+
+

न्याय माग्न सिंहदरबार छिरेका ८७ वर्षीय काशीनाथ

अंगद सिंह अंगद सिंह
२०७८ चैत १८ गते २०:५९

१८ चैत, काठमाडौं । इटहरीका काशीनाथ खतिवडालाई सिंहदरबारभित्र नेता बस्छन् भन्ने मात्रै थाहा छ, तर कुन मन्त्रालय कहाँ छ ? कुन नेताको मन्त्रालय कुन हो ? केही थाहा छैन ।

गाउँगाउँ पुगेको सिंहदरबारले उनको आशालाई निराशामा बदलिदियो । त्यही भएर उनी संघीय राजधानीको सिंहदरबार आइपुगेका हुन् । मुलुकको बागडोर सम्हाल्ने प्रमुख प्रशासनिक संयन्त्र सिंहदरबारसँग जोडिएको एउटा आशाको त्यान्द्रो समाउँदै खतिवडा काठमाडौं आइपुगेका हुन् ।

सेताम्मे कपाल । ठुटा दाह्री । चाउरिएको छाला । बुढ्यौलीले जितेको शरीर लिएर आफ्नो गुनासो सुनाउन सिंहदरबार आइपुगेका उनलाई सुरुमा सिंहदरबारले गेटबाट भित्र पस्नै मुस्किल भयो ।

दरबारले गुनासो सुन्छ सुन्दैन, थाहा छैन । अलिकति विश्वास छ । तर त्यही विश्वासको त्यान्द्रोलाई सिंहदरबारको गेटमा उभिएका सुरक्षाकर्मीले झण्डै तानतुन बनाएर नछिनाइदिएका ।

उनले दिनभर सिंहदरबार परिसरभित्र आँखा दौडाइरहे । आँखाले उतार्ने धमिला चित्रहरुको बीचमा देशको गृहमन्त्रीको अनुहार खोजिरहे । खोजेको मान्छे नभेट्दै घामले पश्चिमी डाँडा नाघिसकेछ । जबकि, उनी सिंहदरबार पुग्दा पूर्वी पहाडतिर रक्तमुच्छेल भएर उदाउँदै थियो ।

उनी खासमा काठमाडौं गृहमन्त्री बालकृष्ण खाँडलाई भेट्न चाहन्छन् । संघीय सरकारका गृहमन्त्रीलाई भेटेर गुनासोको पोको फुकाउन उनी मंगलबार बिहान जसोतसो सिंहदरबार प्रवेश गरे ।

काँधमा कालो रंगको झोला भिरेका उनको हातमा प्लाष्टिकको सानो थैलो अनि हातमा लौरो छ ।

उमेरले ८७ वसन्त पार गरिसकेका खतिवडालाई बुढ्यौलीले जितिसकेको छ, त्यसैले उनी कुप्रिएर हिंड्छन् । लौरो उनको बुढेसकालको सहारा हो, जसको भरमा उनी सिंहदरबारसम्म आए ।

सिंहदरबारभित्र गृहमन्त्री भेट्ने आशामा खतिवडाले नौ घण्टा बिताए । तर पनि गृहमन्त्री आएनन् । बुढेसकालले छोपिसकेका उनलाई मन्त्रालयमा बस्दा–बस्दा शरीर दुख्न थालिसकेको थियो ।

हाडजोर्नी सम्बन्धी शारीरिक समस्या छ उनलाई । लामो समयसम्म उनी न एक ठाउँमा बस्न सक्छन्, न त उभिन नै ।

तैपनि शरीरले उनको साहसको बलमा उभिने हिम्मत गरिरहेको छ । हातमा प्लाष्टिकको पोकामा केही सामान छन्, जुन सबैले देख्छन्, तर मनमा गुनासोको पोकोभित्र गुम्सिएका समस्या कसले देख्ने, कसले बुझ्ने ?

