+
+

एमालेले गढ दावी गरेको वडामा कांग्रेसको प्यानलै विजयी

टोपराज शर्मा टोपराज शर्मा
२०७८ चैत १४ गते ८:१७
Photo Credit : Facebook

१४ चैत, रूपन्देही । बुटवल उपमहानगरको आगामी स्थानीय तहको चुनावको मत सर्वेक्षणका रुपमा हेरिएको सबैभन्दा धेरै मतदाता भएको वडा नम्बर ११को एक विद्युत सहकारीको चुनावमा नेपाली कांग्रेस निकट उम्मेदवारको प्यानलै विजयी भएको छ ।

१६ हजार बढी मतदाता रहेको यो वडालाई नेकपा एमालेले आफ्नो गढ दावी गर्दै आएको थियो । बुटवलको स्थानीयदेखि प्रतिनिधिसभा निर्वाचनलाई यही वडाको जनमतले प्रभावित गर्दै आएको छ । यहाँ अधिकांश परिवार सुकुम्बासी र अव्यवस्थित बसोबासी छन् ।

यही वडाको करिब ६ हजार मतदाताको प्रतिनिधित्व गर्ने प्रगतिनगर सामुदायिक विद्युत सहकारी संस्थाको दोस्रो अधिवेशनमा नेपाली कांग्रेसका उम्मेदवार जितबहादुर मल्लको प्यानलले कडा प्रतिस्पर्धाका बीच एमाले उम्मेदवार बीरबहादुर कुँवरको प्यानललाई पराजित गरेको हो । करिब १५ सय घरधुरी सदस्य रहेको सहकारीको चुनावमा १०३२ मत खसेकोमा कांग्रेसका मल्लले ५१४ मत ल्याएर विजयी हुँदा एमालेका कुँवरले ४७१ मत प्राप्त गरे ।

अध्यक्षमा निर्वाचित मल्ल दुई वर्षअघि एमाले परित्याग गरी कांग्रेस प्रवेश गरेका थिए । उनी एमालेका पूर्व नगर उपाध्यक्ष थिए ।

उपाध्यक्षमा दुबै प्यानलका उम्मेदवारले समान ४८२ मत ल्याए । सचिवमा मल्ल प्यानलकै गोपाल केसी ४८३ मतसहित विजयी हुँदा एमालेका घनश्याम पाण्डेले ४७८ मत पाए । कोषाध्यक्षमा मल्ल प्यानलका नारायण सारु ४९९ मतसहित विजयी हुँदा एमालेका कुलबहादुर रानाले ४६९ मत पाए ।

९ जना कार्यसमिति सदस्य र लेखा समिति संयोजक र सदस्य सहित तीन जना पनि मल्ल प्यानलकै उम्मेदवारहरु विजयी भएका निर्वाचन समितिका प्रमुख अधिवक्ता महेन्द्र पाण्डेले जानकारी दिए । आइतबार राति सम्पन्न मतगणनामा ९ मत बदर भएको उनले बताए ।

स्थानीय निर्वाचन नजिकिंदै गरेको बेला सामाजिक संघसंस्थाको चुनावलाई प्रमुख दलले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । आउँदो स्थानीय चुनावमा मल्ल बुटवल–११मा  नेपाली  कांग्रेसबाट वडा अध्यक्षका बलियो दावेदार हुन् ।

यसअघि बुटवलकै एक खानेपानी संस्थाको चुनावमा पनि सत्ता गठबन्धनले एमालेलाई पराजित गरेको थियो । हालै देवदहको एक वन र विद्यालय व्यवस्थापन समिति चुनावमा पनि सत्ता गठबन्धन विजयी भएको थियो । देवदहकै खानेपानीको चुनावमा भने एमाले एक्लैले सत्ता गठबन्धनलाई पराजित गरेको थियो ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?