+
+
स्थानीय तहको समीक्षा :

ललितपुर महानगर : मोनोरेल र फ्लाइओभर घोषणामै सीमित

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जसरी ठूला विवादमा त मुछिएनन्, तर आफ्ना बाचा र प्रतिबद्धता पूरा गर्न चुके । महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार भन्छन्, ‘ललितपुरको पाँच वर्ष खेर गयो, महानगर १० वर्ष पछि पर्‍यो ।’

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७८ चैत ६ गते २१:००

६ चैत, काठमाडौं । २०७४ सालमा १० दिनसम्म चलेको मतगणनामा कहिले अघि त कहिले पछि परेर अन्ततः ललितपुर महानगरपालिकाको मेयर जितेका चिरिबाबु महर्जनको सार्वजनिक प्रतिबद्धता थियो, ‘पाँचवर्षे कार्यकालमा नै फ्लाइओभर बनाइछाड्ने ।’

मोनोरेल र फ्लाइओभरको सपना देखाएर चुनाव जितेका महर्जनले पहिलो बैठकबाटै पुल्चोकदेखि कुपन्डोलसम्म फ्लाइओभर बनाउन काम थाल्ने निर्णय गराए ।

यो निर्णयसँगै ललितपुरका बासिन्दाले सोचेका थिए पाँचवर्षे कार्यकाल सकिने बेलासम्ममा त फ्लाइओभरको काम सुरु हुन्छ होला ।

नेपाली कांग्रेसबाट विजयी महर्जन र उपमेयर गीता सत्यालको पाँचवर्षे कार्यकालमा पूरा होला भनेर स्थानीय बासिन्दाले देखेका यस्ता धेरै सपना छन्; जुन अधुरै रहे ।

चुनावमा भोट माग्दै गर्दा महर्जनले चक्रपथमा मोनोरेल चलाउनेदेखि विद्युत्, टेलिफोन र केवल तार भूमिगत गर्ने जस्ता योजना सुनाएका थिए । ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक सहर ‘ललितपुर’को संरक्षण र प्रवद्र्धन मात्रै हैन, यसलाई आधुनिक सुविधायुक्त बनाउने बाचा गरेका थिए । तर करिब पाँच वर्षमा जनप्रतिनिधिले गरेको कामभन्दा बाचा अनुसार नभएका कामको सूची लामो छ ।

महर्जनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार चुनावी घोषणापत्र हेर्दा नै महानगरपालिकाको काम–कारबाहीको मूल्यांकन गर्न सकिने बताउँछन् । ‘ललितपुरको पाँच वर्ष खेर गयो, महानगर १० वर्ष पछि पर्‍यो’ उनले भने, ‘धेरैजसो निर्णय संस्थागत रूपमा भएनन्, भएका काम पनि मेयरको व्यक्तिगत निर्णयका भरमा मात्रै भए, त्यसले नतिजा दिने कुरै भएन ।’

पूर्वाधारविद् आशिष गजुरेल पनि ललितपुर महानगरले थुप्रै अवसर गुमाएको र केही आशा पनि जगाएको बताउँछन् । स्रोत–साधनसम्पन्न स्थानीय तह भए पनि ललितपुरले अवसरको पर्याप्त सदुपयोग गर्न नसकेको उनको भनाइ छ । ‘सहरलाई साइकलमैत्री बनाउनेदेखि वातावरणमैत्री बनाउन गरेका कतिपय प्रयास सकारात्मक भए पनि अपर्याप्त छन्’ उनी भन्छन्, ‘सार्वजनिक यातायातको व्यवस्थापनका लागि उचित पहल लिनेदेखि व्यवस्थित बस्ती विकासको पाटोमा पर्याप्त प्रयास भएको देखिएन ।’

