+
+

बैंकको ब्याजदर अझै बढ्ने !

रोयल आचार्य रोयल आचार्य
२०७८ चैत १३ गते २३:५९

१३ चैत, काठमाडौं । सर्वसाधारणले बैंकबाट पाउने अर्थात निक्षेपको ब्याजदर प्रत्येक महिना घटबढ हुन्छ । तर सर्वसाधारणले बैंकलाई तिर्नुपर्ने अर्थात ऋणको ब्याजदर भने तीन–तीन महिनामा मात्रै घटबढ हुन्छ । पछिल्लो केही महिना यता निक्षेपको ब्याजदर लगातार बढिरहेको छ । कर्जाको ब्याजदर भने हरेक त्रैमासमा बैंकहरुले सार्वजनिक गरेको आधार दर (बेस रेट)मा भर पर्छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको भन्दा दोस्रो त्रैमासमा २७ वाणिज्य बैंकहरुको बेस रेट बढेको थियो । गत असार मसान्तसम्म २७ वाणिज्य बैंकहरुको औसत बेस रेट ६ दशमलव ९१ प्रतिशत रहेकोमा पुस मसान्तमा बढेर ८.४० प्रतिशत पुगेको थियो । अब चैत मसान्तसम्मको बेस रेटको तथ्यांक वैशाखमा आउँछ । दोस्रो त्रैमास पछि पनि लगातार बैंकको लागत बढेकाले तेस्रो त्रैमासमा ऋणको ब्याजदर बढ्नेछ ।

‘माघ, फागुन र चैत महिनामा बैंकहरुको लागत बढेको छ, निक्षेपको ब्याजदर बढेको असर अब तेस्रो त्रैमासको बेस रेटमा देखिन्छ,’ एक बैंकका सीईओ भन्छन्, ‘लागत बढेका कारण वैशाखमा ब्याजदर बढ्नेमा शंका गर्ने ठाउँ छैन, ऋणीहरु मेन्टल्ली प्रिपियर भएर बस्दा पनि हुन्छ ।’ वैशाख पछि भने ब्याजदर घट्न सक्ने उनको अनुमान छ ।

अहिले बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य रकमको अभाव छ । अधिकांश बैंकहरु ऋण दिनै नसक्ने अवस्थामा छन् । बैंकमा निक्षेप नआएकाले आकर्षक ब्याजदर अफर गरेर निक्षेप तानिरहेका छन् । यसले बैंकहरुको लागत बढाएको छ । वैशाखदेखि भने सरकारी खर्च बढ्ने र चुनावले पनि नगद प्रवाह बढाउने ती बैंकर बताउँछन् ।

बजारमा पैसा आउँदा तरलता सहज हने र त्यसको सकारात्मक असर चौथो त्रैमासमा देखिने उनी बताउँछन् । राष्ट्र बैंकका प्रव्रक्ता डा. गुणाकर भट्ट पनि बैंकहरुले निक्षेपमा आकर्षक ब्याजदर दिँदा लागत बढ्न गएको बताउँछन् । लागत बढ्दा बेस रेट बढ्ने भए पनि अहिले नै भनिहाल्न भने नमिल्ने उनले बताए । तरलताको निकै ठूलो समस्या झेलिरहेको बेला रुस–युक्रेन युद्धले समेत नेपाली अर्थतन्त्रमा असर परेको छ ।

बैंकर्स संघका उपाध्यक्ष तथा एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी रुस–युक्रेन युद्धले महंगी र तरलता समस्या अझै गहिरिने चिन्ता बढेको बताउँछन् ।

रुस–युक्रेन युद्ध र अस्थिरताले केही न केही असर सबैतिर गर्छ । युक्रेनबाट नेपालले पनि धेरै वस्तुहरु आयात गर्छ । त्यहाँको युद्धको असर नेपाली बजारमा परिसकेको छ । ‘पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ’, सीईओ केसी भन्छन्, ‘अन्य क्षेत्रमा पनि महँगी बढेको छ । विविध कारणले विदेशी मुद्रा सञ्चितिमा दबाब परेको छ । अब महँगी दोहोरो अंकमा जाने सम्भावना छ । यसबाट तरलता समस्या अझै बढ्न सक्छ ।

‘०.४ प्रतिशतसम्म बढ्छ बेस रेट’

बैंकिङ विज्ञ अनलराज भट्टराई पनि वैशाखामा बेस रेट ०.४ प्रतिशतसम्म बढ्नसक्ने बताउँछन् । बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप गत वर्ष ९ प्रतिशत भन्दा धेरैले बढेको थियो । यस वर्ष ३ प्रतिशत पनि बढेको छैन । तर कर्जाको ग्रोथ भने २५ प्रतिशत भन्दा बढी रहेकाले पनि बैंकहरुको आधारदर बढ्ने पक्का भएको उनले बताए ।

‘आधार दर क०.२५ देखि ०.४० सम्म बढ्ने देखिन्छ, आधार दर बढ्ने भनेको कर्जाको ब्याजदर बढ्ने नै हो,’ उनले भने, ‘अहिले बैंकहरुले लगानी योग्य रकम अभावको जुन समस्या झेलिरहेका छन् विस्तारै त्यो समस्या भने कम हुन्छ ।’ कर्जाको ब्याजदर बढे पनि निक्षेपको ब्याजदर भने वैशाखमा कम हुने अपेक्षा गर्ने ठाउँ रहेको उनी सुनाउँछन् ।

वैशाख महिनामा नै सरकारले एकै चरणमा स्थानीय तहहरुको निर्वाचन गर्दैछ । अर्को तर्फ सरकारले विकास बजेट समेत खर्च गर्न सकेको छैन । आर्थिक वर्षको समाप्ति मिति नजिकिदै गर्दा सरकारले विकास खर्च धेरै गर्ने प्रवृति देशमा छ ।

‘अहिले तरलताको जुन समस्या देखिइरहेको छ, यो समस्या अब दुई थोकले सहज हुनसक्ने सम्भावना छ,’ उनले भने, ‘चुनावले पनि रकम खर्च गराउँछ, अब विकास खर्च पनि हुने समय भएको छ ।’ वैशाखमा कम्तिमा २ सय अर्ब पैसा बाहिर आउने र यसले बैंकको निक्षेप बढाउने उनले बताए ।

बैंकहरुले निक्षेप संकलन गर्न नसक्दा कर्जा निक्षेप अनुपात (सीडी रेसियो) पनि उच्च देखिएको छ । ९० प्रतिशत कायम गर्नु पर्नेमा अधिकांश बैंकहरुको सीडी सीमा भन्दा माथि पुगेको छ । अब वैखामा हुने चुनाव र विकास खर्चमा हुने वृद्धिले यसलाई सहज बनाउने उनी बताउँछन् ।

बैंकहरुले चैत पछि कर्जा लगानी समेत घटाउँछन् । एकातिर निक्षेप बढ्ने र कर्जा लगानीमा समेत बैंकहरु आक्रामक नहुने भएकाले तरलतामा भने सहता ल्याउने उनले बताए । ‘अहिले कन्जुमर डिमान्ड घटेको छ, यसले लोनमा प्रेसर नहोला,’ भट्टराईले भने, ‘लोनमा प्रेसर नहुँदा तरलताको तनाब त घट्दा तर कन्जुमर प्राइस भने बढेको छ, यसले बेसरेट त बढिहाल्छ ।’

लेखकको बारेमा
रोयल आचार्य

आर्थिक पत्रकारितामा सक्रिय आचार्य मुलतः बैंक तथा वित्तीय संस्था, सेयर बजार र निजी क्षेत्रका विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?