हो, त्यही पोको उनी गृहमन्त्रीसामु फुकाउन चाहन्छन् ।

तर नौ घण्टा बितिसक्दा पनि गृहमन्त्री आएनन् । सचिवालयमा कुनै मनकारी भेटिएन जसले गृहमन्त्री आज आउनुहुन्न भनेर खबर दिनुपर्छ भन्ने सोच्न चाहेन ।

‘गृहमन्त्री भेट्ने आशमा बुढो मान्छे आठ–नौ घण्टा कुरिरहें तर कसैले पनि गृहमन्त्री आउँदैनसम्म भनेनन्,’ उनी भन्छन्, ‘त्यहाँ भएकाहरूले आउँदैनन् भनेका भए यति दुःख पाउने थिइनँ ।’

उनले दिनभर सिंहदरबार परिसरभित्र आँखा दौडाइरहे । आँखाले उतार्ने धमिला चित्रहरुको बीचमा देशको गृहमन्त्रीको अनुहार खोजिरहे । खोजेको मान्छे नभेट्दै घामले पश्चिमी डाँडा नाघिसकेछ, जबकि उनी सिंहदरबार पुग्दा पूर्वी पहाडतिर रक्तमुच्छेल भएर उदाउँदै थियो ।

गोधुली साँझ छिप्पिन थालेसँगै सिंहदरबार रित्तिन थाल्यो । छिप्पिन थालेको रातको अँध्यारोमा उनको गृहमन्त्रीलाई भेट्ने सपना अलप हुनथाल्यो ।

बुढो शरीर, हिंड्न मुस्किल छ । उनले मनमनै सोचे, ‘आज यतै सिंहदरबारभित्रका सडकतिर सुत्नुपर्ला ।’ तर सिंहदरबारले साढे ८ दशक नाघेका बुढा बालाई बास दिन अस्वीकार गर्‍यो । एकजना नेपाली सेनाका जवानले उनलाई गेटबाहिर जान कडा शब्दमा निर्देशन दिए ।

ती सेनाको जवानको रुख्खासुख्खा मन उनको बुढ्यौली बिन्तीबाट पग्लिएन ।

गेट बाहिर निकालिएपछि पनि उनी राति ८ बजेसम्म त्यहीं बसिरहे । जानको लागि त गन्तव्य हुनुपर्‍यो नि !

त्यहीं रात कटाउने निधो गरेका खतिवडालाई प्रहरीले सोधे, ‘बा, कोही आफन्त छन् भने भन्नुस्, हामी फोन गरेर बोलाइदिन्छौं ।’

तर उनलाई कतै जानु थिएन । मात्रै गृहमन्त्रीलाई भेटेर मनको बह र गुनासो पोख्नु थियो ।

अँध्यारो बाक्लिँदै गयो, उनको आशाको आयतन पातलिन थाल्यो । के अर्को बिहान पनि यस्तै निराशा बोकेर उदाउला ? प्रश्नको सिरानी हालेर उनी सिंहदरबारको गेट छेउमा पल्टिए ।

काठमाडौंमा सबै निर्दयी मानिस मात्रै छैनन् । सिंहदरबारभित्र मजदुरी गरिरहेका एकजना उनलाई बोलाउन आए । उनले नाम, थर र घर सोधे ।

वृद्ध खतिवडाको कुरा सुनेपछि ती मजदुरले उनलाई आफ्नो कोठामा जान अनुरोध गरे । यो सहरमा अँध्यारोमा हात समाउँदै डोर्‍याएर आश्रय दिन कोठामा लैजाने ‘मान्छे’ पनि ज्युँदै रहेछन् !

‘बाबु, कोठा कति टाढा हो ? साह्रै थकाइ लागिरहेको छ ।’

‘आयो आयो बुवा, यहीं नजिकै हो ।’

घर हुनेहरुको मन कोठाभन्दा साँघुरो छ । कोठा हुनेहरुको मन घरभन्दा पनि फराकिलो !

