+
+
विचार :

प्रचण्डको लिलामी पसल

दु:खका साथ भन्नुपर्छ त्यो लिलामी पसलमा सत्ताको कुर्सीमात्र बेचिएको छैन, सँगसँगै जनयुद्धमा सरकार र विद्रोही दुवै पक्षतर्फ बगेको आम नेपालीको आँसु, पसिना र रगत पनि सँगसँगै लिलामीमा राखिएको छ ।

ध्रुवराज अधिकारी ध्रुवराज अधिकारी
२०७८ चैत ७ गते १२:०८

अब त म कसैलाई आलोचना गरेर केही लेख्दिनँ भन्छु, तर जब डेस्कटपको विद्युतीय पर्दामा नेपालका खबरहरू पढ्छु र खासगरी माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र उनी निकटस्थका झुट, घुर्की र धम्कीले भरिएका मन्तव्य सुन्छु, मलाई एकप्रकारको अनौठो छटपटी हुन्छ । मेरो मनमा एकप्रकारको मैले आफैँले नचिनेको आगोको उच्छलन उठ्न थाल्छ । त्यसपछि म आफ्नो शोधपत्र लेख्ने मूल काम छाडेर गुगल डक्समा नेपाली युनिकोड किबोर्ड खोज्न थाल्छु ।

अनायासमै मेरा औँलाहरू नेपाली अक्षरहरू सम्झी-सम्झी दौडन थाल्छन् । दौडन थाल्छन् त के भनौं, औँलाहरू किबोर्डमाथि बेसरी उफ्रन थाल्छन् । मान्छेहरू मेरा औँला केटीका जस्ता छन् भन्छन्। ती केटीका जस्ता औँला एकाएक उग्र बन्छन् । पल्लो अफिसमा समेत डिस्टर्ब हुनेगरी पटटट गर्दै किबोर्डमा थचारिन्छन्, केटीका जस्ता मेरा खिरिला औँला ।

मैले कम्प्युटरको स्क्रिनमा लेख्न नमिल्ने नैतिक आक्रोशहरू मकै भुटेजसरी पड्किरहेका मेरो किबोर्डको आवाजसँगै मेरो अफिसको पर्खालमा गएर कतै हराउँछन् । लेख्न मिल्ने आक्रोशहरू शब्द, वाक्य र परिच्छेद बनेर कम्प्युटरको विद्युतीय पर्दामा कुद्न थाल्छन् ।

हुन त मान्छेहरू लेख्दा वा टाइप गर्दा जेसुकै भनौं, त्यसो गर्दा ‘कथार्सिस्’ हुन्छ भन्छन् । मनका कुरा पर्दामा पोतेपछि मन हल्का हुन्छ भन्छन् । त्यो होला पनि । तर, मेरो आफ्नै कुरा गर्नुहुन्छ भने मलाई कसैको आलोचना गरेर लेख्दा अक्सर ‘कथार्सिस’ हुँदैन, ‘म्युचुअल डिस्ट्रक्सन’ वा आपसी ध्वंसको अनुभूति हुन्छ । गलतसँगको वैचारिक लडाइ पनि युद्ध जस्तै हो कि ? युद्धबाट जसरी कोही सग्लो घर फर्किँदैन- कोही मारिन्छन्, कसैका शरीर अङ्गभङ्ग हुन्छन् र बाँचेका सबै भित्रको आत्मा एक वा अर्को रूपमा गिजोलिएको वा भत्किएको हुन्छ- त्यसरी नै आलोचनात्मक लेखनले जसको आलोचना गरेको हो उसलाई मात्र होइन, आलोचना गर्नेलाई पनि भित्र-भित्र गिजोलिरहेको हुन्छ, भत्काइरहेको हुन्छ ।

हिजो आफूले आदर्श मानेर शीरमा सिउरिएका सम्बन्धमा पहिरो ल्याउने गरी किबोर्डमा औँला थचार्दा मान्छे सबभन्दा डरलाग्दो गरी गिजोलिन्छ, बिथोलिन्छ र भत्किन्छ । त्यति बेला परस्पर ध्वंस हुन्छ । त्यतिबेला लेख्ने काम ‘कथार्सिस’ होइन, आफैँमा एउटा आघात बन्न पुग्छ । तैपनि कहिलेकाहीँ यो नमीठो यथार्थलाई स्वीकार गरेर कम्प्युटरको किबोर्ड अगाडि बस्नुपर्ने स्थिति आउँदो रहेछ । आलोचनामा किबोर्डमा औँला थचार्नुपर्ने स्थिति बन्दो रहेछ ।

