१० चैत, धनगढी । शरीर पसिनाले निथ्रुक्क भिजेको छ । चर्को घाममा झण्डै ४ घण्टादेखि लाइनमा उभिँदा पसिनाले भिजेको कपडा टाढैबाट प्रष्ट देखिन्छ । र पनि कुनै प्रवाह नै नगरी उनी हातमा शैक्षिक योग्यताका प्रमाण पत्र र आवेदन फारम बोकेर लिएर लामबद्ध थिए ।
निधारबाट मुख हुँदै छातीतिर झरेका पसिना रुमालले पुछ्दै जिल्ला प्रहरी कार्यालय धनगढीमा लाइन बस्ने डोटीको जोरायल गाउँपालिका– ४ का मिलन मगर हुन् ।
‘बिहान ठीक १० बजे यहाँ आइपुगेको थिएँ, अहिले घडीमा दिउँसोको २ बज्यो, तर पालो आएको छैन,’ मगरले अनलाइनखबरसँग भने, ‘यो ४०/४५ दिनको जागिरका लागि यति धेरै कष्ट गर्ने रहर होइन बाध्यता हो । घरको आर्थिक अवस्था निकै कमजोर छ । आफ्नो पढाइ खर्च जुट्छ कि भन्ने आशाले फारम भरिरहेको छु ।’
मगर डोटीमै स्नातक तहमा अध्ययनरत छन् । कैलालीमा अन्य जिल्लाको भन्दा म्यादी प्रहरीको माग धेरै भएकाले छनोट भइन्छ कि भन्ने आशाले उनी फारम भर्न धनगढी पुगेका हुन् ।
****
धनगढी उपमहानगरपालिका–६ की प्रिती चौधरी पनि मगरसँगै जिल्ला प्रहरी कार्यालयको मूल गेट अगाडि म्यादी प्रहरीका लागि फारम भर्ने लाइनमा भेटिइन् ।
छोटो अवधlमा जागिरका लागि चर्को घाममा घण्टौंसम्म लाइनमा उभिएर फारम भर्ने चौधरीको रहर होइन, तर घरको कमजोर आर्थिक अवस्थाका कारण उनी थोरै भए पनि जीविकोपार्जनमा सहयोग पुग्छ कि भनेर म्यादी प्रहरी बन्न चाहन्छिन् ।
‘बुवा बिरामी भएर लामो समयदेखि घरमै बस्नुभएको छ । कुनै काम गर्न सक्नुहुन्न । आमाले दैनिक ज्यालादारी गरेर हाम्रो पालनपोषण गर्नुहुन्छ,’ चौधरीले अनलाइनखबरसँग भनिन्, ‘बुवा, दिदी, भाइ र म गरेर चार जना उहाँकै ज्यालादारीका भरमा छौं । म्यादी प्रहरीमा छनोट भएर काम गर्न पाए अलिकती भए पनि राहत मिल्थ्यो कि ?’
