+
+
यात्री :

सिर्जना : एक यात्री, अनेक अनुभूति

यज्ञ खत्री यज्ञ खत्री
२०७८ चैत १२ गते ११:००

१२ चैत्र, सुर्खेत । ‘भन्नेहरूले त के-के भने, घुमेर के पाइन्छ ? खर्च कसले दिन्छ ? साथी को हो ? कहाँ जान लागेको ? के छ झोलामा ? केही गर्ने उम्मेरमा किन अनयासै डुलिरा ? मलाई यवात् कुरामा कुनै मतलब छैन ।

म एक यात्री हुँ । मौनतामा यात्रा गर्छु । मलाई कसैको प्रश्नको जवाफ दिनु छैन । समयले दिनेछ, जवाफ । यात्रा एक गहिरो अनुभूति र अनुभव हो । यसलाई भन्न, सुन्न र सुनाउन सजिलो छैन ।

अँ, साँच्चै यात्रालाई कसरी सुनाउने ? कसरी भन्ने ? तर आज म त्यही भन्न यहाँ छु ।’

फागुन २८ गते । सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली उत्सव’को मञ्चमा यसरी नै आफ्ना अनुभव सुनाउँदै थिइन्, सिर्जना सिज्जु ।

रुकुम पश्चिम, सानीभेरीकी २५ वर्षीया सिर्जनालाई एक पैकेलो (हिरो)को रुपमा निम्ताइएको थियो, उत्सवमा । उनकी हजुरआमा हिँडेकै बाटो आमा हिँडिन् । आमा जुन बाटोमा हिँडिन्, त्यही बाटो हिँडुन् भन्ने चाहन्थ्यो समाज तर उनी आमा र हजुर आमाभन्दा फरक बाटो हिँड्न चाहन्थिन् ।

‘छोरी भएर यो गर्नुहुँदैन, त्यो गर्नुहुँदैन’ भन्ने सामाजिक मान्यतालाई चिर्न चाहान्थिन् । त्यसैले त आज उनीले एउटा परिचय बनाएकी छिन्, त्यो हो, ‘सोलो ट्राभलर’ अर्थात् एकल यात्री ।

सिर्जनाले पढिन् वनविज्ञान । छोरीले सरकारी जागिर खाएको हेर्न चाहन्थिन् आमा । तर, उनी केही समययता प्रकृति र समाजलाई बुझ्न वनजंगल चहार्न थालेकी छिन् । खोलानाला डुल्न र हिमाल चढ्न थालेकी छिन् ।

उनी त्यस्तो ठाउँ पुग्छिन् जहाँ मानिस घुम्नैका लागि बिरलै पुगेका हुन्छन् । उनी एक्लै देशका विभिन्न भागमा यात्रा गर्छिन् । केही समय अगाडि डोल्पालगायत कर्णालीका विभिन्न ठाउँमा घुमेर फर्किएकी सिर्जना भन्छिन्, ‘कर्णाली बुझ्न यहाँको भूगोल घुम्नुपर्छ । मान्छेहरूसँग संवाद गर्नुपर्छ । घुम्ने उद्देश्यले आउनुस् तपाईं यसलाई महसुस गर्नुहुन्छ ।’

उनले कर्णालीको सौन्दर्य आँखामा अटाएकी छिन् । उनलाई कर्णालीका प्राकृतिक सुन्दरताले मात्रै लोभ्याउँदैन्, यहाँका मानिसहरूको सहयोगी भावनाले पनि आकर्षित गर्छ । र त कसैले सबैभन्दा मन पर्ने ठाउँ कुन हो भनी सोधे, उनी सीधा जवाफ दिन्छिन्, कर्णाली ।

‘सोलो ट्राभलर’ अर्थात् एकल यात्रा गर्न सम्भव छ ? उनि भन्छिन्, ‘एकदमै सम्भव छ । कतिलाई त डर पनि लाग्ला । डर मान्नु पनि स्वभाविकै हो । महिलाहरूको लागी अझै सुक्षित मानिदैन् नेपाल । तर त्रासपूर्ण पनि छैन् ।’

