७ चैत, काठमाडौं । प्रिमियर लिगको शीर्ष दुईमा रहेका म्यानचेष्टर सिटी र लिभरपुल एफए कप फुटबलको सेमिफाइनलमा भिड्ने भएका छन् ।
क्वाटरफाइनलमा म्यानचेष्टर सिटीले साउथह्यम्पटन र लिभरपुलले नटिङहम फरेस्टलाई पराजित गर्दै सेमिफाइनल भेट पक्का गरेका हुन् ।
सिटीले प्रिमियर लिगकै क्लब साउथह्याम्पटनलाई ४-१ ले हरायो । सिटीका लागि रहिम स्टरलिङ, केभिन डे ब्रुएना, फिल फोडेन र रियाद माहरेजले गोल गरे । सिटीकै एमरिक लापोर्टाले साउथह्याम्पटनका लागि आत्मघाती गोल उपहार दिए ।
लिभरपुलले भने च्याम्पियनसिप क्लब नटिङहमलाई हराउन अन्तिमसम्म कुर्नुपर्यो । डिएगोव जोटाले ७८औं मिनेटमा गरेको गोल नै लिभरपुललाई जित दिलाउन पर्याप्त बनेको थियो ।
एफए कपको अर्को सेमिफाइनलमा चेल्सीले क्रिस्टल प्यालेससँग खेल्नेछ ।
प्रतिक्रिया 4