आगामी ३० वर्षपछिको सहरको अवस्था परिकल्पना गरेर विकासका काम अघि बढाउनुपर्ने भन्दै उनले सांस्कृतिक पक्षलाई जोगाउँदै आधुनिक सहर निर्माणमा अग्रसर हुन ललितपुरको वर्तमान कार्यपालिका चुकेको टिप्पणी गरे ।

हुन पनि मेयर महर्जन काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य जसरी ठूला विवादमा त मुछिएनन्, तर आफ्ना बाचा र प्रतिबद्धता पूरा गर्न चुके । अन्यत्र जस्तै ललितपुरमा पनि पुराना र स्वार्थ समूहसँग नजिक रहेका कर्मचारीको घेरा थियो, जसलाई चिरिबाबुले तोड्न सकेनन् । कर्मचारीलाई विश्वासमा लिन नसक्दा सानातिना काममा पनि आफैं घोटिएर बस्दा उनले चाहेजस्तो र जनताले अपेक्षा गरेजस्तो नतिजा आएन ।

फैलिएन बजार र आय

विज्ञहरूका अनुसार ललितपुर महानगर क्षेत्र अझै पनि उपत्यकामा आउने नयाँ बसोबासीको पहिलो रोजाइ हो । त्यसैले यहाँ राम्रो सेवा सुविधाका दिनु र त्यसबाट मनग्ये आयस्रोत सिर्जना पनि महानगरको लागि चुनौती र अवसर दुवै हुन् ।

काठमाडौंबाट बिजनेस हबहरू ललितपुरतिर सर्ने सम्भावना भए पनि त्यसअनुरूप महानगरले नीति र कार्यक्रम नै ल्याएन । ठमेलको विकल्पमा झम्सिखेल विकास हुँदा असनको सट्टा मंगलबजार र न्युरोडको साटो पुल्चोक–जाउलाखेल बिजनेस हब बनाउने अवसर थियो । अझ रिंगरोड बाहिरका बुङमती, खोकना र हरिसिद्धि जस्ता पुराना बस्तीलाई जगाउने पनि काम भएन ।

जाउलाखेल र लगनखेलको तरकारी बजारमा कोल्डस्टोर बनाउने, लगनखेलमा व्यापारिक भवन र सुन्दरीघाटमा कान्जीहाउस बनाउने योजना पूरा भएनन् ।

पाटन अस्पताल र साझा भवनअगाडि आकाशे पुल बनाउने योजना सम्भाव्यता अध्ययनमै सीमित भयो । पुल्चोक, मंगलबजार, हात्तीवन, हरिसिद्धि, ठैब, सन्तानेश्वर, नागदह, बज्रबाराही, ठेंचो, सुनाकोठी, बुङ्मती, खोकना, सैंबु हुँदै पुल्चोकसम्मको पर्यटक चक्रपथ बनाउने योजना पनि अलपत्र पर्‍यो ।

मौलिक शैलीमा बस्ती पुनर्निर्माण नहुँदा बुङमती र खोकनालाई विश्वसम्पदा क्षेत्रमा राख्ने प्रयासमा ठेस लाग्ने जोखिम छ । अझै पनि भित्री सहरी क्षेत्रका धेरै घरहरू टेकोकै भरमा अडिंदा महानगरले खासै चासो दिएको छैन ।

चित्रकला, काष्ठकला, प्रस्तर मूर्तिकला र धातुकला एवम् अन्य हस्तकलाको हब भएकाले ललितपुरले यसबाट रोजगारी सिर्जना गर्ने मात्र होइन, गतिलो आर्थिक उपार्जन पनि गर्न सक्ने अवसर जीवितै छ । त्यसका लागि बजारको विस्तार गर्नुपर्ने हुन्छ ।

चुनावताका महर्जनले ललितपुरका कलाकारको सीप र क्षमता विकास गर्ने र उनीहरूको उत्पादनको बजार व्यवस्था गर्नेसम्मका योजना सुनाएका थिए । तर मेयर भएर पनि उनले प्रभावकारी योजना बनाउन सकेनन् ।

