+
+

उठ छोरी उठ, तिम्रो सपना पूरा हुनेछ

सृष्टिमा नयाँ पालुवाको बीउ रोप्ने छोरी हुनुमा गर्व गरौं । सानै कोपिलालाई बलात्कार गरी चुँडेर फाल्ने पापीहरू विरुद्ध जाग छोरी, तिमी महान् छौ ।

लक्ष्मी बीसी लक्ष्मी बीसी
२०७८ चैत १४ गते ११:२०

छोरीलाई घरकी लक्ष्मी, जीवित देवी भनेर अहिले पनि पूजा गर्दै आइरहेका छौं । हाम्रो धर्म, रीतिरिवाज, चालचलन अनुसार छोरीलाई घरको इज्जत, शोभा हो भन्ने चलन छ ।

राजा गुणकामदेवले कुमारीलाई जीवित देवीका रूपमा पूजा गर्ने चलन चलाएको हुनाले नै रजस्वला नभएकी शाक्य वंशकी छोरीलाई अझै पनि जीवित देवी अर्थात् कुमारी पूजा भनेर पुज्दै र मान्दै आएका छौं ।

हाम्रो धर्म, रीतिरिवाजले भगवानका रूपमा पूजा गर्ने चलन अनुसार छोरीलाई संरक्षण गरिरहेको छ । तर अहिलेको विज्ञान, प्रविधि, सञ्चारको युगमा पनि हामी मानिस दानवका रूपमा लम्कँदै गइरहेका छौं ।

निर्मला पन्त, भागरथी भट्टको बलात्कार पछि हत्या भएको केही वर्ष नहुँदै १८ महिने बालिका बलात्कारको घटनाले छोरी भएर जन्मनु नै अभिशाप पो हो कि भन्ने लाग्दछ । मन कुँडिएर आउँछ, सुन्दा पनि आङ्ग नै सिरिङ्ग हुने गर्दछ । यस्तो घटनाले पुरुषप्रतिको विश्वास पनि हराउन थालेको छ ।

मेरी छोरीको पनि त्यस्तै दुर्दशा त हुने होइन भन्दै मनमा सन्नाटा छाउने गर्दछ । मेरी छोरी, मेरी बहिनी, सबै चेलीहरू अब जाग्नुपर्छ । सरकार ! बलत्कारीलाई मृत्युदण्डको सजाय होस्, बलात्कारीलाई कहिल्यै राम्रो नहोस् भन्दै सराप्न मन लाग्छ ।

दैलेखमा तीन वर्षदेखि आफ्नै जन्म दिने बावुबाट नै बलात्कारको सिकार बनेकी एक बालिकाले प्रहरीसमक्ष गएर बावुलाई जेल पठाउन सफल त भइन् तर परिवार गाउँमा बस्नै नसक्ने अवस्थामा पुगेको छ । गाउँ समाजको तिरस्कारका कारण परिवार नै विस्थापित हुनुपर्ने अवस्थामा छ ।

बाबुले छोरीलाई, मामाले भान्जीलाई, दाइले बहिनीलाई, ७६ वर्षे वृद्धले ३ वर्षकी बालिकालाई समेत बलात्कारको खबरले मर्माहत बनाउँछ । एउटा मान्छे यसरी कसरी दानव बन्न सक्छ ? अनि प्रश्न गर्न मन लाग्छ, यस्ता यौन

पिपासुहरूलाई अहिलेको कानुनी सजाय कति पर्याप्त छ ?

