
काठमाडौं । डान्सिङ रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को प्रसारण शुक्रबारदेखि सुरु भएको छ । हिमालय टीभीबाट प्रसारण सुरु भएको यो शोमा विभिन्न १२ सेलिब्रिटी र कोरियोग्राफरले जोडी बाँधेर नृत्य प्रस्तुत गर्दैछन् ।
शुक्रबार प्रसारण भएको कार्यक्रमको ग्रान्ड प्रिमियरमा विभिन्न क्षेत्रमा नाम कमाएका १२ सेलिब्रिटी र उनीहरुको कोरियोग्राफर पार्टनरको परिचय गराइएको छ । यस्तै निर्णायकले जोडीको नामकरण पनि गरिदिएका छन् ।
नेपालको मौलिक रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’को यो सिजनमा गायक धीरज राई र कोरियोग्राफर अनुजा अग्रवाल जोडीको रुपमा प्रस्तुत भएर सहभागिता जनाउँदैछन् । यस्तै मोडल सोनिका रोकाया र दिलीप ओखेडाले जोडी बाँध्दै नृत्य गर्नेछन् ।
अभिनेता प्रदीप बाँस्तोलासँग स्वयत्न योञ्जन, चिकित्सक डा. सन्तोष उपाध्यायसँग सुनिता दर्नाल, गायिका प्रीति आलेमगरसँग शेखर घर्तीमगर, महिला रेस्लर भगवती खड्कासँग सुनिल विकले जोडी बाँधेर नृत्य गर्नेछन् ।
यसैगरी अमर–अमृत दाहालको कोरियोग्राफरको रुपमा केविका खत्री रहनेछिन् । छिरिङ शेर्पासँग सरोज प्रजा, अभिनेत्री परमिता राणासँग जेडी तमु, मैथिल अभिनेत्री काजल कर्णसँग लाहुरे सिंह, समाइरा श्रेष्ठसँग सञ्जय लामा र कलाकार नीलम ढुंगानासँग रवि पटेल कोरियोग्राफर जोडीको रुपमा रहेका छन् ।
२६ शृंखलासम्म प्रसारण हुने यो शो हरेक शुक्रबार र शनिबार बेलुकी ८ बजेदेखि प्रसारण हुँदैछ । नृत्यमा दखल नभएका, तर विभिन्न क्षेत्रमा स्थापित सेलिब्रिटीले नाचेरै उपाधि जित्ने चुनौती स्वीकार्दै ‘डान्सिङ स्टार्स नेपाल’मा सहभागिता जनाएका छन् । उनीहरुलाई आफ्ना कोरियोग्राफरले नृत्यमा सहयोग गर्नेछन् ।
शोको निर्णायकमा अभिनेत्री गौरी मल्ल, अभिनेता दिलीप रायमाझी र नृत्य निर्देशक रेनशा बान्तवा राई रहेका छन् । शुक्रबारको कार्यक्रममा अभिनेता राजेश हमाल अतिथिको रुपमा उपस्थित थिए ।
प्रतिक्रिया 4