त्यसैले मैले केही समयदेखि प्रचण्ड, जसको विगत, वर्तमान र भविष्यसित मेरो पुस्ताको विगत, वर्तमान र भविष्य पनि गाँसिएको छ, तिनका असङ्गत बोली र क्रियाकलापका विरुद्ध थोरै भए पनि आफ्नो विचार व्यक्त गर्दै आएको छु ।

अब त मलाई लागेको छ− यतिबेला प्रचण्ड नेपाली राजनीतिमा अन्तिम छटपटी गरिरहेका छन् । उनको छटपटीको त्यो दुःखान्त दृश्यले मलाई मर्माहत बनाउँछ । मलाई खपिनसक्नुको आघात हुन्छ । त्यो दृश्यले मेरो पेट दुख्छ, वाकवाकी आउँछ र मलाई थचक्कै बसाउँछ । उनको प्रचण्ड छटपटीको त्यो विभत्स दृश्यलाई चाँडो अन्त्य गर्न सकियो भने छटपटाइरहेका प्रचण्ड र पोस्टहिरोइक युगका मेरो पुस्ताका कमजोर हृदय भएका दर्शकहरू दुवैलाई राहत होला कि भन्ने ठानेर फेरि एकपटक उक्त समूहको झुट, घुर्की, धम्की र ब्ल्याकमेलको राजनीतिको आलोचनामा तलका हरफहरू कम्प्युटरको पर्दामा छर्न पुगेको छु ।

प्रचण्डको ‘न्यूरोपोलिटिक्स’
प्रचण्डका पछिल्ला राजनीतिक गतिविधि र क्रियाकलापहरू असङ्गत र अन्तरविरोधी त छँदैछ छन् तिनमा पुँजीवादी वा समाजवादी वा कुनै पनि प्रकारको राजनीतिक नैतिकताको समेत सर्वथा अभाव देखिन्छ । तर उनका तिनै असङ्गत र अन्तरविरोधी अभिव्यक्ति र व्यवहारले उनलाई केही समयका लागि भए पनि नेपाली राजनीतिको केन्द्रमा रहन सघाएको छ । खासगरी उनको यो असङ्गत र अन्तरविरोधी व्यवहारकै कारण उनी आफ्ना अनुयायीहरूको बफादारीलाई केही क्षणको लागि भए पनि कायमै राख्न सफल भएका छन् ।

यस्तो विरोधाभास कसरी सम्भव भएको छ त? सिद्धान्त र नीतिका हिसाबले भन्दा नेपाली काँग्रेससँग माओवादी जस्तो पृष्ठभूमिको कम्युनिस्ट पार्टी एउटै सरकारमा हुने विषय कुनै समय कल्पनाभन्दा बाहिरको थियो, नेपाली राजनीतिमा । नेपालको राजनीति उत्तरसैद्धान्तिक युगमा प्रवेश गरिसकेको हुनाले यो सम्भव भएको हुनुपर्छ । खासगरी प्रचण्ड र उनको समूहको राजनीति अब नीतिगत वा सामाजिक मुद्दामा आधारित राजनीति रहेको छैन । त्यो राजनीति विशुद्ध मनोवैज्ञानिक राजनीति वा अझ भनौं त्योभन्दा पनि अगाडि ‘न्यूरोपोलिटिक्स’ बन्न पुगेको छ ।

न्यूरोपोलिटिक्सले हाम्रो दिमागका न्यूरोकेमिकलसित खेल्छ । प्रचण्डले पनि गठबन्धनका दलको र खासगरी उनका अनुयायीको न्यूरोकेमिकल, विशेष गरी चिन्ता अर्थात् स्ट्रेस र एङ्जाइटी पैदा गर्ने कर्टिसोलसित खेलेका छन् । उनको तरिका के हो भने पहिला मानिसहरूमा दबाब सिर्जना गर्ने र मान्छेका तनावलाई एउटा तहमा पुर्‍याइसकेपछि सान्त्वना दिने। प्रसिद्ध बायोलोजिस्ट जेन गुडालको एक अध्ययनको ‘प्यासन’ नाम गरेको चिम्पान्जी आमाले जस्तै ।