बलात्कार र यौन हिंसाका घटनाहरू हतपत बाहिर आउँदैनन् । घरको इज्जत जाने डर, गाउँ समाजमा मिलेर सहेर बस्नुपर्ने भन्दै कति घटनाहरू त मिलाइन्छ पनि । बाहिर आएका घटनामा पनि हामी आफैं न्यायाधीश बन्ने गर्दछौं ।

‘छोटा कपडा लगाएर हिंड्थी’, ‘त्यसको बानी नै गतिलो थिएन’ भन्दै नानाथरीका अनुमान लगाउँदै बस्ने गर्छाैं । त्यसो हो भने त्यो १८ महिने दूधे बालिकाको के कमजोरी थियो त ? हाम्रो समाज कति कमजोर भइसक्यो, नियम कानुन भएर के गर्नु कार्यान्वयन नै हुँदैन भने ? राज्यले खै त छोरी-चेलीको सुरक्षा दिन सकेको ? कानुनी राज्य भएको देशका नागरिकले खै त कानुनको पालना गरेको ? केही वर्ष जेलपछि बलात्कारी, अपराधीलाई किन धरौटीमा रिहा गरिन्छ ? उनीहरूलाई जन्मकैदको व्यवस्था गरियोस्, मृत्युदण्ड दिने कानुन बनाइयोस् होइन भने नाम मात्रको कानुनको के काम सरकार ?

हाम्रो घरपरिवार, समाज, विद्यालयबाट नै यौन शिक्षाको बारेमा ज्ञान दिन जरूरी छ । छुवाइको किसिम अर्थात् ‘ब्याड टच’, ‘गुड टच’ का बारेमा हाम्रा बालबालिकालाई ज्ञान दिनुपर्छ । आफन्त, साथीभाइको कस्तो र कहाँको छुवाइ त्यसको असरका बारेमा ज्ञान नहुँदा यौन हिंसा नजानिंदो किसिमले भइरहेको हो कि भन्ने पनि लाग्छ ।

विद्यालय होस् वा कार्यालय, आफूमाथि यौन हिंसा भइरहेको छ, उनीहरूको व्यवहारले असहजता भइरहेको थाहा हुँदाहुँदै पनि हामी दबाएर राख्छौं किनकि त्यो कुरा बाहिर आए आफ्नै बेइज्जत हुने डर हुन्छ । साथै, कामबाट निकालिने डरले धेरै घटना बाहिर आउनै सक्दैनन् । आएका घटनामा पनि हामी सत्य-तथ्य नबुझी अनुमानका भरमा कुरा गरिरहेका हुन्छौं ।

अहिलेको पल शाह प्रकरणमा पनि त्यस्तै भइरहेको छ । ‘ममाथि बलात्कार भयो, न्याय देऊ’ भन्दै प्रहरीकहाँ जाँदा पनि कार्यक्षेत्र नपर्ने भन्दै पीडित किशोरीलाई फर्काइयो । यसबाट हाम्रो देशको प्रहरी प्रशासनको कार्यशैली प्रष्ट हुन्छ । यहाँनेर प्रश्न जन्मन्छ- बलात्कार भएको ठहरिनुलाई निर्मला, भागीरथी जस्तै हत्या हुनुपर्ने हो त सरकार ?

१८ वर्ष मुनिका किशोरीलाई सहमतिमै यौन सम्पर्क गरे पनि बलात्कार मानिनेछ भनेर कानुनमा नै भनिएको छ । उनीहरूको निर्णय गर्ने क्षमता नहुने भएकाले नै राज्यले संरक्षण गरेको हो भन्ने लाग्छ ।

विभिन्न प्रलोभन र आशा देखाएर यौन सम्पर्क राख्ने अनि यौन प्यास मेटिसकेपछि आ-आफ्नो बाटो लाग्ने भन्ने कुरा सुन्दा छोरी मान्छेलाई साँच्चिकै उपभोग्य वस्तु अर्थात् खेलौनाको रूपमा हेरिएको हो कि जस्तो लाग्ने गर्दछ ।

मन लाग्दासम्म उपभोग गर्ने, मन लागेन भने छोडिदिने नभए हत्यासम्म गरेको घटना हाम्रो समाजमा प्रशस्त छन् । मानिसहरू दिन प्रतिदिन चेतनशील भइरहेको अवस्थामा गत वर्षभन्दा यो वर्ष बलात्कारका घटनाहरू बढिरहेको विभिन्न आँकडाले देखाएको छ ।

मानिसमा साँच्चिकै चेतना नभएर त यस्तो भएको होइन होला । होइन भने पशु र मानिसमा के फरक भयो र ?