‘तपाईंलाई देख्दा आफ्नै बुवा भेटेजस्तै लाग्यो,’ ती मनकारी मजदुरको बोली अमृतजस्तै लाग्यो उनलाई ।

तर खतिवडालाई सिंहदरबार निर्माण गरिरहेको निर्माण कम्पनीको गेटभित्र छिर्न दिएन । काम चलिरहेको र बस्न सुरक्षित नभएको भन्दै त्यहाँका नाइके र सुरक्षा गार्डले त्यहाँ बस्न नमिल्ने बताए ।

त्यहाँ बस्न नमिल्ने बताएपछि खतिवडा र ती व्यक्तिले अनुनय विनय गरे । तर पनि उनीहरूले बस्न नमिल्ने बताइरहे ।

खतिवडाले भित्र जान नपाएपनि बाहिर कुर्सीमै भएपनि सुत्न दिनुस् भनेर आग्रह गरे । बुढेसकालको मान्छे । चिसोमा कुर्सीमा सुत्न अप्ठ्यारो हुन्छ भनेर उनीहरूले बरु होटलमा गएर बस्न आग्रह गरे ।

‘काठमाडौंका मान्छे साह्रै निर्दयी रहेछन् । पाहुनालाई भगवानको रूप भन्थे, यहाँ त लखेटेको लखेट्यै छन् । न सिंहदरबारमा बस्न दिए, न त यहाँ,’ उनले हामीलाई सुनाए ।

बस्ने ठाउँ नपाएपछि होटल खोज्न हामी पनि खतिवडासँगै पुनः हनुमानस्थान आयौं । त्यहाँ रहेको दाजुभाइ होटलमा उनलाई बासको व्यवस्था गरियो ।

पहिले घरबाट टाढा जाने बेला बाटोमा खानका लागि भन्दै सर्वसाधारणले सातु बोक्ने गर्थे । खतिवडाले चिउरा–चिनी बोकेका थिए । इटहरीबाट हिंड्ने बेला खतिवडाकी श्रीमतीले चिउरा–चिनीको पोका बाँधेकी थिइन् ।

होटलमा भात, रोटी खान चाहेनन् खतिवडाले । दूध चियासँग चिउरा–चिनी खाए । अधिकांश दात झरिसकेका खतिवडाले चिउरा–चिनी मिसाएर त्यसैमा दूध चिया राखेर खाए । उनलाई चिउरा चपाउन अलि गाह्रो हुन्छ ।

चिउरासँग खान उनले थोरै अचार मगाए । चिउरा खाइसकेपछि हामी गफिन थाल्यौं ।

८७ वर्षीय खतिवडा भोजपुरमा जन्मेका रहेछन् । त्यतिबेला स्कुल पढ्ने चलन थिएन । उनलाई बुवाले कालोपाटीमा रातो माटो राखेर क ख सिकाए । कालोपाटीमा हात समाएर अक्षर चिनाउने बुवासँग उनले धेरै समय बिताउन पाएनन् । १५ वर्षको कलिलो उमेरमा बुवा गुमाएपछि उनले केही समय भारतमा मजदुरी गरे ।

उनले पाँच वर्ष भारतको टेलिफोन कम्पनीमा र तीन वर्ष चिया बगानमा काम गरे । भारतबाट घर फर्किएपछि बिहेबारी गरेका उनी फेरि कमाउन भन्दै भारत छिरे । भारतको नागाल्याण्डमा १७ वर्ष काम गरे ।

पछि काकाले उनलाई ज्योतिषीको काम गर्न सिकाए । नागाल्याण्डमा छँदा उनी आराको काम गर्नुका साथै ज्योतिषीको काम पनि गर्थे ।

भारतबाट नेपाल फर्केपछि उनी पञ्चायतकालमा गाउँ पञ्चायतका सदस्य भए । तर पछि नेपाली कांग्रेसमा लागेका उनी २०३६ सालदेखि २०४६ सालसम्म १० वर्ष भूमिगत भए ।