महामारीको बेलामा दैनिक ज्यालादारी गरेर पेट पाल्ने मजदुर मात्र नभई कलाकार, व्यापारी र उनीहरूका परिवार चरम आर्थिक संकटमा पर्दा पनि महानगरको अभिभावकीय भूमिका कमजोर देखियो । ललितकलाको व्यावसायिक प्रवद्र्धनका लागि महानगरले सामान्य प्रयास गरे पनि पर्याप्त देखिएन ।

महानगरपालिकाले आन्तरिक आय बढाउने गरी पूर्वाधार निर्माण लगायतका काम गर्न सकेको छैन । भोटमा असर पर्ने भन्दै कर छल्ने घरधनीलाई कानुनी दायरामा ल्याउने योजना कार्यान्वयन गरिएन ।

करको दरभन्दा दायरा बढाउन जोड दिने बताए पनि सम्भाव्यता अनुसार एकीकृत सम्पत्ति कर र घरबहाल कर उठाउन चासो दिएन । जसका कारण पाँच वर्षअघि एक अर्ब हाराहारीमा रहेको महानगरको आन्तरिक आय २ अर्ब नाघ्न सकेको छैन । चालु आर्थिक वर्षमा साढे ५ अर्ब ५६ करोडको बजेट कार्यान्वयन गरिरहेको महानगरलाई १ अर्ब ९० करोड रुपैयाँ राजस्व संकलन लक्ष्य भेट्टाउन सहज छैन ।

बस्तीको पुनर्निर्माण र नवनिर्माणमा चुक

मेयरमा पराजित भएका व्यञ्जनकारका अनुसार भूकम्पले ठूलो क्षतिसँगै सहर र पुराना बस्तीहरूलाई मौलिक रूपमा पुनर्निर्माण गर्ने अवसर दिएको थियो । ललितपुरलाई कस्तो बनाउने भनेर देश–विदेश चहार्नुपर्ने अवस्था थिएन, आफ्नै कला, संस्कृति र मौलिक सीपलाई संरक्षण गर्ने गरी प्रोत्साहनमूलक योजना ल्याउँदा हुन्थ्यो । तर मेयर महर्जनले थुप्र्रै सहरको भ्रमण गर्न भ्याए ।

पछिल्लो पटक महानगरपालिकाले सम्पदा क्षेत्रभित्र परम्परागत शैलीमा घर बनाएमा अघिल्लो भागमा लाग्ने खर्च अनुदानका रूपमा दिने नीति ल्याएको छ । तर विश्व कला परिषद्ले पाटनलाई ‘कला नगरी’ सहर घोषणा गरे पनि महानगरले प्राचीन बस्तीहरू मौलिक स्वरुपमा पुनर्निर्माणका लागि ठोस काम गर्न सकेन ।

मौलिक शैलीमा बस्ती पुनर्निर्माण नहुँदा बुङमती र खोकनालाई विश्वसम्पदा क्षेत्रमा राख्ने प्रयासमा ठेस लाग्ने जोखिम छ । अझै पनि भित्री सहरी क्षेत्रका धेरै घरहरू टेकोकै भरमा अडिंदा महानगरले खासै चासो दिएको छैन ।

पूर्वाधारविद् गजुरेलका अनुसार चक्रपथ बाहिर व्यवस्थित बस्ती विकास गर्न पनि महानगर चुकेको अवस्था छ । ललितपुर महानगरभित्रकै ग्रामीण प्रकृतिका क्षेत्रलाई व्यवस्थित गर्न महानगर चुकेको छ । ‘नयाँ ठाउँमा योजनाबद्ध सहरी विकास गर्दै पुराना बस्तीलाई जीवन्त राख्ने र त्यसलाई पर्यटन र व्यापारसँग जोड्ने गरी काम हुनुपर्छ’ उनी भन्छन्, ‘अझै पनि त्यो अवसर छ ।’

