+
+

लोडसेडिङ टार्नुपर्ने दबावमा कुलमान

‘हामी वित्तीय जोखिम लिँदैछौं, तर उद्योगीको मनोबल गिर्न दिन्नौं’

‘हामी घाटा सहरै भएपनि उद्योगहरुको आत्मविश्वास भर्न चाहन्छौं, उद्योगीहरुको मनोबल गिर्न दिंदैनौं,’ कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘ठूलो घाटा लामो समयसम्म सहन भने सकिंदैन । आशा गरौं सरकार र उद्योगहरुले पनि यो संकटमा सहयोग गर्ने छन् ।’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १० गते २१:०८

१० चैत, काठमाडौं । ‘फेरि लोडसेडिङ हुँदैन, अहिले एक दुई दिनका लागि परेको संकट आकस्मिक मात्रै हो,’ बिहीबार नेपाल विद्युत् प्राधिकरणको रत्नर्पाकस्थित केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगहरुमा मंगलबार रातिदेखि अनियमित बिजुली कटौतीसँगै सुरु भएको लोडसेडिङको त्रास हटाउने प्रयास गरे ।

लोडसेडिङ अन्त्य गरेको भन्दै वाहवाही कमाएकै कारण दोस्रो पटक कार्यकारी निर्देशक बनेका घिसिङलाई यो साता अप्रत्यासित संकट आइलाग्यो । रुस–युक्रेन युद्धका कारण भारतमा कोइलाको अभाव भयो, त्यसले भारतीय बिजुली बजारमा भएको मूल्यवृद्धिले नेपालमा हुने विद्युत् आयात प्रभावित भयो ।

त्यही कारण विद्युत प्राधिकरणले बुधबार र बिहीबार धेरै उद्योगहरुमा मागअनुसार विद्युत् दिन सकेन । अनियमित बिजुली कटौती भएपछि उद्योगीहरुले फेरि लोडसेडिङ सुरु गरेको भन्दै हारगुहार गरे । यसले आम मानिसमा पनि फेरि लोडसेडिङ हुने त होइन भन्ने त्रास देखिएको छ ।

प्राधिकरणका अधिकारीहरुका अनुसार हिउँदयाममा आन्तरिक उत्पादनले माग थेग्न सक्ने अवस्था छैन । करिब ३० प्रतिशत बिजुलीको माग आयातबाटै धान्नुपर्छ । अहिले दैनिक ३१ हजार मेगावाट आवर बिजुलीको माग रहेकोमा १२ हजार मेगावाट आवर विजुलीमा भारतको भर छ ।

यही बेलामा भारतीय बजारमा बिजुलीको मूल्य महँगिएको छ । विद्युत प्राधिकरणका अधिकारीहरुका अनुसार ‘बिड’ (बोलकबोल) नपर्दा मंगलबारबाटै पर्याप्त बिजुली आयात गर्न समस्या परिसकेको थियो ।

मंगलबारसम्म औसत प्रतियुनिट ६ रुपैयाँ भारु कारोबार भइरहेको बिजुलीको मूल्य बुधबार ८ रुपैयाँ भारुसम्म पुगेको थियो । प्राधिकरणले बुधबारका लागि ‘बिड’ गरेका धेरै ब्लक अरुले नै लगेपछि बिहीबारका लागि भारु १२ मा ‘बिड’ गरेको थियो । तर, भारतको प्रतिस्पर्धी बजारमा नै बिजुलीको मूल्य औसतमा १५.२५ भारु पुगेपछि बिहीबारका लागि पनि प्राधिकरणले बिड गरेका धेरै ब्लकहरु पनि भारतीय उद्योगहरुले नै हात पारे । प्राधिकरणका अनुसार हाल नेपालले भारतबाट ९६ ब्लकमा विजुली आयात गर्छ ।

त्यसैले कार्यकारी निर्देशक घिसिङले शुक्रबारका लागि मूल्यमा कुनै सम्झौता नगरी आवश्यक बिजुली किन्ने निर्णय लिए । त्यसका लागि प्रतियुनिट २० भारुसम्म बिड गरेको छ । यदि प्राधिकरणले प्रस्ताव गरेअनुसार नै बिड स्वीकृत भएमा नेपाल आइपुग्दासम्म सो बिजुलीको मूल्य ३८ नेपाली रुपैयाँसम्म पर्नेछ ।

