+
+

नेपाली समाजको चेतना र युवा मनोवृत्ति

सलोन बस्नेत सलोन बस्नेत
२०७८ चैत ८ गते १२:५६

पदार्थबाट चेतनाको निर्माण हुन्छ, तर निर्माण भएको चेतनाले पुनः पदार्थ पनि निर्माण गर्छ । सामाजिक चेतना पदार्थबाट नभई समाजबाट निर्माण हुन्छ । सामाजिक सत्यता विभिन्न समयमा घट्ने घटना र त्यसलाई समाजले लिने तौरतरिकाबाट स्पष्ट हुन जान्छ ।

समाजमा भएका हरेक व्यवस्था, मूल्यमान्यता, धर्म, संस्कृति, परम्परालगायत विचारहरूको जन्म पनि समाजमै निर्माण हुन्छ । साथै विभिन्न खाले घटनाहरूले पुनः नयाँ सामाजिक सत्यता, नयाँ अवस्थाको सिर्जना र पुराना सत्यताको खारेजी गरेर नयाँ विचारको निर्माण पनि गर्छ ।

या त सारमा पुरानै सत्यता बोकेर नयाँ भएको नक्कल-झक्कल पनि गर्छ । ठ्याक्कै आजको नेपाली समाज र हाम्रो पुस्ता आवरणमा नयाँ भएको स्वाङ गर्छ तर व्यवहारको जगमा तिनै पुराना मान्यता बोकेर हिंडिरहेको छ ।

विभेदको इतिहास र विभेदको चेतनाको निर्माण इतिहासदेखि नै लैङ्गिक पूर्वाग्रहले भरिएको पितृसत्ता र एकपक्षीय पुरुष केन्द्रित दृष्टिकोणले समाजमा गहिरो जरा गाडेर झाँगिरहेको छ । कार्ल मार्क्सकै अवधारणालाई आधार मान्दा आदिम साम्यवाद पछि जब निजी सम्पत्तिको अवधारणाको विकास भयो, त्यसलाई व्यवस्थित बनाउन विवाह संस्थाको निर्माण गरियो र महिलालाई सम्पत्तिको रूपमा हेर्ने परिपाटीको विकास हुँदै महिलामाथिको दमन र शोषण सुरु भयो ।

नेपाली समाजमा विभेदको जग जातव्यवस्थाले निर्माण गर्‍यो । लामो समयसम्म हिन्दू वर्ण व्यवस्थाले हरेक पृथक् समूहलाई पनि हिन्दूकरण गरी जात व्यवस्थालाई फैलाउने कार्य गर्‍यो । त्यसलाई अझै जब्बर बनाउने काम जंगबहादुरको मुलुकी ऐनले गर्‍यो ।

हिन्दू वर्ण व्यवस्था आफैंमा विभेदी छ जसलाई मनुस्मृतिले झनै मलजल गरिदिएको थियो । आज तिनै मनुवादी चिन्तन र जंगबहादुरको मुलुकी ऐन अधिकांश नेपाली जनको गिदीमा कसैमा प्रखर त कसैमा सुषुप्त ढंगले विकास भएको/रहेको पाइन्छ ।

नेपालमा महिलामाथि इतिहासदेखिको शोषण त व्याप्त छ नै, कथित माथिल्लो भनिएका जातका महिलाले पनि एकोहोरो पुरुष उत्पीडन भोगेका छन् । तर जातव्यवस्थाका कारण जनजाति, दलित, मधेसी, सीमान्तकृत र अल्पसंख्यक महिलामाथिको उत्पीडन चौतर्फी छ । जो उत्पीडितहरूभित्रका पनि उत्पीडित हुन् ।

प्रत्येक व्यवस्था पितृसत्तात्मक सोचबाट निर्मित छ । महिलाका भूमिका, कार्यक्षेत्र सबै पुरुषद्वारा निर्दिष्ट छन् । वेद, उपनिषद्, गीता, स्वस्थानी जस्ता धार्मिक ग्रन्थ र बधू शिक्षा जस्ता अनेकन् पुरुष रचित साहित्य जो कथित उच्च जात त्यसमा पनि पुरुषद्वारा रचित छन्, तिनलाई दिमागमा लिएर हिंडेको नेपाली समाज हो यो ।

हिन्दू वर्ण व्यवस्थामा नअटाएका समुदायको पनि हिन्दूकरण भएपछि नेपाली समाजको जुनसुकै समुदाय पनि हिन्दू वर्ण व्यवस्थाले निर्माण गरेको विभेदको चेतनाबाट मुक्त छैन । जहाँ पलपलमा प्रश्नहरू माथि निषेध गरिन्छ ।