ललितपुरका खाली जमिनमा योजनाबद्ध सहरी विकासका योजना अघि बढाउने काम महानगरपालिकाको प्राथमिकतामा परेन । उपत्यका विकास प्राधिकरणले स्याटेलाइट सिटी विकास गर्न तयार गरेको डीपीआरमा महानगरपालिकाले सहमति जनाएको छैन । सांस्कृतिक सहर र बस्तीहरूको बनोट बिग्रने गरी नयाँ सहर बनाउन नदिने ललितपुरका जनप्रतिनिधिको अडान छ ।

शिक्षा र स्वास्थ्य

मेयर महर्जनले बाल शिक्षालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि करिब आधादर्जन वडामा निःशुल्क प्रि–स्कुल खोल्यो पनि । तर महानगरपालिकाले त्यस्ता स्कुल अन्य वडामा विस्तार गर्न सकेन ।

सबै सामुदायिक तथा सरकारी विद्यालयमा नर्सिङ सेवा दिने घोषणा कार्यान्वयन भएको छ ।

महानगरले आफ्नै स्रोतबाट नर्सहरूको व्यवस्था गरेको छ । सामुदायिक विद्यालयमा कम्प्युटर ल्याबहरू बनाउन सघाउने सहित प्रारम्भिक बाल शिक्षा पढाउने शिक्षकको प्रोत्साहनका लागि थप पारिश्रमिक दिने काम महानगरले गर्‍यो । आगामी शैक्षिक सत्रबाट कक्षा १, २ र ३ मा नेपाल भाषाको पाठ्यक्रम लागु गर्दैछ ।

सबै वडामा पुस्तकालय योजनाले पनि मूर्त रूप पाएन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पुल्चोक इन्जिनियरिङ क्याम्पस र पाटन क्याम्पससँगको सहकार्यमा विपन्न र जेहेनदार विद्यार्थीलाई सहयोग गर्ने मेयर महर्जनको प्रतिबद्धता त्यतिकै रह्यो ।

धापाखेलमा आयुर्वेदिक अस्पताल र शंखमूलमा अस्पताल भवन तथा वडैपिच्छे योग तथा प्राकृतिक चिकित्सा केन्द्र बनाउने योजना पनि थन्कियो । यो वर्ष धापाखेलमा अस्पताल भवन बनाउन एक करोड रुपैयाँ र शंखमूलका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भने गरिएको छ ।

महानगरले ७५ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क निमोनियाको खोप दियो । कोरोनाको महामारीमा आफ्नै क्वारेन्टाइन र आइसोलेसन सेन्टर चलाएको महानगरपालिकाले कोभिडबाट मृत्यु भएका करिब ३०० जना नागरिकका परिवारलाई (प्रति परिवार) १ लाख २० हजार रुपैयाँ सहयोग पनि गरेको थियो ।

अहिले पनि आईसीयू भेन्टिलेटरमा भएकालाई ६० हजार रुपैयाँ र पीसीआर पोजेटिभ भएर अस्पताल भर्ना भएकालाई ३० हजार रुपैयाँ दिइरहेको छ ।

विपन्न तथा दलित परिवारको हकमा दुई सन्तानका लागि निःशुल्क प्रसूति सेवा तथा १० हजार रुपैयाँ सुत्केरी भत्ता उपलब्ध गराउने घोषणा भने कार्यान्वयन हुन पाएनन् ।

सम्पदामा औसत काम

पुराना जात्रा, पर्व, नाच, सांस्कृतिक उत्सवको संरक्षणमा महानगरले केही काम गरेको देखिन्छ । ललितपुरका मठ–मन्दिर र देवालयसहित पुरातात्विक सम्पदाको संरक्षण र पुनर्निर्माणको काम पनि महानगरले विवादरहित ढंगले गर्‍यो ।

