+
+

कर्णालीमा डेढ लाख बढी मतदाता थपिए, यस्तो छ चुनावको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १५ गते १७:०४

१५ चैत, सुर्खेत । कर्णाली प्रदेशमा डेढ लाख बढी मतदाता थपिएका छन् । पछिल्लो चार वर्षमा एक लाख ८६ हजार ४३६ जना मतदाता थपिएको प्रदेश निर्वाचन आयोगको कार्यालयले जनाएको छ ।

२०७४ को निर्वाचनमा प्रदेशभर आठ लाख १४ हजार ८४६ मतदाता रहेको कर्णालीमा अहिले १० लाख एक हजार २८२ मतदाता पुगेका छन् । आगामी ३० वैशाखमा हुने स्थानीय तहको चुनावमा उनीहरुले मत हाल्न पाउने छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको नामावलीअनुसार कूल मतदातामध्ये पाँच लाख ६ हजार १८० पुरुष छन् भने चार लाख ९५ हजार ९९ जना महिला मतदाता छन् । निर्वाचनका लागि प्रदेशभर ९०७ वटा मतदानस्थल र एक हजार ३८५ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।

आयोगको तथ्याङ्कअनुसार प्रदेशका दश जिल्लामध्ये सबैभन्दा धेरै दुई लाख ३८ हजार ४५७ मतादाता सुर्खेतमा छन् । जसमा एक लाख १६ हजार ३३६ जना पुरुष छन् भने एक लाख २२ हजार १२१ महिला मतदाता छन् । सबैभन्दा कम मतदाता संख्या हुने जिल्ला डोल्पा छ । डोल्पामा २२ हजार ४४० जना मात्रै मतदाता छन् ।

यसैगरी दैलेखमा एक लाख ५८ हजार ४८९ जना मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ । सल्यानमा एक लाख ५७ हजार ७१५, मुगुमा ३५ हजार ८९, जुम्लामा ६७ हजार ७४४, कालीकोटमा ८० हजार ४१६, हुम्लामा ३२ हजार ५८१, जाजरकोटमा एक लाख तीन हजार ८६९ र रुकुमपश्चिममा एक लाख चार हजार ४८२ जना मतदाता रहेका छन् ।

आवश्यक तयारी तीव्र पारिँदै

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा आवश्यक तयारीलाई तीव्र पारिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार जिल्लास्थित निर्वाचन कार्यालहरू चुनावपूर्वका काममा जुट्नुका साथै जनशक्ति व्यवस्थापन लगायतका काम अघि बढाएका छन् ।

प्रदेश निर्वाचन कार्यालयले सुर्खेत र कर्णालीका अन्य जिल्लाका हकमा सम्बन्धित निर्वाचन कार्यालयले व्यवस्थापनका काम अघि बढाएका छन् । हाल मतदाता नामावलीको आन्तरिक तयारी, सामग्री र कर्मचारी व्यवस्थापन, मतदान केन्द्रको अवलोकन र स्थानीय तहसँग समन्वय भै रहेको अधिकारी चालिसेले बताए ।

निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नामावली सार्वजनिक भइसकेको छ । मतदान अधिकृतहरूले निर्वाचन गराउने, मतपेटीका संकलन गर्ने र मतपरिणाम घोषणासम्मको काम गर्नेछन् ।

त्यस्तै जिल्ला–जिल्लामा म्यादी प्रहरीको भर्ना प्रक्रिया सुरु गरिएको छ । प्रदेशभर ७ हजार ७१३ जना म्यादी परिचालन गर्नेगरी भर्नाको प्रक्रिया अघि बढाइएको छ ।

निर्वाचनमा ७९ वटा दल भाग लिँदै

यसपटकको स्थानीय तहको निर्वाचनमा ७९ वटा दल भाग लिँदैछन् । ७९ वटा मध्ये ६ नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय दलको मान्यता पाएका दलहरू हुन् भने बाँकी ७३ वटा राष्ट्रिय दलको मान्यता नपाएका दल हुन् ।

राजनीतिक दलसम्बन्धी ऐनमा राष्ट्रिय मान्यताप्राप्त दलले मात्र आफ्नै चुनाव चिह्न पाउने, अरु दललाई भने स्वतन्त्र उम्मेदवारसरह जुनसुकै चुनाव चिह्न दिन सकिने व्यवस्था छ । यो व्यवस्थाको दलहरूले विरोध गरेपछि अन्तत निर्वाचन आयोगले राष्ट्रिय मान्यता नपाएका दललाई पनि उनीहरूकै चुनाव चिह्न दिने निर्णय गरेको छ ।

आयोगका अनुसार कर्णालीको रुकुम–पश्चिम, जाजरकोट र सल्यानमा सात/सात वटा दल चुनावी प्रतिस्पर्धामा उत्रिनेछन् । त्यस्तै डोल्पामा पाँच, जुम्ला र दैलेखमा आठ÷आठ, मुगु र हुम्लामा नौ÷नौ वटा दल दर्ता भएका छन् । त्यसैगरी कालीकोटमा १४ र सुर्खेतमा १९ वटा दल दर्ता भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?