+
+

कप्तान सन्दीपले गरे आसिफ र दिलीपको प्रशंसा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत १६ गते १६:२८

१६ चैत, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले ब्याटर आसिफ शेख र पहिलो टी–२० खेलेका दिलीप नाथको प्रशंसा गरेका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा मलेसियासँगको खेल ६ विकेटले जितेपछि पत्रकारसित कुरा गर्दै उनले आसिफले यो खेलमा राम्रो गरेको बताए ।

मलेसियालाई हराउने क्रममा ओपनर आसिफले ३८ बलमा ५७ रन बनाएका थिए । त्यसक्रममा उनले ७ चौका र १ छक्का हाने ।

ओपनर कुशल भुर्तेल १ रनमा आउट हुनु दुर्भाग्य रहेको उनले बताए । नेपालको स्कोर १ रन हुँदा कुशल आउट भएपछि दबावमा परेको टोलीलाई आसिफले रोहित पौडेल र दिपेन्द्र सिंह ऐरीसँग मिलेर जितसम्म पुर्‍याएका थिए ।

आसिफले खेल नै सकाएको भए अझै राम्रो हुने सन्दीपले बताए । आसिफ नेपाललाई जितका लागि ७ रन चाहिएको बेलामा आउट भए ।

मलेसियासँगको खेलबाट टी–२० खेलबाट डेब्यु गरेको दिलीप नाथले राम्रो संभावना देखाएको सन्दीपले बताए । ७ बलमा १५ रन बनाएर नट आउट रहेका दिलीपले ३ चौका हानेका थिए ।

चार वटै खेल जितेर फाइनलमा पुग्ने र जित्ने लक्ष्य

लामिछानेले त्रिकोणत्मक टी–२० श्रृंखलाको फाइनल नै जित्ने लक्ष्य रहेको बताएका छन् । कीर्तिपुर मैदानमा पत्रकारसित कुरा गर्दै उनले उपाधि जित्ने लक्ष्य रहेको बताएका हुन् ।

लगातार दुई खेल जिते पनि नेपाल अझै फाइनलमा पुगेको छैन । तर सन्दीपले अब बाँकी दुवै खेल जितेर फाइनल पुग्ने र फाइनल पनि जित्ने बताए ।

कीर्तिपुरमा मलेसियाले दिएको ११५ रनको लक्ष्य नेपालले १३.४ ओभरमा भेट्टाएको थियो । १३ ओभरमा खेल जित्नु राम्रो भए पनि आफूहरुले अझ छिट्टै खेल सक्ने योजना बनाएको उनले बताए । सन्दीपले भने, ‘दश ओभरमा नै खेल सक्ने योजना थियो ।’

सबै जनाले राम्रो खेलेर जित सहज बनाएको उनले बताए । ‘निरन्तर विकेट आयो, विकेट ड्राइ भएर, बल स्टक थियो’ सन्दीपले भने, ‘सजिलो पनि थिएन गाह्रो नि थिएन । सबैले राम्रो गरे ।’ पछिल्लो खेलमा अर्धशतक बनाएका मलेसियाका विरनदीप सिंहलाई पहिलो बलमा नै आउट गर्नु ‘बोनस’ भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?