News Summary
Generated by OK AI. Editorially reviewed.- जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ।
- प्रशासनले गण्डकी प्रदेशमा मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण भएकाले अन्नपूर्ण आधार शिविर लगायत क्षेत्रमा पदयात्रामा नजान आग्रह गरेको छ।
- कास्कीका केही सडकखण्डमा रातको समयमा यातायात सञ्चालनमा रोक लगाइएको छ र सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नचढाउन अनुरोध गरिएको छ।
१३ कात्तिक, कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले मौसम सफा नभएसम्म पदयात्राका लागि ननिस्कन पर्यटकलाई आग्रह गरेको छ ।
प्रशासनले आज सार्वजनिक सूचना जारी गरी जल तथा मौसम विज्ञान विभागबाट जारी मौसम पूर्वानुमानअनुसार गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षा र हिमपातको प्रक्षेपण गरिएकाले पदयात्रीलाई सो आग्रह गरिएको जनाएको छ ।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा, खुमईलगायतका क्षेत्रमा पदयात्रामा नजान तथा आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको सहायक प्रजिअ शिवप्रसाद लम्सालले बताए ।
यसैगरी प्रशासनले जिल्लाका विरेठाँटीदेखि घान्द्रुक, विरेठाँटीदेखि उल्लेरी, लुम्लेदेखि लान्द्रुक र काहुँखोलादेखि ताङतिङ र सिक्लेस सडकखण्डमा भोलि बिहानसम्म रातको समयमा यातायात सञ्चालनमा समेत रोक लगाएको छ ।
वर्षाको समयमा राष्ट्रिय राजमार्ग तथा ग्रामीण सडकमा चल्ने सवारीसाधनलाई क्षमताभन्दा बढी यात्रु नचढाउन र संयमतापूर्वक सवारी चलाउन आग्रह गरिएको छ ।
प्रशासनले विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ, सुरक्षा निकायमा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ ।
प्रतिक्रिया 4