+
+

मोतीपुर १३२ केभी सबस्टेसनको उद्घाटन

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ४ गते १२:१८

४ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कपिलवस्तुको बाणगंगा नगरपालिका-७ मा निर्माण गरेको १३२/३३/११ केभी क्षमताको मोतीपुर सबस्टेसनको उद्घाटन गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सबस्टेसनको उद्घाटन गरेकी हुन् ।

पूर्व-पश्चिम १३२ केभी प्रसारण लाइनलाई ८ वटा टावर निर्माण गरी मोतीपुर सबस्टेसनमा लगिएको छ । सबस्टेसनमा ३० र १६ एमभीएका पावर ट्रान्सफर्मर छन् । सबस्टेसनबाट स्थानीय रुपमा विद्युत आपूर्तिका लागि ४ वटा फिडर निकालिएको छ । यसमध्ये ३ वटा फिडर सञ्चालनमा ल्याइएको छ भने बाँकी एउटालाई जगेडामा राखिएको छ ।

उद्घाटन कार्यक्रममा मन्त्री भुसालले सरकारले ऊर्जा खपत बढाउन पहल गरिरहेको उल्लेख गर्दै औद्योगिक तथा घरायसी प्रयोजनका लागि विद्युत प्रयोग गर्न आग्रह गरिन । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव देवेन्द्र कार्कीले सबस्टेसनले मोतीपुर क्षेत्रको विद्युत आपूर्तिमा सन्तुलन ल्याउने बताए ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुणस्तरीय र पर्याप्त विद्युत आपूर्तिका लागि पूर्वाधार बनेको उल्लेख गर्दै मोतीपुर क्षेत्रमा उद्योग स्थापनाका लागि औद्योगिक वातावरण बनाउन आग्रह गरे । उनले सबस्टेसनबाट विद्युत आपूर्ति सुरु भएपछि यस क्षेत्रको विद्युत आपूर्ति भरपपर्दो र गुणस्तरीय भएको र प्राविधिक चुहावटसमेत कम भएको बताए ।

मोतीपुर सबस्टेसनबाट कपिलवस्तुको जीतपुर तथा तौलिहवा र रुपन्देहीको सालझण्डी क्षेत्रमा विद्युत आपूर्तिका लागि क्रमश : ३३ केभी र ११ केभी फिडर निकाली लाइन सञ्चालनमा ल्याइएको छ । यसअघि त्यस क्षेत्रमा कपिलवस्तुको चनौटाबाट विद्युत आपूर्ति भइरहेको थियो ।

लामो लाइनबाट विद्युत आपूर्ति हुँदा न्यून भोल्टेज, ट्रिप भएर झ्याप्प झ्याप्प वत्ति जानेलगायतका समस्या थियो । सालझण्डीमा ३३/११ केभी क्षमताको सबस्टेसन निर्माणाधीन छ । सबस्टेसनको निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि त्यस क्षेत्रको विद्युत आपूर्ति अझै गुणस्तरीय र भरपर्दो हुने छ ।

बुर्तिवाङ-पाउदी अमराई-तम्घास-सन्धिखर्क गोरुसिंगे १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गत मोतीपुर सबस्टेसन निर्माण गरिएको हो । आयोजना अन्तर्गतकै अर्खाखाँचीको सन्धिखर्कमा १३२/३३/११ केभी सबस्टेसन र मोतीपुर-सन्धिखर्कखण्ड प्रसारणलाइनको निर्माण पनि अन्तिम चरणमा छ ।

कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, बाग्लुङ जिल्लाको विद्युत आपूर्ति सुधार गर्न, ट्रिपिङको समस्या समाधान गर्न, प्राविधिक चुहावट घटाउन र निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत प्रवाहका लागि आयोजनाको निर्माण गरिएको हो । आयोजनाअन्तर्गत गुल्मीको तम्घास, पाउदी अमराई र बाग्लुङको बुर्तिबाङमा सबस्टेसन निर्माणाधीन छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?