महानगरले पाटनको भीमसेन मन्दिरसँगै ८५ वटाभन्दा बढी सार्वजनिक पाटी–पौवा पुनर्निर्माण गरेको छ । बालकुमारी र इन्द्रायणी मन्दिर क्षेत्र व्यवस्थापनको काम भएको छ । मेयर महर्जन सांस्कृतिक सम्पदाको संरक्षणमा नै बढी प्रयास गरेको बताउँछन् ।

तर, सम्पदा संरक्षणको प्रयास पर्याप्त भने छैन । ललितपुरलाई ‘संस्कृतिको नमूना राजधानी’ बनाउन रातो मच्छिन्द्रनाथ, मतयाः जात्रा, कात्तिक नाच, हरिसिद्धि भवानी नाच, खोकनाको रुद्रायणी नाचलगायत अमूर्त सम्पदालाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्ने महानगरको योजना पनि अधुरै रह्यो ।

विभिन्न नाच सञ्चालनका लागि अक्षय कोष स्थापना भएको छ, तर महिनाभर चल्ने कात्तिक नाच १२ दिनमै सीमित रह्यो । खड्गजात्रा चलाउन सुरु गरेको महानगरले बन्द भएका कतिपय परम्परागत नाच पुनः चलाउन सकेन ।

यस्ता नाचहरू चलाउने काम सम्बन्धित गुठीहरूबाटै हुने भएकाले महानगरले परम्परागत हिसाबमै सञ्चालनका लागि पहल मात्रै गर्नसक्ने प्रवक्ता राजुमान महर्जन बताउँछन् । ‘कतिपय नाच र जात्रा लामो समय चलाउनुपर्ने भए पनि सहरभित्र चलाउन विभिन्न कारणले समस्या भएको हो’ उनी भन्छन्, ‘तर हामीले अमूर्त सम्पदा संरक्षणका लागि गर्न सकिने जति सबै सहयोग गरेका छौं ।’

मंगलबजार र महापालसहित पाटन दरबार क्षेत्रमा बर्सेनि हुने डुबान रोक्ने काम भएका छन् । एशियाली विकास बैंकसँग ऋण लिएर २.८ किलोमिटरमा ठूलोे पाइप राखेर ढलको निकास गर्ने गरी निर्माणको काम हुँदैछ । ५० करोडको यो परियोजनामा महानगरले २० प्रतिशत लगानी आफैंले गरेको छ ।

महानगरले ‘ब्लु’ परियोजना अन्तर्गत एक दर्जनभन्दा बढी पुराना पोखरी र थुप्रै ढुंगेधारा पनि पुनर्निर्माण गरेको छ । यो बीचमा टीकाभैरवदेखि सुनाकोठी हुँदै सप्तपातालसम्मको राजकुलो ब्युँताउने घोषणा महानगरको लागि फलामको चिउरा बन्यो । ललितपुरको लगनखेल क्षेत्रमा अलपत्र अवस्थामा रहेका पुराना चार वटा कमल फुल्ने पोखरी र करिब ७० वटा ढुंगेधारा ब्युँताउने गरी पुरानो राजकुलोमार्फत फेरि ललितपुरमा पानी ल्याउने योजना अघि बढिसकेको मेयर महर्जन बताउँछन् ।

पुनर्निर्माणका लागि दुई वटा पोखरी सेनाको नियन्त्रणबाट फिर्ता ल्याउने सहमति गरिसकेको छ । चक्रपथमा राजकुलो पास हुने गरी पाइप नराखिएकाले यो योजना पूरा गर्न सकस परेको र अन्यत्रको काम लगभग सकिन लागेको महानगरपालिकाको दाबी छ ।

ललितपुरभित्रका पुराना दरबारहरू श्रीमहलसहितका नारायणशमशेर भवन महानगरले नै लिने विषयमा पर्याप्त पहल भएन । विभिन्न संघीय विभाग र गुठी संस्थान मातहत रहेका संग्रहालयसहित विभिन्न सम्पदाको स्वामित्व महनगरले आफूलाई दिनुपर्ने माग गरे पनि संघीय सरकारले चासो दिएन ।

