प्लस टु दोस्रो वर्षको परीक्षा दिएर उनी संगठनमा आवद्ध भइन् ।

संगठनमा आवद्ध भएपछि पढाइ खस्कियो । माओवादीले त्यतिबेला शिक्षालाई बुर्जुवा भनिदिए । त्यसकारण पनि बानियाँको पढाइप्रतिको मोह घट्दै गयो । २०५८ सालमा उनी माओवादीको पूर्णकालीन सदस्य बनिन् । त्यसपछि उनी पूर्ण रुपमा आफूलाई परिवर्तनका खातिर समर्पित गरिन् ।

उनी पार्टीको पूर्णकालीन सदस्य बनेपछि २०५८ माघमा साथीको घरबाट फर्किंदा उनलाई सेनाले नियन्त्रणमा लियो । म्याग्दीमा रेहको जेल आस्थाका बन्दीका कारण भरिएकाले उनलाई सेनाले बागलुङको कारागारमा राख्यो ।

सेनाले सवितालाई शारीरिक यातनाका साथै मानसिक यातना दियो । ‘सेनाले गिरफ्तार गरेपछि निकै दुःख दियो, अश्लील गालीगलौज र कुटाइ त कति खाइयो खाइयो, अहिले सोच्दा पनि आङ सिरिङ्ग हुन्छ,’ उनी सुनाउँछिन् ।

विपक्षी भएपछि सेनाले कुटपिट गर्नु सामान्य हो जस्तो लाग्छ अहिले उनलाई । जति गालीगलौज र कुटपिट गरेपनि सेनाले आफूलाई शारीरिक दुर्व्यवहार नगरेको उनी सुनाउँछिन् ।

राज्य र विद्रोही पक्षबीच शान्ति सम्झौता चलिरहेको थियो । माओवादीले आस्थाका बन्दीलाई रिहा गर्नुपर्ने शर्त राखेको थियो । त्यही शर्त अनुरुप उनी २०६० जेठमा रिहा भइन् । जेलबाट रिहा भएपछि उनी रेडियोमा काम गर्न थालेकी हुन् ।

‘परिवर्तनका लागि प्राणको पर्वाह गरेका थिएनौं । तर हाम्रा सपनाको हत्या गरियो,’ उनी भन्छिन्, ‘माओवादीले बाँडेको सपना एकातिर काम अर्कातिर भयो । अहिले त परिवर्तनका नाममा राजनीति गरेकाहरु देखेर वितृष्णा छ,’ सविता आक्रोश पोख्छिन् ।

अहिले पदप्रतिष्ठा र पैसाका लागि माओवादी रोज्नेहरुको मात्रै रजगज रहेको उनी बताउँछिन् । ‘परिवर्तन र न्यायका लागि युद्धमा होमिएकाहरु अहिले पनि कोही नभएको अवस्थामा छन्,’ उनी भन्छिन् ।

रेडियो पश्चिमाञ्चलमा दुई वर्ष काम गरेपछि उनी २०६७ सालमा काठमाडौं आएकी थिइन् । काठमाडौ आएपछि उनले केही समय महिलासम्बन्धीको ‘८ मार्च’ म्यागेजिनमा काम गरिन् । पछि त्यहाँबाट बाहिरिइन् । सविता अहिले नेपाल प्रेस काउन्सिलमा कार्यरत छिन् ।

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?