+
+

नारायणी अस्पतालमा प्रयोगशालाका कर्मचारीमाथि कुटपीट

कुटपीटमा संलग्न दुई जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ८ गते १६:२५

८ चैत, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालको इमर्जेन्सी प्रयोगशालामा कार्यरत दुई जना कर्मचारीमाथि कुटपिट भएको छ । प्रयोगशाला प्राविधिक वीरगञ्ज–२६ बस्ने अताउल हक र स्वीपर महेन्द्र राउतमाथि कुटपिट भएको हो ।

सोमबार राति साढे ९ बजेतिर रगत परीक्षणको रिपोर्ट माग्न आएका विरामीका आफन्तले उनीहरु माथि हातपात गरेका हुन् । ४÷५ जनाको समूहले उनीहरुलाई कुटपिट गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार स्वीपर राउत पञ्जा लगाएर सरसफाइको काम गरिरहेका थिए भने र प्राविधिक हक प्रयोगशालामा व्यस्त थिए । ‘रिपोर्टका लागि एकैछिन पर्खनुस’ भन्दा आक्रोशमा आएर गाली गलौज गर्नुको साथै आफूहरुलाई कुटपीट समेत गरेको पीडितहरुले बताएका छन् ।

प्रहरीले कुटपिटमा संलग्नको आरोपमा बाराको प्रसौनी गाउँपालिका ६ बस्ने २६ वर्षीय आदर्श साह र २० वर्षीय आकाश साह पक्राउ गरेको छ । उनीहरु बहिनीको प्रसुति गराउन नारायणी अस्पताल आएका थिए ।

रिपोर्ट लिने क्रममा स्वास्थ्यकर्मीलाई हातपात गरेको आरोप उनीहरु माथि लागेको छ । दुवैजनालाई नियन्त्रणमा लिएर घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको उनको भनाइ छ । उनीहरुले प्रयोगशाला भित्रै पसेर कुटपीट गर्दा माइक्रोस्कोप, कम्प्युटर, प्रिन्टर, कुर्सी, ट्युब राख्ने भाँडो लगायतका सामाग्रीमा क्षति पुगेको छ ।

प्रयोगशालामा झण्डै डेढ लाख बराबरको नोक्सानी भएको इन्चार्ज हिराबाबु पाण्डेले जानकारी दिए । ‘काम गर्न केही समय लाग्नेवित्तिकै कर्मचारीलाई गाली गलौज र कुटपीट गर्छन्’ उनले भने, ‘सीमित स्रोत साधन र सेवा सुविधामा काम गर्नुपर्छ । यसरी असुरक्षित भएर त कसरी काम गर्ने ?’

डाक्टर प्रभाकर पाण्डेले प्रयोगशाला भित्रै पसेर स्वास्थ्यकर्मी माथि आक्रमण गर्नु निन्दनीय कार्य भएको बताए । काम गर्न सुुरक्षित वातावरण चाहिने बताउँदै उनले यसबारेमा अस्पताल प्रशासनसँग छलफल गरेको समेत बताए ।

‘इमर्जेन्सी ल्याब अलि टाढा छ । इमर्जेन्सी कक्षमै ल्याब राख्न गृहकार्य पनि भइरहेको थियो’, उनले भने ‘ल्याबका लागि आवश्यक उपकरणको अभावमा स्थापना गर्न सकेका थिएनौं । त्यसले गर्दा पनि बेला बेलामा समस्या आउँछ ।’

अस्पतालले कुटपिट गर्नेहरु विरुद्ध कानुनी कारबाहीको प्रक्रिया अघि बढाइदिन प्रहरी समक्ष आग्रह गरेको छ । अस्पतालले गरेको आग्रह अनुसार नै आरोपीहरु विरुद्ध अभद्र व्यवहारको मुद्धामा पर्सा जिल्ला अदालतमा म्याद थपका लागि पठाइएको वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेशराज पुरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?