३८ रुपैयाँमा किनेको बिजुली नेपालमा औसत ९ रुपैयाँमै बेच्नुपर्छ । यसले दैनिक २२ करोडसम्म घाटा हुन्छ भने यही अवस्था ३५ दिनसम्म रहे ८ अर्ब रुपैयाँ नोक्सानी हुने विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ बताउँछन् । अर्थात् हाल प्राधिकरणमा रहेको नाफा सकिन्छ ।

लोडसेडिङको त्रास

भारतबाट महँगोमा बिजुली किनेर बेच्दा प्राधिकरणलाई घाटा त हुन्छ नै, वित्तीय संकटको जोखिम पनि बोक्नुपर्ने हुनसक्छ । यो संकटविरुद्ध मिलेर लड्नुपर्ने भन्दै विद्युत प्राधिरकणले मूल्यका कारण हुने नोक्सानी केही प्रतिशत हिस्सा लिएर सहयोग गर्न सरकार र उद्योगीहरुलाई आग्रह गरेको थियो ।

तर नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, सिमेन्ट उद्योग संघ, स्टिल उत्पादक संघ लगायतका संघ संगठनले तोकिएको मूल्यमा नियमित विद्युत् आपूर्तिको दायित्व प्राधिकरणको हुने भएकाले दायित्व बोक्न नसक्ने जवाफ दिएका छन् ।

बिहीबार नै प्राधिकरणका अधिकारीहरुले अहिलेको संकटबारे ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र अर्थ मन्त्रालयसँग पनि छलफल गरेका थिए । उनीहरुले माग र आपूर्तिको अवस्था, आयातको आवश्यकता, भारतीय बजारमा बिजुलीको मूल्य र खरिद गर्दा हुने जोखिमबारे जानकारी दिएका थिए ।  हालको संकट जलविद्युत् आयोजनाहरुमा आकस्मिक रुपमा विपदले ल्याउने अवस्था जस्तै भएको भन्दै सरकारबाट सहयोग हुनुपर्ने प्राधिकरणको भनाइ छ। तर, चुनावको मुखमा आर्थिक संकटसँग जुधिरहेको सरकारले विद्युत प्राधिकरणलाई त्यस्तो क्षतिपूर्ति दिने सम्भावना कम छ ।

त्यसैले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कमाएको नाफा भारतबाट बिजुली खरिद गर्दा केही हप्तामै सकिनसक्ने प्राधिकरणका अधिकारीहरु बताउँछन् । त्यसपछि पनि नेपालमा हिउँ पग्लिने क्रम बढेर आन्तरिक उत्पादन पनि नबढ्ने र भारतको बिजुली थप महँगो हुँदै जाने अवस्था आएमा प्राधिकरणसामू ‘लोडसेडिङ’ गर्ने वा निरन्तर घाटा सहने विकल्प मात्र हुनेछ ।

‘हामी घाटा सहरै भएपनि उद्योगहरुको आत्मविश्वास भर्न चाहन्छौं, उद्योगीहरुको मनोबल गिर्न दिंदैनौं,’ कार्यकारी निर्देशक घिसिङले भने, ‘ठूलो घाटा लामो समयसम्म सहन भने सकिंदैन । आशा गरौं सरकार र उद्योगहरुले पनि यो संकटमा सहयोग गर्ने छन् ।’

आशा पनि छ

कार्यकारी निर्देशक घिसिङले दक्षिण एसियामा देखिएको ऊर्जा संकट नेपालका लागि अवसर हुने पनि बताए । अहिले नेपालमा विजुली आपूर्तिमा देखिएको समस्या क्षणिक भएको भन्दै उनले दक्षिण एसियामा ऊर्जा संकट हुँदा नेपालले विजुली बेचेर फाइदा लिन सक्ने बताए ।

वर्षायाममा नेपालले ५०० मेगावाटसम्म विजुली बिक्री गर्ने भन्दै घिसिङले महंगो मूल्यमा विजुली बिक्री गर्दा नेपाललाई फाइदा हुने बताए । घिसिङ यो सकंटले नेपालको जलविद्युतको महत्व बुझाउन सहयोग गरेको बताउँदै भन्छन्-‘हामीले ८ सय मेगावाटसम्म बिजुली वर्षायाममा  भारतमा बेच्न प्रस्ताव गरेका छौं, त्यसलाई भारतीय बजारमा लैजाने ढोका खोल्न यो संकटले सकारात्मक भूमिका पनि खेल्छ ।’

हेर्नुस् के भने घिसिङले ? 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?