+
+

प्रचण्डलाई दिग्दार बनाउने गण्डकीको गुटबन्दी

गण्डकीमा पदाधिकारी टुंगो, महानगरमा अझै लफडा

अमृत सुवेदी अमृत सुवेदी
२०७८ चैत १० गते १७:०४
गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा विचार राख्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्वीर : प्रचण्डको सचिवालय

१० चैत, पोखरा । ‘गुटबन्दी, अराजकता, तछाडमछाडले गण्डकी प्रदेशले खडा गरेका कृतिमानहरु विघटित, विस्थापित र आतंकजस्तो बन्न पुगेको देख्दा ठूलो चिन्ता लागेको छ,’ पोखरा सभागृहमा आइतबार प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षणमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भनेका थिए ।

अरु प्रदेशमा ऊर्जाका साथ प्रशिक्षण गरेको, तर गण्डकी प्रदेशमा आउँदा चिन्ता, गम्भीरता महसुस भएको प्रचण्डले बताए । ‘यहाँ पार्टीभित्र भएको झमेला, गुटबन्दी, खुट्टा तानातान, मारामार छ,’ प्रचण्डको आक्रोश थियो, ‘पोखरा महानगरपालिकामा त एउटा गुटले अर्को गुटलाई हराउन केके गर्न सकिन्छ सबै गर्न थाल्नु भएछ ।’ स्थानीय तहको चुनावमा आक्रामक ढंगले पार्टीलाई लैजानुपर्नेमा नेताहरु गुटगत दलदलमा फसेकोमा प्रचण्डले दिग्दारी पोखे ।

माओवादी केन्द्र गण्डकी प्रदेश कमिटीको अध्यक्ष चुनिएको करिब ४ महिना पुग्न लाग्दा पनि पदाधिकारी टुंगो लाग्न सकेको थिएन, पोखरा महानगर कमिटीमा गुटगत राजनीतिले ठूलो मतभेद सिर्जना भएको छ । प्रचण्डले दिग्दारी र आक्रोश पोखेपछि माओवादीले बुधबार राति निर्वाचनमार्फत गण्डकी कमिटीको पदाधिकारी टुंगो लागेको छ । ८ पदाधिकारीका लागि १८ जनाको उम्मेदवारी परेपछि मतदान भएको थियो ।

उपाध्यक्षमा गुणाखर बस्याल (पर्वत), मित्रशरण शर्मा (नवलपुर), ज्ञामनाथ गैह्रे (बाग्लुङ) निर्वाचित भए । सचिवमा जगन्नाथ खनाल (गोरखा) र सहसचिवमा अतिन्द्रकेशरी न्यौपाने (तनहुँ),मेख बहादुर भण्डारी (लम्जुङ), टेकबहादुर बिक (म्याग्दी) निर्वाचित भए भने कोषाध्यक्षमा तारा भुषाल (स्याङजा) चुनिए ।

गण्डकी प्रदेशमा निर्वाचित माओवादी केन्द्रका पदाधिकारीहरू

तर पोखरा महानगर कमिटीको मुद्दा माओवादीभित्र झनै गम्भीर हिसाबले सल्किएको छ । पोखरा महानगर कमिटीमा एकले अर्काको अस्तित्व नै स्वीकार नगर्ने र महानगर कमिटीको पदाधिकारीलाई अस्वीकार गर्दै बहुमत सदस्यले हस्ताक्षर गरेर केन्द्रदेखि प्रदेशसम्म पत्र नै बुझाएका छन् । प्रचण्डले भनेझैं कास्कीमा एक गुटले अर्को गुटको अस्तित्व नै नस्वीकार्ने चित्र देखिएकै छ ।

२४ मंसिरमा सकिएको पोखरा महानगर कमिटीको अधिवेशनले पदाधिकारीको टुंगो लगाउन नसकेपछि ९९ सदस्यीय कमिटीमात्र घोषणा भयो । धेरै जना आकांक्षी हुँदा सहमति नजिक नेताहरु पुग्न सकेनन् । पोखराको अधिवेशनमा मुख्यतया केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज राजकाजी गुरुङ (करण) र केन्द्रीय सदस्य तथा पोखरा महानगर इन्चार्ज दीपक कोइरालाबीच प्रतिष्ठाको लडाइँ देखिएको छ । फागुन १९ गते गण्डकी प्रदेश सांसदसमेत रहेका पोखरा नगर इन्चार्ज कोइरालाले नगर कमिटीको बैठक बोलाए । बैठकमा उपस्थित ज्येष्ठ सदस्य हर्कमान विकको अध्यक्षतामा बसेको बैठकले हरिनारायण गिरी (विज्ञान)लाई अध्यक्ष चयन गर्दै पदाधिकारीको टुंगो लगायो ।

