+
+

पश्चिमामाथि खनिएका पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गरे भारतको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ७ गते १४:००

७ चैत, काठमाडौं । यतिबेला पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफ्नो राजनीतिक जीवनकै ठूलो संकट सामना गरिरहेका छन् ।

पाकिस्तानको संसदमा खानविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमाथि शुक्रबार मतदान हुँदैछ । विपक्षी दलहरूले उनीविरुद्ध यसै महिनाको सुरुमा अविश्वासको प्रस्ताव पेस गरेका हुन् । सत्तारुढ दल पाकिस्तान तेहरिक ए इन्फास (पीटीआई)का दर्जन बढी सांसदले समेत उनीविरुद्ध मतदान गर्ने घोषणा गरिसकेका छन् ।

साना दलसँग मिलेर सरकार गठन गरेका खानलाई सरकार टिकाउनका लागि  संसदको ३४२ संख्यामध्ये १७२ चाहिन्छ । पाकिस्तानको तल्लो सदनमा पीटीआईसँग १५५ जना सांसद छन् । सरकार गठनका बेला उनीसँग सहकार्य गरेकामध्ये तीनवटा दलले अविश्वासको प्रस्तावमा भोट हाल्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा सरकारबाट खानको बहिर्गमन निश्चित देखिन्छ ।

विपक्षी दलले आफूविरुद्ध मोर्चाबन्दी गरेपछि खानले गत हप्ता पश्चिमा नेताहरूको आलोचना गरेका थिए । पश्चिमाहरूले पाकिस्तानलाई आफ्नो ‘दासको रुपमा’ हेर्ने भन्दै उनी पश्चिमा नेताविरुद्ध खनिएका हुन् । युक्रेन हमलापछि रुसको निन्दा गर्न पश्चिमी मुलुकले दबाब दिएपछि खानले उनीहरूको आलोचना गरेको बताइन्छ ।

खासगरी ईयूसहितका २२ जना राजदूतले युक्रेनमा रुसी हमलाविरुद्ध राष्ट्रसंघीय महासभामा पेस भएको प्रस्तावको पक्षमा पाकिस्तानले मतदान गर्नुपर्ने बताएपछि खान आक्रोशित बनेका हुन् । रुससँग निकट सम्बन्ध बनाउन चाहिरहेका खान हमलाका बेला मस्कोमा थिए । पुटिनसँग भेट गरेपछि पश्चिमाहरू उनीसँग रुष्ट बनेका छन् ।

खान र उनी निकट मन्त्रीहरूले समेत संसदमा पेस भएको अविश्वासको प्रस्तावलाई पश्चिमी मुलुकको षडयन्त्रको रुपमा बुझ्न थालेका छन् । पश्चिमाहरूले मिडियालाई प्रभाव पारेर खान नेतृत्वको सरकार ढलाउन लागेको उनीहरूको आरोप छ ।

यसै हप्ता पाकिस्तानकी मानव अधिकार मन्त्री शिरीन मजारीले ट्विटरमा एक पोष्ट गर्दै विपक्षी दलमाथि विदेशी शक्तिको सहारामा आफ्नो स्वार्थ पूरा गर्न खोजेको आरोप लगाएकी थिइन् । उनले पछि सो ट्विट हटाएकी थिइन् । विदेशमन्त्री शाह महमूद कुरेशीले समेत पश्चिमा शक्तिको अनुरोधमा अविश्वासको प्रस्ताव पेस भएको बताइसकेका छन् ।

तर प्रधानमन्त्री पद संकटमा परिरहेका बेला खानले भने भारतको खुलेर प्रशंसा गरेका छन् । उनले आइतबार भारतको परराष्ट्र नीतिको खुलेर प्रशंसा गरेका हुन् । भारतले आफ्नो राष्ट्रिय स्वार्थका लागि स्वतन्‍त्र परराष्ट्र नीति अवलम्बन गरेको भन्दै उनले प्रशंसा गरेका हुन् ।

‘म हाम्रो छिमेकी मुलुक भारतको प्रशंसा गर्न चाहन्छु’ खानले भने, ‘उनीहरूसँग सधैं स्वतन्त्र परराष्ट्र नीति छ । भारतले क्वाडमा अमेरिकासँग गठबन्धन गरेको छ तर प्रतिबन्धका बाबजुद रुसबाट तेल ल्याइरहेको छ । यसको कारण के हो भने भारतको परराष्ट्र नीति त्यहाँका मानिसको हितमा छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?