कांग्रेसप्रति उनको आस्था ४० वर्षभन्दा पुरानो छ । ‘लामो समयसम्म पार्टीका लागि काम गरेको छु अहिले पनि गर्न तयार छु, मेरो समस्या पनि सरकारले समाधान गरिदिनुपर्‍यो,’ खतिवडाको आशा मिसिएको स्वर सुनियो ।

२०३० सालमा भोजपुरबाट इटहरी झरेका हुन् खतिवडा । उनका दुई छोरा र एक छोरी छन् । एक छोरा नेपाली सेनामा कार्यरत छन् भने अर्का घरमा खेतीपाती गरिरहेका छन् ।

‘म अन्याय र थिचोमिचोमा परेको छु । नगरपालिकाले न्याय नदिएपछि न्याय खोज्न काठमाडौं आएको हुँ,’ उनी भन्छन् ।

खतिवडाको जमिन नजिकबाट सानो भ्यारभ्यारे खोला बग्छ । नजिकै जमिन रहेका अर्का व्यत्तिले खोला थुनिदिंदा आफ्नो जग्गा जलमग्न हुने गरेको छ । ती व्यक्तिले खोलामाथि ढलान गरेर पानी आफ्नो जमिनतर्फ लगाएको उनको आरोप छ ।

आफू अन्यायमा परेकाले न्याय माग्न इटहरी उपमहानगरपालिका धाएपनि न्याय नपाएकाले उनी काठमाडौं आउनु परेको बताउँछन् ।

‘कांग्रेसप्रति आस्था भएको र पार्टीको हितमा काम गरेको पुरानो मान्छे हुँ । कांग्रेसकै सरकार छ । यति सानो काम पनि कसो नगरिदेला र ?,’ उनले आफ्नो आशा सुनाए ।

आफ्नो जग्गाको गुनासो बोकेर मात्रै काठमाडौं आएका होइनन् खतिवडा ।

उनीसँग आस्थासँग जोडिएका केही सवाल पनि छन् । स्थानीय तहमा कांग्रेसले कसरी जित हासिल गर्न सक्छ ? सरकारले कसरी काम गर्नुपर्छ ? भनेर समेत आफ्नो तर्क गृहमन्त्री समक्ष राख्न पनि उनी काठमाडौं आएका हुन् ।

बुधबार पनि खतिवडा मन्त्री भेट्ने आशामा सिंहदरबार पुगे । तर पनि मन्त्री भेट्नै पाएनन् । मन्त्रीसँग भेट हुने कुनै टुङ्गो नलागेपछि उनी बिहीबार स्वास्थ्य परीक्षणका लागि सैनिक अस्पताल छाउनी गए ।

गृहमन्त्री भेट्ने आशमा मंगलबार आठ र बुधबार पाँच गरी १३ घण्टा उनले सिंहदरबारभित्र बिताइसकेका छन् । तर उनले गृहमन्त्री भेट्ने अवसर पाएका छैनन् ।

उनलाई हाडजोर्नी दुख्ने, शरीर सुनिने लगायतका समस्या छन् । शारीरिक लाभ मात्रै हासिल गरेर उनलाई घर फर्कन मन छैन । मानसिक शान्ति पनि कायम गरेर घर फर्कन मन छ । त्यो शान्ति उनको जग्गा र आस्थासँग जोडिएको छ ।

उनको झोलामा जग्गाका सम्पूर्ण कागजात छन् । ‘गृहमन्त्रीलाई नभेटी घर फर्किए म बुढो आएको कामै भएन,’ खतिवडा भन्छन्, ‘म न्याय माग्न आएको हुँ, आशा छ– गृहमन्त्रीले न्याय दिन्छन् ।’

लेखकको बारेमा
अंगद सिंह

अंगद सिंह अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?