पूरा भएका बाचा

मेयर महर्जन सबै मुख्य सडकमा सोलार बत्ती जोड्ने प्रतिबद्धता पूरा गर्न अघि बढेका छन् । सोलार बत्तीको सट्टा विद्युत् प्राधिकरणसँग सहकार्य गरेर स्मार्ट सडक बत्ती जोड्ने निर्णय अनुसार अहिलेसम्म महानगरले ललितपुरको मुख्य सहरी क्षेत्रका सडकमा ६६९ वटा सडक बत्ती जोडिसकेको छ । बुङमती, खोकना, सुनाकोठी, धापाखेल, भैंसेपाटी, हरिसिद्धि लगायत क्षेत्रका सडकमा थप बत्ती जोड्न ठेकेदार छनोट गरेर काम थालेको छ ।

ट्राफिक लाइट व्यवस्थित गर्ने प्रतिबद्धता अनुसार महानगरले कुपन्डोल, हरिहरभवन चोक, झम्सिखेल जाने चोक, धोबीघाट चोक, जाउलाखेल र लगनखेलमा स्मार्ट लाइट सिस्टम जडान गर्न लागेको छ ।

महानगरले नेपाल प्रहरीसँग समन्वय गरेर सहरभित्रका चारवटा मुख्य सडकमा सीसीटीभी जोड्न लागेको छ । वडाहरूले पनि विभिन्न ठाउँमा सीसीटीभी क्यामेरा राख्न २ करोड रुपैयाँ विनियोजन गरेर प्ररहीलाई नै काम गर्न लगाएको छ ।

साइकल लेनको प्रशंसा

ललितपुरले प्रशंसा पाएको अर्को काम हो, साइकल लेन । कुपन्डोलदेखि एकान्तकुना, जाउलाखेलदेखि ग्वार्को र पुल्चोकबाट पाटन दरबारहुँदै ग्वार्कोसम्म सांकेतिक रूपमा साइकल लेन छुट्याएको महानगरले चक्रपथको ललितपुरभित्र पर्ने खण्डको दुवैतर्फ पनि साइकल लेन विस्तार गर्दैछ ।

तर, कोरिएका साइकल लेनमा हुने सवारी पार्किङ, लेन ओगटेर भइरहेको व्यापार, थुप्रिएका फोहोर र गाडी तथा बाइक चलाउनेहरूको हेपाहा व्यवहारले साइकल यात्रुले यसबाट पर्याप्त लाभ लिन सकेका छैनन् ।

पर्यटन प्रवर्द्धनका लागि पाटनको भित्री सहरमा चार वटा साना विद्युतीय बस चलाउन साझालाई बस किन्ने बजेट दिएर टेन्डर गराइसकेको छ । यसले भित्री सहरका बासिन्दालाई सार्वजनिक सवारीको पहुँच पुग्ने मेयर महर्जनको दाबी छ ।

सहरलाई बस्न योग्य बनाउन वातावरणमैत्री बनाउने प्रयाससमेत भएको उनको दाबी छ । सहरी सौन्दर्य बढाउन सार्वजनिक जग्गाका अग्ला पर्खालहरू हटाउन थालिएको छ । जाउलाखेल, लगनखेल र पुल्चोकका सरकारी कार्यालयका पर्खालको सट्टामा फलामे बार राखिएको छ ।

सार्वजनिक पार्कहरू निर्माण सुरु भए पनि महानगरपालिकाले गति दिन भने सकेन ।

महानगरका सबै ८१ हजार घरलाई ब्लक नम्बर वितरण गरेर घरधुरी व्यवस्थापनको काम गरेको छ ।