जेन गुडालको ‘प्यासन’ एउटा तानाशाही चिम्पान्जी आमा थियो, जसले पहिले अरू आमाहरूका बच्चामाथि आक्रमण गर्थ्यो र त्यसपछि तनावमा आएका र आत्तिएका ती चिम्पान्जी आमाहरूलाई सहानुभूतिले मुसार्थ्यो र साखुल्ले पल्टन्थ्यो । यहाँ जेन गुडालको ‘प्यासन’को न्यूरोपोलिटिक्स के हो भने पहिले तनाव, स्ट्रेस वा एङ्ग्जाइटी आफैंले सिर्जना गरिदिने र त्यसपछि त्यसको समाधानका लागि सहानुभूति पूर्ण व्यवहार पनि आफैंले गरी दिने । अर्थात्, ‘बोक्सी’ पनि आफैं, धामी पनि आफैं ।

प्रचण्डले त्यस्तो न्यूरोपोलिटिक्स गठबन्धनका दलहरूसित र आफ्नै नेता र कार्यकर्ताहरूसित पनि गरिरहेका छन् ।

सबभन्दा पहिले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सितको सन्धि पास गर्दा प्रचण्डले शेरबहादुर देउवासित गरेको व्यवहारलाई हेरौँ । सडकमा आफ्ना कार्यकर्ता उतारेर विरोधमा उफारे । प्रहरीसित ढुङ्गमुढा गर्न लगाए । प्रचण्डका कैयौँ कार्यकर्ताको टाउको फुट्यो । पचासौं जना राष्ट्रसेवक प्रहरी घाइते भए । तर, प्रचण्डले प्रहरी र कार्यकर्ताको सुरक्षा घेरामा बसेर दोहोरो भूमिका खेलिरहे ।

सडक र सदनमा तनाव बढ्दै गयो । प्रचण्डले आफ्ना विश्वासपात्रमार्फत केपी ओलीलाई प्रधानमन्त्रीको प्रस्ताव पठाए । केपी ओलीलाई आफैंले भेट्न गएको टिभीका क्यामेरामा देखाए देउवालाई उनकै भनाइअनुसार केपी ओलीसित सम्झौता गर्नुपर्छ कि जस्तो अवस्थामा पुर्‍याए । तनावलाई चरम चुलीमा पुर्‍याइसकेपछि अन्तिममा फेरि देउवाकोमा गएर विभिन्न अन्तरर्राष्ट्रिय कानुनका ज्ञाताको हवाला दिँदै व्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने प्रस्ताव राखेर सुमसुम्याए । देउवाले राहतको लामो सास फेरे । अनि देउवाले पनि प्रचण्डले चाहे जस्तो चुनावसम्म गठबन्धन लैजाने विषयबारे नरम भएर बोलिदिए, लगत्तैको सर्वदलीय बैठकमा ।

प्रचण्डले व्याख्यात्मक टिप्पणीको पातलो कपडाले लाज ढाकिदिएर एमसीसीलाई सदनबाट पास गराए । त्यसपछि तनाव वा एङ्जाइटीमा रहेका कार्यकर्ताको आफैले बढाएको तनाव मत्थर पार्न भनि दिए– एमसीसी पास गरेर हामीले पार्टी र देशलाई ठूलो दुर्घटना हुनबाट बचायौं । अनुयायीले ताली लगाए– ‘वाह क्या महान् हाम्रो अध्यक्ष ! उहाँ नभएको भए आज पूरै देश र पार्टी युक्रेन जस्तै दुर्घटनाग्रस्त भइसक्यो।’

प्रचण्डका यी कदममा भावनाको राजनीति छ । यिनमा त्यसभन्दा पनि अझ बढी न्यूरोपोलिटिक्स छ, जेन गुडालको ‘प्यासन’ नाम गरेको चिम्पान्जी आमाको जस्तो । तर, यो प्रचण्ड राजनीतिमा कुनै एक नीतिप्रतिको प्रतिबद्धता छैन । यी सबै चालबाजीको एउटै उद्देश्य छ– गठबन्धनको नेतृत्व गरेको काँग्रेसलाई दबाबमा राखेर आफ्नो स्वार्थ पूरा गर्ने । तत्कालको लागि सायद केही राजदूतको कोटा आफ्नो पोल्टामा पार्ने । सायद छोरीलाई फेरि मेयर जिताउने । भविष्यमा काँग्रेसीका भोट लिएर आफू फेरि सदनमा फर्कने ।

शुरूदेखि नै प्रचण्डको उद्देश्य काँग्रेससित देशैभरि गठबन्धन गर्ने होइन, त्यो सम्भव छैन भन्ने कुरा प्रचण्ड जत्तिको चतुर राजनीतिक खेलाडीलाई थाहा नहुने कुरा भएन। बरु उनको सुरुदेखिकै भित्री प्रस्ताव कम्तीमा आफू, माधव नेपाल र शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा माओवादी केन्द्र, एकीकृत समाजवादी र काँग्रेसले एकअर्कालाई उम्मेदवार नउठाएर सहयोग गर्ने भन्ने हो ।

