+
+

धर्मनिरपेक्षताको विरोध गर्दै पूर्वप्रधानन्यायाधीश पराजुलीले भने- पेन्सन छोड्न तयार छु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ६ गते ७:००
Photo Credit : Vishwa Hindu Parishad, Nepal

६ चैत, काठमाडौं । पूर्वप्रधानन्यायाधीश गोपाल प्रसाद पराजुलीले संविधानमा धर्मनिरपेक्षता लेखिएदेखि नेपालीहरुमाथि थिचोमिचो बढेको दाबी गरेका छन् । यो कुरा गर्दा आफूले पेन्सन छोड्नु परे पनि छोड्ने उनले बताए ।

हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियान अभियानले शनिबार काठमाडौंमा आयोजना गरेको प्रबुद्ध नागरिक गोष्ठी एवम् साहित्य परिचय कार्यक्रममा पराजुलीले सो कुरा बताएका हुन् ।

गत भदौ ३ गते पूर्व प्रधानसेनापति रुक्मांगद कटवालको संयोजकत्वमा सुरु गरिएको अभियान अन्तर्गत शनिबार राष्ट्रिय सभागृहमा गोष्ठी आयोजना गरिएको थियो । स्वास्थ्य उपचारको सिलसिलामा भारतमा रहेकाले कटवाल भने कार्यक्रममा सहभागी थिएनन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा पूर्व प्रधानन्यायाधीश पराजुली सहभागी थिए । उनले धर्मनिरपेक्षताको चर्को विरोध मात्रै गरेनन्, राजनीतिक दलका नेताहरुलाई लोभी–पापीको संज्ञासमेत दिए ।

धर्मनिरपेक्षताबाट हिन्दू धर्म, संस्कार र संस्कृति मासिंदै गएको भन्दै उनले त्यो नचाहिने बताए । कार्यक्रममा उनले भने, ‘हामी कतैकतै थिचिएका छौं, कतैकतै मिचिएका छौं । कतैकतै अनुचित लोभमा फसेका छौं, कतैकतै लोभी–पापी पनि भएका छौं । त्यसको जग संविधानको धर्मनिरपेक्षता भन्ने शब्दबाट यसलाई अरु मुखरित गरिदिएको छ ।’

उनले थपे, ‘धर्मनिरपेक्षताको कारणबाट हाम्रो संस्कार मासिएको छ, हाम्रो संस्कृति मासिएको छ । हामीले पालना गरेका हाम्रा रितिरिवाजहरु मिचिएका छन्, त्यो हामीलाई चाहिंदैन ।’

यो कुरा गर्दा सरकारबाट पाइरहेको पेन्सन पनि छोड्न परे पनि आफू तयार रहेको उनले बताए । हिन्दू धर्म पवित्र आत्माहरुको पुञ्ज भएको बताउँदै उनले भने, ‘पेन्सन छोड्दिन तयार छु तर म हिन्दू धर्म र संस्कार छोड्न सक्दिनँ ।’

अमेरिकी उपराष्ट्रपतिले पनि हिन्दू धर्मग्रन्थ छोएर शपथ ग्रहण गरेको सुनाउँदै उनले अगाडि भने, ‘संसारमा हिन्दू धर्मभन्दा ठूलो, यो भन्दा पुरानो, यो भन्दा शुद्ध र योभन्दा असल चरित्र, संस्कार छैन । यो मेरो ग्यारेन्टी हो ।’

नेपालका उच्च तहमा रहेकाहरुले विगतमा हरिवंश पुराणलाई हातमा लिएर शपथ ग्रहण गर्ने गरेको बताउँदै उनले फेरि पनि त्यस्तै गर्नुपर्ने धारणा राखे । ‘शपथ ग्रहण गरिरहेको कुरा खेलाँची होइन, यो भन वा यो नभन भन्ने विषय होइन । अबदेखि हामीले आफ्नो आफ्नो धर्मको ग्रन्थ राखेर शपथ ग्रहणको कार्यक्रम हुनुपर्छ,’ उनले भने । सबैले आ–आफ्नो धर्मग्रन्थ छोएर शपथ ग्रहण गर्नसक्ने उनले बताए ।

कार्यक्रममा पूर्व प्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेलले धर्म विहीन राष्ट्र हुन नसक्ने बताउँदै नेपाललाई हिन्दू राष्ट्र बनाउन सबै हिन्दूहरूले आ–आफ्ना स्थानबाट अभियानलाई निरन्तर अगाडि बढाउनुपर्ने बताए ।

यसैगरी नेपाली सेनाको अवकाशप्राप्त मेजर जनरल नरबहादुर कँडेलले नेपाल हिन्दू राष्ट्रको रुपमा रहँदा संसारभरका हिन्दूहरूको तीर्थस्थल रहने बताए ।

कार्यक्रम संयोजक तथा वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीले नेपालमा शासन पद्धति जुनसुकै भएपनि हिन्दू राष्ट्र कायम हुनुपर्ने उल्लेख गरे । उनले हिन्दू राष्ट्र स्वाभिमान जागरण अभियानलाई ६६ जिल्लासम्म पुर्याइएको जानकारी पनि गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?