महानगरपालिकाले बर्सेनि ७६ वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई औषधि खर्च भनेर ५ हजार रुपैयाँ दिने गरेको छ । पर्यटन प्रवेश शुल्क एकद्वार प्रणालीबाट लिने प्रणाली बनाएर पर्यटकलाई हुने हैरानी कम गरेको छ ।

नमूना नगर प्रहरी परिचालन

प्रशंसा पाएको अर्को काम हो, नगर प्रहरीको समुचित परिचालन । मेयर महर्जनले पूर्व ट्राफिक प्रहरी निरीक्षक सीताराम हाछेथुलाई नगर प्रहरी नियुक्त गरेपछि ललितपुरको नगर प्रहरीले अन्य नगरको तुलनामा राम्रै काम गरेको छ ।

फुटपाथ अतिक्रमणको व्यवस्थापन, पूरा पाटीको संरक्षण, पर्यटकीय क्षेत्रको सरसफाइ एवं व्यवस्थापन तथा पार्कसहित सहरी पूर्वाधारको व्यवस्थापन लगायतमा नगर प्रहरीले अन्यत्रको भन्दा राम्रो काम गरेको पूर्वसचिव किशोर थापा बताउँछन् । तर चक्रपथ बाहिर भने नगर प्रहरीको सेवा प्रभावकारी हुनसकेको छैन ।

महानगरपालिकाले महानगरीय विपद् व्यवस्थापन समिति बनाएर त्यसअन्तर्गत कोष खडा गरेको छ । ५० लाख रुपैयाँबाट सुरु भएको कोषमा हरेक वर्ष महानगरले एक करोड थप्ने छ ।

विपद् पर्दा उपयोग गर्ने गरी वडाहरूले पनि प्रत्येक वर्ष २ लाख रुपैयाँ कोषमा जम्मा गर्ने गरेका छन् । यो रकम आगलागी, बाढी र महामारी पीडितलाई सहयोगको लागि काम आइरहेको छ ।

नभएका कामका चाङ

महर्जनले ललितपुरमा हप्ताको दुई पटक सडक पखालेर धुलोमुक्त बनाउने पनि घोषणा गरेका थिए । सडक सफा गर्ने गाडी ल्याएर काम पनि भइरहेको छ, तर ललितपुर धुलोमुक्त भएको छैन । जथाभावी विज्ञापन बोर्ड राख्न निरुत्साहन गरे पनि डिजिटल बोर्ड हटाएको छैन । सार्वजनिक पूर्वाधार अपांगमैत्री बनाउने आधा योजना अधुरै रहे ।

स्थानीय बासिन्दाको विरोधपछि शंखमूलमा विद्युतीय शवदाहगृह राख्ने योजना अघि बढ्न नसके पनि बालकुमारीमा बनाउने काम अघि बढेको छ । महानगरले सरकारी र ऐलानी जग्गाहरूमा कुनै पनि संरचना निर्माणको अनुमति नदिने नीति लिए पनि कार्यान्वयन कमजोर छ । २९ मध्ये ४ वटा वडाको आफ्नै कार्यालय भवन छैन ।

सार्वजनिक यातायातमा सुधार गर्ने मेयर महर्जनको प्रतिबद्धता पनि पूरा भएको छैन । काठमाडौं महानगरपालिकाले जस्तो ठूला बस चलाउन सुरु भएको साझा यातायातसँगको सहकार्य नतोडे पनि सहरभित्रको सार्वजनिक सवारी व्यवस्थापनमा खासै ध्यान दिएन ।

ललितपुरको भित्री सहर र चक्रपथ बाहिरका धेरै क्षेत्रमा सार्वजनिक सवारीको पहुँच पुगेको छैन । पहुँच भएका क्षेत्रमा पनि यात्रु थोत्रा बसमा कोचिएर यात्रा गर्न बाध्य छन् ।

सडक पैदलयात्री तथा सवारीमैत्री छैनन् । कतिपय भित्री सडकको अवस्था कन्तबिजोक छ । फोहोर व्यवस्थापनका लागि काठमाडौं महानगरपालिकासहित अन्य नगरपालिकासँग सहकार्य गर्न ललितपुर चुक्यो ।