जहाँ- ‘तिमीले ल्याएको पनि केही छैन र गुमाएको पनि केही छैन’ भनेर कोही दुःखमा परेका मान्छेलाई देखाएर आफूलाई सन्तुष्ट हुन सिकाइन्छ । जहाँ- ‘जे भो राम्रै भो र राम्रैका लागि हुनेछ’ भनेर घटनाहरूलाई सामान्यीकरण गरिदिइन्छ । जहाँ- ‘एकातिर मातातीर्थ औंसीका दिन आमा महान् भन्ने भाष्य बनाइन्छ र ३६५ दिन (औंसीकै दिन पनि आमा वृद्धाश्रममा छाडेर आमाको मुख हेर्ने दिनको शुभकामना दिने जमात छ ।) नै अपमान गरिन्छ ।’

जहाँ- ‘श्रीमतीलाई भोको राखेर आफ्नो आयुको बढोत्तरीको कामना गर्न लगाइन्छ ।’ जहाँ- ‘कुमारीत्व र चरित्रको पाठ निरन्तर रटाइन्छ ।’ जहाँ- ‘७ वर्षे बालिका र ७० वर्षे बुढो पुरुषको प्रेम मज्जासँग पचाइन्छ ।’

बलात्कार शब्द आफैंमा दर्दनाक छ । बलात्कार र त्यसपछि हत्या हुने घटना दिनप्रतिदिन बढेको बढ्यै छ । यति गम्भीर विषयलाई लिएर किन कोही संवेदनशील हुन खोज्दैन ?

 

जहाँ- ‘एक शताब्दी अघिसम्म जीवित महिला सतीत्वको नाममा जलाइन्थ्यो ।’ जहाँ- ‘आमाको नामबाट नागरिकता दिने कुरा उठ्दा भयंकर राष्ट्रवादको जन्म हुन्छ र देश फिजीकरण हुने कोकोहोलो व्यक्त गरिन्छ ।’ यसरी निर्माण भएको चेतना र पलपल, हरक्षण महिलामाथि नियन्त्रण, निषेध, दमन र शोषण गरिरहेको यो समाजको विभेदको फेहरिस्त यिनका धार्मिक ग्रन्थभन्दा पनि बढी छन् ।

यिनीहरूले नै निर्माण गरेको कानुनको परिधिभित्र रहेर यी र यस्तै जमातहरूका बीच आफूमाथि भएको शोषणलाई बाहिर ल्याउन कति कष्ट व्यहोर्नुपर्छ भन्ने कुरा हामीले अनुमान त लगाउन सक्छौं तर वास्तविकता स्वयम् भोग्नेलाई अझ प्रष्टसँग थाहा हुन्छ ।

नेपालमा १ भदौ २०७५ बाट लागु हुने गरी मुलुकी अपराध (संहिता) २०७४ जारी भएको छ । यसको परिच्छेद-१८ को दफा २१९ को उपदफा ४ मा ‘वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जबर्जस्ती करणी गरेमा पाँच वर्षको कैद हुनेछ ।’

करणी सम्बन्धीको गतिलो उदाहरण हो यो । त्यस्तै मुलुकी अपराध (संहिता)२०७४ को परिच्छेद -१८ को दफा २१९ को उपदफा २ मा ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबरजस्ती गरेको मानिनेछ ।’

यसरी कानुनमै व्यवस्था भएको विषयमा समेत कानुन नै फेरेर पीडक जोगाउने मनोविज्ञान कसरी पलाउँछ ? यस्तो कानुन अहिलेसम्म किन बनेन ? यस्ता खालका बहस अहिलेसम्म किन चलेनन् ? संसारभर यौनसम्बन्धलाई लिएर अनेकन् डिस्कोर्स चलिरहँदा यहाँ किन चलेनन् ? भनेर कहिल्यै प्रश्न नगर्ने र उल्टै उमेर हद बढी भो र १८ वर्षमुनिका बालिकालाई करणी गर्न पाउनुपर्छ भन्ने घुमाउरो भाष्य समेत प्रस्तुत गर्ने जमातदेखि उदेक नलागे के लाग्छ ?