प्रचण्डको यस्तो जैन गुडालको ‘प्यासन’ नामकी चिम्पान्जी आमाको जस्तो दबाब र सहानुभूतिको विरोधाभासपूर्ण राजनीति प्रकाश सपूतको बहुचर्चित गीत ‘पिर’को प्रकरणमा पनि देखियो ।

युद्धमा सहभागीहरूले युद्धपछि जीवनयापनमा लागि झेल्नुपरेको कहालिलाग्दो सङ्घर्ष र दर्दनाक पीडाको चित्रण गरिएको प्रकाश सपूतको गीतलाई लिएर प्रचण्ड समूहका महिला र सांस्कृतिक लगायतका भातृसङ्गठनले वक्तव्य बाजी नै गरेर उक्त गीतलाई युट्युबबाट हटाउनुपर्ने माग गरे । प्रचण्डका कानुनी सल्लाहकारले गीतको विरुद्ध अदालत जान सकिनेसम्मको धम्की दिए । यसरी प्रचण्डले पूरै पार्टी परिचालित गरेर प्रकाश सपूतको कलिलो सन्तान (सर्जकका लागि सिर्जना सन्तान नै हो)लाई निमोठ्न खोजे । त्यसले प्रकाश सपूतलाई कति तनाव दियो होला सहजै कल्पना गर्न सकिन्छ। अन्ततः उनी गीतबाट उक्त दृश्यसँगै १ करोडपटक हेरिएको भिडियो हटाउन बाध्य बनाइए ।

त्यति तनाव सिर्जना गरिसकेपछि प्रचण्डले आफ्ना मुखर विन्दुबाट भने प्रकाश सपूततिर सहानुभूति प्रकट गरेजस्तो अभिव्यक्ति दिए । हिमालय एचडीको यक्ष प्रश्न भन्ने कार्यक्रममा उनले गीतबाट उत्तेजित हुनु नपर्ने भन्ने अभिव्यक्ति दिए र आफ्नो विरोधमा अर्को एक प्रकाश थपिए के भो र भन्दै मिहिन घुर्की पनि लगाए । हालसालै उनका एकजना भारदार कृष्णबहादुर महराले उक्त गीत साम्राज्यवादीहरूले माओवादीहरूको विरुद्धको षड्यन्त्रको अङ्गको रूपमा तयार गरेको तर्क गरे ।

यहाँ पनि प्रचण्डको व्यवहारमा जेन गुडालको ‘प्यासन’ नामकी चिम्पान्जी आमाको जस्तै ‘न्यूरोपोलिटिक्स’ देखियो ।

अगाडि गौतम बुद्ध, पछाडि माओ र स्टालिन

खुमलटारको सुविधासम्पन्न दरबारबाट प्रचण्डले हरेकपटक अन्तर्वार्ता दिँदा उनको छेउमा सधैँ बुद्धको सुनौलो तस्विर हुन्छ । पहिले पहिले पछाडि बुद्धका अन्य कैयन साना मूर्ती पनि हुन्थे उनका पछाडि। सायद आजकल पनि ती मूर्ती त्यहाँ छन् । तर पछिल्लो केही समय यता प्रचण्डले बुद्धको मूर्तिको पछाडि मार्क्स, ल‍ेनिन, माओ र स्तालिनको तस्विर राख्न भ्याएका छन्।

खासगरी सोभियत सङ्घका नेता जोसेफ स्टालिन र बुद्धको तस्विर एकै ठाउँमा देख्दा सचेत दर्शकको मनमा एउटा ‘भिजुअल कन्फ्लिक्ट’ पैदा हुन्छ । विश्वशान्तिका दूत गौतम बुद्धको पछाडि आफ्नै पार्टीका सयभन्दा बढी केन्द्रीय सदस्यलाई फाँसी दिने स्टालिनको तस्विर देख्दा पक्कै पनि इतिहासका ज्ञाताहरूलाई बिझाउँछ ।

प्रचण्डको बैठक कोठाको यो सजावटले प्रचण्डको चिन्तन पद्धतिको बारेमा धेरै बोल्छ । यसले उनी कस्तो विरोधाभासको गुजुल्टो हुन् भन्ने मात्रै बताउँदैन, शान्ति र हिंसाको बारे प्रचण्डको मनमा रहेको द्विविधालाई पनि प्रस्ट पार्दछ । यसले उनको दोहोरो चरित्रलाई प्रतिनिधित्व गर्दछ । यस्तो दोहोरो चरित्र प्रचण्डले धेरै समय कायम राखिराखे ‍त्यो उनका लागि घातक हुनेछ । अब समय आएको छ, उनले बुद्ध र स्टालिनमा एकजना रोज्नुपर्दछ ।