महानगर कमिटीको उपाध्यक्ष हर्कमान विक, पुष्पकमल ढुंगाना, भानु अधिकारी, सचिव जनकराज पराजुली, सहसचिव विमला पहारी, कोषाध्यक्ष सूर्यप्रकाश तिवारीलाई चयन गरिएको थियो । तर, बैठकको निर्णय अमान्य हुने र विधिसंगत नेतृत्व चयन नभएको भन्दै बहुमत सदस्यले आपत्ति जनाए ।

महानगर इन्चार्ज कोइरालाले विधि मिचेर पदाधिकारी घोषणा गरेको भन्दै केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज राजकाजी समूहले विरोधमात्रै गरेन, फेरि अर्को कमिटी घोषणा हुनुपर्ने माग गर्दै प्रदेशदेखि प्रचण्डसम्मलाई पत्र बुझाएको छ । घाेषित पदाधिकारीलाई अश्वीकार गर्दै अध्यक्षका लागि आफ्नाे दाबी गरिरहेका विपिन आचार्यकाे समूहलाई राजकाजीले समर्थन गरेका छन् ।

आचार्यकै नेतृत्वमा ५७ जनाको हस्ताक्षर र ३ जनाको समर्थनसहित महानगर इन्चार्ज कोइरालाले स्वेच्छाचारी ढंगले पदाधिकारी तोकेको भन्दै यो कमिटी भंग गरेर अर्को बनाउनुपर्ने माग राखेको छ । ज्येष्ठ सदस्य र निर्वाचन समितिलाई पनि खबर नगरी पदाधिकारी घोषणा गरिएको राजकाजी गुरुङ पक्षधर समूहको आरोप छ ।

महानगर इन्चार्ज कोइरालाले कार्यविधिले दिएको अधिकार र बैठकको बहुमत निर्णयबाट पदाधिकारीको ढुंगो लगाइएको र पछि बाहिरबाट त्यसको विरोध गरिएको बताए । ‘बैठकमा सर्वसम्मत भएकै हो । अध्यक्षता गरेका ज्येष्ठ सदस्य पनि उपाध्यक्ष हुनुभएको हो,’ कोइरालाले भने, ‘बैठकमा सहमति गरेर बाहिर गएपछि चलखेल भएको हो ।’

सकेसम्म सहमति गराउने र त्यो नभएमात्र निर्वाचन समितिको आवश्यकता रहेको कोइरालाको भनाइ थियो । ‘अब दोस्रो बैठक बोलाउने र त्यो बैठकले पनि सहमति गर्न नसके बल्ल अर्को कमिटीको कुरा उठ्ने हो । विधिसम्मत भएकाले यही समितिको निर्णय कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो,’ कोइरालाले भने ।
कम्युनिस्ट पार्टीभित्र विधिसंगत नभएको निर्णय अमान्य हुने बताउँदै अध्यक्षका प्रत्यासी आचार्यले केन्द्र र प्रदेशका नेताले नै यसको टुंगो लगाउने बताए । एकले अर्कोलाई नस्वीकार्ने र को नेता बन्ने भन्ने होडबाजीले पोखरामा यो समस्या आएको माओवादी एक केन्द्रीय सदस्यले बताए ।

कास्कीमा पछिल्लो समय राजकाजी र दीपकबीच प्रतिष्ठाको लडाइँ बढ्दै गएको एक नेताले बताए । राजकाजी पूर्व संविधान सभा सदस्य हुन् । उनी यसअघि पनि केन्द्रीय सदस्य थिए । माओवादी सेनाका कमाण्डर कोइराला प्रदेश सभा सदस्य तथा विकास समिति सभापति हुन् । उनी अहिले केन्द्रीय सदस्य बनेका छन् । राजनीतिमा हस्तक्षेप गरिरहेका कोइराला जनादर्न शर्मा निकट नेता मानिन्छन् ।

प्रचण्ड पक्षकै भए पनि कास्कीमा को नेताका रुपमा स्थापित हुने भन्ने होड छ । कास्कीकै नेता रामजी बराल र अन्य नेताबीच पनि प्रतिस्पर्धा छ । कोइराला र अहिले गण्डकीको अर्थमन्त्रीसमेत रहेका रामजी बरालबीच को अघि बढ्ने र कसले प्रभाव पार्ने भन्ने पहिलेदेखि नै कास्कीमा अघोषित प्रतिस्पर्धा थियो ।

यसकै प्रभाव गण्डकी प्रदेशमा पनि पर्दै आएको छ । गण्डकी प्रदेश सभादेखि पार्टीको राजनीतिमा कसको प्रभाव जमाउने भन्ने नेताहरु प्रतिस्पर्धा चल्दै आएको छ । नेता मोहन वैद्य समूहमा लागेर रामबहादुर थापा हुँदै माओवादीमा फर्किएका हरिबहादुर चुमानले पनि माओवादीभित्र एउटा शक्तिको नेतृत्व गरिरहेका छन् ।