घरी महिला, जनजाति, दलित, मुस्लिम, अल्पसंख्यक, अपाङ्गता भएका व्यक्तिहरूले प्राप्त गर्ने ४५ प्रतिशतको आरक्षण सिटमा आफ्नो भाग खोसिएको भन्दै भँडास पोख्छ यो जमात ।

घरी आरक्षण दिएपछि छुवाछूत गर्न पाउनुपर्छ भनेर कुर्लिन्छ यो जमात । यस्तै भाइरस जमात हामीले अझै कति झेल्नुपर्ने हो थाहा छैन । यो ‘हिस्ट्री डजन्ट म्याटर’ भनेर इतिहासदेखिका दमन लुकाउने परिपाटीको होइन, यो दमनको खोजी गरी गरी इतिहासको क्षतिपूर्ति दिलाउने समय हो । विभेदको चेतना नकारात्मक होइन सकारात्मक हुनुपर्छ । सकारात्मक विभेदको चेतना आजको पुस्तालाई अवगत गराउनु अनिवार्य छ ।

समयसँगै चेतनाको विकास मात्रै होइन हस्तान्तरण पनि भैरहेको हुन्छ । हाम्रो पुस्तामा कस्तो खालको चेतना विकास भई हस्तान्तरण भएको रहेछ भन्ने कुरा बुझ्न त्यति मुस्किल पर्दैन । पछिल्लो समयमा एउटा बालिग नायक र नाबालक गायिकाको विषयलाई लिएर सामाजिक सञ्जाल, चियापसल, भट्टी, सार्वजनिक यातायात जहाँतहीं सामाजिक चेतना पोखिएका छन् ।

पोखिएका चेतनाहरूलाई बुझ्दा समाजको डरलाग्दो मनोविज्ञान र चित्र एकैसाथ आउँछ । केही वाक्यांशहरू जसले हाम्रो सामाजिक चेतना र युवाहरूको मनोवृत्तिलाई प्रतिनिधित्व गरिरहेका छन्, जस्तै; ‘मन मिले चमत्कार मन नमिले बलात्कार’ ।

यौनलाई लिएर आएको यो प्रतिक्रियाले हाम्रो समाजको यौन मनोविज्ञान प्रष्टै झल्काइदिन्छ । यौन भनेको चमत्कार हो भन्ने यस्तो खालको भाष्य यही समाजले निर्माण गरेको हो । यो वाक्यांशले बारम्बार शिक्षामा गरिएका लगानी बालुवामा पानी सावित गरिदिएको छ । व्यवहारमा नआएको शिक्षा फगत प्रमाणपत्र लिएर निरन्तर हिंसा गरिरहेको हुन्छ । यौन शिक्षाको मामलामा अत्यन्तै कमजोर देखिएको छ हाम्रो शिक्षा ।

यही सन्दर्भमा मलाई विद्यालय तहमा अध्ययन गर्दा ताकाको कुरा स्मरण गर्न मन लाग्यो । कक्षा नौ(९) मा जनसंख्या तथा वातावरण शिक्षा भन्ने विषयमा एचआईभी/एड्स, सुजाक र भिरिङ्गी जस्ता यौनरोगको पढाइ चलिरहेको थियो, भिरिङ्गीका बारेमा मैले विषय शिक्षकलाई प्रष्ट पारिदिन अनुरोध गर्दा पूरै कक्षाकोठामा गलल्ल हाँसो छुटेको थियो । कतिपय साथीले त ‘तँलाई पनि भिरिङ्गी लागेको छ क्या हो ?’ सम्म भन्न भ्याए, मलाई आफ्नो उक्त प्रश्नप्रति नै उल्टै ग्लानि महसुस भएको थियो ।

त्यो त विद्यालय स्तरका कुरा भए (नौ कक्षामा अध्ययन गर्ने विद्यार्थीको उमेर समुह १४/१५/१६ को थियो) । हालै हामीले स्नातक तह तेस्रो वर्षको परीक्षा दियौं (समाजशास्त्र र अर्थशास्त्र विषयमा) । समाजशास्त्र विषयमा स्नातक गरिसकेका हामी/हाम्रो साथी सर्कल केही समयपछि स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र लिएर दीक्षान्त समारोहमा टोपी उडाउने तरखरमा छन्/छौं। तर तिनै साथीहरूले पछिल्ला घटनालाई लिएर जनाएका प्रतिक्रियाले मलाई भयभीत बनाएको छ । उनीहरूको भनाइ थियो- ‘आरोपित अभिनेताको विरुद्धमा बोल्नेहरू १८ महिनाकी बालिकाको बलात्कारपछि हत्या हुँदा चाहिं कुन दूलोमा छन् ?’