मान्छे मान्छेबाटै सुरक्षीत नभएका घटनाहरू दिनहुँ नघटेका पनि कहाँ हुन् र । तर सिर्जनालाई लाग्छ, ‘यात्रा गर्नेहरू खराब नियत राख्दैनन् ।’ उनीले आजसम्म यो क्षेत्रमा गलत नियत भएका मानिस भेटाएकी पनि छैनन् । उनी भन्छिन्, ‘जब मैले आफूलाई महिला भनेर भुले र मानव ठाने ! त्यसपछि सामाजिक बन्दन, डर, त्रास सबैलाई जितेर एक्लै घुम्न हिँडे ।’

अलि पहिलेसम्म सिर्जनालाई कसैले ‘छोरी मान्छे’ भन्दा खासै फरक पर्दैनथ्यो । ‘छोरीलाई, छोरीभन्दा किन रिसाएको होला जस्तो लाग्थ्यो । तर कस्तो अवस्थामा भनेको हो । त्यसले फरक पर्दो रहेछ’ उनी भन्छिन् ।

हिजोआज ‘छोरी मान्छे भएर किन घुम्न हिँडेको?’ कसैले भन्यो भने साह्रै रिस उठ्छ उनलाई ।

छोरी हटायो भने म पनि मान्छे हुँ । मान्छे त हिँड्छ, डुल्छ, खान्छ, रमाइलो गर्छ । विभिन्न ठाउँको यात्राले आत्म विश्वास बढाएको उनको अनुभूति छ । थुप्रै पैसा र प्रतिष्ठाले दिन नसक्ने खुसी र आत्मसन्तुष्टि आत्रा अनुभवले दिने गरेको सिर्जना बताउँछिन् ।

सिर्जनालाई लाग्छ, समाज बुझ्न डुल्नैपर्छ । घरबाहिर निस्किनै पर्छ । सामाजिक सञ्जालमा देखिने भन्दा असंख्य सुन्दर ठाउँ, पढि्ने मानिस भन्दा अनगिन्ती राम्रा मानिसहरू यात्रा गरेपछि मात्रै भेटिने गरेको उनको अनुभव छ । उनी हरेक किशोरी र महिलालाई समय निकालेर एकपटक अवश्य घुम्न सुझाउँछिन् । सकारात्मक सोच, मेडिटेसन, आत्मरक्षा, माया र शान्तिका लागि पनि यात्रा आवश्यक रहेको उनको बुझाइ छ ।

सिर्जनाले यात्रामा आफनो वास्तविक खुसीको अर्थ भेटाउँछिन् । सरल जीवनशैली र फरक अनुभूतिले उनीलाई छुटै खुसी मिल्छ ।

युट्युबले मोडिदिएको बाटो

सिर्जनाको बाल्यकाल गाउँमै बित्यो । गाउँकै स्कुलमा कक्षा १० सम्म पढिन् । एसएलसीपछि उनलाई केही फरक विषय पढ्नु थियो । जो धेरैले नपढेका हुन् ।

एक आफन्ताको सल्लाहले उनी फरेस्ट्री पढ्न काठमाडौं गइन् । तीन वर्षे डिप्लोमा कोर्स सकेर फेरि गाउँ फर्किइन् । गाउँकै एउटा एनजीओमा काम गर्ने मौका पाइन् । त्यो समय नै उनको जीवनको टर्निङ प्वाइन्ट बन्यो ।

एनजीओमा काम गर्न थालेपछि, उनले गाउँको समस्यालाई नजिकबाट बुझन थालिन, समजन पाइन् । यसबीचमा उनले लोक सेवा आयोगको परीक्षा पनि दिइन् । लोकसेवामा फेल भएपछि उनी फेरि स्नातक पढ्न काठमाडौं गइन् ।

त्यो बेला सिर्जना युट्युबमा थुप्रै मोटिभेसनल भिडियो हेर्थिन् । ‘बायोग्राफी’ पढ्थिन् । जस्ले उनलाई, सोचको दायरा फराकिलो बनाउने मद्दत गर्‍यो । प्रकृति र संस्कृति रुचि बढ्द थाल्यो । अनि, उनी निस्किइन् यात्रामा ।