आकाशेपुल र जेब्राक्रस थप्ने योजनामा पनि खासै काम भएनन् । सडकमा कालोपत्रे गर्दा ४० एमएम अर्थात् डेढ इन्च हुनुपर्ने गरी महानगरपालिकाले गरेको व्यवस्था राम्रो भए पनि कार्यान्वयन प्रभावकारी भएन ।

आफ्नो सेवा प्रवाहको गुणस्तर सुधार गर्न पनि ललितपुर चुक्यो । नक्सापास लगायतका काम गर्दा अहिले पनि महानगरभित्र अनियमितता हुने गरेको सेवाग्राहीले बताउने गरेका छन् ।

उपभोक्ता समितिलाई मनोमानी पेश्की दिने, आर्थिक वर्षको अन्त्यमा बढी खर्च गर्ने, मापदण्ड मिचेर हुने निर्माण लगायतमा समस्या कायमै छ । ललितपुरको बेरुजु रकम मात्रै १ अर्ब ६९ करोड रुपैयाँ पुगिसकेको छ ।

विदेश भ्रमणको आलोचना 

मेयर महर्जनले धेरै विदेश भ्रमण गरेर बदनामी कमाए । निर्वाचित भएको पहिलो वर्षमै ८ देशको भ्रमण गरेका कारण उनले आलोचना खेप्नुपर्‍यो । यद्यपि त्यस्ता भ्रमणले विदेशी दातृ निकायसँग महानगरको सम्बन्ध बलियो भएको र ४० करोडसम्म ऋण लिएर काम गर्न सकेको महानगरपालिकाका प्रवक्ता महर्जनको दाबी छ ।

ललितपुर महानगरपालिकाका खोकना, हरिसिद्धि, धापाखेल जस्ता कृषिप्रधान क्षेत्र पनि छन् । कृषिका लागि नियमित बजेट विनियोजन गर्नुबाहेक अरू काम गरेको छैन । ‘अरू क्षेत्रमा धेरै काम भए पनि कृषिमा थोरै काम भएको सत्य हो’ प्रवक्ता महर्जन भन्छन्, ‘तर पनि समय–समयमा मल, बीउबिजन र यन्त्र उपकरण कृषकलाई वितरण गरेका, तालिम चलाइरहेका छौं ।’

न्यायिक समितिको काम सन्तोषजनक

न्यायिक समितिमार्फत स्थानीय विवाद समाधानको काम सन्तोषजनक देखिएको छ । तर कानुन निर्माणको काममा भने अन्य स्थानीय तहहरूभन्दा पछि पर्‍यो । कार्यपालिका र नगरसभामा बहुमत नभएकाले मेयर महर्जनले बनाउन चाहेका धेरै कानुन मस्यौदामै सीमित राखे ।

महानगरका २९ वडामध्ये १४ वटामा नेकपा एमाले, ४ वटामा नेकपा माओवादी केन्द्र र एउटा वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका थिए । अर्थात् नगर कार्यपालिकाका ३९ सदस्यमध्ये २६ जना विपक्षी छन् ।

नगरपरिषदमा पेश हुने कानुनमा विवाद हुने भएपछि महर्जनले अत्यावश्यक बाहेक स्थानीय तहको कार्यक्षेत्रभित्र आएका विभिन्न विषयमा ऐन/नियमको साटो कार्यविधि बनाएर काम चलाएका छन् । ‘अरू स्थानीय तहले जसरी कानुन निर्माणको काम गरे, त्यसरी हामीले गर्न सकेनौं’ प्रवक्ता महर्जन भन्छन्, ‘तैपनि अत्यावश्यक विषयमा आवश्यक कानुनहरू बनाएरै काम अघि बढाएका हौं ।’

लेखकको बारेमा
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?