प्रचण्डलाई बुद्ध हुन सायद निकै गाह्रो छ । बुद्ध हुन आफैंलाई बिर्सन सक्नपर्छ । बुद्ध हुन इगो, रिस र बदला भावमाथि विजय प्राप्त गर्न सक्नुपर्छ । प्रचण्डलाई स्टालिन हुन भने धेरै सजिलो छ अझै पनि । उनको चरम आत्म केन्द्रित व्यक्तिवाद, सत्तालिप्सा, बेला बेलामा उनले आफ्ना समकक्षीसित गर्ने व्यवहार र उनमा रहेको ईर्ष्यालु स्वभावले मौका मिलेको बेला प्रचण्डलाई स्टालिन भने बनाउन सक्छ ।

यद्यपि, सबै दुर्भावना फालेर प्रचण्डले बुद्ध बन्ने बाटो रोजेको खण्डमा भने उनको तारिफ नै गर्नुपर्छ । तर, प्रचण्डले अब एकथरी तस्विर छान्ने समय आइसकेको सङ्क्रमणकालमा उनले त्यसो गरेका हुन् भने त ठीकै होला तर बुद्ध र स्टालिनलाई सँगै राख्ने राजनीतिक सुविधा उनलाई अनन्तकालसम्म भने प्राप्त हुनु हुँदैन ।

प्रचण्डको ‘ल्याङ्ग्वेज गेम’
प्रचण्डको राजनीति शुरूदेखि नै दार्शनिक लुटविग विट्जेन्स्टाइनको शब्द सापट लिनुपर्दा ‘ल्याङ्ग्वेज गेम’ वा भाषाको खेल रहँदै आएको छ । हुन त पूरै माओवादी आन्दोलनलाई नै बीसौं शताब्दीको क्रान्तिकारी राजनीतिको भाषिक रहलपहल पनि भन्न सकिन्छ । तर, अहिले त्यतातिर नजाऊँ ।

कम्तीमा पछिल्लो पाँच वर्षलाई हेर्दा पनि प्रचण्डको राजनीति खास वर्ग र समुदाय र तिनको हितको नीतिभन्दा पनि ‘ल्याङ्ग्वेज गेम’ वा भाषाको खेल बढी हो भन्ने प्रस्टै देखिन्छ । देशभित्र र बाहिरका राजनीतिक शक्तिबारे आफ्नो स्वार्थ अनुकूल उनले जेजस्तो भाषाशैलीको प्रयोग गर्ने गरेका छन्, त्यसमा पनि उनको दोहोरो चरित्र उजागर भएकै छ। उनका शब्दका खेल देखिएकै छन्।

सबभन्दा पहिले देशभित्रकै कुरा गरौँ । आफूले साढे दुई वर्ष प्रधानमन्त्री पाउने आश्वासन पाएपछि प्रचण्डले जीवनभरि आफ्नो विरोधी रहेका केपी ओलीलाई आफ्नो नेता मान्न र उनलाई पूरै माओवादी आन्दोलन सुम्पन तयार भए। अझ भनौँ लिलामीमा बेच्न तयार भए । त्यतिबेला प्रचण्डले कम्युनिस्ट एकता र स्थिरताको नारा दिए ।

प्रतिक्रियावादीहरूले आफूलाई पाँचै वर्ष प्रधानमन्त्री दिन्छु भन्दा पनि कम्युनिस्ट एकता र समाजवादी क्रान्तिको लागि साढे दुई वर्षको लागि तयार भएको तर्क गर्दै उनले काँग्रेसलाई ‘प्रतिक्रियावादी’ भने। केपी ओलीले प्रधानमन्त्रीको कुर्सी छाड्न तयार नभएपछि प्रचण्डको भाषा फेरियो । अब काँग्रेस ‘प्रतिक्रयावादी’ रहेन, प्रजातन्त्र, संविधान र गणतन्त्रको रक्षक बन्न पुग्यो । अब प्रचण्डको भाषिक खेलमा केपी ओली ‘कम्युनिस्ट’ होइन, ‘प्रतिगामी’ बन्न पुगे । एकछिन पहिलेसम्म अर्थात् आफूले आधा अवधि प्रधानमन्त्री पाउने आश रहिन्जेल स्थिरताका पर्याय रहेका केपी ओली अब एकाएक ‘प्रतिगमनका नाइके’ बन्न पुगे ।

नेपालको राजनीतिमा प्रचण्ड र उनको दलको उदय शेरबहादुर, झलनाथ र केपी ओलीहरूलाई प्रधानमन्त्री बनाउन भएको हो अथवा उनीहरूलाई सत्ताबाट बाहिर राख्न भएको हो? प्रचण्डका मतादाताको म्याण्डेट के हो ? यो उनको सफलता हो कि नालायकी हो?