पहुँच, शक्ति र पैसाका भरमा नियम-कानुन च्ाल्ने मेरो देशमा न्यायालयप्रतिको आशा जीवित नै छ । न्यायालयले निष्पक्ष छानबिन गर्नेछ भन्ने आशामा बाँच्छौं । मान्छेका धेरै राम्रा गुण होलान् तर जानी जानी गरेको एउटा गल्तीले उसको भविष्य बर्बाद गर्न सक्छ ।

कलाकारिता, पत्रकारिता लगायत हरेक क्षेत्रमा काममा लगाइदिने, विभिन्न अवसर दिने, प्रमोशन बढाइदिने भन्दै विभिन्न सपना बुनेर त्यस क्षेत्रमा प्रवेश गर्ने नवप्रवेशीहरू यौन शोषणमा परिरहेका छन् ।

घरपरिवार, समाजको डरले बाहिर आउन नसकेका यस्ता घटना सहन नसकेर धेरै छोरी-चेलीले आत्महत्या समेत गरेको तितो सत्य हामीमाझमा जीवितै छ । जानी-जानी गल्ती गर्नु र अञ्जानमा गल्ती गर्नु फरक पाटो हन् । पल शाह पक्राउ प्रकरणमा पनि त्यस्तै भएको देखिन्छ । उनका धेरै राम्रा कार्य र बानी होलान् तर बालिकासँग सहमतिमा नै यौन सम्पर्क राख्दा कानुनी रूपमा गैरकानुनी कार्य हो भनेर ज्ञान हुँदाहुँदै पनि त्यस्तो कार्य भइरहेको छ ।

गलत र सही छुट्याउने काम कानुनको हो । हामीले विचार राख्न त पाउँछौं तर सभ्य भाषा प्रयोग गरेर विचार राखौं ताकि यस्ता बहसले समाजलाई अगाडि बढाउन सकोस् । सामाजिक सञ्जालमा छाडा शब्दको गालीले हामीलाई कति दुर्गन्धित बनाइरहेको छ ।

सन्त्ातिलाई यौन शिक्षाको बारेमा ज्ञान दिन सकौं । उनीहरूको मनोविज्ञान बुझेर छोराछोरी माथि साथीको व्यवहार गर्न सके यौन हिंसामा परेका बालबालिकाले खुलेर अभिभावकसमक्ष कुरा राख्न सक्नेछन् । यसबाट उनीहरू नराम्रो घटनाबाट जोगिनेछन् ।

घरबाट नै छोरीलाई बलियो बनाउन सकौं, कम बोल्ने, लजालु, भद्र स्वभावको छोरी होइन, निडर, मन नपरेको कुरामा नाइँ भन्न सक्ने खुलस्त र प्रष्ट बोल्न सक्ने हक्की स्वभावकी छोरी भए आफूमाथि परेको अन्याय विरुद्ध बोल्न सक्नेछिन् । अन्याय, थिचोमिचो विरुद्ध पाइला अघि बढाउन सक्नेछिन् । एक छोरी, श्रीमती हुँदै आमा बन्नेछिन् ।

सृष्टिमा नयाँ पालुवाको बीउ रोप्नेछिन् । छोरी हुनुमा गर्व गरौं, सानै कोपिलालाई बलात्कार गरी चुँडेर फाल्ने पापीहरू विरुद्ध जाग छोरी, तिमी महान् छौ ।

१८ महिने छोरी ! जसरी तिम्रो बलात्कार पछि हत्या भएको छ ती हत्यारालाई मृत्युदण्डको सजाय होस्, तिम्रो आत्माले शान्ति पाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?