यति गम्भीर घटनालाई यसरी चित्रित गरिरहेका समाजशास्त्रका विद्यार्थीको बुझाइ नै यो देखिन्छ भने आम मानिसको बुझाइ के होला ? (समाजशास्त्रको अध्ययन गर्नेले मात्र घटना बुझ्छ भन्न खोज्या होइन) … विश्वविद्यालयले पनि सकेसम्म चेतना उकास्न सकेको छैन । डिग्रीको प्रमाणपत्र हातमा लिएर दिमागमा चाहिं पितृसत्ता, उच्च जातीय अहमता, लैङ्गिक पूर्वाग्रह बोकेर हिंडिरहेका विद्यार्थी नै विश्वविद्यालयका उत्पादन हुन् र हाम्रो शिक्षाको हविगत यही नै हो ।

यौन शिक्षा प्रभावकारी नहुनु र यौन सम्बन्धी माथि उद्धृत गरेजस्ता मनोविज्ञान प्रकट हुनुले, यौन सम्बन्धीको चेतना कहाँनिर छ थाहा पाउन गाह्रो नै भएन । प्रजनन क्षमता नै विकास नभइसकेको अवस्थामा रहेकी नाबालकसँगको यौन कस्तो चमत्कार हो ?

केही दिनअघि एउटी १४ वर्षीय बालिकाको बलात्कारपछि हत्या भएको समाचार आयो । लगत्तै एउटी १८ महिनाकी दुधे बालिकाको बलात्कार पछि हत्या भएको समाचार आयो । यी घटना कति दर्दनाक र दुःखद छन् भन्ने कुरा त्यसको असह्य पीडा प्रत्यक्ष भोगिरहेका बालिकाका परिवारलाई जति अरुलाई थाहा/अनुभूति कमै होला । यही हो चमत्कार ?

बलात्कार शब्द आफैंमा दर्दनाक छ । बलात्कार र त्यसपछि हत्या हुने घटना दिनप्रतिदिन बढेको बढ्यै छ । यति गम्भीर विषयलाई लिएर किन कोही संवेदनशील हुन खोज्दैन ? यसमा किन बृहत् बहस हुँदैन ? यस्तो जघन्य अपराधमा पनि समाज किन उल्टै हिंस्रक, पीडक र हत्याराकै पृष्ठपोषण गरिरहन्छ ? जिम्मेवार त बालिग हुनुपर्ने हो, सामाजिक संरचना र चेतना हुनुपर्ने हो, प्रश्न त बालिगलाई गर्नुपर्ने हो, सामाजिक संरचना र चेतनालाई गर्नुपर्ने हो ।

यहाँसम्म चेतना पुग्न कति युग कुर्नुपर्ने हो ? शारीरिक रूपमा अवैध सम्बन्ध राख्ने बालिग र उसकै पक्षमा आएका अनेकन् प्रतिक्रियाले नाबालकको मानसिकतामा‌ कति आघात पुग्यो भनेर कसैले किन सोच्दैन ? केही समयअघि मलाई एउटी साथीले भनेकी थिइन्, ‘शारीरिक स्वास्थ्य त बुझ्न नचाहने समाजमा तिमी मानसिक स्वास्थ्य बुझ्लान् भनेर कसरी आशा गर्न सक्छौ ?’

यो कुराले गहभरी आँशु भएको थियो मेरो । हो, रजस्वला नबुझेर छाउगोठमा छोरीलाई यातना दिएर (यो यातना नै हो) मारिरहेको समाजले, दाइजो र बोक्सीका नाउँमा जिउँदै महिला जलाइरहेको समाजले (एक शताब्दी अघिको सतीप्रथा सोचमा मात्र होइन व्यवहारमा पनि अझै छ) मानसिक र शारीरिक स्वास्थ्य त के थोरैभन्दा थोरै मानवीयता पनि बुझेको छैन ।

अहिले घटिरहेका घटना नै सामाजिक यथार्थता हो र यसमा आएका निकृष्ट प्रतिक्रिया र प्रतिक्रियाधारीहरू सम्भावित हिंस्रक र पीडक हुन् भन्दा अतिशयोक्ति हुनेछैन । त्यस्तै प्रतिक्रियाहरूमा आएको छ अर्को वाक्यांश, ‘यदि ती अभिनेता बलात्कारी हुन् भने हामी पनि हौं ।’

यो प्रतिक्रिया अधिकांश युवा, अधबैंसेहरूले जनाइरहेका देखिन्छन्/सुनिन्छन् । हाक्काहाक्की यस्तो तुच्छ अभिव्यक्ति दिने हिम्मत कहाँबाट आउँछ ? उत्तर सजिलो छ समाजबाट …! यही अभिव्यक्तिलाई हेरेर पनि भन्न सकिन्छ कि नेपाली समाज बलात्कारीहरूको समाज हो भनेर ।