प्रचण्डको त्यो विटगेन्सटाइनियन ‘ल्याङ्ग्वेज गेम’ अझै रोकिएको छैन । काँग्रेसले पनि आफ्नो महत्वाकाङ्क्षा पूरा गरिदिने अवस्था नरहेपछि उनी फेरि केपी ओलीलाई प्रधानमन्त्रीको पासो फाल्दै छन् र भन्दै छन्– विगतमा प्रतिनिधि सभा विघटन गराएको केपी ओलीले होइन, साम्राज्यवादीले हो । एमसीसीमा जस्तै कुनै व्याख्यात्मक टिप्पणी उठाएर कसरी फेरि केपी ओलीको बुई चढेर आफ्नो महत्वाकाङ्क्षा पूरा गर्ने भन्ने उपायको खोजीमा छन् सायद प्रचण्ड यतिबेला ।

विदेशी शक्ति राष्ट्रका बारेमा पनि प्रचण्ड एउटै शब्द प्रयोग गर्दैनन् । उनी आफ्नो स्वार्थ अनुकूल विपरितार्थी शब्दको प्रयोग गरेर आफ्नो स्वार्थको रोटी सेक्न माहिर छन्।

पश्चिमा शक्तिराष्ट्रहरूको बारेमा आउने प्रचण्डका असङ्गत अभिव्यक्तिमा पनि प्रचण्डपथीय ल्याङ्ग्वेज गेम बेजोडले मुखरित हुन्छ । प्रचण्ड आफ्नो स्वार्थ पूरा गरिदिने देखे उनीहरूलाई ‘लोकतन्त्र’का नमूना भन्छन् । स्वार्थ पूरा नहुने देख्ने बित्तिकै साम्राज्यवादी र प्रतिक्रियावादी भन्दै उनीहरूको खेदो खन्न थाल्छन् । अनि भन्छन्– प्रतिक्रियावादी र साम्राज्यवादीहरूले मलाई घेरबन्दी गरे।

हालसालै आफ्नो दलको एउटा आन्तरिक कार्यक्रमका उनले आफूमाथि भौतिक आक्रमणको समेत खतरा रहेको भन्दै सहानुभूति बटुल्न पनि पछि परेका छैनन् ।

तेस्रो दलको अस्वाभाविक सक्रियता
नेकपा (माओवादी केन्द्र) संसदको तेस्रो ठूलो दल हो तर सत्ता गठबन्धन निर्माणमा ऊ सबभन्दा सक्रिय छ । यो सक्रियता अस्वाभाविक छ । यो सक्रियता अनैतिक र लोकतन्त्रका मान्यताविपरित पनि छ । साथै तेस्रो दलको यो नाजायज र अनैतिक सक्रियताले देशमा अस्थिरतालाई झनै बढाइदिएको छ ।

स्वाभाविक र सुल्टो कुरा के हो भने संसदमा सरकार बनाउने सक्रियता पहिलो र दोस्रो ठूलो दलले लिनुपर्छ । यसबाट जनमतको कदर हुन्छ । खासमा भन्ने हो भने यसले तेस्रो दललाई पनि आफ्ना नीति लागू गर्नका लागि बार्गेनिङ् गराउन सजिलो बनाउँछ । तर, माओवादी केन्द्रको क्रियाकलाप ठीक उल्टो छ ।

प्रचण्डको उल्टो गतिविधिको कारण के हो भने यो समूह हिजो इतिहासमा गणतन्त्र र सङ्घीयताको हिमायती क्रान्तिकारी शक्ति रहेको भए पनि अहिले कुनै नीतिको प्रतिनिधित्व गर्दैन। कसरी हुन्छ जोसँग मिलेर हुन्छ सत्ताको सुख भोग गर्ने यो समूहको एकमात्र नीति देखिएको छ । सत्तामा लिसो जस्तो जसरी पनि टाँसिइरहनका लागि घरेलु र विदेश नीतिमा जस्तोसुकै सम्झौता र धोकाधडी गर्न पनि यो समूह तयार छ ।

