+
+

धनगढी उपमहानगरको मेयरमा दर्जन बढी आकांक्षी

जनक विष्ट जनक विष्ट
२०७८ चैत १६ गते ८:१९

१६ चैत, धनगढी । कैलालीको धनगढी उपमहानगरपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका दर्जन बढी नेताहरु आकांक्षी देखिएका छन् । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मेयरको टिकटका लागि नेताहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् ।

प्रमुख तीन राजनीतिक दल नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रसँगै एमाले विभाजनपछि बनेको नेकपा एकीकृत समाजवादी पार्टीबाट समेत गरी कम्तीमा १४ जनाको नाम सम्भावित मेयरको रुपमा चर्चामा छ ।

मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले चुनावी प्रचारप्रसारलाई तीव्र बनाएका बेला अन्य आकांक्षीहरुले आ–आफ्नो पार्टीभित्र टिकटका लागि दौडधुप तीव्र पारेका छन् ।

तर नेकपा एमाले बाहेक नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका आकांक्षीहरु भने केन्द्र र प्रदेश स्तरमा कायम गठबन्धन स्थानीय तहको निर्वाचनमा कायम रहने कि नरहने भन्ने निर्क्यौल भइनसकेका कारण अलमलमा देखिन्छन् । तालमेलबारे छलपफल गर्न मंगलबार धनगढीमा बसेको सत्ता गठबन्धनको बैठक पनि निष्कर्षविहीन भएको छ ।

एमालेबाट चार जनाको चर्चा

मुलुकको सबभन्दा ठूलो दल नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयरका लागि चार जनाको नाम चर्चामा छ । २०७४ सालको निर्वाचनमा मेयरमा प्रतिस्पर्धा गरेका हालका जिल्ला कमिटी उपाध्यक्ष दुर्गाप्रसाद जोशी, केन्द्रीय निर्वाचन आयोगका सदस्य तथा पूर्व जिल्ला कमिटी उपाध्यक्ष रणबहादुर चन्द, प्रदेश कमिटी सदस्य राजेश खाती र जीवन बमले आकांक्षा राखेका छन् । उनीहरुले मेयरको टिकटका लागि पार्टीका विभिन्न तहका नेताहरुसँग लविङ बढाएका छन् ।

एमाले कैलालीका अध्यक्ष रतनबहादुर थापा नेताहरुले आकांक्षा राख्नु स्वाभाविक भएपनि उपमहानगरपालिकाको प्रमुख/उपप्रमुखको हकमा जिल्ला कमिटीको सुझाव र प्रदेश कमिटीको सिफारिसका आधारमा पार्टीको केन्द्रीय कमिटीले निर्णय गर्ने बताउँछन् । ‘नेताहरुले आकांक्षा राख्नु स्वाभाविक हो । यो कुरालाई अन्यथा भन्न मिल्दैन,’ थापाले अनलाइनखबरसँग भने, ‘तर पार्टीले बनाएको मापदण्डका आधारमा स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटको काम हुन्छ ।’

नृपबहादुर वडको दोहोरिने इच्छा 

मुलुकको दोस्रो ठूलो राजनीतिक दल र हाल धनगढी उपमहानगरपालिकाको नेतृत्व गरिरहेको नेपाली कांग्रेसमा पनि मेयरमा कम्तीमा पनि ४/५ जनाको नाम चर्चामा छ । अहिलेका मेयर एवम् केन्द्रीय सदस्य नृपबहादुर वडले दोहोरिने इच्छा राखेका छन् ।

यसैगरी पार्टीका महाधिवेशन प्रतिनिधि कृष्णबहादुर महरा, निवर्तमान जिल्ला कमिटी सचिव पूर्ण कुँवर लगायतले टिकटका लागि दौडधुप सुरु गरेको कांग्रेस निकट एक नेताले बताए ।

कांग्रेस कैलालीले पनि पार्टीले बनाएको मापदण्डका आधारमा आकांक्षीहरु मध्येबाट उम्मेदवार छनोट गर्ने जनाएको छ । ‘हाम्रो पार्टीले बनाएको मापदण्डका आधारमा नै आकांक्षीहरु मध्येबाट उम्मेदवार छनोट गर्नेछ,’ कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले अनलाइनखबरसँग भने ।

माओवादी केन्द्रबाट कोको ?

तेस्रो ठूलो दल माओवादी केन्द्रबाट सम्भावित ४/५ जनाको नाम चर्चामा छ । २०७४ सालको निर्वाचनमा उपमेयरमा पराजित भएकी शान्ति अधिकारीले मेयर बन्ने आकांक्षा प्रकट गरेकी छन् । उनी नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य पनि हुन् ।

धनगढी उपमहानगरपालिका–३ का वडाध्यक्ष तथा नगर कमिटी सदस्य बलबहादुर ऐर, पूर्व प्रदेश कमिटी सदस्य रमेश धामी, कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का संयोजक डिएल भण्डारी लगायतको नाम पनि चर्चामा छ । स्रोतकाअनुसार माओवादी केन्द्रभित्र देखिएका आकांक्षीहरु गठबन्धन हुने/नहुने निर्णयको पर्खाइमा रहेका कारण नेताहरु खुलेर कुरा गर्न चाहँदैनन् तर आन्तरिक तयारी भने थालेका छन् ।

निर्वाचन क्षेत्र नम्बर ५ का संयोजक भण्डारीले समेत गठबन्धनको निर्णयको पर्खाइ जारी रहेकाले अहिले नै आकांक्षीहरु खुलेर नआएको बताए । ‘गठबन्धन गर्नुपर्ने अवस्थामा माथिबाट उम्मेदवारको टुंगो लाग्छ की भनेर अहिलेसम्म आकांक्षीहरुले तलबाट पहल गरेका छैनन्,’ भण्डारीले अनलाइनखबरसँग भने, ‘कार्यकर्ताहरुको भनाइ धनगढीमा गठबन्धनबाट सन्तोषजनक मत आउँदैन र एक्लाएक्लै लड्नुपर्छ भन्ने छ । हामीले कम्तीमा पनि ९/१० वडा सजिलै जित्ने भएकाले किन गठबन्धन गर्ने भन्ने आवाज पनि उठेको छ ।’ उनले आफ्नो पनि मेयरमा आकांक्षा भएको बताउँदै परस्थितिका आधारमा निर्णय लिने जनाए ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट प्रदेश कमिटी सदस्य राजेश भण्डारी र नगर कमिटी अध्यक्ष मदन रेग्मीले मेयरमा आकांक्षा राखेका छन् । ‘एक्लाएक्लै चुनाव लड्नुपरेको अवस्थामा उहाँहरु दुई जना आकांक्षी देखिनुभएको छ,’ एकीकृत समाजवादीका एक नेताले भने, ‘गठबन्धन गर्ने स्थितिमा भने दलहरुबीच हुने सहमतिमा भर पर्ने कुरा भयो ।’

तर केन्द्रमा कायम पाँच दलीय गठबन्धन स्थानीय तहको निर्वाचनमा पनि कायम रह्यो भनेमा धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले नछाड्ने नेताहरु बताउँछन् ।

लेखकको बारेमा
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?