+
+

‘समस्या युवा टिम, धेरै सुधार आवश्यक’

गोविन्दराज नेपाल गोविन्दराज नेपाल
२०७८ चैत १५ गते ८:१४

१५ चैत, काठमाडौं । त्रिदेशीय टी–२० श्रृंखलाको पहिलो खेलमा नेपालले सोमबार पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

सन्दीप लामिछाने कप्तान बनेपछि घरेलु मैदानमा नेपालले पहिलो जित हात पार्दा पीएनजीलाई पनि ७ वर्षपछि टी–२० मा पहिलो पटक हरायो । यसअघि नेपालले घरेलु मैदानमा पीएनजी विरुद्ध दुई खेलको एकदिवसीय शृंखलामा दुवै खेल हारेको थियो ।

करण केसीले आफ्नो अन्तिम ओभरको अन्तिम दुई बलमा लगातार विकेट लिएपछि टीयू मैदानमा पीएनजीलाई हराएर नेपालले त्यसको बदला लिइसकेको छ ।

पीएनजीलाई हराएपछि कप्तान सन्दीप लामिछाने र प्रशिक्षक पुबुदु दासानायकेले टिममा अझै सुधारको आवश्यकता रहेको बताएका छन् । कप्तानको रुपमा घरेलु मैदानमा पहिलो जित पाएपछि सन्दीपले खुशी व्यक्त गर्दै श्रृंखला नै जित्ने लक्ष्य रहेको सुनाए । ’जितबाट खुशी छौं । हाम्रो सबैको लक्ष्य त्रिकोणात्मक श्रृंखला जित्ने नै हो,’ उनले भने ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ९ विकेट गुमाएर १८३ रन बनाएको थियो । जवाफमा पीएनजी ४ बल अगावै १६८ रनमा अलआउट भयो । टीयू मैदानमा ब्याटिङ गर्न सहज विकेट रहेकाले रन धेरै बनिरहेको थियो ।

करणले अन्तिममा विकेट लिनु नै जितको टर्निङ पोइन्ट बनेको सन्दीपले बताए । करणले १९औं ओभरको पाँचौ बलमा ५२ रन बनाएका नोर्मन भानुअ र छैटौं बलमा सिमोन अटाईलाई आउट गर्दै खेल नेपालको पक्षमा मोडेका थिए ।

धेरै क्षेत्रमा अझ सुधार गर्नुपर्छ । समस्या भनेको युवा टिम हो । टिमको आधार तयार हुँदैछ– प्रशिक्षक पुबुदु दासानायके

‘समस्या भनेको युवा टिम’

सन्दीपले एकदिवसीय श्रृंखलामा युवा खेलाडी रहेकाले अहिले टी–२० टिममा पूर्ण क्षमताको टिम रहेकोले खेल राम्रो भएको बताए । तर टिममा अझै सुधार गर्नुपर्ने ठाउँ रहेको पनि उनले बताए । ‘केही क्षेत्रमा अझै सुधार गर्नु छ । हामी त्यसका लागि खेल्छौं,’ सन्दीपले भने ।

उनले ब्याटिङ गर्दा सानो स्कोर ठूलो स्कोरमा कन्भर्ट गर्नुपर्ने बताए । ‘जसले राम्रो सुरुवात पाउनुभएको थियो त्यसमा ठूलो स्कोरमा कन्भर्ट गर्नु सक्नुहुन्थ्यो । सबै जना यसमा काम गरिरहेका छन् । त्यसमा हामीले अझै केही गर्नुपर्छ,’ उनले भने ।

टिममा केही क्षेत्रमा सुधार गर्नुपर्ने सन्दीपले बारम्बार दोहोर्याए । त्यसको अर्थ योजना अनुसार खेल्नु रहेको उनको बुझाइ थियो । ‘हामीले योजनालाई राम्रोसँग लागु गर्नुपर्छ,’ सन्दीपले भने, ‘बलिङमा पनि हामीले केही सुधार गर्नुपर्नेछ ।’

यस्तै प्रशिक्षक पुबुदु दासानायके पनि टी–२० श्रृंखलाको पहिलो जितबाट खुशी देखिए । ‘राम्रो क्रिकेट खेलेपनि जित सकेका थिएनौं । श्रृंखलाको पहिलो खेल जित्नु राम्रो हो,’ उनले भने ।

उनले अहिले युवा टिम रहेकाले सुधार गर्नुपर्ने ठाउँ रहेको बताए । ‘धेरै क्षेत्रमा अझ सुधार गर्नुपर्छ,’ पुबुदुले खेलपछि भने, ‘समस्या भनेको युवा टिम हो । टिमको आधार तयार हुँदैछ । टिमको रुपमा तयार हुँदै छौं र अझै सुधार गर्नुपर्ने कुराहरु छ ।’ टिमको प्रदर्शनबाट समग्रमा खुशी रहेको उनले बताए ।

टिममा रहेका केही खेलाडीले लिडिङ रोलमा नखेलेको र उनीहरुको लागि नयाँ रोल भएकाले ब्याटिङमा युवा खेलाडीको लागि समय लाग्ने उनको बुझाइ छ ।

पुबुदुले एकदिवसीय र टी–२० श्रृंखलाअघि नेपाली टिममा युवा खेलाडीहरु रहेको र टिम निर्माणको प्रक्रियामा रहेको बताएका थिए ।

यसपटक घरेलु मैदानमै श्रृंखला हुँदा नेपालले दुई फरक टिम बनाएको थियो र कूल २३ खेलाडीलाई टिममा समावेश गरेको थियो । जसमा दुई नयाँ अनुहार थिए । त्यसमध्ये यू–१९ टिमका कप्तान देव खनालले एकदिवसीय खेलबाट राष्ट्रिय टिममा डेब्यु गरिसकेका छन् । टी–२० टिममा रहेका आदिल अन्सारीले भने डेब्युका लागि अझै कुर्नुपर्ने भएको छ ।

यसबाहेक पनि टिममा केही समयअघि मात्र डेब्यु गरेका लोकेश बम, विवेक कुमार यादव र सागर ढकाल जस्ता खेलाडी छन् । यी तीनै खेलाडी टी–२० श्रृंखलाका लागि टिममा छन् । पीएनजी विरुद्ध पहिलो खेलमा लोकेशले मात्र अवसर पाए । विवेक र सागर भने बेन्चमा थिए । उनीहरुले पछि अन्य खेलमा अवसर पाउने सम्भावना छ ।

पारस खड्काको नेतृत्वमा रहेको स्वर्णिम पुस्ताको कुनै पनि खेलाडी अहिले नेपाली टिममा छैनन् । युएईमा लिग टू खेलेका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीविना नै यस पटक नेपालले खेलिरहेको छ ।

एक हिसावले हेर्दा नेपाली क्रिकेटको एउटा पुस्ता सकिएको र अर्को पुस्ता आउने क्रममा रहेको देखिन्छ । तर नेपाल क्रिकेट संघले भने दुई सिनियर खेलाडीलाई बाहिर राखेको नभई आराम दिएको जनाएको छ । प्रशिक्षकले टिम निर्माणको प्रक्रियामा रहेको बताइरहँदा ती खेलाडीले फेरि अवसर पाउँछन् पाउँदैनन् त्यो भने हेर्न बाँकी छ ।

लेखकको बारेमा
गोविन्दराज नेपाल

नेपाल अनलाइनखबर डटकमका खेलकुद संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?