प्रचण्डले धेरै पटक आफूले धेरैलाई प्रधानमन्त्री बनाएको बताउँदै आएका छन् । त्यसमा उनले गर्व पनि गर्ने गरेका छन् । तर यहाँनिर उनलाई प्रश्न सोध्नुपर्ने हुन्छ– नेपालको राजनीतिमा उनको र उनको दलको उदय शेरबहादुर, झलनाथ र केपी ओलीहरूलाई प्रधानमन्त्री बनाउन भएको हो अथवा उनीहरूलाई सत्ताबाट बाहिर राख्न भएको हो? प्रचण्डका मतादाताको म्याण्डेट के हो ? उनले जनयुद्ध जसका बिरुद्ध लडेका थिए उनैलाई प्रधानमन्त्री बनाउनु उनको सफलता हो कि नालायकी हो?

हुन त काँग्रेससित सरकारमा बसेर एमालेसित चुनावी गठबन्धन गर्ने र एमालेको मत लिएर काँग्रसलाई बेच्ने प्रचण्डको लिलामी राजनीतिमा यस्ता प्रश्नको कुनै अर्थ नहोला। तर, सभ्य र सुसंस्कृत लोकतान्त्रिक राजनीतिमा भने यी प्रश्न अहम् महत्वका प्रश्न हुन्।

अहिले फेरि प्रचण्डका केही भारदारहरू नेपाली काँग्रेसलाई सरकारबाट सडकमा पुर्‍याउने धम्की दिइरहेका छन् । त्यो के कारणले भन्दा आगामी स्थानीय चुनावमा काँग्रेसले आफूसित गठबन्धन गर्न तयार नहुने देखिएपछि ।

काँग्रेस र माओवादी जस्ता फरक विचार भएका दलले चुनावपछि सरकार निर्माणमा आवश्यक परेको अवस्थामा सहकार्य गर्नुलाई बाध्यताको उपज मान्न सकिएला । तर, आफूलाई उदारवादी र साम्यवादी शिविरको प्रतिनिधित्व गरेको दाबी गर्ने काँग्रेस र माओवादीले चुनावमै सहकार्य गर्नु लोकतान्त्रिक गणतन्त्रको स्वास्थ्यका लागि पनि हानिकारक हुन्छ । यसले राजनीतिलाई कुनै खास नीतिको पक्ष वा विपक्षमा गरिने सङ्घर्ष भन्दा पनि सत्ता र सुविधाको बाँडफाँटको खेलमा परिणत गरिदिन्छ ।

प्रचण्डलाई बुद्ध हुन सायद निकै गाह्रो छ । बुद्ध हुन आफैंलाई बिर्सन सक्नपर्छ । बुद्ध हुन इगो, रिस र बदला भावमाथि विजय प्राप्त गर्न सक्नुपर्छ । प्रचण्डलाई स्टालिन हुन भने धेरै सजिलो छ अझै पनि ।

त्यसैगरी यस्तो गठबन्धनले ती दलहरूभित्रको लोकतन्त्रलाई पनि कमजोर पारिदिन्छ । दलको नेताले जहिल्यै विरोधी दलसित मिलेर आफ्ना आसेपासे पोस्ने भएपछि, दलको आन्तरिक लोकतन्त्र पक्षघात हुन्छ । दलहरूमा नेतृत्व परिवर्तन हुन पनि निकै गाह्रो हुन्छ ।

प्रचण्डको गठबन्धन (ठगबन्धन)को राजनीतिको कारण माओवादी केन्द्रमा त समस्या छँदै छ, आज त्यो समस्या एमाले र काँग्रेसमा पनि सङ्क्रमण भएको छ । एमाले काँग्रेसमा पनि एकाधिकारवादी नेताको जन्म भएको छ । केपी ओली र शेरबहादुर देउवा आज आ-आफ्नो दलभित्र जसरी असहमत हुनेहरूलाई ह्याकुलाले मिच्न सक्ने भएका छन्, यसमा प्रचण्डको सत्ता लिलामीको राजनीतिको निकै ठूलो हात छ ।