उपल्लो डोल्पामा १५ दिन घुमिन । उनलाई लाग्छ, ‘डोल्पा बारे जति नै सुन्दर शब्द खर्चिए पनि कमै पर्छन् ।’ नेपाल यति सुन्दर छ ? उनले डोल्पा गएपछि मात्रै थाहा पाइन् ।
डोल्पा यात्राले उनीमा छुट्टै खालको आत्मविश्वास पलायो । यसपछि उनी आफ्नै जिल्लाका थुप्रै ठाउँ डुलिन् । लोबुचे हिमाल चढिन् । केही हप्ताअघि मात्रै उनी मार्दी सोलो टे्रक गएर आएकी छिन् । पुथा उत्तरगंगा पुगिन् । उनीलाई आफैंले रोजेर हिँडेका गन्तव्यले कहिल्यै नबिर्सिने अनुभूति दिएका छन् ।

सिर्जना यात्रामा निस्किनुअघि आफू जाने ठाउँबारे प्रशस्त जानकारी लिन्छिन् । प्रकृतिप्रति संवेदनशील हुन, अरुबाट सहयोगको अपेक्षा नगर्न, खल्ती छामेर मात्र खर्च गर्न उनले जानेकी छिन् ।

‘युद्ध पर्यटन क्षेत्र’को यात्रा

सिर्जना केही समय अगाडि माओवादी जनयुद्धको केन्द्रविन्दुका रुपमा रहेको रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका पुगिन् । भौगोलिक रुपमा विकट भए पनि प्राकृति सौन्दर्यको खानी छ, पुथा उत्तरगंगा ।

त्यस क्षेत्रलाई ‘युद्ध क्षेत्र’ पर्यटकीय स्थलका रुपमा पनि घोषणा गरिएको छ । माओवादी द्वन्द्वकालका केही चर्चित स्थानहरूको संरक्षण गर्दै पर्यटक आकर्षणको केन्द्र बनाइएको छ ।

त्यहाँको वेषभूषा, संस्कृति, सामाजिक रितिरिवाज र चालचलन बिल्कुलै फरक खाल्को छ । प्रकृति पुज्य छ । त्यहाँ पुग्ने जो कोही पर्यटकले केही भिन्न र फरक अनुभूति गर्न सक्ने थुप्रै माध्यामहरू छन् । तर, आवश्यक प्रचार-प्रचार नहुँदा पर्यटकको चाम देखिदैन् ।

प्राकृतिक र सांस्कृतिक सौन्दर्य नखल्बलिने गरी विकास निर्माणका कामलाई अघि बढाए पुथा उत्तरगंगा मुलुककै एक उत्कृष्ट पर्यटकीय गन्तव्य बन्नसक्ने सिर्जनालाई लाग्छ ।
यसअघि उनलाई लाग्थ्यो । दूर दराजमा बस्ने मान्छेहरू दुःखी छन् । अभावको भारीले थिचिएका छन् । पीडाले पेलिएका छन् । तर, पुथा उत्तरगंगा पुगेपछि उनलाई लाग्यो मानिसहरू जहाँ पनि खुसी छन् । रेडियो, टेलिफोन, इन्टनेट नभएका ठाउँका मानिसहरू झनै बढी खुसी छन् ।

आफूले बाँचेका समय, क्यामेरामा कैद

उनी घुमेर आएपछि सबैभन्दा पहिला आफूले कैद गरेका फोटो र भिडियो हेर्छिन् । आमालाई देखाउँछिन् । उनीलाई आफूले बाँचेका समयलाई क्यामेरामा कैद गर्न मन पर्छ ।

भौगोलिक विकटता चिर्ने उनको हतियार बनेको छ, सामाजिक सञ्जाल । टिकटक, फेसबुक र युट्युबको प्रयोग गरेर उनले आफुले यात्रा गरेको ठाउँको भरपुर प्रचार गर्छिन् । ‘भाइरल नभएको ठाउँमा पनि मेरो भिडियो हेरेर एकजना मात्रै पर्यटक गए पनि मेरा लागि त्यो ठूलो उपलब्धि हुनेछ,’ सिर्जना भन्छिन् ।

उनको परिभाषामा घुम्नु केबल घुम्नु र सामाजिक सञ्जालमा फोटो, भिडियो सेयर गर्नु मात्र होइन । आफूसँगै समाजलाई पनि अगाडि बढाउनु हो, प्राकृतिक स्रोत र साधनको महत्व बुझाउनु पनि हो ।

सिर्जना र यात्राका क्रममा उनले खिचेका केही तस्वीरहरू  :

लेखकको बारेमा
यज्ञ खत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?