
काठमाडौं । प्रतिष्ठित बलिउड फिल्म अवार्ड फिल्मफेयरको सन् २०२३ को संस्करणलाई नेपालमा आयोजना गर्न पहल सुरु भएको छ । दुई भारतीय कम्पनी वल्र्डवाइड ग्रुुप र सिनेक्राफ्टले अवार्ड गर्ने विषयमा पहल थालेका हुन् ।
अवार्डको नेपाल व्यवस्थापन हेरिरहेका भानु चन्दले सिनेक्राफ्ट प्रमुख राहुल मिश्रा अवार्डको प्रस्ताव लिएर वैशाख पहिलो साता काठमाडौंमा आउने तयारीमा रहेको बताएका छन् ।
वल्र्डवाइड र सिनेक्राफ्टले नै फिल्मफेयरको सन् २०२२ को संस्करणलाई भारतको मध्य प्रदेशको राजधानी सहर भोपालमा आयोजना गरेका छन् । नेपाल आउने तयारीमा रहेको मिश्रासहितको टोलीले सञ्चारकर्मी ज्ञानेन्द्रबहादुर कार्की र चलचित्र विकास बोर्डका अधिकारीहरुलाई निम्तो दिने जनाइएको छ ।
अवार्ड आयोजनाको सम्भाव्यता अध्ययनबारे बुझ्न दुई महिनाअघि नेपाल आएको वर्ल्डवाइड कम्पनीको टोलीले सञ्चारकर्मी कार्की र चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाललार्ई भेटेको थियो ।
भेटमा मन्त्री कार्कीले अवार्डलाई नेपालमा आयोजना गर्नेबारे सघाउन नेपाल सरकार सकारात्मक रहेको बताएको उक्त भेटमा सहभागी चन्दले अनलाइनखबरलाई बताए । सोही बेला मन्त्री कार्कीले अवार्डबारे प्रपोजल ल्याउन उक्त भारतीय टोलीलाई भनेको चन्दले जानकारी दिए ।
बोर्ड अध्यक्ष दाहालले पनि कोभिडले थलिएको नेपालको पर्यटन क्षेत्रको उत्थानमा समेत अवार्ड महत्वपूर्ण हुने बताउँदै सघाउन तयार रहेको वचन दिइसकेका छन् ।
यसअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा नेपालमा गर्ने भनिएको आइफा अवार्ड विवादले रोकिएको थियो ।
प्रतिक्रिया 4