
९ चैत, काठमाडौं । साझा हितका क्षेत्रमा सहकार्य गर्ने गरी लगानी बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । संस्थागत क्षमता अभिवृद्धि, सार्वजनिक निजी साझेदारी र निजी लगानी प्रवर्द्धनमा सहकार्य गर्ने गरी समझदारी भएको बोर्डले जनाएको छ ।
समझदारी पत्रमा लगानी बोर्डको तर्फबाट बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र यूएनडीपीका तर्फबाट आइसानी मेदागान्गोदा लाबेले हस्ताक्षर गरेका छन् ।
समझदारीपत्रमा नेपालमा सार्वजनिक–निजी साझेदारी, निजी क्षेत्रको लगानी र समिश्रित वित्तका माध्यमबाट लगानी प्रवर्द्धन गर्दै वित्तीय न्यूनतालाई पूर्ति गरी दिगो विकास लक्ष्य हासिल गर्ने उल्लेख छ ।
परियोजना विकासमा सामाजिक र वातावरणीय प्रभाव मूल्यांकन मापदण्ड, परियोजना विकास सम्झौता परियोजना लगानी सम्झौता निर्माणमा अध्ययन अनुसन्धान गर्ने र त्यस्तो कार्यका लागि सहयोग स्थापित गर्ने कुरा पनि उल्लेख छ ।
प्रतिक्रिया 4