कृषि जेटीए पढेका पनि म्यादी बन्ने लाइनमा
कैलालीको गोदावरी नगरपालिका–५ गेटाका लाल नेपाली पनि चर्को घाममा म्यादी प्रहरीकै फारम भर्न जिल्ला प्रहरी कार्यालयमै लाइनमा उभिएका थिए ।
थकाइ लागेर आफू भएकै स्थानमा छिनछिनमा उठ्ने र बस्ने गरिरहेका नेपाली पनि पसिनाले निथ्रुक्क भिजिसकेका छन्, तर ४० दिनकै भए पनि म्यादी प्रहरी बन्ने इच्छा भने डगमगाएको थिएन ।
कृषि जेटीए पढेका नेपाली रोजगारी नपाएर विगत केही समयदेखि घरमै बसिरहेका छन् । म्यादी प्रहरीमा भर्ना खुलेको सूचना पाएपछि उनी खाली समयको सदुपयोग र थोरै भए पनि दैनिक खर्च चलाउन पैसा आउँछ भनेर आवेदन दिनका लागि जिल्ला प्रहरी कार्यालयसम्म आइपुगेको बताउँछन् ।
‘खाली फुर्सदमा घरमा बसेर अनावश्यक रुपमा समय बिताउनु भन्दा केही गरेपछि आफू र परिवारलाई आर्थिक रुपमा सहयोग होला कि भन्ने आशले फारम भर्न आएको हुँ तर खै छनोट भइन्छ कि भइन्न थाहा छैन,’ नेपालीले अनलाइनखबरसँग भने ।
मगर, चौधरी र नेपाली जस्तै म्यादी प्रहरीको फारम भर्न आएका मध्ये अधिकांशको कथा उस्तै छ । स्नातक तह अध्ययन गरिरहेकादेखि स्नातकोत्तर उत्तीर्ण तथा विभिन्न प्राविधिक कोर्ष पढिसकेका तर बेरोजगार बसिरहेकाहरु म्यादी प्रहरी बन्ने लाइनमा छन् ।
४० दिन चुनावमा खट्दा पाउने ४४ हजार ४४० रुपैयाँले धेरथोर भए पनि घर खर्चमा भरथेग होला भनेर उनीहरु म्यादी बन्न लागेका छन् ।
प्रहरी प्रधान कार्यालय, नक्सालको मानव स्रोत तथा प्रशासन विभागका अनुसार म्यादी प्रहरीका लागि प्रहरी जवानको तलब (आधारभूत तलब महिनाको २२ हजार ६८० रुपैयाँ) खाद्यान्न, पोशाक र अन्य सामग्री खरीदका लागि भनेर ४० दिनको ४४ हजार ४४० रुपैयाँ पाउने छन् । उनीहरुको बीमालगायतका अन्य सुविधा पनि हुने छ ।
अरु जस्तै परिवारको कमजोर आर्थिक अवस्था रहेको बताउने कैलालीको गौरीगंगा नगरपालिका–१ चौमालाका जयदेव चौधरी चौमाला बहुमुखी क्याम्पसमा अध्ययनरत छन् ।
चौधरी भन्छन्, ‘आमाबुवा खेतीपाती गर्नुहुन्छ । खेतमा उत्पादन हुने अन्नले वर्षभरि खानलाउन समेत पुग्दैन् । त्यसैले आफ्नो पढाइ खर्च जुटाउनकै लागि भए पनि फारम भर्न धनगढी आएको हुँ ।’
चार दिनमै मागको चार गुणा आवेदन
कैलालीमा म्यादी प्रहरी बन्न आवेदन दिनेको भिड दैनिक थामिनसक्नु छ । समय छोटिँदै जादा जिल्ला प्रहरी कार्यालय कैलालीमा आवेदन फारम भर्नेहरुको संख्या दैनिक वृद्धि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) वेदप्रकाश जोशीले चार दिनको अवधिमा माग संख्याको चार गुणा धेरै आवेदन परेको जानकारी दिए ।
डीएसपी जोशीले १३ वटा स्थानीय तह रहेको कैलालीमा कुल दुई हजार चार सय ७५ जना म्यादी प्रहरी माग गरिएकोमा हालसम्म ८ हजार जनाले आवेदन फारम भरेका छन् र
मानिसहरुको संख्या बढि हुँदा आवेदन फारम भर्न भ्याइनभ्याइ भइरहेको जोशीको भनाइ छ । उनकाअनुसार आवेदन फारम भर्न आउनेहरुमा शिक्षित बेरोजगार त्यसमा पनि युवायुवतीहरुको संख्या धेरै छ ।
आवेदन ११ चैतसम्म दिन पाइन्छ । आवेदन दिनेहरुले आवदेन दिएकै ठाउँमा १३ गते सम्पर्क गर्नु पर्ने छ । १५ गतेदेखि शारीरिक परीक्षण गरेपछि २२ चैतमा अन्तिम नामावली प्रकाशित हुनेछ । उनीहरुलाई २८ चैतदेखि तालिम दिएर चुनावका लागि ४० दिन काम लगाइने छ ।
                    
                                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4