+
+
Shares

गण्डकी सरकारको निर्णय : ४ करोडको गाडी किन्ने, ५ करोडको आपतकालीन स्वास्थ्य कोष बनाउने

प्रदेश र स्थानीय तहका कर्मचारीको निवृत्तीभरणको कानुनी व्यवस्था गर्दै सरकार

‘सरकारको गाडी खरिद गर्ने प्राथमिकतामा थिएन तर आवश्यक परेको ठाउँमा खरिद गर्नै पनि पर्‍यो,’ अर्थमन्त्री जीतबहादुर शेरचनले भने, ‘४ करोड रुपैयाँसम्मको सैद्धान्तिक सहमति दिइएको छ र मेरो जोडबल ईभी गाडी लिनुपर्छ भन्ने छ ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ११ गते ९:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गण्डकी प्रदेश सरकारले संसद सचिवालयका लागि ४ करोड रुपैयाँ बराबरको गाडी खरिद गर्ने निर्णय गरेको छ।
  • प्रदेश सरकारले आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गरी ५ करोड रुपैयाँ खर्च गर्ने योजना पनि बनाएको छ।
  • प्रदेश सरकारले योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी विधेयकको अवधारणा स्वीकृत गरेको छ।

११ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले संसद सचिवालयका लागि ४ करोड रुपैयाँ बराबरको गाडी खरिद गर्ने भएको छ । वैशाख ९ गते बसेको मन्त्रिपरिषद बैठकले सचिवालयका लागि गाडी खरिद गर्ने निर्णय गरेको हो ।

भदौ २४ गतेको जेनजी आन्दोलनका बेला सभामुख, उपसभामुखसहित संसद सचिवालयका ४ वटा चार पांग्रे गाडी जलेका थिए । गाडी जलेपछि राप्रपा संसदीय दलका नेता पञ्चराम तमु र प्रमुख सचेतक विन्दु पौडेलले फिर्ता गरेको गाडी उनीहरुले चढिरहेका छन् ।

गाडी खरिदका लागि ४ करोड रुपैयाँको सैद्धान्तिक सहमति दिइएको र अबका गाडी इलेक्ट्रिक खरिद गर्नेबारे छलफल भइरहेको अर्थमन्त्री जीत बहादुर शेरचनले जानकारी दिए । ‘सरकारको गाडी खरिद गर्ने प्राथमिकतामा थिएन तर आवश्यक परेको ठाउँमा खरिद गर्नै पनि पर्‍यो,’ अर्थमन्त्री शेरचनले भने, ‘४ करोड रुपैयाँसम्मको सैद्धान्तिक सहमति दिइएको छ र मेरो जोडबल ईभी गाडी लिनुपर्छ भन्ने छ ।’

मन्त्रिपरिषदको बैठकले जेनजी आन्दोलनका क्रममा जलेका १ सय १४ सवारी साधन लिलाम गर्ने निर्णयसमेत गरिएको अर्थमन्त्री शेरचनले जानकारी दिए ।

आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गर्ने निर्णय

गण्डकी प्रदेश सरकारले ५ करोड रुपैयाँको आपतकालीन स्वास्थ्य सेवा कोष स्थापना गर्ने निर्णय पनि गरेको छ । सरकारले संक्रामक तथा सरुवा रोग व्यवस्थापनका लागि कोष निर्माण गर्ने निर्णय गरेको अर्थमन्त्री शेरचनले जानकारी दिए ।

आपतकालीन स्वास्थ्य तथा संक्रामक रोग व्वस्थापन कार्यविधि मन्त्रिपरिषदले पारित गरेको छ । ५३ प्रकारका छिटो सर्ने रोगको व्यवस्थापन र कोरोनाजस्ता भइपरी आउने संक्रामक तथा सरुवा रोगको व्यवस्थापनका लागि ५ करोड रुपैयाँको कोष निर्माण गरेर व्यवस्थित हिसाबले खर्च गर्ने योजना सरकारको छ ।

पछिल्लो समय बागलुङ जिल्लामा दादुरा रोगको संक्रमण बढेको थियो । रकम अभावमा व्यवस्थापनमा समस्या परेको थियो । भविष्यमा पनि यस्ता रोगको व्यवस्थापनमा समस्या नपरोस् भन्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय र स्वास्थ्य मन्त्रालयले कोषको सञ्चालन गर्न लागेका हुन् ।

योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी विधेयकको अवधारणा स्वीकृत

गण्डकी प्रदेश सरकारले प्रदेश निजामती सेवा र स्थानीय सेवाका कर्मचारीहरूका लागि योगदानमा आधारित निवृत्तिभरणसम्बन्धी व्यवस्था गर्न विधेयकको अवधारणा स्वीकृत समेत गरेको छ ।

समायोजन भएर प्रदेश र स्थानीय तहमा आएका कर्मचारीको निवृित्तभरणको ग्यारेन्टीका लागि योगदानमा आधारित कल्याणकारी कोष निर्माण गर्न सरकारले विधेयक ल्याउन लागेको हो ।

विधेयकले प्रदेश र स्थानीय तहका कर्मचारीको योगदानमा आधारित उपदानको व्यवस्था गर्ने छ । त्यसको अवधारणा मन्त्रिपरिषदले पारित गरिसकेको अर्थमन्त्री शेरचनले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?