प्रचण्डको लिलामी पसल
पहिलो संविधान सभाको निर्वाचनमा नेपाली मतदाताले प्रचण्डको नेतृत्वमा रहेको माओवादीलाई झण्डै दुईतिहाई बहुमत प्रदान गरेका थिए । प्रचण्डले आफैंले गरेका अदूरदर्शी निर्णय र उनमा देखिएका अनेकन् विकृतिका कारण माओवादी त्यसपछि खिइँदै र चिराचिरा हुँदै गयो । उनको दल पहिलोबाट खुम्चिएर तेस्रो दलमा झर्‍यो । त्यसपछि प्रचण्डले नेपाली राजनीतिको चौबाटोमा सत्ताको लिलामी पसल खोलेका छन् । त्यो लिलामी पसलबाट प्रचण्ड, माओवादी नवधनाढ्य समूह र एमाले र काँग्रेसका पुराना धनाढ्य सबै मालामाल भएका छन् ।

पटक-पटक प्रचण्डले सत्ताको कुर्सीसँगै आम मान्छेका पीडा चौबाटोमा लिलामीमा राखे । उनको लिलामीको पसलबाट कहिले एमाले त कहिले काँग्रेसले भाउ बढाबढ गरेर सत्ताको कुर्सी किनिरहे । प्रधानमन्त्री र मन्त्री हुन पाउने भएपछि काँग्रेस र एमालेका नेताहरूले प्रचण्डको राजनीतिक व्यापारले उनका आफ्नै दलका र प्रचण्डका समेत सहयात्री, भूइँतहका कार्यकर्ता र आम नेपालीलाई दिएको पीडा नदेखेजस्तो गरिरहे ।

दु:खका साथ भन्नुपर्छ त्यो लिलामी पसलमा सत्ताको कुर्सीमात्र बेचिएको छैन, सँगसँगै जनयुद्धमा सरकार र विद्रोही दुवै पक्षतर्फ बगेको आम नेपालीको आँसु, पसिना र रगत पनि सँगसँगै लिलामीमा राखिएको छ । त्यो लिलामी पसलमा सत्ताको कुर्सीमात्रै होइन, नेपाली लोकतन्त्रको आत्मा पनि मोलमलाउ भइरहेको छ । त्यो लिलामी पसलमा लाखौँ नेपाली युवाहरूको सपना पनि बेचिएको छ ।

आफ्ना सपनाहरूलाई प्रचण्डले लिलामीमा बेचिदिएपछि मजस्ता युवाहरू आफ्नो परिवार, आफन्त, आफ्नो देश र आफैँबाट ‘निर्वासित’ भएका छौँ । ‘निर्वासित’ हुनुको अनुभूति भोग्नेलाई मात्र थाहा हुन्छ । ‘निर्वासन’ एउटा यस्तो दु:स्वप्न हो जसले मान्छेलाई हरेक रात आफू हुर्केको गाउँको पाखापखेरीमा लैजान्छ र हरेक बिहान भावनाको एउटा अनकन्टार पराइ भूमिमा बिउँझाइ दिन्छ ।

त्यसकारण, प्रचण्डको लिलामी पसलमा झट्ट हेर्दा सत्ताको कुर्सीको व्यापार भइरहे जस्तो लाग्ला । तर, गहिरिएर सोच्ने हो भने त्यहाँ आम नेपालीको स्वाभिमान र आत्मसम्मानको देहव्यापार भइरहेको छ ।

अब नेपाल र नेपालीको शान्ति, सुख र समृद्धिको लागि नेकपा (एमाले) र नेपाली काँग्रेसले प्रचण्डद्वारा बारम्बार गरिने सत्ताको कुर्सीको लिलामी बहिष्कार गर्नसक्नुपर्छ, यदि उनीहरू असली लोकतन्त्रवादी हुन् भने। उनीहरूले प्रचण्डबाट नेपालीको रगत, आँसु र पसिनाले लछप्पै भिजेको सत्ताको कुर्सी पालैपालो लिलामीमा किन्न छाड्नुपर्छ ।

अबको चुनाबमा कम्तिमा पनि काँग्रेस र एमाले एक्लाएक्लै भिड्नुपर्छ। अब त काँग्रेस र एमालेले बुझ्नुपर्छ प्रचण्डको लिलामीको राजनीतिबारे । र, काँग्रेसका धेरै नेताहरूले भनेजस्तो काँग्रेसले गठबन्धनको भारी बोक्नु हुँदैन । आम नेपालीलाई सुख र शान्ति दिने हो भने काँग्रेस र एमालेले प्रचण्डको लिलामी पसल धाउनु हुँदैन ।

लेखकको बारेमा
ध्रुवराज अधिकारी

‘द्वन्द्व व्यवसायी’हरूले राजनीतिक हिंसामा कसरी भावनाको परिचालन गर्छन् भन्ने विषयमा सोधरत अधिकारी हाल नेपालको माओवादी आन्दोलनमा भावनाको परिचालनको विषयमा विद्यावारिधि गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?