एमालेका पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकारका कानुनमन्त्री चुमान पनि माओवादी केन्द्रीय सदस्य छन् । प्रदेश सभा सांसद आशा कोइराला पनि माओवादी राजनीतिको केन्द्रमै छिन् । गण्डकीबाट नारायणकाजी श्रेष्ठ, देव गुरुङ, देवेन्द्र पौडेल, हितराज पाण्डे, हरि अधिकारी लगायत केन्द्रीय नेताहरु छन् । ‘राजनीति गर्दै जाँदा एउटा विचार समूह निर्माण हुने रहेछ । गुटगत अस्वस्थ प्रतिस्पर्धाभन्दा पनि गण्डकीमा को अगाडि बढ्ने, कसले कसलाई उछिन्ने भन्ने देखिएको छ, त्यो अझै बढी कास्कीमा बढेको छ,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यही प्रवृतिविरुद्ध अध्यक्ष प्रचण्डले आक्रोश पोख्नुभएको हो ।’

गण्डकी प्रदेशको पार्टी प्रशिक्षणमा विचार राख्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्वीर : प्रचण्डको सचिवालय

लथालिंग मिडिया र सहकारी

पोखरा आउनेबित्तिकै महानगर कमिटीमा बढिरहेको लफडा, गण्डकीमा मौलाइरहेको गुटगट तथा निषेधको राजनीति, माओवादी शान्ति प्रक्रियामा आएपछि खोलिएको मिडियाको दयनीय अवस्थाबारे छुट्टाछुट्टै समूहले प्रचण्डलाई ब्रिफिङ गरेको थियो ।

पोखरामा माओवादी शान्ति प्रक्रियामा आएपछि गण्डकी मिडिया हाउसको रुपमा टिभी, रेडियो, पत्रिका मिसनकै रुपमा सञ्चालनमा थियो । तर, पत्रिका केही वर्षपछि नै बन्द भयो भने रेडियो, टिभी धराशायी छ । कर्मचारी आफ्नो सुविधाबाटसमेत वञ्चित छन् ।

माओवादीले चलाएको सहकारीको अवस्था खराब छ । कास्की र गण्डकीकै नेताहरुको कारण यो सबै बिग्रिएको प्रचण्डलाई बिफ्रिङ भएपछि कार्यकर्ता प्रशिक्षणको सुरुआत नै यसैबाट गरेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि टिभी, प्रेस, रेडियो, स्कुल सञ्चालन भएको स्मरण गर्दै प्रचण्डले भने, ‘अहिले ती धुलोपीठो र खरानी भएर सबै नेताहरु नै आतंकित भएको देखें मैले र म चिन्तित छु ।’

चौतर्फी विजयी भएको गण्डकी प्रदेशमा किन यति छिटो विचलनका संकेतहरु गम्भीर ढंगले देखा परे, आफ्नै साथीहरुलाई खुइलाउन लडाभाँती गर्ने स्थिति कसरी आयो ? भन्ने आफूले बुझ्न नसकेको प्रचण्डको भनाइ थियो । ‘कास्की जिल्लाको पार्टी लथालिंग, भाताभुंग भएको हेर्न निकै गाह्रो परेको छ । हामी पनि समीक्षा गर्छौं,’ प्रचण्डको भनाइ थियो ।

गण्डकी प्रदेश सभाको तेस्रो पार्टी माओवादीका १२ सांसद छन् । गण्डकी ८५ स्थानीय तहमा १२ जनामात्र अध्यक्ष/उपाध्यक्ष छन् । पोखरा महानगरमा माओवादीका प्रतिनिधि शून्य छन् । यस्तो गुटबन्दी कायमै रहे गण्डकीमा भएको शक्ति पनि गुम्ने उनको संकेत थियो ।

यो गुटबन्दी गर्ने, अराजकता गर्ने, पद प्रतिष्ठा गर्ने सबैलाई बिदा गरेर मसँग आउन चाहने र फेरि एउटा नयाँ क्रान्ति गर्न चाहने साथीहरु को हो, बिना स्वार्थ मसँग आउनुस् भनेर अपिल गरौं कि जस्तो आफूलाई लाग्ने गरेको प्रचण्डको भनाइ थियो । ‘हेर्नुहोला आजै त केही अपिल गर्दिनँ, स्थानीय चुनावको मुखमै त मैले केही गर्दिनँ तर आउँदो चुनावपछि केही न केही ठूलो गरेर जान्छु भन्ने ठानेको छु । यत्तिकै त छोड्दिनँ,’ प्रचण्डको घुर्की थियो ।

लेखकको बारेमा
अमृत सुवेदी

पोखरामा रहेर पत्रकारिता गरिरहेका सुवेदी अनलाइनखबरका गण्डकी प्रदेश ब्युरो प्रमुख हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?