+
+

शिक्षक सेवा आयोगको परीक्षाका कारण देशभरको विद्यालयमा पठनपाठन प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १३ गते २०:१०

१३ चैत, काठमाडौं । शिक्षक सेवा आयोगको परीक्षाका कारण विद्यालय पठनपाठन प्रभावित बनेको छ ।

चैत १५, १७, १९ र २१ गते हुने परीक्षा दिन शिक्षकहरु विद्यालयमा कार्यरत अस्थायी, करार र स्थायी शिक्षकसमेत ठूलो संख्यामा एकैपटक परीक्षामा सामेल हुन भन्दै बिदामा बसेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको हो ।

कोरोना महामारीको कारण पठनपाठन प्रभावित बनेपछि चैतभर पढाइ हुने र वैशाखमा मात्रै परीक्षा गर्ने, नतिजा प्रकाशन गर्ने तथा भर्ना सुरु गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको थियो । तर केही शिक्षा विकास तथा समन्वय इकाइ, स्थानीय तहहरुले शिक्षक सेवा आयोगको परीक्षाको कारण आगामी वर्षे विदामा कट्टा हुने गरी ६ दिनको विदा दिएका छन् ।

महोत्तरी जिल्लाको शिक्षा विकास तथा समन्वय इकाइले सबै पालिकाहरुलाई सम्बोधन गर्दै शिक्षक महासंघ महोत्तरीको निर्णय तथा मागबमोजिम शिक्षक सेवा आयोगको परीक्षाका लागि ६ दिन स्थानीय विदा दिन अनुरोध गरेको छ । जसमामाध्यमिक, निम्न माध्यामिक र प्राथमिक तहका शिक्षकहरुलाई खुल्ला तथा बढुवा सम्बन्धी प्रतियोगितात्मक परीक्षाको स्थायी, करार तथा राहत शिक्षकहरु परीक्षार्थी हुने भएकोले १३ गतेदेखि १८ गतेसम्म आगामी वर्षे विदाबाट अनिवार्य रुपमा कट्टा गर्न भनेको छ ।

तर बर्दिवास नगरपालिकाले भने विद्यालय विदा नदिने निर्णय गरेको नगरपालिका शिक्षा, युवा तथा खेलकुदका स्रोत व्यक्ति सुर्यनारायण दासले बताए । उनले भने ‘कोरोनाको कारण धेरै समय पठनपाठन भएन । अहिले पनि विदा दिएर त पढाई छुट्छ, वैशाखमा परीक्षा छ । त्यसैले हामी विद्यालय विदा नदिने निर्णय गरेका छौं ।’

शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख भरतराज शर्माले शिक्षक महासंघको अनुरोधमा सिफारिस मात्रै गरिएको बताए । उनले भने, ‘शिक्षक महासंघको अनुरोधमा सिफारिस मात्रै गरिएको हो । पालिकाले विद्यालय विदा दिने नदिने निर्णय गर्छ ।’

उनका अनुसार अहिले लोहारपट्टि गाउँपालिकाले मात्रै १५ गतेदेखि ३ दिन बिदा दिएको बताए । अधिकांश शिक्षक परीक्षाको तयारी गर्न भन्दै विदा बस्न थालेपछि पठनपाठन नहुने र विद्यार्थीलाई अल्झाउने काम मात्रै भएकोले विदा दिनको लागि सिफारिस गरिएको प्रमुख शर्माले बताए ।

यस्तै बाराको सुवर्ण गाउँपालिका, पर्साको पोखरीया नगरपालिका, तेह्रथुमको छथर गाउँपालिका, डडेल्धुराको परशुराम नगरपालिका लगायतका केही स्थानीय तहहरुले ६ दिनसम्म विद्यालय बिदा दिएको छ ।

तेह्रथुमको छथर गाउँपालिकाले सबै शैक्षिक संस्थाहरुलाई पत्राचार गर्दै १३ गतेदेखि १८ गतेसम्म विदा गरिएको व्यहोरा उल्लेख गरेको छ । वार्षिक बिदाबाट मिलान हुने गरी विदा मिलाईएको शिक्षा अधिकृत डन्डिकेशर खनालले बताए ।

गाउँपालिकामा अधिकांश शिक्षक करार, राहतमा कार्यरत रहेको र विद्यालय विदा नदिँदा विद्यार्थीलाई नै समस्या पर्ने भएकोले एकरुपता दिनको लागि विदा दिइएको उनले बताए । बैशाख २ गतेदेखि तय भएको परीक्षामा शिक्षक सेवाको परीक्षाको कारण असर पर्ने भएपछि वैशाख ९ गतेदेखि हुने गरी सारेको छ ।

अधिकृत खनालले भने ‘यो महिनामा शिक्षकको परीक्षाको कारण एक हप्ता पढाइ नहुने भयो । त्यसैले वैशाख ९ गतेदेखि सारे अघिल्लो एक हप्ता रिभिजन गराउने गरी मिलाएका छौं ।’

कोभिडबाट कम प्रभावित गाउँपालिका भएकोले पठनपाठन सबै सकिएकाले विदा दिँदा कम प्रभाव पर्ने भएकोले विदा दिने र चैतमा दिइएको विदालाई वैशाखको पहिलो हप्ता पढाएर मिलान हुने गरी निर्णय भएको उनको भनाई छ ।

शिक्षक सेवा आयोगले खुलाएको विभिन्न तहको १७ हजार २३३ शिक्षक पदका लागि दुई लाख ४० हजार ४५२ जनाको आवेदन परेको छ ।

त्यस्तै गरी कार्य सम्पादन मूल्याङ्कन (७५ प्रतिशत)तर्फ तीन तहको प्रथम र द्वितीय श्रेणीमा दुई हजार ६२२ पदमा बढुवाको लागि विज्ञापन खुला हुने र आन्तरिक प्रतियोगितात्मक (२५ प्रतिशत)तर्फ तीनै तहको प्रथम र द्वितीय श्रेणीमा ८६७ पदको लागि बढुवाको परीक्षा चैत २१ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?