हाक्काहाक्की यति असंवेदनशील वाक्यांश बोलिरहेको समाज बलात्कारीहरूको समाज नै हो । सबैभन्दा दुःखद कुरा त के हो भने यो समाज यसरी नै दिनप्रतिदिन विकास भैरहेको छ र अपराधीहरू उत्पादन गरिरहेको छ ।

माथि उल्लेखित वाक्यांश त केही प्रतिनिधि वाक्यांश हुन् । जति पनि युवाहरूको प्रतिक्रिया देखिन्छ/सुनिन्छ, त्यसैले प्रस्ट्याउँछ कि हाम्रो पुस्ताको चेतना स्तर कतिसम्म कमजोर छ भनेर ।

अघिल्लो पुस्ताको चेतना भन्दा पनि जब्बर, अनुदार, असंवेदनशील, असहिष्णु र लाचार चेतना त पछिल्लो पुस्तामा झनै झांगिएको देख्न सकिन्छ । हाम्रो पुस्ताले न त पुराना मान्यताको विरुद्ध आवाज उठाउने साहस राख्छ न त नयाँ वैचारिकी निर्माणार्थ आधार नै तयार गर्छ ।

लेखक स्वयंको चेतना स्तर समाजको चेतना र युवाहरूको मनोवृत्तिको कुरा गरिरहेको लेखक आफैं पनि यही समाजमा हुर्किएको र युवा भनिएको पुस्ता हो । लेखकको चेतना पनि यही सामाजिक संरचनाबाटै निर्माण भएको छ । सामाजिक संरचना जति विभेदी छ, तिनै कुरा लेखकले पनि जन्मे/हुर्केदेखि अञ्जानमा बोक्दै आएको सत्यलाई अस्वीकार गर्न सक्दैन ।

लैङ्गिक पूर्वाग्रह र पितृसत्तात्मक सोच सुषुप्त रूपमा लेखक स्वयंमा पनि छैन भन्ने आधार छैन । लेखकले अञ्जानमा बोकेका यस्ता सोच असल मार्गदर्शकहरूले पहिल्याइदिंदा लेखक स्वीकारोक्ति सहित आत्मालोचना गर्न चाहन्छ र आफूलाई थप परिष्कृत गर्दै लैजान चाहन्छ ।

उत्तरआधुनिकतावादको ६ दशक बितिसक्दा पनि पुराना मान्यता, रीतिरिवाज, परम्परा, संस्कृति, कला, भाषा, संगीत दर्शन, साहित्य, सिद्धान्तहरू, व्यवस्था, कानुन, पुराना राजनीतिक वैचारिकता भन्दा माथि उठ्न नसकेको समाजमा जागरण ल्याउनुपर्छ, साथै नयाँ भनिएकै आधुनिकताको पनि पुनर्व्याख्या, पुनर्परिभाषा, पुनर्विचार र पुनर्विश्लेषण गर्नुपर्छ र आलोचनात्मक चेतको विकास गर्नुपर्छ भन्ने चेतना लेखकमा विकास हुने चरणमा छ ।

उत्तरआधुनिकतावाद एउटा वैचारिक आन्दोलन हो । मानवतालाई केन्द्रमा राखेर समतामूलक समाजको निर्माण गर्न नयाँ खालको वैचारिकी निर्माण र प्रकृतिको रक्षार्थ काम गर्नुपर्छ भन्ने चेतना लेखकमा विकास भैरहेको छ । फरक क्षमता, अस्तित्व र बहुतहको ज्ञानलाई स्वीकार्नु र बहु सन्दर्भ/बहु पृष्ठभूमिबाट निर्माण भएको सामाजिक सत्यताको खोज गरी बहुलतामा केन्द्रित गरी विवेचना गर्नुपर्छ भन्नेसम्म चेतना लेखकमा विकास भइरहेको छ र अझै विस्तार हुने क्रममा छ ।

अरुको चेतनाको कुरा गरिरहँदा लेखक आफूले आफूलाई चाहिं भयंकर चेतनशील र अरुभन्दा पृथक कदापि ठान्न चाहँदैन । यदि उक्त आशय यो लेखमा भेटिन गएमा लेखक स्वीकारोक्तिसहित आत्मालोचना गर्न र आफूलाई परिष्कृत गर्न चाहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?